शुक्रबार, ०६ असार २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
राजनीतिमा अपराध

विभिन्न आपराधिक ‘मुद्दा’ झेल्दै एकीकृत समाजवादीका यी नेता

शुक्रबार, ०६ असार २०८२, १५ : ५२
शुक्रबार, ०६ असार २०८२

समाचार सारांश

  • माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ, जसमा पतञ्जलि योगपीठलाई जग्गा खरिदमा हदबन्दी छुट दिइएको विषय समावेश छ।
  • नेकपा एसका सांसद मेटमणि चौधरीविरुद्ध ५ करोड ४० लाखको चेक अनादरको उजुरी परेको छ भने पूर्वमुख्यमन्त्री दीर्घ सोडारीमाथि गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोप लागेको छ।
  • एकीकृत समाजवादीका नेता डीएस महता वैदेशिक रोजगारी ठगी मुद्दामा पक्राउ परेका छन् भने राजेन्द्र कुँवर र विनोद थापा फरार छन्, उनीहरूले कोरिया पठाउने नाममा रकम उठाएका थिए।

काठमाडौं । सामान्यतया राजनीतिक नेता कार्यकर्तामाथि अपराधकर्मका आरोपमा हुने अनुसन्धान वा उनीहरूमाथि लाग्ने मुद्दा, पर्ने उजुरी वा आरोपलाई राजनीतिक भाषामा प्रतिशोध वा षड्यन्त्र भन्ने चलन छ ।

खासगरी विपक्षी दलका नेता–कार्यकर्तामाथि लाग्ने अपराधका यस्ता आरोपलाई लिएर ‘षड्यन्त्र’ का रूपमा परिभाषित गरिँदै आएको छ । हुन पनि कुनै पार्टी वा तिनका नेता–कार्यकर्ता सरकार वा सत्ताको स्वार्थ अनुकूल नचले फसाउन अनेकन बहाना र मुद्दा उठाउने प्रवृत्ति देखिएकै छ । तर यसो भन्दैमा शक्तिका आडमा अपराधकर्म गर्नेको पनि कमी नभएको होइन ।

नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, रास्वपादेखि राप्रपाकै केही नेता कुनै न कुनै अपराध काण्डमा मुछिएका छन् । पछिल्लो समय नेकपा एकीकृत समाजवादीका नेता–कार्यकर्ताहरू पनि विभिन्न अपराध कर्ममा मुछिएका समाचार आइरहेका छन् ।

एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र पूर्वमुख्यमन्त्री दीर्घ सोडारीमाथि भ्रष्टाचार मुद्दा र प्रतिनिधि सभा सदस्य एवं उपमहासचिव मेटमणि चौधरीविरुद्ध ठगीका उजुरी परेका छन् ।

नेपाल, चौधरी र सोडारीमात्र होइन, सो पार्टीका पूर्वस्थायी कमिटी सदस्य डीएस महता र पूर्वमन्त्री शेरबहादुर कुँवरका भाइ राजेन्द्र कुवँरसमेत ठगीजस्तो अपराधिक गतिविधिमा संलग्न रहेको पाइएको छ ।

१.पतञ्जलि प्रकरणमा माधव

माधवकुमार नेपाल नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री समेत हुन् । नेता नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २२ गते विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा दर्ता गरेको छ ।

नेपाल प्रधानमन्त्री भएका वेला पतञ्जलि योगपीठले जडीबुटी खेती र आयुर्वेद अस्पताल निर्माणका लागि हदबन्दी छुटमा जग्गा खरिद गरेको थियो । तत्कालीन सरकारको निर्णयबाट हदबन्दी छुटमा पाएको जग्गा पछि मन्त्रिपरिषद्‍कै निर्णयबाट बिक्री गरेको भेटिएपछि अख्तियारले छानबिन थालेको हो ।

भूमिसम्बन्धी ऐन, २०२१ मा कुनै उत्पादनमूलक उद्योग वा व्यवसाय गर्न सरकारले हदबन्दीमा छुट हुने गरी जग्गा राख्ने सुविधाको व्यवस्था छ । तर त्यसरी सुविधामा खरिद गरेको जग्गा बिक्री गर्न नपाइने अख्तियारको दाबी छ । पतञ्जलिले आयुर्वेद शिक्षालयदेखि अस्पताल र जडीबुटी फार्म सञ्चालन गर्न २०६४ सालमा कम्पनी दर्ता गरेको थियो ।

सोही कम्पनीलाई २०६६ माघ १८ मा माधवकुमार नेपाल नेतृत्वको मन्त्रिपरिषद् बैठकले काभ्रेमा ८१५ रोपनी जग्गा किन्न छुट दिएको थियो ।

२. मेटमणिलाई ५ करोड ४० लाखको चेक अनादर उजुरी

नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा सङ्घीय सांसद मेटमणि चौधरीविरुद्ध बैंकिङ कसुरमा प्रहरीमा जाहेरी परेको छ । दाङ क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद चौधरीविरुद्ध चेक अनादरमा बिहीबार जाहेरी परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका एसपी अर्जुन तिमिल्सिनाले हुलाक मार्फतबाट सांसद चौधरीविरुद्ध चेक अनादरमा जाहेरी आएको रातोपाटीलाई बताए । उनले भने, ‘हुलाकबाट जाहेरी आएको हो । ५ करोड ४० लाखको चेक अनादरको जाहेरी परेको हो ।’

चौधरी २०७९ को निर्वाचनमा दाङ १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । चौधरीविरुद्धको उजुरीमा छानबिनपछि दर्ता प्रक्रियामा जाने प्रहरीले जनाएको छ ।

३. गैरकानुनी सम्पत्ति आर्जनमा पूर्वमुख्यमन्त्री सोडारी

नेपाल र चौधरीमात्र होइन, सुदूरपश्चिमका तत्कालीन मुख्यमन्त्री एवं एकीकृत समाजवादीका प्रदेश सभा सदस्य दीर्घबहादुर सोडारीविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भइसकेको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोडारीविरुद्ध जेठ १९ गते विशेष अदालतमा गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको भन्दै मुद्दा दायर गरेको हो ।

सुदूरपश्चिम सरकारमा मन्त्री हुँदा सोडारीले आफ्नो र परिवारको कूल सम्पत्ति ८५ लाख ५१ हजार ३३४ रुपैयाँ ९२ पैसा वैधानिक आर्जन देखाए पनि पदवहालीपछि शक्तिको दुरुपयोग गरी एक करोड आठ लाख ३८ हजार तीन सय ५७ रुपैयाँ ५७ पैसा अनधिकृत रूप,मा आर्जन गरेको अनुसन्धानबाट देखिएको अख्तियारले जनाएको छ ।

सोडारीले एक करोड ८ लाख ३८ हजार ३०२ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत पुष्टि गर्न नसकेको अख्तियारको भनाइ छ । सोडारीविरुद्ध अख्तियारले २०७४ माघ ७ गतेदेखि २०७९ फागुन १० गतेसम्मको अवधिमा आर्जन गरेको सम्पत्ति र खर्चबारे छानबिन गरेको थियो ।

२०८१ वैशाल ६ गतेदेखि २०८१ साउत २० गतेसम्म सुदूरपश्चिमका मुख्यमन्त्री बनेका उनीविरुद्ध अख्तियारले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति जफत गर्न तथा वास्तविक सम्पत्तिको विवरण उल्लेख नगरी सम्पत्ति लुकाएर झुटा विवरण पेस गरेको भन्दै थप कैद र जरिबानासमेत माग गरेको छ । 

सोडारी सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गत सामाजिक विकास मन्त्री, भौतिक पूर्वाधार विकास मन्त्री र प्रदेश सभा सदस्य र मुख्यमन्त्री भएका थिए ।

४. महता पक्राउ, कुँवर र थापा फरार

नेकपा एकीकृत समाजवादीका पूर्वस्थायी कमिटी सदस्य ठगीको मुद्दामा पक्राउ परेका छन् । सो पार्टीका स्थायी कमिटी सदस्य देवसिंह (डीएस) महता वैदेशिक रोजगारी ठगी मुद्दामा जेठ अन्तिम साता पक्राउ परेका हुन् ।

पूर्वश्रममन्त्री शेरबहादुर कुँवरका भाइ तथा अछाम जिल्ला कमिटीका नेता राजेन्द्र कुँवर र विनोद थापा भने फरार छन् ।

ds @ kuwar

प्रहरीका अनुसार पक्राउ परेका महताले पार्टी सञ्चालनका लागि पार्टी अध्यक्षको सचिवालयले निर्देशन दिएपछि रकम संकलन गरेको प्रारम्भिक बयान दिएका छन् । महतासहित कुवँर र थापाले कोरियामा कृषि कार्यका लागि सिजनल भिसामा मान्छे पठाउने नाममा विभिन्न जिल्लाका ३५ जनाबाट डेढ करोडभन्दा बढी रकम उठाएको वैदेशिक रोजगार विभागमा जाहेरी दर्ता भएको छ । पीडितहरूको जाहेरीका आधारमा पक्राउ पुर्जी जारी भएको थियो ।

वैदेशिक रोजगार विभागबाट पक्राउ गर्न पत्राचार भएपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले महतालाई पक्राउ गरेको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी काजीकुमार आचार्यको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

रातोपाटीका रिपोर्टिङ प्रमुख फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप