भद्रगोल पोखरा महानगर : सञ्चालकसँग सम्पन्न प्रमाणपत्र छ, महालेखाको प्रतिवेदनमा छैन !

समाचार सारांश
- पोखरा महानगरपालिकाको कमजोरीका कारण व्यवसायीहरू झमेलामा परेका छन्। महालेखा परीक्षकको प्रतिवेदनले भवन निर्माण सम्पन्न प्रमाणपत्र नलिई व्यवसाय सञ्चालन गरेको देखाएको छ।
- कतिपय होटलले नक्सापास लिइसकेको र सम्पन्न प्रमाणपत्र पनि लिइसकेको पाइएको छ। व्यवसायीहरूले महानगरको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्।
- महानगरका अधिकारी र नक्सा शाखा प्रमुखले महालेखाको प्रतिवेदनबारे फरक-फरक धारणा राखेका छन्। यसले आन्तरिक विवरण सुरक्षा र समन्वयको कमजोरी देखाउँछ।
पोखरा । पोखरा महानगरपालिकाको कमजोरीका कारण यहाँका व्यवसायीहरू अनावश्यक झमेलामा फसेका छन् । महालेखा परीक्षक (मलेप) को पछिल्लो प्रतिवेदनले पोखराका केही प्रतिष्ठित होटलहरूले भवन निर्माण सम्पन्न प्रमाणपत्र नै नलिई व्यवसाय सञ्चालन गरेको देखाएको छ । तर मलेपको रिपोर्टमा उल्लेख भएकामध्ये केही होटलले नक्सापास पनि लिएको भेटिएको छ र कतिपयले सम्पन्न प्रमाणपत्र पनि लिइसकेका छन् ।
महालेखा परीक्षकको आर्थिक वर्ष २०८०/८१ को प्रतिवेदनमा पोखरा उद्योग वाणिज्य सङ्घसहित केही होटलको नक्सापास सम्बन्धी तथ्याङ्क फेला नपरेको र केही होटलले स्वीकृति नै नलिएको उल्लेख छ । उक्त विषयमा रातोपाटीले समाचार लेखेपछि तथ्याङ्क नभेटिएको सूचीमा परेको ‘बरपिपल रिसोर्ट’ का सञ्चालक जितु गुरुङले महानगरबाट बदमासी भएको गुनासो गरेका छन् ।
उनले आफ्नो रिसोर्टले २०७७ साउनमै सबै भवनको सम्पन्न प्रमाणपत्र लिइसकेको दाबी गरेका छन् । ‘मैले एउटा पनि भवन मापदण्डविपरीत बनाएको छैन । मसँग सबै कागजात सुरक्षित छ,’ आक्रोशित हुँदै गुरुङले भने- ‘पर्यटन विभागबाट ‘डिलक्स रिसोर्ट’ को स्वीकृति घर सम्पन्न प्रमाणपत्रविना कसरी पाइन्छ ? यो त पोखराकै पहिलो र एक मात्र डिलक्स रिसोर्ट हो । कि मैले घुस खुवाएर स्वीकृति लिएको भन्नुपर्यो ?’
महानगरपालिकाले महालेखा जस्तो जिम्मेवार निकायलाई गलत विवरण दिएर आफ्नो व्यवसायको प्रतिष्ठामाथि नै प्रहार गरेको भन्दै उनले कानुनी उपचार खोज्ने चेतावनी दिएका छन् ।
‘उपभोक्ताको कागजात संरक्षण गर्नु महानगरको दायित्व हो कि होइन ? मेरो होटलको बदनाम भएको छ, म अब चुप लागेर बस्दिनँ,’ उनले थपे । घटना सानो देखिए पनि यसले पोखरा महानगरपालिकाभित्रको आन्तरिक विवरण सुरक्षा र समन्वयलाई उदाङ्गो बनाएको छ ।
महानगरका एक अधिकृतले यसको सम्पूर्ण जिम्मेवारी नक्सा शाखाले लिनुपर्ने बताए । ‘मलेपको प्रारम्भिक प्रतिवेदन आएपछि सम्बन्धित सबै शाखाले त्यसलाई हेरेर आफ्नो राय दिनुपर्छ । नक्सा शाखाबाटै केही गडबड भयो होला, जवाफदेही पनि त्यही शाखा हुनुपर्छ,’ उनले भने । तर, नक्सा शाखाका प्रमुख सुरेन्द्र पौडेलले भने महालेखाले प्रतिवेदन बनाउँदा आफ्नो शाखासँग कुनै विवरण नै नमागेको र हचुवाको भरमा प्रतिवेदन तयार पारेको दाबी गरेका छन् ।
‘महालेखाले हामीसँग नक्सा पास नभएका भवनको विवरण माग्यो, तर सम्पन्न भएका होटलको सूची मागेको थिएन । नक्सापास नभएका होटलको विवरण हामीसँग हुने कुरा पनि भएन,’ पौडेलले भने, ‘अडिट रिपोर्टमा जुन–जुन होटलको नाम आयो, त्यो हामीले रिपोर्ट सार्वजनिक भएपछि मात्रै थाहा पाएका हौँ ।’
उनले सूचीमा परेको अर्को होटल ‘एलो प्यागोडा’को पनि नक्सा पास भैसकेको बताए । तर सम्पन्न प्रमाणपत्र भने नलिएको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
सुनकोशी क्षेत्रमा बाढीको जोखिम: खोटाङ प्रशासनद्वारा सतर्कता अपनाउन अनुरोध
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
-
वीरगञ्ज नाकाबाट ११ महिनामा दुई हजार ३ सय ८५ विद्युतीय सवारीसाधन आयात