पहलगाम हमला : अनुत्तरित छन् यी ३ प्रश्न

नयाँ दिल्ली । गत २२ अप्रिलमा जम्मू कश्मीरको पहलगाममा भएको आक्रमणमा २६ जनाको मृत्यु भएको थियो । त्यसपछि धेरै भिडियोहरू बाहिर आए । यी भाइरल भिडियोहरूमध्ये एक गुजरातकी शीतल कलाठियाको थियो । यस आक्रमणमा शीतलका ४४ वर्षीय पति शैलेशभाई कलाठियाको पनि मृत्यु भएको थियो ।
केन्द्रीय मन्त्री सीआर पाटिल उनको परिवारलाई भेट्न सुरत गए । शीतलले उनको अगाडि आफूलाई सम्हाल्न सकिनन् र आफ्नो पीडा व्यक्त गर्न थालिन् ।
शीतलले भनिन् , ‘तपाईंसँग यति धेरै भीआईपी कारहरू छन् । तर, कर तिर्ने व्यक्तिको बारेमा के हुन्छ ? त्यहाँ न त सिपाहीहरू थिए न त कुनै मेडिकल टोली नै ।’
अंग्रेजी पत्रिका ‘द हिन्दू’ ले पनि महाराष्ट्रका पारस जैनसँग कुराकानी गर्यो । उनी यो आक्रमणबाट बाँचे । उनका अनुसार आक्रमण २५–३० मिनेटसम्म चलेको थियो । उनले त्यहाँ न त कुनै प्रहरी न त कुनै सेनाका जवान नै रहेको दाबी गरे ।
रिपोर्टका अनुसार, केन्द्रीय रिजर्भ पुलिस बल (सीआरपीएफ) क्याम्प आक्रमण स्थलबाट सात किलोमिटर टाढा थियो भने सेनाको राष्ट्रिय राइफल्स क्याम्प पाँच किलोमिटर टाढा थियो ।
मृतकका परिवार र देशका बाँकी मानिसहरू आक्रमणको आघातबाट निस्कने प्रयास गरिरहेका बेला धेरै प्रश्नहरू पनि उठिरहेका छन् । हाल यी धेरै प्रश्नहरूको उत्तर फेला परेको छैन ।
यी प्रश्नहरूमध्ये सबैभन्दा महत्त्वपूर्ण प्रश्न हो– पहलगामको यो लोकप्रिय पर्यटकीय स्थल बैसरणमा किन सुरक्षा व्यवस्था थिएन?
बीबीसीले जम्मू कश्मीर र सुरक्षासँग सम्बन्धित विज्ञहरूसँग कुरा गरेर यस्ता प्रश्नहरूको जवाफ खोज्ने प्रयास गरेको छ । यस्तो थियो विज्ञहरूको राय ।
बैसरणमा किन सुरक्षा थिएन?
पहलगाममा भएको आक्रमणपछि यो लोकप्रिय पर्यटकीय स्थलमा किन सुरक्षा व्यवस्था थिएन भन्ने प्रश्न बारम्बार उठिरहेको छ ।
पत्रकार तथा कश्मीर मामिला विज्ञ अनुराधा भसीनका अनुसार जहाँसम्म उनलाई याद छ, उनले जम्मू कश्मीरमा सधैँ भारी सैन्य बल तैनाथ गरेको देखेकी छन् । भसीन भन्छन्, ‘१९९० को दशकदेखि, मलाई कुनै पनि सार्वजनिक स्थान याद छैन जहाँ सुरक्षा थिएन । जताततै तपाईंले केही सुरक्षाकर्मी वा सुरक्षा व्यवस्था देख्नुहुन्थ्यो । त्यसैले यो क्षेत्रमा कुनै सुरक्षा नहुनु अचम्मको कुरा हो ।’
उनले केही थप प्रश्नहरू पनि उठाइन्– आक्रमणको केही घण्टा भित्र आक्रमणकारीहरूको नाम कसरी सार्वजनिक भयो ?
उनी भन्छिन्, ‘सुरक्षा बललाई त्यहाँ पुग्न समय लाग्यो । तर केही समयपछि उनीहरूसँग आक्रमणकारीहरूको स्केच थियो । उनीहरू यो निष्कर्षमा कसरी पुगे? यो अनुसन्धान धेरै भरपर्दो देखिँदैन । यस्ता घटनाहरूको इतिहास रहेको छ, जसको अनुसन्धानमाथि प्रश्न उठाइएको छ । यी केही प्रश्नहरू हुन जुन मेरो मनमा छन् ।’
सन् २०१९ मा धारा ३७० हटाएपछि पनि कश्मीरमा यस्ता घटनाहरू भइरहेको उनी बताउँछिन्, भलै धेरै ठूला नभए पनि । उनका अनुसार यो घटना संसारको सबैभन्दा सैन्यीकृत क्षेत्रहरू मध्ये एकमा भएको थियो । यसले गम्भीर प्रश्नहरू खडा गर्छ ।
भसीन भन्छिन्, ‘गत पाँच वर्षमा केही घटनाहरू भएका छन् । आतंकवाद समाप्त भएको भन्न सकिँदैन । सुरक्षा अधिकारीहरूले पनि यस मुद्दाको बारेमा कुरा गर्दा ‘नियन्त्रित’ जस्ता शब्दहरू प्रयोग गर्छन् । तिनीहरू आतंकवादको ‘अन्त्य’ जस्ता शब्दहरू प्रयोग गर्दैनन् । आतंकवाद समाप्त भएको छ एक राजनीतिक ‘न्यारेटिभ’ हो । पछिल्ला पाँच वर्षमा जे पनि शान्ति सिर्जना भएको छ त्यो बढी सैन्य नियन्त्रणको कारणले हो।’
प्रोफेसर अमिताभ मट्टू जवाहरलाल नेहरू विश्वविद्यालयको अन्तर्राष्ट्रिय अध्ययन स्कूलमा अध्यापन गराउँछन् र अन्तर्राष्ट्रिय द्वन्द्व र सुरक्षाका विज्ञ हुन् । भसिनका प्रश्नहरूको जवाफ दिँदै उनी भन्छन्, ‘पछिल्ला केही वर्षहरूमा, पर्यटकीय स्थलहरूमा सैन्य बलको भारी तैनाथी नगर्ने प्रवृत्ति देखिएको छ ।’
‘एउटा रणनीति अपनाइएको थियो जुन प्रभावकारी थियो तर धेरै स्पष्ट थिएन । तर जे भए पनि, यो एउटा ठूलो सुरक्षा त्रुटि थियो,’ उनी भन्छ् ।
जम्मू कश्मीरका पूर्वप्रहरी महानिर्देशक (डीजीपी) एसपी वैदले पर्यटकहरूलाई दुर्गम क्षेत्रमा लगिने भएकोले त्यहाँ प्रहरी तैनाथ गर्नुपर्ने बताए । वैद्य भन्छन्, ‘मलाई लाग्छ त्यहाँ सशस्त्र प्रहरीको उपस्थिति हुनुपथ्र्यो । प्रहरी वा अर्धसैनिक बल त्यहाँ हुनुपथ्र्यो । यदि तिनीहरू त्यहाँ भएको भए, तिनीहरूले आतंककारीहरूसँग लड्न सक्थे । तर, यो पनि सत्य हो कि प्रहरीहरू सबै ठाउँमा उपस्थित हुन सक्दैनन् । स्रोतहरू सीमित छन् । हो, यदि पर्यटकहरू दुर्गम क्षेत्रमा जाँदै थिए भने, त्यहाँ केही प्रहरीहरू हुनुपथ्र्यो ।’
लेफ्टिनेन्ट जनरल (सेवानिवृत्त) सतीश दुआ लामो समयदेखि जम्मू कश्मीरमा तैनाथ थिए । उनी भन्छन्, ‘सेना र राष्ट्रिय राइफल्सभित्री क्षेत्रहरूमा सबै ठाउँमा उपस्थित हुन सक्दैनन् । आतंककारीहरूसँग सामना गर्न उनीहरू सीमामा तैनाथ छन् । यदि हामी प्रहरीको कुरा गर्छौँ भने, कश्मीर उपत्यका १२० किलोमिटर लामो र ३८ किलोमिटर चौडा छ । सबै ठाउँमा प्रहरी तैनाथ गर्न सम्भव छैन ।’
किन आम जनतालाई निशाना बनाइयो?
पहलगाम आक्रमणमा किन सर्वसाधारणलाई लक्षित गरियो भन्ने प्रश्न पनि उठ्छ । यस आक्रमणमा, अतिवादीहरूले एउटा तरिका अपनाए जुन अन्य आक्रमणहरूभन्दा फरक थियो।
यस आक्रमणमा सैनिक वा प्रहरीलाई नभई आम नागरिकलाई निशाना बनाइएको थियो। जम्मू कश्मीर वा देशको कुनै पनि भागमा लामो समयपछि यो पहिलो पटक यस्तो आक्रमण भएको थियो, जसमा यति ठूलो मात्रामा सर्वसाधारणलाई लक्षित गरिएको थियो ।
सेवानिवृत्त लेफ्टिनेन्ट जनरल सतीश दुआ भन्छन्, ‘पछिल्लो पाँच वर्षमा, कश्मीर उपत्यकाको अवस्थामा सुधार आएको छ र सकारात्मक परिवर्तन आएको छ । मानिसहरू फेरि सामान्य जीवनमा फर्कन थालेका छन् । पर्यटन पनि धेरै छिटो बढ्न थालेको छ । आतंककारीहरूले कहिल्यै पर्यटकीय क्षेत्रहरूलाई लक्षित गर्दैनन् । यो कुरा विश्वभर र विशेष गरी कश्मीरमा सत्य हो । किनभने यदि आतंककारीहरूले त्यसो गरे भने, तिनीहरूले स्थानीय कश्मीरीहरूको जीविकोपार्जनलाई लक्षित गर्नेछन् । तिनीहरूले यी स्थानीय मानिसहरूबाट समर्थनको अपेक्षा गर्छन् । यसले उनीहरूको समर्थन समाप्त हुनेछ । यही कारणले गर्दा घरेलु क्षेत्रहरूमा हामी सधैँ यो बुझाइ राख्छौँ कि आतंककारीहरूले आम मानिसहरूलाई लक्षित गर्दैनन् ।’
उनले भने, ‘म कोप्र्स कमाण्डर हुँदा पनि मानिसहरू मलाई सोध्थे कि के हामी कश्मीर (पर्यटनको लागि) आउन सक्छौँ । म सधैँ उनीहरूलाई भन्थे, कृपया आउनुहोस् । तपाईं दाल ताल नजिकै बस्न सक्नुहुन्छ वा पर्यटकीय स्थलहरूको भ्रमण गर्न सक्नुहुन्छ किनभने यी ठाउँहरूमा कुनै आक्रमण हुँदैन।’
प्रोफेसर अमिताभ मट्टू पनि यस आक्रमणमा सर्वसाधारणलाई लक्षित गर्नुको कारणमाथि प्रश्न उठाउँछन् । उनी भन्छन्, ‘आतंकवादी समूहहरूले किन सर्वसाधारणलाई लक्षित गर्न थालेका छन् ? पहिले उनीहरूले मुख्यतया सैन्य ठेगानाहरूलाई लक्षित गर्थे । यस पटक उनीहरूले कश्मीरी जनताको भावनालाई कुनै विचार गरेका छैनन् । के यो स्थिति सामान्य हुँदै गएको विचारलाई अस्वीकार गर्ने तरिका हो ?
‘पहिले, आतंकवादी समूहहरूको रणनीति सैन्य लक्ष्य र स्थानीय जनसंख्यामा प्रभाव पार्न सक्ने लक्ष्यहरू बिच भिन्नता छुट्याउनु थियो । अब त्यो भिन्नता हराएको छ । हो, यस पटक उनीहरूले मात्र हिन्दूहरूलाई लक्षित गरे ।’
सर्वसाधारणलाई लक्षित गर्नुको एउटा कारण देशको बाँकी भागमा भावना भड्काउनु हुन सक्ने दुआ पनि स्वीकार गर्छन् । उनले भने, ‘आतंककारीहरूले के गरे ? उनीहरूले हिन्दू पुरुषहरूलाई अलग गरेर मारे । उद्देश्य यो थियो कि महिलाहरू आफ्नो सहरमा फर्केर यो सबैको कथा सुनाऊन् । महिलाको पीडादायी चिच्याहटको प्रभाव सबैतिर पर्छ र त्यसपछि यसले देशका विभिन्न भागहरूमा भावनाहरू भड्काउनेछ । हामी उनीहरूको पासोमा नफस्ने भारतले निर्णय गर्नुपर्छ ।’
उनका अनुसार यो सन् २०२३ मा इजरायलमाथि हमासको आक्रमण जस्तै हो । ‘उनीहरूले हमासको दृष्टिकोण अपनाएका छन्, नोभा संगीत महोत्सव (इजरायल) मा गरेको जस्तै काम गरिरहेका छन्,’ उनी भन्छन्, ‘किनभने निर्दोष नागरिकहरू, विशेष गरी पर्यटकहरू,लाई मार्ने कामले सुरक्षा बलहरूलाई मार्ने काम भन्दा बढी मानिसहरूमा प्रभाव पार्छ।’
के यो गुप्तचर विफलता थियो?
अमिताभ मट्टू यस आक्रमणमा पाकिस्तानको संलग्नता रहेकोमा उनलाई कुनै शंका नरहेको बताउँछन् । त्यसपछि प्रश्न उठ्छ कि के यो ठूलो गुप्तचर विफलता थियो ?
उनले भने, ‘पाकिस्तानमा राजनीतिक र सैन्य प्रतिष्ठानबिच कति साँठगाँठ छ भन्ने कुरा अझै स्पष्ट छैन । के पाकिस्तानी सरकारलाई थाहा थियो कि सेना र आईएसआई र लश्कर–ए–तैयबाजस्ता अग्रगामी संगठनहरू यस्ता गतिविधिहरूमा संलग्न छन् ? मलाई यसमा पाकिस्तानको संलग्नतामा छ भन्नेमा एक क्षणको लागि पनि शंका छैन ।’
मट्टु भन्छन, ‘यो एक गुप्तचर विफलता हो । हामीले किन कुनै इलेक्ट्रोनिक जानकारी प्राप्त गर्न सकेनौँ जसको माध्यमबाट हामीले यो आक्रमणको भविष्यवाणी गर्न र यसलाई विफल पार्न सक्थ्यौँ ?’
यहाँ यो कुरा उल्लेखनीय छ कि आक्रमणपछि प्रधानमन्त्रीको अध्यक्षतामा क्याबिनेट कमिटी अन सेक्युरिटी (सीसीएस) को बैठक बसेको थियो । बैठकका निर्णयहरूको बारेमा जानकारी दिँदै विदेश सचिव विक्रम मिश्रीले यो ‘आतंकवादी हमला’ को सीमापार सम्बन्ध रहेको बताएका थिए ।
सेवानिवृत्त लेफ्टिनेन्ट जनरल सतीश दुआ पनि गुप्तचर असफलता ठूलो गल्ती हो भन्ने विश्वास गर्छन् । दुआ भन्छन्, ‘के हामीले केही राम्रो गर्न सक्थ्यौँ ? हो, म भन्दै छैन कि त्यहाँ कुनै त्रुटिहरू थिएनन् । हामीले राम्रो गुप्तचर जानकारी सङ्कलन गर्न सक्थ्यौँ । यो घटना हुनुभन्दा केही दिन अघि, पाकिस्तानका सेना प्रमुखले एक बयान दिएका थिए । यसमा, उनले हिन्दू र मुस्लिमहरूको बारेमा कुरा गरेका थिए । उनले मुस्लिमहरूको श्रेष्ठताको बारेमा कुरा गरे । हामीले त्यो संकेत बुझ्नुपथ्र्यो । कुनै पनि हाई–प्रोफाइल आतंकवादी आक्रमणलाई सधैं शीर्ष स्तरमा अनुमोदन गरिन्छ । पाकिस्तानी सेना प्रमुखलाई थाहा थियो कि उनी के गर्दैछन् । त्यसैले हामी त्यस्ता कुराहरूमा बढी होसियार हुनुपथ्र्यो । हामीले हाम्रा कान र आँखा जमिनमा बढी सतर्क राख्नुपथ्र्यो ।’
उनी भन्छन्, ‘देशले मानव बुद्धिमत्ता (ह्युमन इन्टिेलिजेन्स) मा सुधार गर्नु आवश्यक छ । हामी अब इलेक्ट्रोनिक बुद्धिमत्तामा धेरै निर्भर छौँ । यो दुवैको राम्रो संयोजन हुनुपर्छ ।’
यहाँ यो कुरा उल्लेखनीय छ कि आक्रमणपछि प्रधानमन्त्रीको अध्यक्षतामा क्याबिनेट कमिटी अन सेक्युरिटी (सीसीएस) को बैठक बसेको थियो । बैठकका निर्णयहरूको बारेमा जानकारी दिँदै विदेश सचिव विक्रम मिश्रीले यो ‘आतंकवादी हमला’ को सीमापार सम्बन्ध रहेको बताएका थिए ।
यति मात्र होइन, भारतले पाकिस्तान विरुद्ध धेरै कदम पनि चाल्यो । यसमा सिन्धु जल सन्धिको निलम्बन, भिसा रद्द र अटारी सीमा बन्द गर्ने जस्ता निर्णयकहरु समावेश छ । धेरै पाकिस्तानी कूटनीतिज्ञहरूलाई पनि भारत छोड्न भनियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशिष्ट उपचार सेवा सातै प्रदेशमा, बीमाको आर्थिक संकटसँग जुध्ने प्रयास
-
ला लिगामा ३४ औं चरणका खेल सुरु, बार्सिलोना उपाधि नजिक
-
प्रिमियर लिग : पेप ग्वार्डिवलाको म्यान्सिटी तेस्रो स्थानमा
-
चीन-भारत जोड्ने कालीगण्डकी कोरिडोर छेउको रूपसे झरनामा धमाधम पर्यटकीय पूर्वाधार निर्माण
-
फेरि उकालो लाग्दै अमेरिकी डलर, कति छ अन्य विदेशी मुद्राको मूल्य ?
-
अबुधावीमा राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढीले लिए सेवा