समाजको बदलिँदो सांस्कृतिक छवि

नेपाली समाजको सांस्कृतिक छवि बदलिँदै छ । बदलिँदो सांस्कृतिक छविलाई यसको तडकभडकपूर्ण जीवनशैलीमा नियाल्न सकिन्छ । तडकभडकपूर्ण जीवनशैलीको ग्राफ आकासिँदो छ । आधा दशकअघि यो जस्तो थियो आज छैन, आज जस्तो छ भोलि रहनेछैन । जीवनशैली, सोच, संस्कार र मूल्यका पुराना प्रतिमानहरू भत्कँदै छन् । नैतिक प्रतिमानमा आएको परिवर्तन छक्कलाग्दो छ । हिजो जे अनैतिक लाग्थ्यो आज लाग्दैन, हिजो जे गर्दा आदर्शबाट स्खलन र भड्किलो अनुभव हुन्थ्यो आज हुँदैन । हिजो जे अश्लील लाग्थ्यो आज लाग्दैन । हिजो जे नगर्न भनिन्थ्यो आज भनिदैन । लगाउने, खाने लगायत जीवनका धेरै पक्षमा यसलाई नियाल्न सकिन्छ । परिवर्तन सांस्कृतिक जीवनको आन्तरिक र बाह्य दुवै पक्षमा आएका छन् । परिवर्तनको अन्तर्वस्तु र दिशा सकारात्मक कम नकारात्मक बढी छ, सुन्दर कम असुन्दर धेरै छ ।
नेपाली समाजमा तडकभडकपूर्ण जीवनशैली, सोच र संस्कारको विकास भएको धेरै भएको छैन । आजभन्दा चार दशकअघि नेपाली समाजको तस्बिर यस्तो थिएन । जीवनशैली, सोच र संस्कारमा पुराना प्रतिमानहरू सक्रिय थिए । नैतिकताका परम्परित मापदण्डहरू बलिया थिए । हुने–खानेहरूको जीवनशैली तडकभडकपूर्ण देखिन्थ्यो तर यसको रूप आजको जस्तो थिएन । उनीहरू पनि कतिपय परम्परित प्रतिमानहरूलाई महत्त्व दिन्थे । आम मानिसको जीवनशैली सरल, सामान्य र परिश्रमी थियो । उनीहरू घाँटी हेरेर हाड निल्थे, अरुलाई पनि त्यसै गर्न सल्लाह दिन्थे । समाज मीतव्ययी थियो । उपभोगको चरित्र आजको जस्तो थिएन । यो आवश्यकताबाट निर्मित थियो । बजारको चरित्र पनि अलि भिन्न थियो । यो बढी विनिमयको माध्यम थियो । यसका पनि आफ्ना नैतिक प्रतिमानहरू थिए । त्यसको पालना यसले गथ्र्यो । आजको नेपाली समाज जीवनशैली, सोच, संस्कार र मूल्यका दृष्टिले धेरै बदलिएको छ । बजार फेरिएको छ । उपभोगसम्बन्धी मान्यताहरू पनि फेरिएका छन् ।
जीवनशैली सोच, संस्कार र मूल्यहरू संस्कृतिसँग सम्बन्धित विषय हुन् । संस्कृति सधैँ उस्तै रहँदैन, सुस्त सुस्त बदलिन्छ । टायलर परिवर्तनशील हुनु संस्कृतिको विशेषता हो भन्छन् । अभौतिक संस्कृतिका सबै रूपहरू बिस्तारै बदलिन्छन् । बिस्तारै बदलिनु संस्कृतिको चरित्र हो । संस्कृतिमा आउने परिवर्तन आर्थिक, राजनीतिक परिवर्तनसँग जोडिन्छ । यस्ता परिवर्तनले संस्कृतिलाई प्रभावित गर्छन् र तिनमा सुस्तसुस्त परिवर्तन आउँछ । संस्कृतिका कतिपय रूप चाँडै बदलिन्छन् । परम्परित संस्कृतिले जीवन र समाजलाई लामो समय प्रभावित गर्नुको कारण ढिलो परिवर्तन हुने यसको चरित्र हो । संस्कृतिमा संस्कार र मूल्य निकै बलिया हुने भएकाले जीवनविरोधी कैयौँ कुरा पनि मानिसलाई प्रिय लाग्छन् । भाग्य, स्वर्ग, नर्कजस्ता विश्वास यसका उदाहरण हुन् । मानिआएका कुराप्रति मानिसले प्रश्न नगर्नु, प्रश्न गरेको नरुचाउनु र त्यसको प्रतिवादमा ओर्लनुको कारण यही हो । संस्कृतिमा आउने परिवर्तन सधैँ ऊर्ध्वगामी चरित्रको हुँदैन । यो जीवनविरोधी र प्रगतिको बाधक पनि हुन सक्छ ।
संस्कृति स्वयंलाई वस्तुमा बदल्नु उपभोक्तावादी संस्कृतिको विशेषता हो । उपभोक्तावादी संस्कृतिमा संस्कृतिले आफ्नो सारतत्त्व गुमाउँछ । संस्कृतिको सामूहिक र ऊर्ध्वगामी चरित्र एवं आत्मिक मूल्यको विसर्जन हुन्छ ।
नेपालमा आर्थिक, राजनीतिक परिवर्तन आएसँगै सांस्कृतिक परिवर्तन पनि आएको छ । परिवर्तनका बाह्य कारण पनि छन् । बाह्य कारण अर्थ, राजनीति र संस्कृतिसँग सम्बन्धित छन् । नेपाली समाजमा आएको सांस्कृतिक परिवर्तनमा भूमण्डलीकरणको ठुलो भूमिका छ । भूमण्डलीकरण भन्नेबित्तिकै मूलतः आजको पुँजीवाद, यसको चरित्र, अभीष्ट र क्रियाकलापहरू भन्ने बोध हुन्छ । बजार र उपभोक्तावाद यसैसँग जोडिन्छन् । चालीसको दशकको उत्तरार्द्धदेखि नेपाल भूमण्डलीकरणको प्रक्रियामा हेलिएको हो । नेपालमा अलि पहिलेदेखि पुँजीवादको विकास हुन थाले पनि चालीसको दशकदेखि यसको गति थोरै बढ्यो । नेपालले नवउदारवादलाई अपनायो । बजार शक्तिशाली बन्न थाल्यो । यससँगै उपभोक्तावादी संस्कृतिले पनि प्रवेश पायो । पश्चिममा यसको विकास अलि पहिल्यैदेखि हुन थालेको थियो । उपभोक्तावाद पुँजीवादी उत्पादन प्रणालीको परिणाम थियो ।
केरिन हिग्स उपभोक्तावादको चर्चा गर्दा १८औँ शताब्दीतिर फर्किन्छिन् । उनी १८औँ शताब्दीमा बेलायतले फेसनलाई प्रवर्द्धन गर्न सुरु गर्यो र बिक्री बढाउने प्रेरक शक्तिका रूपमा ‘ईर्ष्या’लाई प्रयोग गर्न थाल्यो भन्छिन् । यो मनुष्यलाई उपभोगमा प्रतिस्पर्धाका निम्ति उत्प्रेरित गर्ने मनोवैज्ञानिक तरिका थियो । मानिसमा इच्छा र ईर्ष्या जागृत गर्न आवश्यक थियो । उत्पादन बढेसँगै उपभोग बढ्न जरुरी थियो । उपभोग बढाउन तदनुकूल संस्कृतिको निर्माण गर्नुपथ्र्यो । उत्पादन र उपभोगको चक्रलाई बलियो र मुनाफामुखी बनाउन उपभोक्तावादको विकास गरियो । उपभोक्तावाद अत्यधिक उपभोगलाई जीवनमूल्य मान्ने विचारधारा हो । उपभोक्तावाद आवश्यकताको अर्थशास्त्र होइन; कामना, भोग र मुनाफाको विचारधारा हो । फ्रेडेरिक एलेन उपभोक्तालाई किन्न मनाउन सकिएन भने उत्पादित वस्तु पसलमै थन्कन्छन् भन्छन् । एडवर्ड बर्नेस ठुलो मात्रामा उत्पादित वस्तु बेच्न सक्दा मात्र फाइदा हुन्छ भन्छन् । यसका निम्ति विज्ञापन र प्रचारलाई महत्त्व दिनुपर्ने उनको धारणा छ । क्रेता वा भोक्तामा अनन्त कामनाको दर्शन विकास नगरी ठुलो परिमाणमा वस्तु बेच्न सकिँदैन । आवश्यकताका आधारमा बेचिने वस्तुबाट मात्र पुँजीवादा चल्दैन । यसका निम्ति कृत्रिम आवश्यकता निर्माण गर्नुपर्छ, अनावश्यक आवश्यकतालाई आवश्यकजस्तो बनाउनुपर्छ । उपभोक्तावादले यही गर्छ । विलियम लिच यसै सन्दर्भमा उपभोग र इच्छाको लोकतान्त्रिककरणको कुरा गर्छन् ।
हुने–खानेहरूको जीवनशैली तडकभडकपूर्ण देखिन्थ्यो तर यसको रूप आजको जस्तो थिएन । उनीहरू पनि कतिपय परम्परित प्रतिमानहरूलाई महत्त्व दिन्थे । आम मानिसको जीवनशैली सरल, सामान्य र परिश्रमी थियो । उनीहरू घाँटी हेरेर हाड निल्थे, अरुलाई पनि त्यसै गर्न सल्लाह दिन्थे ।
भिक्टर लेबो अत्यधिक उत्पादक अर्थतन्त्रका निम्ति भोगलाई अपनाउने जीवनशैली, सामान किन्ने र प्रयोग गर्ने संस्कारको निर्माण, उपभोगमा आध्यात्मिक र अहंंको सन्तुष्टि खोज्ने दृष्टिकोणको निर्माण आवश्यक हुन्छ भन्छन् । उनको यस भनाइमा उपभोक्तावादको मर्म बोलेको छ । उपभोक्तावाद अत्यधिक उत्पादन र मुनाफासँग गहिरो गरी जोडिएको छ । उपभोक्तावादको विचारधारा उपभोक्तावादी संस्कृति निर्माणको आधार हो । यसको विकासमा मलजल गर्ने कार्य यही विचारधाराले गरेको छ । उपभोक्तावादी संस्कृतिको विकासविना अत्यधिक मुनाफामुखी उत्पादन पद्धतिको जीवन नै चल्दैन । उपभोक्तावादी संस्कृतिका बारेमा उत्तरआधुनिकतावादी चिन्तक बौद्रिलार्डले गहिरो विश्लेषण गरेका छन् । उपभोगलाई उनी आजको सामाजिक संरचनाका रूपमा लिन्छन् र उत्पादकहरू हाम्रा आवश्यकता निर्माण गर्छन्, आवश्यकताभन्दा पहिले वस्तुहरू आउँछन् भन्छन् । उपभोग विचारधारा र सम्प्रेषणको व्यवस्था बनेको छ र स्वतन्त्रता र मुक्तिको अवधारणा उपभोगद्वारा व्याख्यायित भइरहेछ भन्ने धारणा उनको छ । भोग र विलासको नैतिकताबाट सुख अपदस्थ भइरहेछ भन्दै उनी उपभोगबाट मिल्ने आनन्द पनि अब उपभोगको लक्ष्य रहेन, यसको उद्देश्य उत्पादन व्यवस्थालाई आश्रय दिनु बन्यो भन्छन् । यसमा सञ्चार प्रविधिको ठुलो भूमिका रहन्छ भन्ने धारणा उनको छ ।
उपभोक्तावादी संस्कृतिमा वस्तु र त्यसको उपभोग प्रधान हुन्छ । हरबर्ट माक्र्युज यसलाई मानिसले आफूलाई वस्तुमा चिन्छ भनेर परिभाषित गर्छन् । जिगमुन्ट बाउमन तत्काल प्राप्त हुने सन्तुष्टिलाई उपभोक्तावादी संस्कृतिले महत्त्व प्रदान गर्छ भन्छन् । उपभोक्तावादी संस्कृतिलाई चरम उपभोगमुखी प्रवृत्ति, जीवनशैली, संस्कार एवं मूल्य, वस्तुलिप्सा र प्रदर्शनमुखी चरित्र, उपभोगमा प्रतिस्पर्धा र भोगवादी दृष्टिकोण आदिका रूपमा परिभाषित गरिन्छ । नेपाली समाजमा पाइने तडकभडकमा यिनै कुरा देखिन्छन् । उपभोक्तावादी संस्कृतिकै कारण समाजमा तडकभडक बढ्दै छ र जीवनमा परिवर्तन आउँदै छ । एकातिर मुलुक आर्थिक रूपले कमजोर छ, श्रमशक्तिको विदेश पलायन बढेको छ, बेरोजगारी फस्टाएको छ, श्रम गर्ने चरित्रमा ह्रास आएको छ, अर्कातिर उपभोक्तावादी संस्कृति झाँगिदै छ । सबै वर्ग, जात, लिंग, उमेर र क्षेत्र यसबाट प्रभावित छन् । नेपाली समाज निरन्तर कृत्रिम आवश्यकताहरूको सिकार हुँदै छ । उसले जीवनको सफलतालाई वस्तुहरूको संग्रह र उपभोगबाट परिभाषित गर्दै छ । नयाँ–नयाँ ब्रान्डका वस्तुहरूको प्रयोग, होटल–रेस्टुरेन्टहरूको रमझमपूर्ण जीवन, खर्चालु चाडपर्व र बिहे, गरगहना र वाहन, प्रदर्शनमुखी आभासी जीवनशैलीभित्र नेपाली समाजमा बढ्दै गरेको उपभोक्तावादी संस्कृतिलाई हेर्न सकिन्छ । संस्कृति स्वयंलाई वस्तुमा बदल्नु उपभोक्तावादी संस्कृतिको विशेषता हो । उपभोक्तावादी संस्कृतिमा संस्कृतिले आफ्नो सारतत्त्व गुमाउँछ । संस्कृतिको सामूहिक र ऊर्ध्वगामी चरित्र एवं आत्मिक मूल्यको विसर्जन हुन्छ । मानिस उपभोक्ताभन्दा बढी केही रहँदैन ।
बढ्दो विकृति र विसंगतिको एउटा महत्त्वपूर्ण कारणका रूपमा उपभोक्तावादी संस्कृतिलाई लिइन्छ । नेपालको मात्र होइन, सबै ठाउँको कथा हो यो । चरम वस्तुलिप्साका कारण मानिसले गर्नै नहुने कार्य गर्छ ।
संस्कृति उद्योगका बारेमा चर्चा गर्ने क्रममा एडर्नोले संस्कृति कसरी मुनाफाको वस्तुमा फेरिन्छ भन्ने कुराको चर्चा गरेका छन् । यसलाई संस्कृतिको वस्तुकरण भनिन्छ । संस्कृतिको व्यवसायीकरण संस्कृतिको वस्तुकरण हो । संस्कृतिको मूल्य उपभोक्तावादी मूल्यमा बदलिएपछि संस्कृति संस्कृतिका रूपमा रहन्न । यसले आफ्नो चरित्र गुमाउँछ । उपभोक्ताहरूबाटै उपभोक्तावादी संस्कृतिले आकार ग्रहण गर्छ तर यसमा सञ्चार–प्रविधि, विज्ञापन, व्यापार र उपभोगसँग सम्बन्धित संस्था, लेखक एवं प्रचारकहरूको ठुलो भूमिका हुन्छ । समस्या उपभोगको होइन, उपभोक्तावादको हो । उपभोगको सम्बन्ध आवश्यकतासँग छ, उपभोक्तावादको कामना र भोगसँग । उपभोक्तावादी संस्कृतिले यसलाई जीवनमूल्यमा बदल्छ र मानिस अनन्त लालसाको मांसपिण्डमा बदलिन्छ ।
नेपाली समाजमा बढेको आत्मिक र नैतिक भ्रष्टीकरणलाई उपभोक्तावादी संस्कृतिको बढ्दो ग्राफसँग पनि जोडेर हेर्नुपर्छ । नेपाली राजनीतिमा नैतिक मूल्यमा देखिने ह्रास पनि यससँग सम्बन्धित छ । उपभोक्तावादी संस्कृतिबाट डोरिन थालेपछि जति भए पनि पुग्दैन । भ्रष्टाचारको एउटा महत्त्वपूर्ण कारण जति भए पनि नपुग्नु हो । राजनीतिमा लागेका कैयौँ मानिसको चमकदमकपूर्ण जीवनशैली, बसाइ, खानपान आदि गलत ढंगले आर्जित सम्पत्तिका कारण सम्भव भएको छ । बढ्दो विकृति र विसंगतिको एउटा महत्त्वपूर्ण कारणका रूपमा उपभोक्तावादी संस्कृतिलाई लिइन्छ । नेपालको मात्र होइन, सबै ठाउँको कथा हो यो । चरम वस्तुलिप्साका कारण मानिसले गर्नै नहुने कार्य गर्छ । उसका निम्ति नैतिकता, सत्य, इमानदारी, संवेदना, सामाजिकता, मानवता, देशभक्तिको भावना आदिको धेरै अर्थ रहँदैन । उसको जीवनको आदर्श उपभोक्तावाद बन्छ । यसबाट समग्र नैतिक पर्यावरण विकृत बन्छ । सरल, मीतव्ययी, परिश्रमी जीवनशैली पाखा लाग्छ । समाज खन्चुवा, विलासी र अनावश्यक वस्तुहरूको प्रयोगको कैदी बन्छ । उसले आलोचनात्मक विवेक र अग्रगामी चरित्र गुमाउँछ । नेपाली समाज यस्तै बन्दै गइरहेछ ।
उपभोक्तावादी संस्कृति कुनै पनि मुलुकको सांस्कृतिक परम्परामा रहेका सुन्दर मूल्यहरूसँग बाझ्छ । यसले बजार, पुँजीवाद, भूमण्डलीकरणद्वारा आफ्ना हितका निम्ति निर्मित मूल्यहरूको सेवा गर्छ । उपभोक्तावादी संस्कृतिले मुलुकको पहिचान, मौलिक स्व र गरिमालाई पाखा लगाउँछ । यस संस्कृतिका कारण कैयौँ राष्ट्र आफ्नो सांस्कृतिक पहिचान गुमाउँदै छन् । उपभोक्तावादको चरित्र समरूपता हो विविधता होइन, क्वाँटीकरण हो मौलिकता होइन । उपभोक्तावाद सांस्कृतिक परम्पराका सुन्दर पक्षहरूको संरक्षण, संवर्द्धन र निरन्तरतामा होइन त्यसको ध्वंशमा उभिन्छ र अघिल्तिर प्रस्थान गर्छ । नेपाली समाजमा हामी यी लक्षणहरू नियाल्न सक्छौँ । हाम्रो राष्ट्रिय भावना कमजोर बन्दै छ । इतिहास, सभ्यता र संस्कृतिप्रतिका हेराइ बदलिँदै छन् । तर्क, तथ्य र विवेक कमजोर बन्दै छन् । सामूहिकता, सामाजिकता, इमानदारी, त्याग र निष्ठमा ह्रास आउँदै छ । मानवतावादी एवं प्रगतिशील मूल्यहरू पाखा लाग्दै छन् । व्यक्ति चरम व्यक्तिवादी बन्दै छ र भावनात्मक अतिरेकको सिकार हुँदै छ । यी सबैमा उपभोक्तावादी संस्कृतिको ठुलो हात छ ।
नेपाली समाजमा विकसित हुँदै गरेको उपभोक्तावादी संस्कृतिका बारेमा गम्भीर विमर्श आवश्यक छ । मुलुक, समाज र व्यक्तिका हितविरुद्ध यसले कार्य गर्छ भन्ने कुरालाई स्पष्ट रूपमा नराखी समाजलाई यसको दुष्प्रभावबाट मुक्त गर्न सकिन्न । उपभोक्तावादविरुद्धको संघर्ष पुँजीवाद र भूमण्डलीकरणविरुद्धको संघर्षसँग जोडिएको छ । उपभोक्तावाद मानसिक वृत्तिसँग जोडिएको विषय मात्र होइन, मूलतः आर्थिक, राजनीतिक संरचनासँग जोडिएको विषय हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नोरा फतेहीले तताइन् हायात ग्राउन्ड, तस्बिरमा हेर्नुहोस्
-
वन्डरल्यान्ड वाटरपार्कमा तोडफोड
-
पछिल्लो २४ घण्टामा विपद् : चारको मृत्यु, अट्ठाइस घाइते
-
रोटरी ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’बाट पत्रकार कोइराला पुरस्कृत
-
दुई मन्त्रीको गुटबन्दीको घेरामा लमजुङ तरुण दल, अधिवेशन बन्यो रणमैदान
-
क्होंलासोंथरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रक्रिया थाल्ने निर्णय