शनिबार, ०३ जेठ २०८२
ताजा लोकप्रिय

सगरमाथा संवाद विश्वका लागि प्रेरणादायक उदाहरण : युएनडीपी उपाध्यक्ष

शनिबार, ०३ जेठ २०८२, १७ : ४१
शनिबार, ०३ जेठ २०८२

समाचार सारांश

  • युएनडीपीका उपाध्यक्ष अचिम स्टेनरले नेपालको कार्बन न्युट्रिलिटीको लक्ष्यलाई प्रेरणादायक उदाहरणको रूपमा प्रशंसा गरे।
  • सगरमाथा संवादमा उनले जलवायु परिवर्तनको असर र हिमनदी पग्लिने समस्याबारे चिन्ता व्यक्त गरे।
  • युएनडीपीले नेपालसहित विश्वका १ सय ४० देशहरूलाई दिगो र समावेशी भविष्यका लागि सहयोग गर्ने प्रतिबद्धता जनायो।

काठमाडौँ । युएनडीपीका उपाध्यक्ष अचिम स्टेनरले सन् २०४५ सम्ममा कार्बन न्युट्रिलिटी हासिल गर्ने नेपालको महत्त्वाकाङ्क्षाले विश्वका लागि पछ्याउन सकिने प्रेरणादायक उदाहरण प्रस्तुत गरेको बताएका छन् । 

काठमाडौँमा जारी सगरमाथा संवादका क्रममा भिडियो सन्देश दिँदै उपाध्यक्ष स्टेनरले अहिले विश्वको प्रमुख समस्या बनिरहेको जलवायु परिवर्तनको पहलमार्फत युएनडिपी विश्वभरका एक सय ४० देशसहित नेपाललाई समेत दिगो र समावेशी भविष्यतर्फ लैजाने रुपान्तरणात्मक जलवायु कार्यमा समर्थन गर्न पाउँदा गर्वको अनुभूति गरिरहेको बताएका हुन् । 

उनले सगरमाथा संवादलाई सम्बोधन गर्न पाउनु नै आफ्ना लागि विशेष सम्मान भएको बताए । सगरमाथा संवाद संसारको सर्वोच्च शिखर सगरमाथाबाट प्रेरित भएको उल्लेख गरेका छन् । एभरेस्टका नामबाट विश्वमा परिचित सगरमाथा दृढताको एक प्रकाश स्तम्भ तथा मानव सङ्घर्षको प्रतीकको रूपमा उभिएको उपाध्यक्ष स्टेनरले बताए । नेपाल र हिमालहरू जलवायु सङ्कटको अग्रपङ्क्तिमा रहेको पनि उनले बताए ।

उनले भनेका छन्, ‘जलवायु परिवर्तनका कारण हिमनदी र नदीहरूसहितको यो अनुपम पारिस्थितिक प्रणाली दक्षिण एसियाका करिब २ अर्ब जनसङ्ख्याका लागि जीवन रेखा हो । जसले जलस्रोत, खाद्य सुरक्षा: जीविकोपार्जन र अर्थतन्त्रलाई धानेको छ । यो जैविक विविधताको एक सुरक्षित आश्रयस्थल पनि हो । जसले थुप्रै दुर्लभ र लोपोन्मुख प्रजातिहरूलाई संरक्षण दिँदै आएको छ । तर यो अनुपम भू–दृश्य अहिले जलवायु परिवर्तनको कारण अस्तित्वको सङ्कटसँग जुधिरहेको छ ।’ 

उनले भने, ‘हिन्दुकुश–हिमालय क्षेत्रमा रहेका हिमनदीहरू तीव्र दरमा पग्लिँदै गइरहेका छन् । यो क्षति अघिल्लो दशकको सन् १०११ देखि २०२० को बिचमा भएको तुलनामा ६५ प्रतिशत छिटो थियो । २०२४ देखि २०२५ को हिउँदमा ऐतिहासिक रूपमा न्यून हिमपात भयो । जसले करोडौँ मानिसहरूको लागि आसन्न जल सङ्कटको सङ्केत दिएको छ । यी नयाँ तथ्याङ्कहरू होइनन् । यी त ज्ञात जीवन शैलीमा जलवायु परिवर्तन र त्यसका विनाशकारी प्रभावहरुबाट जोगिन तथा अनुकूल गर्न तत्काल कदम चाल्नुपर्ने आहानहरू हुन् । संयुक्त राष्ट्रसङ्घ परिवारको रूपमा, संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रमले विश्वभर यस्ता चुनौतीहरूको सामना गर्न सहयोग गरिरहेको छ ।’

स्टेनरले भने, ‘एसिया र प्रशान्त क्षेत्रमा हामी जोखिमको पूर्वानुमान गर्न प्रारम्भिक चेतावनी प्रणालीहरू सुदृढ गर्दैछौँ र प्राकृतिक विपत्तिहरु तथा झट्काहरूको सामना गर्न सक्ने क्षमता निर्माण गरिरहेका छौँ । नेपालमा, हामी सरकार र जनतासँग काँध मिलाएर उभिएका छौँ ताकी पर्वतीय समुदायलाई जलवायु परिवर्तनका बढ्दो जोखिमहरूबाट जोगाउन सकियोस् ।’

उनले युएनडीपी विश्वभरका १ सय ४० भन्दा बढी देशहरूसहित नेपाललाई समेत दिगो र समावेशी भविष्यतर्फ लैजाने रुपान्तरणात्मक जलवायु कार्यमा समर्थन गर्न पाएकोमा गर्वको अनुभूति भएको उल्लेख गरेका छन् । —न्युज एजेन्सी नेपाल 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप