सुपर–३ चरणको पहिलो खेलमा थाइल्यान्डले यूएईलाई हरायो
सारांश
- थाइल्यान्डमा जारी एसियाली क्षेत्रको छनोट प्रतियोगितामा थाइल्यान्डले यूएईलाई ५४ रनले पराजित गर्यो।
- टस जितेर ब्याटिङ गरेको थाइल्यान्डले निर्धारित ओभरमा १४४ रन बनायो, जवाफमा यूएईले ९० रन मात्र बनाउन सक्यो।
- नेपाल पनि सुपर-३ चरणमा पुगेको छ र सोमबार यूएईसँग पहिलो खेल खेल्नेछ, शीर्ष दुई टोली विश्वकप छनोटमा पुग्नेछन्।
काठमाडौँ । आईसीसी महिला टी–२० विश्वकपका लागि थाइल्यान्डमा जारी एसियाली क्षेत्रको छनोट प्रतियोगिताको सुपर–३ चरणमा आयोजक राष्ट्रले विजयी सुरुवात गरेको छ । थाइल्यान्डले आइतबार खेलिएको सुपर–३ चरणको पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई ५४ रनले हरायो ।
टस जिती पहिले ब्याटिङको निर्णय लिएको थाइल्यान्डले निर्धारित ओभरमा पाँच विकेट गुमाएर एक सय ४४ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको यूएईले भने निर्धारित ओभरमा पाँच विकेट गुमाएर ९० रनमात्र बनाउन सक्यो । पहिले ब्याटिङ गरेको थाइल्यान्डका लागि ओपनर नट्टाया बुचाथमले ४९ रनको योगदान गरिन् । उनले ४८ बलको सामना गरी चार चौका पनि हिर्काइन् । चौथो नम्बरमा क्रिज समाल्न आएकी नथ्कन चान्थमले पनि अविजित ४६ रनको योगदान गरिन् ।
आक्रामक रुपमा प्रस्तुत भएकी उनले केवल २० बलमा दुई छक्का र चार चौका हिर्काइन् । विजयी टोलीका लागि नन्नपत कोन्चारोएनकाईले पनि ३९ रन बनाइन् । तेस्रो नम्बरमा क्रिज समाल्न आएकी उनले ३६ बलमा तीन चौका प्रहार गरिन् ।
यूएईकी बलर एसा ओजाले दुई विकेट लिइन् । जवाफी ब्याटिङ गरेको यूएईका लागि हिना होचन्दानीले सर्वाधिक ३२ रन बनाइन् । उनले ४६ बलमा पाँच चौका प्रहार गरिन् । अन्य ब्याटरको प्रदर्शन सन्तोषजनक रहेन । थाइल्यान्डकी बलर थिपाचा पुथावोङले दुई विकेट लिइन् ।
थाइल्यान्ड र यूएईका अतिरिक्त नेपाल पनि सुपर–३ चरणमा पुगेको छ । सुपर–३ चरणमा नेपालले आफ्नो पहिलो खेल सोमबार यूएईसँग खेल्नेछ । नेपाली टोलीले आफ्नो दोस्रो खेल मंगलबार आयोजक थाइल्यान्डसँग खेल्नेछ । सुपर–३ चरणको खेलपछि अंक तालिकाको माथिल्लो दुई स्थानमा रहने टोली आगामी महिला टी–२० विश्वकपको विश्वस्तरीय छनोट प्रतियोगितामा प्रवेश गर्नेछन् । विश्वस्तरीय छनोट प्रतियोगितामा १० टोलीको सहभागिता रहनेछ ।
हालसम्म विश्वस्तरीय छनोट प्रतियोगिता खेल्ने तीन टोलीको मात्र टुंगो लागेको छ । बंगलादेश, स्कटल्यान्ड र अमेरिकाले विश्वस्तरीय छनोट प्रतियोगितामा स्थान बनाइसकेका छन् । बाँकी सात टोलीको भने टुंगो लाग्न बाँकी छ ।
विश्वस्तरीय छनोट प्रतियोगिताका लागि अब एसियाबाट दुई, युरोपबाट दुई, अफ्रिकाबाट दुई र पूर्वी एसिया–प्यासिफिक क्षेत्रबाट एक टोलीको टुंगो लाग्न बाँकी छ । विश्वस्तरीय छनोट प्रतियोगिताबाट चार टोलीले सन् २०२६ मा आयोजना हुने महिला टी–२० विश्वकपमा स्थान पक्का गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
१५ लाख ७० हजार लाइसेन्स छापिए, एक वर्षभन्दा कम म्यादका अब नछापिने
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026