शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी स्पेसल : फिल्मसिटीको अन्योल

नेपालमा फिल्मसिटी अत्यावश्यक भइसक्यो

आइतबार, २८ वैशाख २०८२, ०९ : ४३
आइतबार, २८ वैशाख २०८२

एउटा सहर, जुन फिल्म निर्माणको प्रायोजनले तयार गरिएको हुन्छ । त्यसभित्र फिल्म निर्माणका लागि छायांकन स्थल, प्राविधिक, प्रविधिदेखि सबै पूर्वाधार उपलब्ध हुन्छन् । मेरो विचारमा यो फिल्मसिटी हो ।

जस्तैः भारतको दिल्लीलाई फिल्मसिटी भनिन्छ । फिल्मसिटी त्यो एरिया पनि हो । जसभित्र फिल्मका कम्पनीहरू, रेकर्डिङ स्टुडियो, पोस्ट प्रोडक्सन हाउस, इन्डोर स्टुडियो, फिल्मी मिडियालगायत सबै उपलब्ध हुन्छ ।

फिल्मलाई चाहिने पूर्वाधार, व्यावसायिक अफिस, अस्पताल, एयरपोर्ट, रेल स्टेसन, कलेजदेखि सुटिङ गर्ने विभिन्न घर, खोलानाला, नदीलगायत सबै हुन्छ । त्यसभित्र बाटो, पार्कलगायत उपलब्ध हुन्छन् । फिल्म छायांकनका लागि आउटडोर, इन्डोर सबै व्यवस्था हुन्छ । सरकारले पनि विशेष सुविधा दिएको हुन्छ । जसलाई  फिल्मसिटी भन्न मिल्छ ।

हाम्रो देशमा कतिपय मेकरले फिल्मसिटी भनेको फिल्म छायांकनका लागि उपलब्ध हुँदै आएको स्टुडियोभन्दा भव्य र सुविधासहित स्टुडियो भनेर सोचेको देखिन्छ । फिल्मसिटी त्यस्तो सहर हो, जहाँ फिल्मकर्मका लागि सबै सुविधा उपलब्ध हुनेगरी एउटा बस्ती बनाइएको हुन्छ । 

मैले भारतका सबै फिल्मसिटी घुमेको मात्र होइन, त्यहाँ काम गरेको छु । भारतको सबैभन्दा भव्य र राम्रो डिजाइनको फिल्मसिटी हैदरावादको रामोजी हो । मुम्बई, दिल्लीमा पनि फिल्मसिटी छ । साउथ फिल्म उद्योगमा पनि फिल्मसिटी छन् । रामोजीपछि दिल्ली भव्य छ । 

फिल्म भनेको क्रिएसन हो । क्रिएसन गर्ने मानिसले भनेको जस्तो सुविधा एउटै स्थानमा पायो भने त्यसले उत्कृष्ट क्रिएसन गर्न सक्छ ।

यी फिल्म सिटीमा तपाईं फिल्मका लागि के सोच राख्नुहुन्छ, त्यो सबै उपलब्ध छन् । फिल्मसिटीमा फिल्मका लागि आवश्यक सबै पूर्वाधार एकै ठाउँमा हुने भएकोले धेरै भागदौड गर्नुपर्दैन र छिटो काम हुन्छ ।

काभ्रेमा निर्माण प्रक्रिया बढेको स्टुडियोलाई कतिपय फिल्मकर्मी फिल्मसिटी भन्छन् । त्यसलाई फिल्मसिटी भन्न मिल्दैन । किनभने त्यहाँ ठाउँ सानो छ । त्यो ठाउँ कसैले ठुलो बनाउन चाह्यो भने दिनुपर्छ । कसैले रेकर्डिङ स्टुडियो बनाउँछु भन्ला, कसैले एयरपोर्ट बनाउँछु भन्ला, पशुपतिनाथ मन्दिर बनाउँछु भन्ला, कसैले गाउँ बनाउँछु भन्ला । सबैलाई दिनुपर्छ । सबै सरकारले बनाउन सक्दैन । सरकारले ठाउँ उपलब्ध गराउने हो । सबै मिलेर फिल्मसिटीको संरचना तयार गर्नुपर्छ ।

  • फिल्मसिटीका के फाइदा ?

फिल्म छायांकनका लागि नेपाली फिल्मकर्मी अहिले धेरै ठाउँ भौँतारिनुपर्ने अवस्था छ । फिल्म छायांकनका लागि आवश्यक सबै सुविधा एकै ठाउँमा भयो भने फिल्मकर्मीको यातायातदेखि समयसम्म बचत हुन्छ ।

फिल्म भनेको क्रिएसन हो । क्रिएसन गर्ने मानिसले भनेको जस्तो सुविधा एउटै स्थानमा पायो भने त्यसले उत्कृष्ट क्रिएसन गर्न सक्छ । त्यसैले नेपाली फिल्मको विकासका लागि फिल्मसिटी अनिवार्य छ ।

फिल्मसिटीमा होटलदेखि सबै सुविधा हुने भएकाले निर्माताहरूलाई धेरै फाइदा छ । कलाकारको पनि समयको बचत हुन्छ । फिल्मको छायांकन, प्राविधिक कार्य सम्पादनसम्म एकै स्थानमा भए पनि कलाकारको पनि समयको बचत हुन्छ । सम्पादनमा केही बिग्रिएका सिन भेटिए पुनः छायांकन गरेर राख्न सजिलो हुन्छ । 

नेपालमा विगत १०–१२ वर्षदेखि फिल्मसिटीको कुरो उठेको छ । अहिलेसम्म बनेको छैन ।

कुनै फिल्म छायांकनबाट बचेको समय कलाकार अन्य फिल्मको डबिङलगायत पोस्ट प्रोडक्सन गर्ने, अन्तर्वार्ता दिनेलगायत विभिन्न काम एकै दिनमा गर्न सक्छ ।

फिल्मसिटीभित्र सुविधा के–के हुन्छन् भन्ने कुरो पनि आउँछ । योभित्र सुटिङका लागि रेल स्टेसन, अस्पताल, एयरपोर्ट, आउटडोर लोकेसन गार्डेन, गीतका लागि विभिन्न लोकेसन, इन्डोरका लागि भेराइटी घरहरू, सेटलगाउन लोकेसन, गाउँ, सहरको बस्ती, युरोपका बस्ती लगायत सबथोक हुन्छ र बनाउन सकिन्छ । 

आवश्यक विकास गर्न पनि सकिन्छ । भारतका फिल्मसिटीहरू अधिकांश धेरै सुविधायुक्त छन् । 

  • प्राकृतिक स्टुडियो 

नेपालमा विगत १०–१२ वर्षदेखि फिल्मसिटीको कुरो उठेको छ । अहिलेसम्म बनेको छैन । ३–४ वर्षअघि फिल्मकर्मी साथीहरूसँग यस विषयमा छलफल भएको थियो । त्यो क्रममा भारतको राम्रो डिजाइनरसँग कुरा गरेर प्लानिङ तयार गरेका थियौँ ।

नेपाल एउटा प्राकृतिक स्टुडियो हो । यहाँ फिल्मसिटी  आवश्यक छैन भन्नेहरू पनि छन् । ती फिल्मकर्मीले फिल्मसिटी  बुझेका छैनन् । नेपालमा फिल्मसिटी अति आवश्यक भइसक्यो । किनभने अहिले थुप्रै फिल्म निर्माण भइरहेका छन् । यहाँ बनेका फिल्महरू घरको सेटअपका लागि चितवन, हस्पिटलका लागि विराटनगर, कलेजका लागि धुलिखेललगायत फरक–फरक लोकेसनमा भौँतारिनुपर्ने अवस्था छ ।

नेपालको प्राकृतिक सौन्दर्य र कलासंस्कृतिको आधारमा एउटा ठुलो स्टुडियो मानिएको छ । छायांकनका लागि सबै उपयुक्त लोकेसन छ । सेटअफ गरेर छायांकन गर्न मिल्ने स्टुडियो भयो भने एकदमै राम्रो हुन्थ्यो । नेपाल फिल्म छायांकनका लागि एकदमै उपयुक्त मानिएको छ । 

कोही विदेशी फिल्म हिमाल छायांकन गर्न आयो भने यहाँ फिल्मसिटी भयो केही दिन इन्डोर पनि छायांकन गरेर जान सक्छ । त्यसले हाम्रो आम्दानी पनि बढाउँछ । फिल्मसिटी भयो भने छायांकनमा आउने विदेशका फिल्म अहिलेभन्दा बढ्छ । 

  • कस्तो बन्नुपर्छ ?

इन्डोर छायांकनका लागि सबै सुविधा भएको, नेपाली कला संस्कृतिले भरिएका फिल्मसिटी आवश्यक छ । विदेशी फिल्म नेपालमा प्राकृतिक सुन्दरता देखेर आउँछन् । नेपालका कलासंस्कृति देख्दा लोभिन्छन् । तर उनीहरूले विभिन्न कारणले नेपालका कलासंस्कृति फिल्ममा समेट्न सकेका छैनन् । फिल्मसिटी बनाएर ती विषय सहज उपलब्ध भयो सुनमा सुगन्ध हुन्छ ।

विदेशका फिल्म सिटीमा रेलस्टेसनदेखि एयरपोर्टसम्म, ठुल्ठुला महलदेखि अस्पतालसम्म अनेक सुविधाले भरिपूर्ण हुन्छन् । यो सुविधाका लागि विदेशी फिल्म नेपाल आउँदैन । मैले हलिउड, बलिउड, साउथलगायत थुप्रै सानाठुला विदेशी प्रोजेक्ट २० वर्षदेखि नेपाल भित्र्याउँदै आएको छु । त्यसको अनुभवका आधारमा भन्नुपर्दा अधिकांश विदेशी फिल्म प्राकृतिक सौन्दर्य, हिमाल र कलासंस्कृतिले भरिएका मठमन्दिरका लागि नेपाल छायांकनस्थल बनाउँछन् । 

हामीले निर्माण गर्ने फिल्मसिटीमा यस्ता विषयवस्तु एउटै स्थानमा उपलब्ध भयो भने उनीहरूलाई आकर्षित गर्न सकिन्छ । जस्तैः फिल्मसिटीभित्र मनकामना मन्दिर, मुक्तिनाथ, हिमाल, काठमाडौँका ऐतिहासिक धरोहर, घलेगाउँ, पुराना ऐतिहासिक घरहरू, नेपालको टिपिकल प्रहरी चौकीलगायत सटेअप होस् । यसो गर्न सकियो भने नेपाल र विदेशी फिल्मका लागि राम्रो हुन्छ ।

मेरो विचारमा नेपालमा फिल्मसिटी बनाउँदा छुटाउनै नहुने कुरो भनेको ६०/१००, ७०/१२० का ५–७ वटा साउन्डप्रुफ फ्लोर पनि हो । मुम्बईमा बन्ने फिल्म यस्तो सुविधाका लागि मोनाली, काश्मीर गएर सुटिङ गर्छन् । त्यो नेपालमा उपलब्ध भयो भने यहाँ भित्र्याउन सकिन्छ । 

(राजेन्द्र घिमिरे २५ वर्षदेखि बलिउड फिल्म उद्योगमा कार्यरत व्यक्ति हुन् । अभिनेत्री मनीषा कोइरालापछि बलिउड उद्योगको त्यो उचाइ प्राप्त गर्नेमा यिनी नै पर्छन् । पर्दा पछाडि रहेर लाइन प्रोड्युसर, कार्यकारी निर्मातालगायत जिम्मेवारी निर्वाह गर्दै आएका उनी नेपालमा बलिउड र हलिउड प्रोजेक्ट धेरै भित्र्याउने व्यक्तिमा पनि पर्छन् उनी । एक हलिउड फिल्म छायांकनका लागि ३०० बढी टिमसहित उनी केही दिन अगाडि नेपाल आएका थिए । नेपाल आएको सन्दर्भमा उनीसँग गरिएको कुराकानीमा आधारित) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेन्द्र घिमिरे
राजेन्द्र घिमिरे
लेखकबाट थप