बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ श्रावणदेखि, बुकिङ खुला

प्रदर्शनीले नयाँ सकारात्मक दृष्टिकोण तथा ऊर्जा प्रदान गर्ने विश्वास
बुधबार, २४ वैशाख २०८२, १५ : १९
बुधबार, २४ वैशाख २०८२

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसनले काठमाडौँको भृकुटीमण्डपमा अटोमोबाइल प्रदर्शनी नेपाल मोबिलिटी एक्स्पो २०२५ आयोजना गर्ने भएको छ । 

आगामी श्रावण २१ गतेदेखि २५ गतेसम्म सम्पूर्ण अटोमोबाइल क्षेत्रलाई समेट्ने गरी व्यवस्थित तथा भव्य रुपमा अटोमोबाइल प्रदर्शनी नेपाल मोबिलिटी एक्स्पो २०२५ आयोजना गर्न लागिएको हो । 

उक्त प्रदर्शनीले सम्पूर्ण अटोमोबाइल क्षेत्रका निर्माता डिलर, डिस्ट्रिब्युटर, उपभोक्ता, अवलोकनकर्ता तथा यस क्षेत्रमा सरोकार राख्ने सम्पूर्णमा नयाँ सकारात्मक दृष्टिकोण तथा ऊर्जा प्रदान गर्ने आयोजककाे विश्वास छ । 

साथै अटोमोबाइल क्षेत्रमा समय समयमा भइरहने परिवर्तनका लागि नीति निर्माता, अटो क्षेत्रका विज्ञ, उद्योगीहरुलाई एउटै ठाउँमा सहभागी गराई अटोमोटिभ प्रविधि, डिजाइन र दिगोपनमा भएका नवीनतम प्रविधि प्रदर्शन गरिने छन् । 

प्रदर्शनीमा सहभागीताको लागि स्टल बुकिङ समेत खुला गरिसकिएको छ । यही वैशाख २२ देखि २९ गते (सन् २०२५ मे ५ देखि मे १२) सम्म स्टल बुकिङ खुला रहने छ । 

इच्छुक कम्पनीहरूलाई स्टल बुकिङ गर्न आग्रह गरिएको छ । आयोजकका अनुसार अन्तिम स्टल बाँडफाँड पारदर्शी लटरी प्रणाली मार्फत गरिने छ । 

दुई र चार पाङ्ग्रे सवारी साधन तथा हलुका व्यावसायिक सवारी साधनका लागि छुट्टाछुट्टै हलहरू नराखी प्रदर्शकले आफ्नो ठाउँ र स्थानको आवश्यकता अनुसार कुनै पनि स्टल रोज्न सक्ने व्यवस्था गरिएको छ ।  

प्रदर्शनीको व्यवस्थापन र संयोजन मिडिया स्पेस सोलुसन्स प्रा. लि.ले गर्नेछ । विगतका अन्य प्रदर्शनीहरूको तुलनामा नाइमा नेपाल मोबिलिटी एक्स्पोमा विभिन्न परिवर्तन तथा सुधारहरू हुनेछन् ।

नेपाल मोबिलिटी एक्स्पो २०२५ ले नेपालको अटोमोबाइल क्षेत्रको भविष्यलाई गति दिने र अटोमोटिभ उद्योगलाई अगाडि बढाउने सहकार्यलाई बढावा दिने लक्ष्य राखिएको नाइमाकी संस्थापक अध्यक्ष रितु सिंह वैद्यले बताइन् । 

सदस्यहरू र उद्योग सरोकारवालाहरूलाई उत्कृष्ट सुविधा र प्लेटफर्म प्रदान गर्न आफुहरुले काम गरिरहेको उनले बताइन् । 

प्रदर्शनीमा भाग लिने कम्पनीहरूलाई एउटा अन्तराष्ट्रिय स्तरको प्रदर्शनीको अनुभव गराउन निरन्तर प्रयासरत रहेको समेत संस्थापक अध्यक्ष वैद्यले बताइन् । 

देशको मोबिलिटी क्षेत्रमा साझा मञ्चको रूपमा कार्य गर्दै आइरहेको नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले रणनीतिक सहकार्य, विकास र नीति निर्माणमा सबै सरोकारवालाको आवाजलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा समेत प्रतिनिधित्व गर्दै आएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप