मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय
आन्दोलन चर्काउने चेतावनी

कर्मचारी ट्रेड युनियनको ७२ घण्टे अल्टिमेटम, माग पूरा नभए कलम बन्द गर्ने चेतावनी

मङ्गलबार, ०९ वैशाख २०८२, १९ : ४६
मङ्गलबार, ०९ वैशाख २०८२

काठमाडौँ । निजामती कर्मचारी ट्रेड युनियनले आफ्ना माग पूरा गर्न सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएका छन् । 

मंगलबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा कर्मचारी ट्रेड युनियनका प्रतिनिधिले सरकारलाई पाँच वर्ष सेवा अवधि भएको कर्मचारीको एक तह वृद्धि र १० वर्षभन्दा बढी सेवा अवधि भएका कर्मचारीहरूलाई दुई तह अथवा एक श्रेणी वृद्धिको माग पूरा नभए आन्दोलन गर्ने चेतावनी दिएका हुन् । 

कर्मचारी ट्रेड युनियनका प्रतिनिधिहरूले राज्य व्यवस्था समितिसमक्ष १० बुँदे माग ७२ घण्टाभित्र सम्बोधन गर्न ध्यानाकर्षण गराएका छन् ।  समितिले अन्तिम रूप दिइसकेको विधेयकमा आफ्ना जायज माग सम्बोधन नभएको उनीहरूले गुनासो गरे । संयुक्त ट्रेड युनियनले विधेयकमा माग सम्बोधन नभए कलम बन्द गरी देशभर आन्दोलन गर्ने चेतावनी पनि दिएका छन् ।

नेपाल निजामती कर्मचारी युनियनका वरिष्ठ उपाध्यक्ष उत्तम कटुवालले युनियनका मागप्रति समिति र सरकारले कमजोरी ठाने देशभर र सिंहदरबारमा आन्दोलन गर्ने बताए । 

कर्मचारी युनियनका मागमा सरकार र राज्य व्यवस्था तथा सुशासन समिति गम्भीर नभएको उनले आरोप लगाए । ‘हामीले लोकतन्त्र र गणतन्त्र ल्याउन कालोपट्टी बाँध्यौँ । कलम बन्द गर्‍यौँ । हामीले पाँच वर्ष नाघेकालाई एक तह र १० वर्ष पुगेकालाई एक श्रेणी भनेका हौँ,’ उनले भने, ‘यी माग पूरा गर्न सहमति जुटेन भनेर हामीलाई सडकमा नपुर्‍याइयोस् । हाम्रो मागलाई कमजोरी ठान्नुभयो भने सिंहदरबारको चौघेरामा आन्दोलन गर्नेछौँ ।’

press-bigpati

समिति बैठकमा नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष अम्बादत्त भट्टले ७२ घन्टाभित्र माग सम्बोधन भएर विधेयक अगाडि नबढे चरणबद्ध आन्दोलन सुरु गर्ने बताए । 

उनले निजामती विधेयक संसद्को वर्षे अधिवेशनको सुरुकै दिन नै संसद्मा पेस हुने वातावरण बन्नुपर्ने उल्लेख गरे । ऐन चाहियो भनेर छलफल गर्नुपर्ने अवस्था दुःखद र बिडम्बनापूर्ण भएको पनि उनले बताए । 

उनले निजामती विधेयक कर्मचारीहरूको माग सम्बोधन गरी सन्तुष्ट बनाउन आवश्यक रहेको बताए । उनले भने, ‘ऐन नआउँदा व्यवस्थाविरोधी पक्षले आक्रमण गरिरहेका छन् । राज्यलाई व्ययभार नपर्नेगरी सहयोग गर्न जरुरी छ, हामीलाई सन्तुष्ट पार्नुपर्छ । आफ्नो गोठका हलगोरुलाई कसरी जोत्ने भनेर मालिकले सोचिदिनुपर्‍यो । मुख्यसचिवदेखि कार्यालय सहयोगीसम्मलाई एउटा समिति बनाएर कुन तहको स्तर वृद्धिमा कति समानता छ र कति विभेद छ हेर्नुपर्‍यो ।’

 

अध्यक्ष भट्टले युनियनका माग ७२ घण्टाभित्रै सम्बोधन हुनुपर्ने दाबी गरे । उनले विधेयकमा लोक सेवाबाट पास भएर आएका कर्मचारीलाई  फरक रुपमा परिभाषित गर्नु नहुने बताए । उनले भने, ‘परिभाषामा एउटै लोक सेवाबाट पास भएर फरक रूपमा परिभाषित गर्नुहुँदैन । ११ गतेभित्र सदनमा पेस हुनुपर्छ । हामी भोलि आन्दोलत परिचालन समिति घोषणा गर्दैछौँ । त्योभन्दा अघि नै संसद्मा प्रतिवेदन पेस होस् र हामीले आन्दोलन फिर्ता लिने अवस्था आवस् ।’

mag

संसद् सेवाअन्तर्गत रहेको कर्मचारी संगठनका अध्यक्ष रेणुका सुवेदीले विधेयकको परिभाषाभित्रै संघीय संसद् सेवालाई पनि निजामती सेवाभित्र राखिनुपर्ने बताइन् । 

बिहान बेलुका लोक सेवाको कक्षा पढाउन पाउनुपर्ने पनि उनले माग गरिन् । यसअघिका उच्चपदस्थ कर्मचारीले पढाउँदै आएका उदाहरण दिँदै उनले आफ्नो परिवार पाल्न पाउनुपर्ने बताइन् । संसद् सेवालाई राजपत्रांकित द्वितीय श्रेणीसम्म मात्र स्वायत्त गरी राजपत्रांकित प्रथम श्रेणीदेखि खुला गर्नुपर्ने बताइन् ।

निजामती कर्मचारी संगठनका महासचिव रामचन्द्र अधिकारीले पनि विधेयकमा सबै निकायमा राष्ट्रियस्तरका ट्रेड युनियन हुनुपर्ने बताए । 

उनले सबै तहमा फरक –फरक ट्रेड युनियन हुनेगरी कानून आउन नहुने बताए । उनले कार्यालय सहयोगीदेखि मुख्यसचिवसम्मको वृत्ति विकासलाई ध्यान दिनुपर्नेमा जोड दिए । भने, ‘नासुबाट ५० प्रतिशत अधिकृत हुनुपर्ने र ५० प्रतिशत खुला हुनुपर्छ, उपसचिवमा ८० प्रतिशत बढुवा हुनुपर्छ । एउटै श्रेणीमा ५ वर्ष पुगेकोलाई एक तह र १० वर्ष एउटै तहमा रहेकोलाई एक श्रेणी वृद्धि गर्नुपर्छ, १५ वर्ष सेवा गरेर अनिवार्य अवकामा जाने अवस्थामा छ भने एक महिनाअघि एक श्रेणी वृद्धि गर्नुपर्छ ।’

स्थानीय तहका कर्मचारी दीपक गौतमले २०८० असोज २७ गते सरकारले तत्कालीन स्थानीय तह कर्मचारी संघर्ष समितिसँग गरेको सम्झौता कार्यान्वयन गर्न ध्यानाकर्षण गराए । समितिले सम्झौतालाई लत्याउँदै कुनै छलफल नगरी विधेयक ल्याउन लागेको भन्दै आपत्ति जनाए । भने, ‘त्यो बेला सम्झौता गरेका केही बुँदा विधेयकमा समेटिए पनि मुख्य बुँदा छुटेका छन् । अहिले स्थानीय तहका कर्मचारी । नाम र पहिचानविहीन छौँ, संघीयतालाई परिचय दिलाउने कर्मचारी यस्तो हुनु दुःखद हो । विधेयकको परिषाभाषामा समेटिनुपर्छ ।’

उनले प्रमुख प्रशासकीय अधिकृत संघबाट पाँच वर्ष खटाउने भनेको भए पनि अहिले त्यो लत्याइएको बताए । उनले अन्तरप्रदेश सरुवा अनिवार्य व्यवस्था हुनुपर्ने माग गरे ।

त्यस्तै निजामती कर्मचारी संगठन अध्यक्ष भवानी न्यौपानेले हरेक लोकतन्त्र विरोधको आन्दोलनप्रति सचेत रहेको बताइन् । उनले विविध सेवाका कर्मचारीका लागि पनि बाटो खोलिदिनुपर्ने बताइन् । उनले आगामी अधिवेशनको पहिलो दिन १२ गते भित्रै विधेयक पेस गर्न आग्रह गरिन् । 

त्यस्तै नेपाल चिकित्सक संघका अध्यक्ष डा.अनिलविक्रम कार्कीले स्वास्थ्य जस्तो संवेदनशील निकायले संसद् र राज्य खोज्नुपर्ने अवस्था आउनु दुःखद भएको बताए । 

उनले स्वास्थ्य क्षेत्रका कर्मचारीलाई टिप्पणी लेख्न र सदर गर्न आउने तर निजामतीका कर्मचारीलाई अपरेसन गर्न आउने भन्दै विशिष्टीकृत सेवाका रूपमा स्वास्थ्य सेवालाई सम्बोधन गर्नुपर्ने बताए । उनले लिखित र मौखिक रूपमा स्वास्थ्य सेवालाई राज्यले विशिष्टीकृत सेवाका रूपमा हेर्न आवश्यक रहेको उल्लेख गरे । 

त्यस्तै, डा.झलक गौतमले स्वास्थ्य सेवा ऐन संशोधन भए पनि संघीय व्यवस्थाअनुसार नभएको बताए । उनले छुट्टै ऐनका रूपमा २०५३ सालमा जस्तै ल्याउन माग गरे । उनले निजामती सेवाभन्दा बढी सुविधा थपेर ल्याउनुपर्ने माग राखे । स्वास्थ्य सेवालाई निजामती सेवा ऐनमा ल्याउन नहुने उनले बताए ।

नेपाल मधेशी निजामती कर्मचारी मञ्चका अध्यक्ष विजयकुमार यादवले सुब्बासरहका कर्मचारी १८ वर्षदेखि बढुवा नभएर बसिरहेका भन्दै  उनीहरूबारे ऐनमा गम्भीर रूपमा सोच्नुपर्ने बताए । 

कर्मचारी ट्रेड युनियनले अतिरिक्त सचिव आवश्यक नभएको समेत बताएका छन् । उनीहरूले ट्रेड युनियन अधिकार, वृत्ति विकास, समायोजन, सरुवा प्रणाली, अन्तरतह समन्वय, अस्थायी करारको मागसम्बन्धी, स्थानीय तहको पदस्थापन, स्वास्थ्यी र संसद् सेवा कर्मचारीसम्बन्धी माग सम्बोधन गर्न आवश्यक रहेको पनि बताएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप