कर्णाली जाने डीआईजी भेटिएनन्, बढुवामा अलमल

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले २१ वैशाखमा ७ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)हरूको सरुवा गरे । सो सरुवा सूचीअनुसार ६ प्रदेशका प्रहरी प्रमुख फेरिएका थिए । तर, कर्णालीमा डीआईजी पठाइएन ।
फागुन २२ मा जनक भट्टराई एआईजीमा बढुवा भएसँगै कर्णाली डीआईजीविहीन छ । कर्णालीमा जान सबैले ‘अनिच्छा’ व्यक्त गरेपछि डीआईजी नपठाइएको गृह मन्त्रालयका एक जना उच्च अधिकारीले रातोपाटीलाई बताए ।
ती अधिकारीले भने, ‘त्यहाँ कोहीपनि जान मान्नुभएन ।’ ती अधिकृतका अनुसार नयाँ बढुवा हुनेहरूमध्येबाट कर्णाली पठाउने तयारी गरिएको छ ।
तर, प्रहरीमा ६ जना अतिरिक्त महानिरीक्षक (एआईजी)हरूको बढुवा भएर पदस्थापन भइसक्दा पनि डीआईजीको बढुवा प्रक्रिया सुरु हुन सकेको छैन ।
प्रहरीमा जनपद समूहतर्फ १० जना डीआईजी पद रिक्त छ । वैशाख १५ गते मन्त्रिपरिषद्ले एआईजीहरू चन्द्रकुवेर खापुङ, कृष्णहरी शर्मा, लालमणि आचार्य, डा. मनोज केसी, दान बहादुर कार्की र राजन अधिकारीको पदस्थापन गरेको थियो ।
डीआईजी बढुवामा ३ टोलीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूको बिचमा प्रतिस्पर्धा छ । तर, बढुवा समितिले डीआईजी बढुवा सिफारिस गर्न सकेको छैन । डीआईजी बढुवा समितिको अध्यक्ष गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी हुन् ।
बढुवा समितिको सदस्यमा आईजीपी दीपक थापा र सदस्य सचिव मानव श्रोत विकाश विभागका एआईजीपी दान बहादुर कार्की हुन्छन् । तर, बढुवा छलेर गृह सचिव दुवाडी विदेश भ्रमणमा निस्केका छन् । उनी श्रीलंका भ्रमणमा गएको गृह मन्त्रालयका अधिकारीहरू बताउँछन् ।
डीआईजीको प्रतिस्पर्धामा २०५६ असार ३ मा भर्ना भएका अधिकृतहरुको दबाब छ । २०५६ टोलीका विश्व अधिकारी, भूपेन्द्र बहादुर खत्री, सानुराम भट्टराई, ओम प्रसाद अधिकारी, शेखर खनाल, अबि नारायण काफ्ले, सोमेन्द्र सिंह राठौर, मुकुन्द मरासीनी, दिप शम्शेर जबरा, गोपाल चन्द्र भट्टराई, प्रवीण पोखरेल, गंगा पन्त, कृष्ण बहादुर पल्ली मगर र तारादेवी थापा प्रतिस्पर्धामा छन् ।
उनीहरूभन्दा अघिल्लो टोलीमा राष्ट्रिय अनुसन्धान विभागबाट आएका र २०५४ चैतमा प्रहरी सेवामा प्रवेश गरेकाहरू छन् । २०५४ मा भर्ना भएका सुदर्शन कोइराला र दीपक रेग्मी डीआईजी बन्ने दौडमा छन् । तर, उनीहरूसँगै भर्ना भएका दान बहादुर कार्की, डा. मनोज कुमार केसी र राजन अधिकारी चाहिँ प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भैसकेका छन् ।
राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएर प्रहरीको जनपद समूहमा आएका १० जना डीआईजी हुने दौडाहामा छन् । राष्ट्रिय अनुसन्धान विभागबाट आएका ओम बहादुर राना, माधव प्रसाद श्रेष्ठ, दीपेन्द्र घर्ती क्षेत्री, शारदा प्रसाद चौधरी, विनोद घिमिरे, जयराज सापकोटा, सञ्जीव शर्मा दास, सुरेन्द्र बहादुर गुरुङ, दिलीप सिंह देउवा र दीपक कुमार बस्नेत डीआईजीको प्रतिस्पर्धी हुन् ।
ओम बहादुर राना, दिलीप सिंह देउवा, सुरेन्द्र बहादुर गुरुङ र माधव प्रसाद श्रेष्ठ २०५३ पुस ५ मा राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएका थिए ।
दीपेन्द्र घर्ती क्षेत्री २०५५ जेठ ७ मा, दीपक कुमार बस्नेत, विनोद घिमिरे र जयराज सापकोटा २०५४ माघमा राष्ट्रिय अनुसन्धानमा सेवा प्रवेश गरेका हुन् । अहिले उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत विनोद घिमिरे कांग्रेस सभापति शेर बहादुर देउवाका स्वकीय सचिव भानु देउवा मार्फत डीआईजी बढुवा हुन लबिङ गरिरहेका छन् ।
राष्ट्रिय अनुसन्धान विभागका अधिकृतहरूले शक्तिकेन्द्रमार्फत बढुवा हुन दबाब दिएपछि बढुवा रोकिएको गृह मन्त्रालयका अधिकृतहरू बताउँछन् । मन्त्रालयका एक अधिकृतले भने, ‘राष्ट्रिय अनुसन्धान (राअ)बाट आएकाहरू भन्दा २०५६ का अधिकृत कार्यक्षमता भएका छन् तर, राअबाट आएकाहरूले चलखेल तीव्र बनाएसँगै बढुवा प्रक्रिया अलमलिएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ ढङ्गले मल कारखाना खोलिनेछ : प्रधानमन्त्री
-
संसदीय छानबिनलाई फेसन नबनाउ : प्रधानमन्त्री
-
मुलुक ग्रे लिस्टमा अघिल्लो सरकारका कारण परेको हो : प्रधानमन्त्री
-
भारत–पाकिस्तानपछि रुस–युक्रेनबिच युद्धविरामको संकेत
-
मानव जाति र धर्तीको समस्या समाधान गर्न सगरमाथा संवाद : प्रधानमन्त्री ओली
-
राजावादीले जेठ १५ गतेदेखिको आन्दोलनमा उपत्यकाबाहिरबाट आन्दोलनकारी ल्याउने