मङ्गलबार, ०६ जेठ २०८२
ताजा लोकप्रिय

महिलाहरूको मुक्ति कसरी सम्भव छ ?

मङ्गलबार, ०६ जेठ २०८२, १७ : ०७
मङ्गलबार, ०६ जेठ २०८२

आदिम साम्यवादी, ढुंगे, दास र सामन्तवादी युग हुँदै यतिवेला हामी पुँजीवादी समाजमा प्रवेश गरिसकेका छौँ । हरेक समाजमा महिलाले भोग्नुपरेका शोषण, अन्याय, अत्याचार र विभेदका स्वरूप समय अनुसार फरक–फरक थिए । महिलामाथि हिंसा नभएको कुनै युग छैन, जुन दिन प्रतिदिन अझ बढेर गएको छ । 

आजको पुँजीवादी समाजमा आइपुग्दा पनि महिलाहरू शोषण, हिंसा र दमनबाट मुक्त हुन सकेनन् । ठुलो संख्यामा महिलाहरू आफन्तबाट, कार्यस्थलमा सुपरभाइजर र हाकिमहरूबाट, चिनेजानेका नजिकका व्यक्तिबाट बलात्कारको सिकार भएका धेरै घटना रेकर्डमा छन् । तीन महिनाको शिशुदेखि ८० वर्षका वृद्धालाई समेत बलात्कार गर्ने, हत्या गर्ने र कतिपयलाई पे्रम गर्ने बहानामा बलात्कार तथा हत्या गर्नेजस्ता जघन्य अपराध भइरहेकै छन् । आज जुनसुकै उमेरका महिलाहरू कोहीसँग कहीँ पनि सुरक्षित छैनन् । गरिब, असहाय र कामको खोजीमा रहेका युवा ज्यादा जोखिममा छन् । 

आज सञ्चार, रोजगारी, उत्पादन र शिक्षाका क्षेत्रमा केही महिलाको पहुँच देखिएको छ तर समग्र महिलाको अवस्थामा परिवर्तन आउन सकेको छैन । रोजगारी, तलबमान, कार्य घण्टा र सुरक्षासँग सम्बन्धित थुप्रै मुद्दा पुँजीवादले हल गर्नु परको कुरा भयो; उल्टै यसले नयाँ–नयाँ स्वरूपका समस्या सिर्जना गरेको छ । सुत्केरी आमाहरूलाई दिइनुपर्ने सामाजिक सुरक्षाहरू, स्वास्थ्य र शिक्षामा सहज पहुँच, बालबच्चाको हेरचाह, वृद्धवृद्धाको रेखदेखजस्ता काममा महिलाको ज्यादा जिम्मेवारी हुने सामाजिक बनोट छ; यस कारण आम महिलाहरू काममा जोतिइरहनुपर्ने अवस्था छ । अहिले पनि सामन्तवादका केही अवशेष छन् । 

धर्म, संस्कृति, रुढिवादी परम्परा र मूल्य–मान्यताका नाममा महिलामाथिको प्रताडना जारी छ । विभिन्न प्रकृतिका हिंसा सहनुपर्ने, दाइजोका नाममा जिउँदै जल्नुपर्ने, बोक्सीका नाममा सामाजिक अपमान र हिंसा सहनुपर्ने, छाउपडीका नाममा बलात्कृत हुनुपर्ने, बालविवाह र अनमेल विवाहका कारण समस्याग्रस्त जीवन जिउनुपर्ने एउटै घटना पनि सभ्य समाजका लागि कलंक हो । बलात्कारजस्तो अपराधबाट गर्भ रहन गई जन्मेका कतिपय बच्चाले जन्मदर्ता नपाउँदा समाजको बोझ भएर बाँच्नुपरेको देखिन्छ । शिक्षा, नागरिकता र राज्यका अरु सुविधाबाट उनीहरू वञ्चित हुनुपर्दा कुलतमा फसिरहेका समेत छन् । 

आजको २१औँ शताब्दीमा विज्ञान र प्रविधिको चरम प्रयोग भएका वेला गरिब तथा निमुखा महिलालाई बोक्सीको आरोपमा कुट्ने, मलमूत्र खुवाउने, दाइजोको नाममा जिउँदै जलाउने जस्ता कार्य भइरहेकै छैन । लिभिङ टुगेदरका नाममा पनि कैयौँ महिला हिंसामा परेका छन् । यस्तै एसिड प्रहारदेखि साइबर क्राइम, ब्लाकमेलसम्मका हिंसा महिलाले सहनुपरेको छ । यसरी नयाँ–नयाँ खाले सामाजिक अपराधलाई पुँजीवादले जन्म दिइरहेको छ र यसको चर्को मारमा आजका महिला छन् । 

विश्वव्यापीकरण र पुँजीवादका कारण महिलाहरू विज्ञापनको साधन बनिरहेका छन् । छालाको चमकलाई जोड दिने पुँजीवादी समाजले महिलालाई फेसनका वस्तुहरू र सौन्दर्यका प्रसाधनहरूको प्रयोगमा विवश बनाइरहेको छ ।

मेरो समाज, मेरो राष्ट्र, मेरो पार्टी, मेरो सरकार र मेरो आन्दोलन कस्तो बनाउने भन्ने निर्णयको हकदार महिला कहिले बन्ने ? यो आजको मात्र मुद्दा होइन, हिजोदेखिको र भोलिसम्मको मुद्दा हो ।

आजका युवाहरू परिवार, समाज, राष्ट्र, संस्कृति र आफ्नै जीवनप्रति पनि जिम्मेवार देखिँदैनन् । जसले गर्दा आज प्रेम गर्ने, भोलि विवाह गर्ने र ६ महिना नपुग्दै सम्बन्धविच्छेद गर्ने; लिभिङ टुगेदरमा रहने, बच्चा जन्माउने र मन नमिलेपछि आरोप–प्रत्यारोप उत्रने प्रवृत्ति पनि पछिल्लो समय बढेको छ । यसले गर्दा महिलामा मानसिक समस्या (एन्जाइटी, डिप्रेसन) बढेको पाइन्छ । 

पुँजीवादी समाजले सामूहिकता र जवाफदेहितालाई कहिल्यै मलजल गर्दैन । त्यसैले नेपाली समाजमा देखापरेका तमाम समस्याले महिलाहरूको अवस्था थप जोखिम, असुरक्षा र अस्तव्यस्ततामा राखेको छ । यसको निकास वा समाधान फेरि पनि समाजवाद मात्र हो भन्ने कुरा यहाँ दोहोर्‍याउन चाहन्छु । तसर्थ नेपाली महिलाको अवस्था बदल्ने आन्दोलनको अगुवाइ गर्न अनेम संघ (समाजवादी) ले सामूहिक संकल्प गर्नुपर्नेछ । 
आज देशको अर्थतन्त्र दिन प्रतिदिन कमजोर बन्दै गएको छ । मुलुक पराधीन अर्थतन्त्रमा गुज्रिरहेको छ । भएका उद्योग, कलकारखाना बन्द भएका र बन्द हुने स्थितिमा छन् । दक्ष तथा अर्धदक्ष दुवै खाले जनशक्ति वैदेशिक रोजगारीका लागि बिदेसिने क्रम कहालीलाग्दो छ । विश्वव्यापी वित्तीय पुँजीवादले उद्योग र उत्पादनमूलक काममा लगानी नै गर्दैन । त्यसका दलालले नेपालमा पनि विश्व पुँजीवाद अनुकूलका नीतिहरू लादेका कारण उत्पादनको क्षेत्र धराशायी बनेको छ । यसले बेरोजगारीको चर्को अवस्था सिर्जना गरेको छ । बेरोजगारीले सिंगो समाजलाई लपेटेका कारणले महिलाको जीवन कष्टकर र भयावह छ । 

रोजगारीकै लागि पुरुष सहकर्मी बिदेसिँदा सिंगो घर–परिवार धान्ने जिम्मा कतिपय महिलामाथि आइलागेको छ । अर्कोतिर रोजगारीका सिलसिलामा बिदेसिन बाध्य महिलाहरू झनै कठोर, अनिश्चित र असुरक्षित जीवन जिउन बाध्य छन् । यसले समग्र पारिवारिक, सामाजिक, आर्थिक र मानसिक जीवनलाई असर गरेको छ । यो परिस्थितिमा समग्र महिलाको अवस्था अझ कमजोर छ । उत्पादन, नियन्त्रण र वितरणमा महिलाको सहभागिता न्यून छ । एक त श्रमको मूल्य छैन; दोस्रो, महिलाले गर्ने श्रम झनै ठुलो शोषणमा छ । यो कुरा भुल्न सकिन्न कि, मुलुकको अर्थतन्त्र निर्माणमा महिलाहरूको ठुलो योगदान छ । आम रूपमा पुरुषको तुलनामा महिलाले घरेलु श्रममा तीन गुणा समय बढी खर्च गर्छन् । घरेलु श्रममा ७६ प्रतिशत महिला श्रमिक छन् । आज पनि एकै किसिमको काम र उत्ति नै समय काम गर्दा महिलाको ज्याला पुरुषको भन्दा २० प्रतिशतले कम छ । श्रम बजारमा पुरुषहरू ७४ प्रतिशत र महिलाहरू ४६ प्रतिशत मात्र छन् । यी समग्र विषयहरूको विश्लेषण गरेर हेर्दा महिलाको अवस्था निकै कमजोर छ । आखिर यो परिस्थितिको समाधान आजकै पुँजीवादी व्यवस्थाको सामान्य हेरफेर र सुधारबाट सम्भव छैन । पुँजीवादबाट यो आर्थिक शोषणको अन्त्य किमार्थ हुँदैन, पुँजीवादकै अन्त्यबाट मात्र महिलामुक्ति सम्भव छ भन्नेमा अनेमसंघ (समाजवादी) दृढ संकल्पित छ ।

आजको दिनमा राष्ट्रिय रूपमा यी विषयको समाधानसहित अगाडि बढ्ने कुनै महिला संगठन छैन । विभिन्न कम्युनिस्ट, कांग्रेस र अन्य पार्टीका महिला संगठनहरू नवउदारवादी महिला मुद्दा र नाराभन्दा माथि उठ्न सकेका छैनन् । सिंगो समाजवादी महिला आन्दोलनका बारेमा निकै कम विमर्श हुने गरेका छन् । हामीले समाजवादी महिला आन्दोलनलाई थप विस्तार गर्न समाजवादी विचारमा नजिक रहेकाका बिचमा खँदिलो संवाद र छलफल गर्दै एकताबद्ध समाजवादी महिला आन्दोलनका लागि पहल–प्रयत्न गर्नुपर्नेछ ।

  • अन्तर्राष्ट्रिय परिवेश 

समकालीन विश्वमा श्रमजीवी महिलाहरूको आन्दोलन केवल श्रम सुरक्षाका लागि मात्र होइन, समग्र विभेद, असमानता र हिंसाको अन्त्यका लागि समेत हो । बंगलादेश, कम्बोडिया, भारतजस्ता मुलुकमा महिला कामदारहरू न्यून पारिश्रमिक, असुरक्षित कामको अवस्था र पुँजीवाद तथा पितृसत्ताको दोहोरो शोषणका विरुद्ध लडिरहेका छन् । यस्तै, रुस–युक्रेन युद्धले देखाएको छ कि सत्ताको भिडन्तको सबैभन्दा ठुलो भार श्रमिक वर्ग, विशेष गरी महिलाहरूले बोक्न बाध्य छन् । महिला नै बढी संख्यामा विस्थापनको सिकार भएका छन् । बेरोजगारीको मारमा महिला ज्यादा छन् ।

युद्धको मनोवैज्ञानिक पीडाले महिलामा ज्यादा असर गरेको छ । हालै भारत र पाकिस्तानबिचको सीमामा भएको झडपले पनि यही तथ्य उजागर गर्छ— दुवै देशका सैनिकहरू मारिए, तीमध्ये धेरै श्रमिक पृष्ठभूमिबाट आएका युवा थिए, जसका पत्नीहरू एक्कासि विधवा बने । यस्ता युद्धहरूबाट ज्यान गुमाएका निर्दोष सर्वसाधारणको घरमा महिलाको स्थिति नै अझ खराब बन्न पुगेको छ । पुँजीवादले हरेक अन्तर्विरोधहरूको समाधानका नाममा युद्ध थोपरेको यो चार सय वर्षमा बग्रेल्ती उदाहरण छन् । विश्व शान्तिको मानवीय चाहना पुँजीवादमा सम्भवै छैन, भएन । 

यस्तो युद्ध–उन्मादी गतिविधिले सधैँ गरिब र श्रमिक समुदायलाई मर्न बाध्य बनाउँछ र सीमापारका हतियार व्यापारी भने हातेमालो गर्दै फाइदा उठाइरहेका हुन्छन् । यो परिस्थितिले पनि बालबच्चा, वृद्ध र महिलाहरूमाथि ज्यादती थोपरिरहेको छ ।

अमेरिका र युरोपमा देखापरेको दक्षिणपन्थी राजनीतिक प्रवृत्तिले महिलाका अधिकारहरूमा गहिरो प्रहार गरेको छ । प्रजनन अधिकार खोसिँदै गएको छ, जसले महिला श्रमिकहरूको आत्मनिर्णय र स्वास्थ्यमाथि ठुलो चुनौती खडा गरेको छ । विचारको कुरा कति महत्त्वपूर्ण छ भने, कतिपय ठाउँमा स्वयं महिला प्रमुख वा निर्णयकर्ता हुँदाहुँदै पनि श्रमिक महिलाहरू भने शोषण र विभेद खप्न अभिशप्त छन् । यी सबै द्वन्द्व र दमनका विरुद्ध उभिने महिलाहरूमा प्यालेस्टाइनी आमाहरू विशेष उल्लेखनीय छन्; केवल आफ्नो परिवार होइन, पूरै समुदायको अस्तित्वको रक्षा गर्न संघर्षरत छन् । उनीहरूको प्रतिरोध सत्ताको हिंसात्मक चरित्रविरुद्धको प्रतिवाद हो । यस्तो अवस्थामा समाजवादी आन्दोलनमा लागेका ‘हामी’जस्ता संगठनले स्पष्ट रूपमा भनिरहेका छन्— यस्ता युद्धहरू कुनै पनि न्यायपूर्ण होइनन्; यी युद्ध केही मुठीभर मानिसलाई धनी बनाउने माध्यम हुन्, जसले श्रमिक वर्गका शवमाथि आफूलाई सुरक्षित बनाउँछन् । त्यसैले अन्तर्राष्ट्रिय रूपमा श्रमिक महिलाहरूको आन्दोलन आजको दिनमा युद्ध, शोषण र असमानताको विरुद्धमा सर्वसत्तावादी संरचनाको भण्डाफोर गर्ने चेतनाको रूप बनेको छ ।

  • आन्दोलनमा सहभागिता बढाउने काम

जुनसुकै आन्दोलनमा सहभागिताको प्रश्न महत्त्वपूर्ण हुन्छ । निर्णायक, समान र मर्यादित अगुवा नभई सहयोगी सहायकजस्तो भूमिकामा मात्र सीमित गर्न खोजिएका कारणले ५१ प्रतिशत जनसंख्या भएका महिलाले समानताको अनुभूति गर्न पाएका छैनन् । मेरो समाज, मेरो राष्ट्र, मेरो पार्टी, मेरो सरकार र मेरो आन्दोलन कस्तो बनाउने भन्ने निर्णयको हकदार महिला कहिले बन्ने ? यो आजको मात्र मुद्दा होइन, हिजोदेखिको र भोलिसम्मको मुद्दा हो । महिला आन्दोलनका अग्रणी क्लारा जेटकिनले दोस्रो इन्टरनेसनलका वेला नीति–निर्माण र निर्णयमा कुनै सहकर्मीभन्दा ‘न ज्यादा न कम’ भूमिका महिलाले अपेक्षा गरेको कुरा समाजवादीहरूले बुझ्नुहोस् भनी बडो गौरवपूर्ण ढंगले भनेको कुरा यहाँ स्मरणयोग्य छ । एलेक्जेन्द्रा कोलोन्ताईले भनेकी थिइन्— पुँजीवादी महिला आन्दोलनले पुरुषको ठाउँमा महिला पुग्ने कुरामा मात्र आन्दोलनलाई सीमित गरेको छ । समाजको बृहत् रूपान्तरण आवश्यक छ । वर्ग संघर्षबाट अलग्याएर महिला मुक्ति सम्भव छैन । यसको गहिरो बोध गरेर मात्र समाजवादी महिला आन्दोलन अगाडि बढ्छ । 

मार्क्सवादी महिला आन्दोलनको यही चुरो कुरालाई आत्मसात् गरेर हामी सहभागिताको प्रश्नलाई निरूपण गर्न चाहन्छौँ । अहिले नेपालको कानुनले राज्यका हरेक तहमा ३३ प्रतिशत सहभागिताको अधिकार सुनिश्चित गरेको छ । त्यसैले संसद्मा ३३ प्रतिशत र स्थानीय तहमा ४० प्रतिशत महिला सहभागिता छ । यो हाम्रो महत्त्वपूर्ण उपलब्धि हो, तर उनीहरूले स्वतन्त्र रूपले निर्णय गर्न पाए कि पाएनन् ? पाए भने कतिले पाए ? स्थानीय तहमा सहायक पद उपमेयर र उपाध्यक्षमा मात्र सीमित होइन अब हाम्रो लडाइँ भनेको राज्यका हरेक क्षेत्र, तहमा अर्थपूर्ण सहभागिता र कार्यकारी पदको सुनिश्चिताका लागि हो । जनसंख्यालाई आधार मान्दै समानुपातिक प्रतिशत सहभागिता गराउने नै हो । राजनीतिक सहभागिताबाहेक राज्यका अरु संरचनामा महिला सहभागिता अत्यन्तै न्यून छ । प्रशासनिक निकाय, कूटनीतिक नियोग, संवैधानिक अंगहरू, नेपाल प्रहरी, नेपाली सेना, राष्ट्रसेवक, शिक्षण संस्था लगायतमा महिला सहभागिता ५० प्रतिशत सुनिश्चित गरिनुपर्छ; नेपालले अंगीकार गरेको दिगो विकास लक्ष्य २०३० को लक्ष्यसम्म पुग्नलाई । यसका लागि साना बालिकाहरूको विद्यालयमा सरल र सहज पहुँच हुनुपर्छ । निःशुल्क र अनिवार्य शिक्षाको प्रभावकारी कार्यान्वयन हुनुपर्छ । हरेक बच्चा शिक्षा र स्वास्थ्यको आधारभूत पहुँचबाट वञ्चित नहुने कुरा सुनिश्चित गरिनुपर्छ । 
शिक्षा र स्वास्थ्यका यी विषय पनि नेपाली महिला आन्दोलनको महत्त्वपूर्ण विषय हो, जसले समाजका हरेक क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागिताका लागि भौतिक आधार खडा गर्छ । 

  • आर्थिक सबलीकरणको काम

हरेक राष्ट्र र व्यक्ति सबल हुनका निम्ति आर्थिक पाटो बलियो हुनुपर्छ । आर्थिक अधिकारसँग अरु धेरै अधिकार जोडिएका हुन्छन् । माक्र्स भन्छन्, ‘जबसम्म महिलाहरू आर्थिक रूपमा बलिया हुँदैनन्, तबसम्म राष्ट्र बलियो हुन सक्दैन ।’ देश कसरी सञ्चालन गर्ने ? भन्नेबारे सामाजिक र सांस्कृतिक विषयले निर्धारण गर्छ । 

आजको हाम्रो दायित्व भनेको महिलालाई शिक्षा र सीप दिई कृषि, उद्योग–व्यवसाय, व्यापारदेखि राज्यका संयन्त्रमा संलग्न बनाउनु हो । महिलाहरूले गर्ने घरेलु श्रमको मूल्यलाई कुल राष्ट्रिय उत्पादन (जीडीपी) मा गणना गराउने हो । जबसम्म महिला आर्थिक रूपले सबल हुँदैनन्, तबसम्म परिवार, समाज र राष्ट्रको समृद्धि हुँदैन भन्ने हेक्का राख्न जरुरी छ ।

  • भ्रष्टाचारविरुद्धको अभियान

हाम्रो देशमा दिनदिनै भ्रष्टाचार मौलाउँदै गएको छ । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नारालाई अंगीकार गरी हाम्रा कार्यक्रम समावेश गर्न जरुरी छ । अनेम संघ समाजवादीलाई यो राम्रोसँग थाहा छ कि साह्रै थोरैको हित गर्ने पुँजीवादी व्यवस्थालाई टिकाउन भ्रष्टाचार अनिवार्य छ । आज देश लुट्ने दलालहरूका लागि शोषण गरेर पनि राजनीतिक पहुँचका आधारमा कानुनी दायरामा नपर्नेहरूका लागि सुशासन छ; श्रमिक जनताहरू र आम महिलाका लागि भने छैन । भ्रष्टाचारका कारण बाँचेको यो पुँजीवादी व्यवस्थालाई फालेर समाजवाद ल्याउनका लागि भ्रष्टाचार विरुद्धको अभियान जरुरी छ । महिलामुक्तिको अनिवार्य सर्त समाजवादी क्रान्तिलाई सफल र छिटो सम्पन्न गर्न आम महिलाहरूको सहभागिता, अगुवाइ र प्रभावकारी उपस्थितिमा भ्रष्टाचारविरुद्धको अभियान सञ्चालन आवश्यक छ । 
(राई नेकपा एकीकृत समाजवादीको उपाध्यक्ष हुन् ।) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

जयन्ती राई
जयन्ती राई
लेखकबाट थप