‘द ग्रेट ग्याट्सबाइ’ को सय वर्ष
तिमीले सुनौलो टोपी लगाउँदा, उनी खुसी हुन्छिन् भने त्यही लगाऊ
तिमी माथिसम्म उफ्रिदा, उनलाई रमाइलो लाग्छ भने उफ्र
यो कृत्य तिमीले त्यति बेलासम्म गर
जबसम्म उनले ‘ओ सुनौलो टोपी लगाएर उफ्रिरहेको प्रिय मान्छे ! म तिमिलाई औधी मन पराउँछ !’ भन्दिनन् ।
थोमस पार्के डी नभिल्लर्सको नाममा लेखिएका यी पंक्ति आज भन्दा ठिक एक सय वर्षअघि अर्थात् १० अप्रिल सन् १९२५ मा अमेरिकी लेखक एफ. स्कट फिट्जेराल्डले लेखेको उपन्यासमा लेखिएका शीर्ष वाक्यांश हुन् ।
पुस्तकको आरम्भमा उद्धृत गरिएका थोमस पार्के डी नभिल्लर्स अरू कोही नभएर उपन्यासकार फिट्जेराल्डकै अर्को उपन्यासका पात्र हुन् । फिट्जेराल्ड आफैले पनि यो नाम लेखकका रूपमा प्रयोग समेत गरेका थिए । उपन्यास प्रकाशन भएको ठ्याक्कै एक शताब्दी पुगेको समयमा फेरी एकपटक संसारभर यस पुस्तकको चर्चा भइरहेको छ ।
आज पनि ‘द ग्रेट ग्याट्सबाइ’ सर्वकालिक महान् उपन्यासको सूचीमा अग्रपंक्तिमा रहेको छ । खासगरी युवाहरूमाझ असाध्यै लोकप्रिय मानिने यो उपन्यासको चर्चा विविध रूपमा आज पनि कायम छ ।
नेपालको साहित्य जगतमा कथा भन्दा प्रायः वामपन्थी साहित्यको झल्को आउने गर्छ । साहित्यमा दलीय वा समूहगत विभाजनको आग्रह भन्दा केही पर त्यसमा व्यक्त विचार र कलाको परख गर्ने शिल्प धिमा गतिमा मात्रै बढ्दैछ ।
अंग्रेजी साहित्यमा ‘हकलबरि फिन’, ‘मोबि डिक’, ‘बिलभेड’, ‘डेभिड कपरफिल्ड’ जस्ता धेरै उपन्यासले समुदाय तथा किनारामा परेका मान्छेका आवाजलाई शक्तिशाली कथामा उनेका छन् ।
कुनै उपन्यासले असह्य पिडामा बाँच्नु पर्दाका असीम दुःखको वर्णन गर्छन् भने कुनैले आफ्नै शब्दमा केवल आर्तनाद मात्रै निकाल्न सक्ने मान्छेका पिडालाई सशक्त कलाको माध्यमबाट जस्ताको तस्तै आम मानिससामु पस्केका छन् ।
यस्तै सर्वकालिक महान् उपन्यास मानिने मध्येको एउटा द ग्रेट ग्याट्सबाइको कथा भने अलिक भिन्न छ । यसले धनाढ्यहरू बिचमा कायम रहेको विभेदको सन्दर्भलाई लिएर मानिस–मानिसबिचको सबन्धको कथा भन्छ ।
- कथाको सार
कथा पहिलो विश्वयुद्ध लगत्तैको अमेरिकी समाजमा आधारित छ । उपन्यासको पुरा कथा निक कारावेले सुनाउँछन् । कारावे अमेरिकाको मध्यपश्चिमबाट वेस्ट एग भनिने ‘लङ आइल्यान्ड’ न्युयोर्कमा वित्तीय कारोबार सिक्न र त्यसै सम्बन्धी काम गर्न आएका हुन्छन् ।
उनी आफ्ना नातेदारहरू बुकानन परिवारसँगै बसी रहेका हुन्छन् । उनीहरूको छेवैमा जे ग्याट्सबाइ नामका युवक आफ्नो भव्य महलमा शानदार र मोज मस्तीको जीवन बिताइरहेका हुन्छन् । त्यहाँ हरेक दिनजसो हुने खानपान र नाच–गानका भव्य आयोजनहरूले कारावेलाई आकर्षित गर्न थाल्छ ।
विस्तारै ग्याट्सबाइ कारावे नजिक हुन पुग्छन् । खासमा ग्याट्सबाइको विगत असाध्यै पृथक् हुन्छ । नर्थ डेकोटाको गरिब परिवारमा जन्मेका उनी असाध्यै महत्त्वाकाङ्क्षी तथा रसिक स्वभावका मान्छे हुन् ।
धेरै धन कमाउने तथा आलिसान जीवन बाँच्ने चाहनाले उनलाई एक ठाउँमा रहन दिँदैन । उनी डेन कोडी नामका तामा साहुको संगतमा पुग्छन् । उनलाई कोडीको सम्पत्तिबाट केही हात पर्न सक्ने आशा हुन्छ । तर, विविध कारण त्यो सपना तुहिन पुग्छ ।
यस्तैमा पहिलो विश्वयुद्ध सुरु हुन्छ । ग्याट्सबाइ अमेरिकी फौजमा भर्ती हुन्छन् । सैन्य जीवनका दौरान लुइसविल्लेमा खटिएको समय उसको भेट एकजना युवती डेजी फेसँग हुन्छ । उनीहरू छोटो समयमै प्रेममा पर्छन । केही समय रोमान्स चल्छ तर यत्तिकैमा ग्याट्सबाइ युद्धका लागि त्यहाँबाट अन्यत्रै जानुपर्ने हुन्छ ।
ग्याट्सबाइ फर्केर आउँदा डेजीको विवाह धनाढ्य व्यक्ति टम बुकाननसँग भइसकेको हुन्छ । टम बुकानन धनी हुनुका साथै असाध्यै घमण्डी पनि हुन्छ । ग्याट्सबाइलाई यो घटनाले धेरै गहिरो चोट पुर्याउँछ ।
उनी विविध तरिकाले धनी हुने बाटो समाउन चाहन्छन् । जस्तो सुकै काम गर्न तयार उनी रहस्यमय तरिकाले एकाएक धनाढ्य बन्न पुग्छन् । आफ्नो कमाइले उनले टम बुकाननको महलको छेउमै भव्य महल खरिद गर्छन् । र, त्यहाँ सम्भ्रान्तहरूको जस्तै जीवन यापन गर्न थाल्छन् ।
कथावाचक कारावेसँग ग्याट्सबाइले आफ्नो असफल प्रेमको विगत सुनाउँछन् । साथै एक पटक डेजीसँग भेटाउन सहयोग समेत माग्छन् । कारावेले यसका लागि ग्याट्सबाइलाई सघाउँछन् । चिया खाने कार्यक्रमको बहानामा डेजी र ग्याट्सबाइको भेट हुन्छ ।

भेटले डेजी र ग्याट्सबाइको सम्बन्धमा पुनः न्यानोपना फर्किन्छ । उनीहरू नजिक हुन् थाल्छन् । ग्याट्सबाइ कारावेसँग आफू पुनः पुरानो प्रेम सम्बन्धलाई विगतकै अवस्थामा फर्काउन चाहेको बताउँछन् ।
यससँगै कथामा नयाँ मोड देखा पर्छ । गर्मीको मौसमको एक दिन न्युयोर्क सहर घुम्न गएका बेला टम बुकानन र जे ग्याट्सबाइ बिच भनाभन हुन पुग्छ । टमले ग्याट्सबाइलाई उसको गरिब विगतलाई लिएर अपमान गर्छन् । उनलाई ‘नालाबाट उठेर आएको’ जस्ता आरोप लगाउँछन् ।
भनाभन बढ्दै जाँदा दुवै एकअर्काको व्यक्तिगत जीवनमा प्रवेश गर्छन् । ग्याट्सबाइले टम र डेजीको सम्बन्धबारे नै प्रश्न उठाउँछन् । टमले डेजीलाई राम्रोसँग माया नगरेको भनिदिन्छन् । यसले डेजीलाई असाध्यै नराम्रो लाग्छ । उनी यो कुरा स्विकार्दिनन् ।
फर्कने क्रममा डेजीले चलाएको मोटरले कुल्चेर एकजना महिला मिटर्ले विल्सनको मृत्यु हुन्छ । डेजीलाई जोगाउन यो दुर्घटनाको जिम्मेवारी ग्याट्सबाइ आफैले लिन्छन् ।
कथाको अर्को पाटो पनि छ । मिटर्लेका श्रीमान सोझा साझा श्रमिक जर्ज विल्सन हुन् । निम्न वर्गको आर्थिक अवस्थामा रहेकी मिटर्ले र डेजीका पति टमबिच खासमा गुप्त सम्बन्ध हुन्छ । तर, टमले यो घटनामा उल्टो भूमिका खेल्छन् ।
उनले जर्ज विल्सनलाई ग्याट्सबाइ र मिटर्लेबिच गुप्त सबन्ध रहेको तथा ग्याट्सबाइले नै उनलाई मारिदिएको कुरा लगाइदिन्छन् । रिसले चुर भएका जर्जले ग्याट्सबाइलाई उसको महलमै गएर गोली हानी हत्या गरिदिन्छन् । र, आफू पनि आत्महत्या गर्छन् ।
यस घटना लगत्तै टम र डेजी त्यो सहर छाडेर अन्यत्रै जान्छन् । ग्याट्बाइको अन्त्येष्टिमा कोही पनि हुँदैनन् । त्यहाँ ग्याट्सबाइका पिता र अर्को एकजना व्यक्ति मात्रै हुन्छन् । डेजी समेत त्यहाँ आउँदिनन् । सबै घटना कारावेले नियालिरहेका हुन्छन् । उनलाई धनाढ्यहरूको यस्तो नैतिक शून्यता तथा निर्दयी जीवन असाध्यै नराम्रो लाग्छ ।
यी सबै परिदृश्यबाट दुःखी भएका कारावे पनि त्यो ठाउँ छाडेर आफ्नो पुरानो गाउँमा फर्किन्छन् । ज्याज संगीतको लोकप्रियता तथा उन्मुक्तताको दशकको रूपमा ‘ज्याज युग’ समेत भनेर चिनिने सन् १९२० को दशकमा ‘अमेरिकी सपना’ को हालत प्रस्तुत गरिएको उपन्यासले धनाढ्यहरू बिचको नैतिक संकट देखाउँछ ।
अझ खास गरेर नयाँ र पुराना धनाढ्यबिचको संकिर्ण प्रतिस्पर्धा तथा इज्जतको लडाइलाई उपन्यासले केलाउने प्रयत्न गरेको छ । नयाँ धनाढ्यहरू धन कमाउन त सफल भए तर स्थापित धनाढ्यहरूबाट मान्यता पाउनबाट भने नराम्ररी चुकेको सन्दर्भले उपन्यासलाई जीवन्त बनाएको छ ।
यो उपन्यास आज जत्तिको प्रकाशनका समयमा चर्चित थिएन । सामान्य नाम चलेका लेखकका रूपमा फिट्जेराल्डको अघिल्लो कृति भने चर्चित थियो । उनी २४ वर्षको उमेरमै नाम चलेका लेखकमा परिसकेका थिए । तर, द ग्रेट ग्याट्सबाइले भने आशातीत सफलता हात पार्न सकेको थिएन ।
पहिलो संस्करणमा प्रकाशित करिब २० हजारप्रति नै लेखको जीवनकालसम्म बिक्री भइसकेकै थिएन । लेखकले यो पुस्तकलाई आफ्नो असफल कृति मानेका थिए । सन् १९४० मा ४४ वर्षको उमेरमै फिट्जेराल्डको निधन भयो ।
उनको निधनको समयमा दोस्रो विश्वयुद्धले संसारभर आतंक फैलाई रहेको थियो । केही सालमै अमेरिका पनि प्रत्यक्ष रूपमा युद्धमा होमियो । युद्धका दौरान अमेरिकी सेनाका जवानहरूले पढुन् भनेर विभिन्न उपन्यासहरू पठाउँन थालियो । यस क्रममा द ग्रेट ग्याट्सबाइ पनि पढ्ने पुस्तकहरूमा पर्न थाल्यो ।
युद्ध सकिदा नसकिँदै उपन्यासको १ लाख ५० हजारप्रति बिक्री भई सकेको थियो । प्रकाशनको मात्रा बढ्न थाल्यो । सन् ५० को दशकसम्म आइपुग्दा पुस्तक असाध्यै लोकप्रिय हुन थाल्यो । ६० को दशकसम्म आउँदा त यो उपन्यास अमेरिकी इतिहासकै महान् उपन्यासको दर्जामा गनिन पुग्यो ।
त्यसपछि अमेरिकाको विद्यालय वा उच्च माध्यमिक तहको पाठ्यक्रममा यसलाई समावेश गरियो । तथा नयाँ पुस्तामा अनिवार्य पढ्नै पर्ने पुस्तकका रूपमा यसको नाम स्थापित भयो ।
- कलाका अन्य क्षेत्रमा
अमेरिकामा वर्गीय अवस्था कस्तो छ भनेर देखाउन शक्तिशाली कथाका रूपमा यो उपन्यासको चर्चा अमेरिकामा मात्रै सीमित रहेन । संसारभर द ग्रेट ग्याट्सबाइ पढ्ने एक खालको फेसन जस्तै हुन थाल्यो । यही उपन्यासमा आधारित रहेर सन् १९७४ र २०१३ मा दुई पटक द ग्रेट ग्याट्सबाइ नामकै चलचित्र समेत बने ।

सन् २०१३ मा बनेको चलचित्रमा प्रख्यात हलिवुड अभिनेता लियोनार्दो डि क्याप्रियोलगायत कलाकारले अभिनय गरेका छन् । जसका लागि विविध विधामा ओस्कार पुरस्कार समेत प्राप्त भएको थियो ।
उपन्यासमा भएको बेपरवाह यौन, मदिरा तथा गालिगलौजको जथाभावि प्रयोगले समाजमा नकारात्मक असर पार्न सक्ने भन्दै कुनै समय यो उपन्यासमा प्रतिबन्ध समेत लगाइएको थियो ।
‘तिमीले कसैलाई आलोचना गर्नुअघि एउटा कुरा ख्याल गर ! यो संसारका सबै मानिसले तिम्रो जस्तो सहज जीवन नपाएका हुन सक्छन् ।’
यसै उपन्यासमा आधारित भएर कथालाई अझै फरक ढंगमा भन्नका लागि कयौँ पुस्तक लेखिएका छन् । जसमा द ग्रेट ग्याट्सबाइले उठाएका सन्दर्भ, विषयवस्तु र कथालाई नयाँ ढंगले प्रस्तुत गरिएको छ ।
- द ग्रेट ग्याट्सबाइ कर्भ
उपन्यासमा अमेरिकामा देखिएको वर्गीय समाजको चरित्र तथा सामाजिक गतिशीलताबारेको बिम्बले साहित्यको घेरा नाघेर अर्थशास्त्रमा पनि छाप छोडेको छ । सन् २०१२ मा तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाको समयमा अमेरिकी आर्थिक सल्लाहकार परिषद्का प्रमुख रहेका एलान क्रुगरले आफ्नो मन्तव्यमा ‘द ग्रेट ग्याट्सबाइ कर्भ’ को उल्लेख गरे ।
त्यसलगत्तै यसको चर्चा फेरी सुरु भयो । आर्थिक–सामाजिक विश्लेषणमा प्रयोग हुने यो बक्ररेखा तथा यसको सिद्धान्तले आय असमानता तथा सामाजिक गतिशीलताबारे व्याख्या गर्छ । यस अन्तर्गत कुनै समाजमा जन्मेको मानिस आफ्नो आमाबुवाको आर्थिक हैसियत भन्दा माथिल्लो स्तरमा जान सक्ने अवस्था कतिको छ भन्ने भन्ने विश्लेषण गरिन्छ ।
यदि आय असमानता कम हुने र सामाजिक गतिशीलता बढी हुने हो भने त्यो समाज स्वतन्त्र, प्रगतिशील र दिगो हुने बताइन्छ । यसरी एउटा उपन्यासले औसत भन्दा न्यून चर्चाबाट सुरु गरेर आफ्नो एक सय वर्षे अवधिमा आफूलाई विश्वकै महानतम कृतिको सूचीमा उकाल्न सफल भएको छ ।
अहिले पुस्तक प्रकाशनको एक सयौँ वर्षगाँठमा विश्वभर यसको फेरि चर्चा भइरहेको छ । विश्वका प्रमुख अखबारहरूले यसबारे रिपोर्ट प्रकाशित गरिरहेका छन् । विश्वभर बढ्दो आर्थिक असमानता तथा घट्दो सामाजिक गतिशीलताका बिच यसको चर्चा साहित्य र अर्थतन्त्र भन्दा बाहेक समाजशास्त्र तथा संस्कृतिको क्षेत्रमा समेत हुन थालेको छ ।
फिट्जेराल्डको जन्मस्थानमा विभिन्न कार्यक्रमहरू भइरहेका छन् । उपन्यास पढ्न छुटेकाहरूका लागि वा सुन्न चाहनेहरूका विभिन्न माध्यममा प्रत्यक्ष वाचनका कार्यक्रमहरू चलिरहेका छन् ।
गत बिहीबार न्युयोर्कको एम्पायर हाउस बिल्डिङमा उपन्यासमा ग्याट्सबाइ र डेजीको मिलनको झल्को दिने गरी हरियो बत्ती बालिएको छ । विभिन्न सहरहरूमा ज्याज संगीतसहित विविध प्रकारका पार्टीहरू आयोजना गरिएका छन् । ती सबैको केन्द्रमा छ– द ग्रेट ग्याट्सबाइ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समाचार हटाउन अदालतले दिएको आदेशप्रति पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण
-
एकल उम्मेदवारी परेसँगै रास्वपा सभापतिमा लामिछाने सर्वसम्मत
-
रास्वपा केन्द्रीय सदस्यमा सन्तोष पन्तको उम्मेदवारी दर्ता
-
रूपन्देहीमा १४ हजारभन्दा बढीलाई राहदानी वितरण
-
परराष्ट्र मन्त्री शिशिर खनालद्वारा रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता
-
१० बजे १० समाचार : प्रदेश सभा खारेज गर्ने रास्वपाको प्रस्तावदेखि सुकुमबासीलाई अल्टिमेटमसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण