प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई प्रश्न : यो कतै राजनीतिक प्वाँख पलाउन लागेको हो कि ?

‘झट्ट हेर्दा के लाग्छ भने लेखिका अथवा प्रधानमन्त्री पत्नीलाई यो कतै राजनीतिक प्वाँख पलाउन लागेको हो कि ! यो कुरोमा अलिकति जानकारी दिनुभयो भने आजको कार्यक्रम सार्थक हुन्थ्यो कि ! किन तपाईंले यो पुस्तक लेख्नुभयो ? देशको विगत बुझाउनलाई हो कि ! अथवा भविष्यका बारेमा केही तपाईंले खाका कोर्नुभएको छ कि ! यो कुरा बताइदिनुभयो भने ! अथवा तपाईंंले जागिरे जीवनको वर्णन गर्नुभएको हो कि ! अथवा टिप्पणीकारहरूले भनेजस्तो घर बनाउँदा उहाँको खर्चबाट ल्याउनुभयो वा कहाँबाट ल्याउनुभयो भनेर जुन व्याख्या गर्नुभयो, त्यो व्याख्या गर्नका लागि यो किताब आएको हो कि ! अथवा केका लागि यो पुस्तक हो ? नेपालीलाई यो किताब पढेर के फाइदा हुन्छ ? नेपालका अहिलेका जे चुनौती छन्, तिनलाई यसले के निकास दिन्छ ? यो कुरा क्याटगोरिकल्ली भनिदिनुभयो भने धेरैले जानकारी पाउने थिए अथवा एउटा म्यासेज जाने थियो ।’
स्तम्भकार कृष्णमुरारी भण्डारीले लेखक राधिका शाक्यमाथि राखेको प्रश्न र जिज्ञासा हो यो । सोमबार (जेठ ५ गते) काठमाडौँको सुकेधारास्थित एक होटलमा प्रेस चौतारी नेपालको आयोजनामा भएको ‘करुणा : लेखक राधिका शाक्यको सम्पादकहरूसँग संवाद’ विषयक कार्यक्रममा १८ जनाजति पत्रकार, सम्पादक तथा स्तम्भकारले प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी शाक्यमाथि जिज्ञासा वा प्रश्न राखेका थिए । शाक्यको पछिल्लो पुस्तक ‘करुणा’ (२०८१) माथि डा. देवी नेपाल र पत्रकार तथा लेखक बबिता बस्नेतले टिप्पणी गरेपछि सम्पादकहरूलाई प्रश्न वा जिज्ञासा राख्न भनिएको थियो । बस्नेत र नेपालको प्रशंसात्मक टिप्पणीपछि अधिकांश सम्पादक तथा पत्रकारहरूले पनि प्रशंसा मिसिएकै जिज्ञासा राखेका थिए ।
जिज्ञासा राख्ने क्रमको पछिल्लो चरणमा अर्थात् नेपाल समाचारपत्रका सम्पादक सागर पण्डितसम्म आइपुग्दा केही आलोचनात्मक प्रश्न पनि उठे । उनले भनेका थिए, ‘यहाँ (शाक्य) चार–चारपटक फर्स्ट लेडी हुनुभयो । प्रधानमन्त्री केपी शर्मा वलीले पनि सुखी नेपाली समृद्ध नेपालको अभियान लिएको अवस्था छ, तर बाहिर जनतामा एक किसिमको निराशा देखिन्छ । प्रधानमन्त्रीको सन्दर्भमा मात्रै नभएर पहिलेदेखि नै बालुवाटारको किचन–क्याबिनेटसम्मै माफिया र बिचौलियाको पहुँच छ भन्ने भाष्य छ । यद्यपि करुणाले ती आरोप चिर्ने प्रयास गरेको देखिन्छ । मेरो जिज्ञासा के छ भने— प्रधानमन्त्री ओलीले चाहँदा चाहँदै पनि मुलुक समृद्धितिर नगएको हो कि ! अथवा त्यहाँ कुनै त्रुटिहरू भएको हो कि ! निराशालाई आशामा ढाल्ने सम्बन्धमा यहाँहरूबिच छलफल हुन्छ कि हुँदैन ?’
नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेलले पुस्तकमा ‘केपी सर’ भनी गरेको सम्बोधनप्रति आफ्नो असहमति रहेजस्तो विचार व्यक्त गरेका थिए । ‘अहिले सरसर्ती यो पुस्तक हेर्दा म आफूलाई लागेको— अचेल प्रायः राजनीतिक परिवार र कर्मचारीतन्त्रमा आफ्नो श्रीमानलाई सर र श्रीमतीलाई म्याडम भन्ने चलन देखिन्छ, मैले किताबमा पनि केपी सर सम्बोधन गरेको देखेँ । खास गरेर सर भन्दा पनि केपीजी नै भनेर लेखेको भए यो अझ रमाइलो र मिठो सुनिन्थ्यो होला,’ प्रधानसम्पादक लुइँटेलको सुझाव थियो ।
यस पुस्तकले केपी ओलीलाई कति छोपेको छ वा कति ‘आभूषण’ले सिँगारेको छ भन्ने बेग्लै समीक्षाको पाटो छ । कुरा यति हो कि— जीवनमा ‘केही’ उद्देश्य लिएको तर स्वास्थ्यदेखि धेरै कुराको साथ नपाएको एउटा पुरुषले अवश्य नै बुझ्छ, जीवनमा एउटी स्त्रीको साथ र स्नेह वा करुणाको मूल्य कति हुन्छ !
कार्यक्रमहरूमा प्रधानमन्त्री ओली कामको व्यस्तताले तीन–चार घण्टा मात्रै सुत्ने चर्चा चलेको थियो । कान्तिपुर दैनिकका प्रधानसम्पादक उमेश चौहानले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आठ–दश घण्टा सुत्न सुझाव दिए । ‘राधिका म्याडमबाट मेरो यो सुझाव— व्यक्तिगत स्वास्थ्यका लागि र अनुभव गर्दा देशकै स्वास्थ्यका लागि नेताहरू पर्याप्त मात्रामा सुत्नुपर्छ,’ प्रधानसम्पादक चौहानको सुझाव थियो, ‘मेडिटेसन गर्नुपर्यो, फिजिकल एक्सरसाइज गर्नुपर्यो । असाध्यै धेरै कार्यक्रममा जाने, धेरै बोल्ने, धेरै अन्तक्र्रिया गर्ने गर्दाखेरि हाम्रो देशको प्रधानमन्त्रीको, नेताहरूको, समयको अवमूल्यन भएको छ । यहाँको कुरा प्रधानमन्त्रीले सुन्नुहुन्छ । यो केपी शर्मा ओलीलाई मात्र होइन, सबै शीर्ष नेताहरूले आफूलाई समय दिनुपर्नेछ । आफूलाई समय दिनुभयो भने देशले पनि समय पाउँछ ।’
धेरै प्रशंसापूर्ण र केही आलोचनात्मक प्रश्न सुनेपछि लेखक शाक्यले सरल र सालीन ढंगले जवाफ दिइन् । सुरुमै उनले स्तम्भकार कृष्णमुरारी भण्डारीको आलोचनात्मक जिज्ञासालाई समाइन् ।
आलोचनात्मक जिज्ञासा राख्न स्तम्भकार भण्डारीले आफ्नो थरको विरासत पेस गर्दै भूमिका बाँधेका थिए— मैले यहाँ टिप्पणीहरू सुनेँ । ती टिप्पणीहरू बढी प्रशंसामा बगेको देखियो । मैले पढेको, सुनेको, जानेको के हो भने पुस्तकको समालोचना गर्दा अलिकति निर्मम पनि हुनुपर्छ । यो कस्तो अप्ठेरो पर्यो भने मेरो थर भण्डारी, भण्डारीले नभन्दियो भने पनि भएन । भन्दिनुपर्ने, भन्दा पनि सबै कुरा स्मुथ्ली थियो, यसले किन यो तितो पोख्यो भन्ने पनि होला भनेर अलि दोधारमा परेको छु ।
‘लेखिकालाई सोध्न मन लागेको— उहाँ अहिलेसम्म साइलेन्ट बस्नुभएको थियो । यो पुस्तकको नाम पनि करुणा छ; यसमा प्रधानमन्त्री ओलीको स्वास्थ्य, उहाँले त्यो चुनौतीपूर्ण राजनीतिक अवस्थालाई सामना गर्दै भोग्नुपरेका चिजहरूलाई अलि करुणामय हिसाबले लेख्नुभएको होला भन्ने ठानेको थिएँ, तर टिप्पणीकारहरूको कुरा सुन्दा धेरै चिज आ’छ,’ स्तम्भकार भण्डारीले आंशकासहित जिज्ञासा राखेका थिए, ‘खासगरी आजकै यो जुन कार्यक्रम छ, यति धेरै सम्पादक पत्रकारहरू जो आफैँमा अलि छुच्चा हुन्छन्, तिनीहरूसँग सामना गर्ने, यो फलामको च्युरा चपाउने उहाँले जुन साहस गर्नुभयो, त्यो कसरी किन गर्नुभा’छ ! किन यति धेरै पत्रकारहरूलाई एउटा लेखकले भेट्नुपर्यो ? त्यस्तो लेखिका हुनुहुन्छ, जो नेपालको फर्स्ट लेडी, हुन त राष्ट्रपतिको पत्नीलाई पनि भन्छन् कि ! तर कार्यकारी प्रधानमन्त्री भको हुनाले, फर्स्ट लेडीले यो जुन कार्यक्रम आयोजना गर्नुभयो, आयोजक त प्रेस चौतारी छँदै छ ।’
स्तम्भकार भण्डारीको जिज्ञासामा आएको ‘पत्रकारहरूको सामना गर्ने, यो फलामको च्युरा चपाउने’ वाक्यांशले शाक्यलाई छोएछ । उनले सुरुमै यसको जवाफ दिइन्, ‘म तपाईंहरूसँग डराउनुपर्ने त केही कारण छैन । मैले कुनै नराम्रो काम गरेको छैन, आफूले जानेसम्म कुनै बेइमानी गरेको छैन, कुनै नैतिकहीन काम गरेको छैन । तपाईंहरू पनि नेपाली हो, म पनि नेपाली । मैलेभन्दा तपाईंहरूले धेरै कुरा जान्नुभएको छ, म मान्छु । म त्यस्तो जान्ने मान्छे होइन । तसर्थ आज सम्पादकहरूसँग जुन मेरो फेस टु फेस कार्यक्रम जस्तै यो भएको छ । यसमा मैले कुनै पनि संकोच, कुनै पनि डर, कुनै पनि त्रास महसुस गरेको छैन । मलाई रमाइलो लागेको छ ।’
‘राजनीतिक प्वाँख पलाउन लागेको हो कि !’ भन्ने जिज्ञासामा शाक्यको स्पष्टोक्ति थियो, ‘यसमा तपाईंहरू सबै ढुक्क हुनुभए हुन्छ शतप्रतिशत, म राजनीतिमा आउने मान्छे होइन । मैले आफ्नो ऊर्जाशील जवानीमा त राजनीति गरिनँ भने अब यो निभ्न लागेको बत्ती भनेजस्तो यस्तो उमेरमा म किन राजनीतिमा आउँछु । के पाउँछु र मैले राजनीतिमा ? राजनीतिमा आउनुभन्दा त, मैले अहिले जसरी चुप लागेर बस्या छु, मैले धेरै कुरा प्राप्त गर्या छु । राजनीतिमा लागेको भए यति कुरा पाउँदिनँजस्तो मलाई लाग्छ है, यो मेरा आफ्नो व्यक्तिगत कुरा ।’
केपी ओलीले श्रीमतीलाई अगाडि सार्न लागे कि क्या हो भनेर कता–कता प्रश्न गरेको आफूले धेरै सुनेको पनि शाक्यले बताइन् । प्रधानमन्त्री ओलीले आफूलाई राजनीतिमा जाउ भनेर नलगाएको र राजनीति गर्नका लागि आफूले यो (पुस्तक निकाल्ने कार्य) नगरेको समेत शाक्यको स्पष्टोक्ति थियो ।
पुस्तक किन लेखेको भन्ने प्रश्नमा उनको भनाइ थियो, ‘मैले जति कुरा बुझेको छु; मेरो मन–मस्तिष्कमा जति कुरालाई यो ठिक यो बेठिक भन्ने लागेको छ, ती लागेका कुरालाई मैले किताबमार्फत व्यक्त गरेकी छु । लागेको कुरा व्यक्त गर्ने अधिकार त सबैलाई छ नि !’
आम महिलाको भन्दा आफ्नो स्वभाव फरक भएको पनि उनको भनाइ थियो । ‘हुन त म महिला हुँ । मलाई लाग्छ, सानैदेखि आम महिलामा हुने खालको स्वभाव ममा थिएन, छैन र अब हुँदैन पनि होला । धेरै महिलाहरूको त्यो खालको फेसनहरू, लुगा लगाइहरू, घरघरको गफ गर्ने (विषय)देखि लिएर, गरगहनादेखि लिएर, यस्तै उस्तैमा बढी इन्ट्रेस्ट भएको चाहिँ म पाउँछु । मैले यो आरोप लगाएको होइन है, मैले अनुभव गरेको कुरो । सानैदेखि मलाई त्यस्तो–उस्तोमा खासै रुचि थिएन, हुँदैन । किन भएन, त्यो म जान्दिनँ,’ उनले भनिन्, ‘सानैदेखि अलिअलि केही पढ्ने, अलिअलि केही लेख्नेमा मेरो मेरो इन्ट्रेस्ट थियो । लेख्ने भनेर धेरै लेख्ने वा गहिरिएर लेख्ने मसँग समय पनि थिएन । पढ्ने भनेर त्यति धेरै पढ्ने पनि होइन । विभिन्न काम गरेर समय बच्यो भने अलिअलि पढ्ने, अलिअलि लेख्ने मेरो व्यक्तिगत स्वभाव भनौँ ।’
कसैलाई कुनै सन्देश दिन वा कसैलाई केही फाइदा हुन्छ भनेर आफूले पुस्तक नलेखेको र आफूलाई लागेका कुरा केवल डकुमेन्टेसन गरेको उनको भनाइ थियो । ‘त्यो डकुमेन्टबाट कसैलाई फाइदा भयो भने राम्रै भयो । कसैलाई भएन भने पनि मेरो भन्नु केही छैन,’ उनले भनिन्, ‘मैले यसलाई सम्पत्तिका रूपमा लिएकी छु ।’
स्तम्भकार भण्डारीले आफ्नो थरको विरासत पेस गर्दै भूमिका बाँधेका थिए— टिप्पणीहरू बढी प्रशंसामा बगेको देखियो । मैले जानेको के हो भने पुस्तकको समालोचना गर्दा अलिकति निर्मम पनि हुनुपर्छ । कस्तो अप्ठेरो पर्यो भने मेरो थर भण्डारी, भण्डारीले नभन्दियो भने पनि भएन । भन्दिनुपर्ने, भन्दा पनि सबै कुरा स्मुथ्ली थियो, यसले किन यो तितो पोख्यो भन्ने पनि होला भनेर अलि दोधारमा परेको छु ।
प्रधानमन्त्री ओली ८–१० सुत्नुपर्ने सुझावलाई लिएर उनले भनिन्, ‘यो सुझाव राम्रो हो, म पनि यही चाहन्छु तर परिस्थितिले दिँदैन । त्यसैले यस्तै चल्दै गयो, चल्दै आइराखेको छ । यसमा चाइने हाम्रो केपी सरलाई सुधार्नु सक्छु भन्ने मलाई लाग्दैन ।’
विभिन्न जिज्ञासाको जवाफ दिने क्रममा उनले आफू र प्रधानमन्त्री ओलीबिच केही फरक र केही मिल्ने खालका विशेषता रहेको बताइन् । ‘विशेषता मिल्ने खालको नभए यत्रो लामो (विवाहको ३८ वर्ष) समय कसरी जीवनयापन गरे हुँला !’ उनले भनिन् ।
कार्यक्रममा ओलीले ससुरालीतिरका आफन्तलाई पोसेको आरोप लाग्ने गरेको र त्यसको जवाफमा ‘मेरा नभएका भाइबहिनी’ शीर्षकमा एउटा आलेख लेख्न लेखिका शाक्यलाई सुझाइएको थियो । यसको जवाफमा राधिकाले भनिन्, ‘मैले उहाँसँग बिहे गरेको ३८ वर्ष भयो, उहाँ चारपल्ट प्रधानमन्त्री हुनुभयो । एकजना मान्छेलाई पनि सानो पदमा पदको दुरूपयोग भनौँ वा सदुपयोग भनौँ गरेर राख्ने गरेको छैन ।’
सम्पादकहरूले ‘प्रधानमन्त्री तथा अध्यक्ष ओलीसम्म कस्ता कस्ता माग लिएर मानिसहरू आउँछन्’ भनेर समेत सोधेका थिए । आफू कडा स्वभावकी भएकाले कुनै माग लिएर आफूसम्म मान्छेहरू नआएको शाक्यको जवाफ थियो ।
आफ्नो पृष्ठभूमि राजनीतिक भएकाले आफूले राजनीति नगर्ने तर राजनीति बुझ्ने र राजनीतिका बारेमा लेख्न सक्ने पनि उनको भनाइ थियो । प्रधानमन्त्री ओलीले ससुरालीलाई विभिन्न सेवा–सुविधा र पद दिएको भन्ने आरोपलाई खण्डन गर्न उनले अघिल्लोपटक ओली प्रधानमन्त्री भएको बेलाको एउटा प्रसंग सुनाइन् । शाक्यका अनुसार, उनकी कान्छी बहिनी प्रस्तूतिगृहमा स्टाफ नर्स छन् । साँझमा उनले अर्को क्लिनिकमा समेत काम गर्छिन् । एक दिन प्रस्तुति गृहदेखि क्लिनिकसम्म जान हतार भएकाले उनी ट्याक्सी चढेकी थिइन् । ‘त्यस ट्याक्सीका ड्राइभरले केपी ओलीले आफन्तलाई पोसेका छन् भनेर गाली गर्दै ट्याक्सी चलाएछन् । मेरी बहिनीलाई निकै रिस उठेछ,’ राधिका भन्छिन्, ‘सुरुमा त मेरी बहिनी केही बोलिनन् । गन्तव्यमा पुगेपछि उनले ड्राइभरलाई गाली गरिछन् । मै हुँ केपी ओलीको साली, म तिम्रै ट्याक्सीमा आउँदै छु, कहाँँबाट हामीले सुविधा पाएका छौँ ? हामीले सुविधा पाएको भए म तिम्रो ट्याक्सी चढ्नुपर्छ र ? भनेर कराइछन् ।’
लेखिका शाक्यको यसअघि २०७७ सालमा ‘मेरा अनुभूति’ पुस्तक आएको छ । करुणा उनको दोस्रो पुस्तक हो । कार्यक्रममा शाक्यलाई पुस्तक लेख्ने प्रेरणा कोबाट मिल्यो भनेर समेत सोधिएको थियो । लेख्नका लागि आफूलाई श्रीमान् ओलीले झकझकाइरहेको शाक्यले सुनाइन् । ‘पुस्तक लेख्न वा अरु कार्य गर्न मेरो प्रेरणाको स्रोत मेरो श्रीमान् नै हो । उहाँले मलाई यो भात–भान्सामा व्यस्त भएर नबस, तिमी पढेको मान्छे हौ, कुरा बुझ्छौ, केही लेख, केही सिक भनिरहनुहुन्छ,’ उनले भनिन्, ‘मलाई उहाँले पीएचडी गर्नका लागि पनि धेरै जोड दिनुभएको थियो तर मैले गरिनँ । मैले दुइटा विषयमा मास्टर्स गरेँ, त्यो पनि उहाँकै प्रेरणाले गरेँ ।’
कार्यक्रममा पत्रकार तथा सम्पादकहरूले अधिकांश जिज्ञासा प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीसँग जोडेरै शाक्यलाई प्रश्न गरे । उनको अघिल्लो पुस्तक र यो पुस्तकलाई सरसर्ती हेर्दा लाग्छ— जो यो देशमा चार–चारपटक प्रधानमन्त्री भएको छ, आज जो यो देशमा प्रधानमन्त्री छ, जसले देश र देशकै ठुलो पार्टी हाँकेको छ, ऊ यो अवस्थामा आइपुग्नुमा मेरो पनि भूमिका छ । म फलानी हुँ, मेरो पनि संघर्ष छ, मेरा संवेदना छन् । मेरो स्वतन्त्र अस्तित्व छ । सत्ताको ‘भाग खाने’ विषयमा मेरा माइती समेतलाई जोडेर समाजले मेरा पतिलाई गाली गर्दा मलाई दुखेको छ । यो समाजसँग मेरा पनि केही गुनासा छन्, मैले भन्नुपर्ने केही कुरा छन् । सायद यस्तै लागेर राधिका शाक्यले करुणा लेखिन् ।
हो, फर्स्ट लेडीले नभएर कुनै सर्वसाधारण राधिका शाक्यले संस्मरण वा आत्मकथा पुस्तक लेखेको भए उनले यत्तिका सम्पादकसँग संवाद गर्ने अवसर जुर्दैनथ्यो । राधिका शाक्यले आज जुन पुस्तक लेखिन् र आज जुन कार्यक्रम आयोजना भयो, यसमा राजनीति छोइएर अझ भनौँ ठोक्किएर वा घचेटिएर आएको छ । देशकै प्रधानमन्त्री र पार्टी अध्यक्ष आफ्ना पतिलाई शाक्यले कति छोपिन् वा कति छोप्न खोजिन्, वास्तवमा प्रधानमन्त्री ओली कति ओभानो वा पानीमा छन्— यी कुराको तुलना वा हिसाबकिताब सम्पादकहरूलाई हुनुपर्ने हो । यद्यपि पत्रकार तथा सम्पादकहरू गएर पुस्तक नपढीकनै वा पुस्तकको सन्दर्भमा नटेकीकनै प्रधानमन्त्रीलाई जोडेर प्रश्न गरे वा सुझाव दिए । यो किसिमले पुस्तकमाथि संवाद गर्न पहिले पुस्तक पढ्न दिइनुपर्छ, वा पुस्तक पढेर आएकालाई मात्रै टिप्पणी गर्न वा जिज्ञासा राख्न दिइनुपर्छ तर हामीकहाँ कर्मकाण्डी खालका यस्ता पुस्तक संवाद कार्यक्रम चलिरहेका छन्, चलिरहन्छन् ।
शाक्यले अघिल्लो पुस्तक ‘मेरा अनुभूति’मा लेखेकी छन्, ‘शैशवकालमा मातृवियोगले, किशोरावस्थामा अन्याय र अत्याचारविरोधी संघर्षले र जीवनका आधार समयहरू त्रासद यातनाले जर्जर बनेको एउटा कुपोषित मानिसलाई प्रेमले पोषित गरेर हुर्काउने संकल्प मैले गरेँ ।’
यी दुवै पुस्तकमा लेखिका छन्— राधिका शाक्य, न कि राधिका ओली । आफ्नै पौरखले जागिर पाएपछि मात्रै आफ्नो नाम बनेको महसुस उनले ‘करुणा’मा गरेको देखिन्छ । उनी लेख्छिन्, ‘त्यसपछि अस्थायी नियुक्तिपत्र बन्यो । नाम : राधिका शाक्य । पद : सहायक स्तर चौथो (अस्थायी) । कार्यालय : नेपाल राष्ट्र बैंक । तलब : रु ३३०/– (मासिक) ।’ सहायक स्तर चौथो पदमा अस्थायी नियुक्तिबाट जागिर सुरु गरेर उनले ३३ वर्ष सेवा गरिन् र निर्देशक तहबाट अवकाश लिइन्, २०६८ सालमा ।
बुवाले लुगा सिलाएर आफूहरूलाई हुर्काएको, आफूले पनि क्युरिओमा काम गरेर पढेको राधिकाले पुस्तकमा उल्लेख गरेकी छन् । केपी ओलीसँग विवाह गर्नुअघि उनी अनेम संघ वागमती अञ्चल कमिटीको सदस्य समेत भइसकेकी थिइन् । ‘करुणा’मा उनी लेख्छिन्, ‘राजनीतिक पोर्टफोलियो उहाँको के थियो थाहा थिएन तर १४ वर्ष जेल जीवन बिताएर छुटेको भन्ने सुन्दा छुट्टै सम्मान र करुणाभाव जाग्थ्यो ।’ यस वाक्यमा परेको ‘करुणाभाव’ शब्द नै यस पुस्तकको बीज हो । यस पुस्तकले केपी ओलीलाई कति छोपेको छ वा कति ‘आभूषण’ले सिँगारेको छ भन्ने बेग्लै समीक्षाको पाटो छ । कुरा यति हो कि— जीवनमा ‘केही’ उद्देश्य लिएको तर स्वास्थ्यदेखि धेरै कुराको साथ नपाएको एउटा पुरुषले अवश्य नै बुझ्छ, जीवनमा एउटी स्त्रीको साथ र स्नेह वा करुणाको मूल्य कति हुन्छ !