लक्ष्मी उप्रेतीले श्रीमान्सँग छुट्टिएर तीन सन्तान हुर्काइन्, ४० कृति जन्माइन्

समाचार सारांश
- लक्ष्मी उप्रेतीको साहित्यिक यात्रा र संघर्षबारे लेखिएको छ, जसले १३ वर्षको उमेरमा कविता लेख्न सुरु गरेकी थिइन्।
- विवाहपछि लेख्ने अवसर गुमाएकी उप्रेतीले डिभोर्सपछि नयाँ जीवन सुरु गरिन्, र विराटनगरमा साहित्यिक गतिविधिमा संलग्न भइन्।
- उनले क्यान्सरसँग लडेर पनि साहित्यिक कार्यलाई निरन्तरता दिइन् र हालसम्म ४० वटा कृति प्रकाशित गरिसकेकी छन्।
दिनपछि दिन गनेर
शताब्दीले शताब्दीलाई जन्माइरहेछ
चिरकालदेखि बितेका ती अवशेषहरूले
इतिहासलाई रङ्गाइरहेछ !’
१३ वर्षको उमेरमा लक्ष्मीले लेखेको कविताको अंश हो यो । जुन कवितांश निकै समय उनको डायरीमा रहेर पहिलो कविता कृतिमा लिपिबद्ध छ । यो कविता कसरी र किन लेखेँ, कुन अर्थ र सन्दर्भमा लेखेँ भन्ने उनैलाई थाहा छैन । यद्यपि प्रायः अन्तर्वार्तामा उनले यिनै चार हरफ वाचन गर्छिन्, आफ्नो साहित्यिक यात्राको उठान र उडान सम्झिन्छिन् ।
आफ्ना विचार र भावना साहित्यमार्फत भन्न सकिन्छ भन्ने चेत लक्ष्मीमा सानैदेखि थियो । चार वर्षको उमेरमा आमा गुमाएको अभिघात हुँदो हो सायद, उनीमा भावनाहरू उर्लिरहन्थे । सुरुमा उनी आफ्नै साइँलीदिदीबाट प्रभावित थिइन्, दुई वर्ष जेठी साइँलीदिदी कविता लेखेर स्कुलमा हुने कार्यक्रममा सुनाउँथिन् । उनलाई पनि दिदीले झैँ कविता कोरेर सुनाउन मन हुन्थ्यो ।
बिहे भएको वर्ष दिन पुग्दानपुग्दै साइँलीदिदीको देहावसान भयो । दिदी बितेको नौ महिनामै दिदीका पतिसँग बुवाले लक्ष्मीको बिहे गरिदिए । यसपछि भने उनले आफ्ना भावनालाई दबाउनुपर्ने परिस्थिति निम्तियो ।
उनको विवाह झापा दुर्गापुरका जमिनदारसँग भएको थियो तर विवाहपछि उनले लेख्ने–पढ्ने वातावरण पाइनन् । बिहे हुँदा एसएलसी गरेकी थिइनन्, जसोतसो एसएलसी गरेपछि उच्च शिक्षा लिने उत्कट चाहना थियो उनीमा, तर कलेज गएर पढ्न पाइनन् । यही बिचमा तीनजना छोराछोरी भए ।
स्कुल पढ्दै गरेकी उनले कविताहरू पनि लेख्ने गर्थिन् । गृहस्थीको दौरानमा लक्ष्मीले लेखेका पाना पल्टाएर श्रीमानले पढ्थे र आफ्नै अर्थ झिकेर हप्काउँथे । ‘मैले सामान्य तरिकाले लेखेकी हुन्थेँ, त्यसको अनेक अर्थ लगाएर आरोप लगाउने र झगडा गर्ने,’ लक्ष्मी भन्छिन्, ‘अहिलेजस्तो लेख्न जानेको भए वा लेखेको भए त मलाई के पो गर्थे होलान् ?’
आँटिली स्वभावकी लक्ष्मीलाई लाग्यो, यस्तो बेमेलका बिच बस्नुभन्दा छोराछोरी लिएर बेग्लै बस्छु । बेमेलकै बिच उनले तीन सन्तानलाई जन्म दिएकी थिइन् । घर–परिवार र बालबच्चा हेर्दैमा उनका हरेक दिन सकिन्थे । ‘त्यतिबेला लागेको थियो, आइमाई मान्छेको जिन्दगी यति र यस्तै रहेछ,’ जिन्दगीका पीडा फुकाउँदै उनले भनिन्, ‘अति गर्नु, अत्याचार नगर्नु, अत्याचार भएपछि कसले सहन्छ ? थुनेर राखिराख्दा नदीको पानी पनि बाढी बनेर निस्कन्छ ।’
केही सीप नलागेपछि छोरीहरूलाई लिएर उनी श्रीमान्देखि छुट्टिएर विराटनगरमा बस्न थालिन् । यसपछि भने उनलाई नयाँ जीवन पाएजस्तै भयो । वर्षौंसम्म मनभित्र पुरिएर बसेको ‘लेख्ने रहर’ले लक्ष्मीभित्र टुसा हाल्न थाले । अन्ततः उनले साहित्यकार लक्ष्मी उप्रेती बनेर नेपाली साहित्य क्षेत्रमा उदाउने आफ्नै क्षितिज पहिल्याइन् ।
- पृष्ठभूमि
लक्ष्मी उप्रेती (जन्म : वि.सं. २०१५) को जन्म ताप्लेजुङको हाङपाङमा भएको हो । उनी चार वर्षकी छँदा उनकी आमा (जगमाया)को निधन भयो । त्यसपछि उनका बुवा बृहस्पति प्रसाईंले अर्को बिहे गरे । त्यसको केही समयपछि धरान बसाइँ सरे । आमा नभए पनि लक्ष्मीलाई आफ्नो बाल्यकाल त्यति सुखद नरहेको अनुभूत भएन । धरान त्यतिबेला (२०२०/२१ सालतिर) व्यापार–व्यवसाय हुने स्थल थियो । लक्ष्मीले माइतीघरमा हुँदासम्म स्कुल पढ्ने वातावरण पाइन् ।
श्रीमानसँग छुट्टिएर बस्न थालेदेखि उनका संघर्षका दिन सुरु भए । सुरुमा उनले साना नानीहरू पढ्ने स्कुलमा काम गर्न थालिन् । श्रीमान्को टोकेसोका बिच उनले निरन्तर मेहनत गरिरहिन् ।
श्रीमान्ले अर्को बिहे गरेर छुट्टै बस्न थालेदेखि उनले सिलाइबुनाइ सिकेकी थिइन्, २७ वर्षको उमेर (२०४२ साल) मा उनले विराटनगरमा स्विटर उद्योग नै खोलिन् । उनले आफ्ना तीन सन्तानलाई हुर्काइन्, बढाइन्, पढाइन् र समयमा बिहेदान गरिदिइन् । घर र माइती दुवै सम्पन्न हुँदाहुँदै पनि जीवनमा निकै संघर्ष गर्नुपरेका तीता अनुभव छन् उनीसँग ।
पछि उनले विभिन्न संस्थाका सीप विकास प्रोजेक्टमा काम गर्ने अवसर पाइन् । जीविकाका लागि दिनरात स्विटर बुन्थिन् ।
संघर्षका बिच प्राइभेटबाट बीए गरेपछि उनलाई संघर्ष गर्न केही सहज भएको थियो । विराटनगरमा बस्दा उनी साहित्यिक गतिविधिमा जोडिन थालेकी थिइन् । (२०४१) सालमा विराटनगरबाट प्रकाशित हुने ‘चाँदनी’ पत्रिकामा पहिलोपटक उनको कविता छापियो, ‘बिस्कुनले थिचिएका खुसीहरू’ शीर्षकको, जति बेला उनी २६ वर्षकी थिइन् ।
त्यसपछि स्थानीय र राष्ट्रिय पत्रपत्रिकामा उनका रचना फाट्टफुट्ट छापिन थाले । वरपर हुने कवि गोष्ठी र कविता प्रतियोगितामा पनि उनी सहभागी भइरहन्थिन् । पूर्वाञ्चल स्तरीय कविता प्रतियोगा (२०४१)मा उनले दोस्रो पुरस्कार प्राप्त गरिन् ।
लक्ष्मीले लेखेका पाना पल्टाएर श्रीमानले पढ्थे र आफ्नै अर्थ झिकेर हप्काउँथे । ‘मैले सामान्य तरिकाले लेखेकी हुन्थेँ, त्यसको अनेक अर्थ लगाएर आरोप लगाउने र झगडा गर्ने,’ लक्ष्मी भन्छिन्, ‘अहिलेजस्तो लेख्न जानेको भए वा लेखेको भए त मलाई के पो गर्थे होलान् ?’
२०४२/४३ सालतिर महेन्द्र मोरङ कलेजमा एउटा साहित्यिक कार्यक्रम आयोजना गरिएको थियो । त्यस कार्यक्रममा लक्ष्मी पनि सहभागी भएकी थिइन्, त्यहाँ काठमाडौँबाट गएकी पारिजातसँग उनको भेट भयो ।
लक्ष्मीले पारिजातको नाम धेरै सुनेकी थिइन् । जोर्नीसम्बन्धी रोग लागेकी पारिजातलाई राम्रोसँग हिँडडुल गर्न समेत समस्या थियो । त्यस्तो अवस्थामा पनि पारिजातको सक्रियता देखेर लक्ष्मीको नसा–नसामा नयाँ ऊर्जा भरिए । ‘पारिजात दिदीलाई भेटेपछि मलाई लाग्यो, अब मैले लेख्नुपर्छ,’ लक्ष्मी भन्छिन्, ‘प्रेरणाको स्रोतमा म मेरै साइँलीदिदी, पारिजात र इन्दिरा प्रसाईंलाई सम्झन्छु ।’
त्यसपछि डायरीहरूलाई उनले कविता र कथाले भर्न थालिन् । श्रीमान्बाट जति नै तनाव भए पनि, वचनबाण सुन्नु परे पनि, हातपात नै सहे पनि आफ्नो कर्ममा लाग्ने अठोट उनले गरेकी थिइन् ।
२०४४ सालतिर नेपाल घरेलु संघले स्मारिका निकाल्ने भयो, लक्ष्मीले त्यसको सम्पादन कार्य गरिन् । सोही वर्ष विराटनगरबाट लायनेस स्मारिका निस्केको थियो, त्यसमा पहिलोपटक उनको कथा छापियो, ‘साकार हुन नसकेको सपना’ शीर्षकको ।
२०५० सालतिर चर्चित साहित्यकार परशु प्रधान विराटनगर सरुवा भएर गए, उनी नेपाल सरकारका उपसचिव थिए । त्यति नै बेला इन्दिरा प्रसाईंहरूले लक्ष्मीको परिचय परशु प्रधानसँग गराइदिए । एक दिन परशु प्रधानले आफ्नो अफिसमा विराटनगरका लेखक कविहरूसँगको भेटघाट कार्यक्रम गरेका थिए । त्यहाँ लक्ष्मीले आफ्नो टुक्रे कविताहरू सुनाएकी थिइन् ।
अर्को एक दिन प्रसंगवश परशु प्रधानले लक्ष्मीलाई ‘तपाईंको कुनै कृति निस्किएको छैन ?’ भनेर सोधे । त्यतिबेलासम्म लक्ष्मीको कृति छापिएको थिएन । लक्ष्मीको एउटा कविता सुनेपछि परशुले भने, ‘यति राम्रो लेख्नु हुँदो रहेछ, अब त एउटा किताब निकाल्नैपर्यो ।’
परशुले प्रेरित गरे पनि कृति कसरी छाप्ने, कहाँ छाप्ने भन्ने लक्ष्मीलाई केही मेसो थिएन । छाप्ने मेसो जुरिरहेको थिएन ।एक दिन परशुले नै लक्ष्मीका भएभरका कविता मागे, आफैँले प्रकाशन गरिदिने भनेर । परशु र प्रमोद प्रधानले कविताको सम्पादनदेखि शीर्षकसम्म जुटाउने काम गरिदिए । संग्रहको नाम राखियो ‘यौटा बाटो खोजिरहेछ जीवन’ ।
२०५१ सालमा लायन्स क्लबले साहित्यिक कार्यक्रमको आयोजना गरेको थियो । लक्ष्मी लायनेसमा सचिव थिइन् । काठमाडौँबाट साहित्यकार बोलाउने जिम्मा उनलाई दिइएको थियो । लक्ष्मीले आफूले चिने–जानेका सबैलाई बोलाइन् । काठमाडौँबाट एक बस साहित्यकारहरू गएका थिए । सोही कार्यक्रममा लक्ष्मीको उक्त संग्रहको विमोचन गर्ने खबर लक्ष्मीले पाइन् । सुरुमा त उनलाई जिस्काएको होला जस्तो लागेको थियो, जब सिर्जनशील प्रकाशनले छापेको आफ्नो कृति हात पर्यो, उनको खुसीको सीमै रहेन । ‘पहिलो कृतिका लागि मैले केही दुःख गरिनँ । न पैसा नै लाग्यो,’ उनी भन्छिन् ।
उनको दोस्रो कविता संग्रह मृदु स्मृति (२०५६) वाणी प्रकाशन गृहबाट छापिएको थियो, तर खर्च भने उनकै परेको थियो । यसपछि भने उनका कृतिको बाढी नै आयो ।
२०५६ सालदेखि उनले वनिता साहित्यिक त्रैमासिक पत्रिकाको सम्पादन गर्न थालिन्, जो अहिलेसम्म जारी छ । आजसम्म उनका झन्डै ४० वटा कृति प्रकाशन गरेकी छन् । जसमा चार कथासंग्रह, ६ वटा कवितासंग्रह, तीनवटा जीवनी, एउटा नियात्रा संग्रह र २५ वटा बालकृतिहरू छन् । उनका अधिकांश कृति वनिता प्रकाशनबाटै निस्केका छन् ।
यतिखेर उनको नियात्रा संग्रह प्रेसमा छ । उनको पछिल्लो कथासंग्रह ‘मनको रङ’ (२०८१) मा डा. दयाराम श्रेष्ठको मन्तव्यमा छ, ‘दाम्पत्य जीवनसँग सम्बद्ध पारस्परिक प्रेम, सौहाद्र्रता र आत्मीय भावका विभिन्न पक्षहरूलाई विषयवस्तु बनाउने संवेदनशील नारी कथा–सर्जक हुन् लक्ष्मी उप्रेती । उनले नारी जीवनका अति नै गम्भीर समस्या तथा संवेदनालाई आफ्ना कथाहरूमा प्रस्तुत गरेकी छिन् । उनी सामाजिक जीवनका यथार्थवादी चित्रकार पनि हुन् ।’
बल छँदासम्म लक्ष्मीले आफ्नो सम्पूर्ण ऊर्जा छोराछोरी हुर्काउन र साहित्यिक कृति जन्माउन खर्च गरिन् । यतिखेर लक्ष्मीलाई साहित्यमा लाग्न छोराछोरीको भरपूर सहयोग छ । ‘कहिलेकाहीँ मनमा केही फुरेका वेला मलाई निद्रै लाग्दैनथ्यो । फुरेका भावनालाई कापीमा टिप्न थाल्थेँ,’ उनी भन्छिन्, ‘पहिले त रातरातभर जागै बसेर पनि लेखियो । अहिले यस्तो अलि हुन्न । कहिलेकाहीँ त लेख्नै अल्छी लाग्छ । उमेरले होला अब त मनमा आएको कुरा पनि धेरैजसो बिर्सिन थालेको छु ।’
२०७२ सालमा लक्ष्मीको दाहिने स्तनमा क्यान्सर देखियो । सुरुआती चरणमै थाहा भएकाले उपचार सम्भव भयो । यद्यपि ७५ प्रतिशत स्तन काटेर फ्याँक्नुपर्यो । अहिले त क्यान्सर निको भइसकेको छ । ‘रेडियोथेरापी र औषधिको प्रभावले हो कि वेलावेला निकै कमजोर महसुस गर्छु,’ ६७ वर्षीया लक्ष्मीले भनिन्, ‘केही पुराना पाण्डुलिपिहरू छन् साफी गर्न बाँकी । ती सबै प्रकाशन गर्ने योजना छ । एउटा कविता संग्रह तयार छ, त्यसलाई प्रकाशन गर्नुपर्नेछ ।’
लक्ष्मीले आफ्नो अध्ययन र अनुभवका आँखाले समाजलाई नियालिरहेकी छन् । समाजप्रति उनको धारणा स्पष्ट छ । ‘महिलाले गरेको विद्रोहलाई स्विकार्न वा आत्मसात गर्न पुरुषहरूले सकिरहेका छैनन् । यसले गर्दा समस्या निम्तिरहेको छ,’ उनी भन्छिन् ।
पारिजातबाट प्रभावित लक्ष्मीले २०६२ सालमा आएर ‘पारिजात पाण्डुलिपि बालसाहित्य पुरस्कार’ पाइन्, यसलाई उनले आफ्नो सफलता सम्झिन्छिन् । यसबाहेक उनले प्रख्यात साहित्यकारहरूको नामका निकै सम्मान, पुरस्कार प्राप्त गरेकी छन् । नेपाल प्रज्ञा प्रतिष्ठानको अघिल्लो कार्यकालमा प्राज्ञसभा सदस्य भएकी प्राज्ञ लक्ष्मी उप्रेतीको सुस्वास्थ्य र दीर्घ जीवनको कामना ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अपडेट : रसुवाबाट बरामद भएको सुन ७ केजी ६५३ ग्राम पुष्टि
-
अपडेट : गाजामा इजरायली हमलामा १०३ जनाको मृत्यु
-
लुम्बिनीमा राजश्व सङ्कलन सम्बन्धी विधेयक पारित
-
बिहे गरेको ६ महिनामै किन श्रीमानसँग अलग्गै बस्न लागिन् ‘नागिन’ ?
-
सुपारीबाट २५ अर्ब बराबरको राजश्व संकलन हुन्छः मन्त्री भण्डारी
-
नेहाल र शशांकको शानदार ब्याटिङ, राजस्थानसामु २२० रनको लक्ष्य