२०८४ अघि फेरि सम्भव होला एमाले र माओवादीबिच पार्टी एकता ?

समाचार सारांश
- प्रधानमन्त्री ओली र प्रचण्डले २०८४ अघि पार्टी एकताको सम्भावना नरहेको बताए।
- प्रचण्डले एमालेसँगको एकता अस्वीकार गर्दै धोका भएको गुनासो गरे, भने ओलीले माधव नेपालप्रति लक्षित आरोप लगाए।
- डा. भीम रावलले वामपन्थी एकताको स्पष्टता नभएको र टंक कार्कीले नेतृत्वको टकरावका कारण एकता सम्भव नभएको बताए।
काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०८४ निर्वाचनअघि पार्टी एकताको सम्भावनालाई अस्वीकार गरेका छन् ।२०७५ साल जेठ ३ गते ‘मदन–आश्रित’ स्मृति दिवसको अवसर पारेर दुर्ई पार्टीबिच एकता भएको थियो ।
विश्व कम्युनिस्ट संगठनमा ‘कतै नभएको’ दुई वटा अध्यक्ष बनाउने नयाँ प्रयोग ओली र प्रचण्डले नेपालमा गरेका थिए । तर दुई नेताबिच सत्ता स्वार्थ र शक्ति संघर्षका कारण दुई वर्ष ९ महिना २० दिनमा नेकपा दुर्घटनामा पर्यो ।
२०७७ साल फागुन २३ गते सर्वोच्च अदालतले नेकपा विघटन गरेपछि एमाले र माओवादी साबिक पार्टीमा फर्किएका थिए । त्यसयता फेरि पार्टी एकताका लागि औपचारिक तथा अनौपचारिक ढंगले प्रयास भए पनि सफल भएको छैन । ओली र प्रचण्डका आ–आफ्नै दम्भले ०८४ अघि पार्टी एकताको सम्भावना नरहेको उनीहरूको अभिव्यक्तिबाट प्रस्ट झल्किन्छ ।
मध्यपहाडी लोकमार्ग केन्द्रित जागरण अभियानको उद्घाटनका लागि जेठ १ गते डडेलधुरा पुगेका प्रचण्डले भोलिपल्ट प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा एमालेसँग तत्काल पार्टी एकताको सम्भावनालाई अस्वीकार गरे । वामपन्थी एकता होस् भनेर आफूले एमालेसँग पार्टी एकता गरेको तर ओलीले नराम्रोसँग धोका दिएकाले अब त्यो सम्भावना नरहेको प्रष्ट पारेका थिए ।
‘हामीले पहिल्यै वामपन्थी एकता होस भनेर चाहना राखेकै हो । प्रस्ताव गरेको पनि हो । भएको पनि हो । तर त्यो तोडियो । फेरि पनि एकपटक हुन्छ त भनेर बल गरेको हो,’ उनले भनेका थिए, ‘तर नराम्रोसँग धोका खाइयो । पार्टीलाई मात्र होइन जनतालाई पनि धोका दिइयो । त्यसकारण ‘इनफ इज इनफ’ । अहिले तत्काल त्यो सम्भावना छैन । २०८४ को चुनावसम्म त्यस्तो सम्भावना छैन ।’
जेठ ३ गते ‘मदन–आश्रित’ स्मृति दिवसको दिन मनदनगर बल्खुमा आयोजित कार्यक्रममा नेकपा एकीकृत समाजावादीका अध्यक्ष माधव नेपालप्रति लक्षित गर्दै ओलीले पनि केही स्वार्थ बोकेकाहरूबाट पार्टी बचाउन नसकिएको जिकिर गरे ।
ओली र प्रचण्ड समकालीन सत्ता राजनीतिका चतुर खेलाडी मानिन्छन् । दश महिनाअघि प्रचण्ड सरकार ढालेर ओली प्रधानमन्त्री भएका थिए । प्रचण्ड ओली सरकार जसरी पनि विस्थापित गरेर नयाँ सत्ता समीकरण बनाउने दौडमा छन् ।
‘२०७४/७५ मा पुग्दा हामीले पार्टीलाई एउटा सर्वाधिक मजबुत मात्रै होइन, लगभग दुई तिहाइको बनायौँ । तर केही स्वार्थ बोकेका, आत्मकेन्द्रित तत्त्वहरू छटपटाए । अन्य शक्तिहरू बाह्य शक्तिहरू पनि छटपटाए । नेतृत्वमै रहेका थुप्रै व्यक्तिहरू त्यसलाई ध्वस्त पार्न पार्टीभित्र अन्तरविद्रोह पैदा गर्ने काम भयो । उनीहरूले गलत ढङ्गले कब्जा गर्ने, क्षति विक्षत गर्ने, विभाजित बनाउने, कुत्सित मनसायले निर्णायक प्रहार गरेर ध्वस्त पार्न लागेपछि हामीले पार्टी जोगाउनका लागि विशेष कदमहरू चाल्नुपर्यो,’ ओलीको आरोप थियो ।
ओली र प्रचण्ड समकालीन सत्ता राजनीतिका चतुर खेलाडी मानिन्छन् । दश महिनाअघि प्रचण्ड सरकार ढालेर ओली प्रधानमन्त्री भएका थिए । प्रचण्ड ओली सरकार जसरी पनि विस्थापित गरेर नयाँ सत्ता समीकरण बनाउने दौडमा छन् । ओली अहिलेसम्म चारपटक प्रधानमन्त्री भइसके । तीनपटक प्रधानमन्त्री भएका प्रचण्ड ३२ नम्बरको ‘जादुयी नम्बर’ प्रयोग गरेर वा २०८४ को निर्वाचनमा माओवादीलाई संसद्मा निर्णायक शक्ति बनाएर फेरि सत्तामा पुग्ने दाउमा छन् । निर्वाचनपछि सत्ताको चाबी आफ्नो हातमा लिने उद्देश्यका साथ उनी अहिले देश दौडाहमा निस्किएका छन् ।
यद्यपि ओली र प्रचण्डबिच स्वार्थको द्वन्द्व भएकाले वामपन्थी एकता वा ध्रुवीकरणको सम्भावना नदेखिएको एमालेका पूर्वनेता डा. भीम रावलको विश्लेषण छ ।
‘जहाँसम्म वामपन्थी वा कम्युनिस्टहरूको बिचमा ध्रुवीकरणको प्रश्न छ, त्यो ध्रुवीकरण केका लागि हो ? मान्यता के हो ? सिद्धान्त के हो ? ध्रुवीकरणपछि गर्ने के हो ? त्यसलाई प्रस्ट पारेको मैले कतै देखेको छैन,’ रावलले भने, ‘झण्डै दुई तिहाइ सरकारको नेतृत्व गरेको नेकपा सत्ता स्वार्थमा ओलीजीले विघटन गर्नुभयो । सत्ताकै लागि मध्यराति शेरबहादुर देउवासँग ७ बुँदे सहमति गरेर फाइदा लिइरहनुभएको छ । पार्टी एकता किन गर्नु ?’
एमालेका नेता टंक कार्कीले पनि नेतृत्व टकराबकै कारण नेकपा विघटन भएकाले फेरि उही गल्ती दोहोर्याएर पार्टी एकताको सम्भावना नभएको बताए ।
‘२०७५ सालमा पार्टी एकता गरेर बलियो वामपन्थी शक्ति निर्माण गरेका थियौँ । नेतृत्वको टकराबका कारण भत्कियो । तत्काल आन्तरिक तथा बाहिरी रूपमा शक्ति सन्तुलन फेरबदल हुने सम्भावना देखिँदैन,’ उनले भने ।
यता माओवादी केन्द्रका प्रवक्ता एमालेसँग पार्टी एकताको सम्भावना नदेखिएको बताउँछन् । आफ्नै खुट्टामा उभिएर २०८४ को निर्वाचनमा विजय हासिल गर्ने हिसाबले जनतामा गएकाले अहिले आफूहरूको ध्यान त्यता नभएको स्पष्ट पारे । यद्यपि एमालेबाहेक अन्य वामपन्थी शक्तिहरूबिच एकता र ध्रुवीकरण हुने जिकिर गरे ।
‘एमालेबाहेक अन्य वामपन्थी शक्तिबिच एकता पनि हुन्छ । २०८४ मा चुनाव पनि जित्छौँ । यी सबैमा सफल हुन पहिला पार्टीलाई एकताबद्ध बनाएर लैजाने कुरा मुख्य हो । त्यो एकताबद्ध भएपछि सबै कुरा ठिक भएर जान्छ,’ सापकोटाले भने ।
विद्याप्रति ओली सशंकित
एमाले नेतृत्वमा ओली रहेसम्म वामपन्थी एकता हुन नसक्ने माओवादी र एकीकृत समाजवादीका नेताहरूले बताउँदै आएका छन् । प्रचण्ड र माधवको योजनामा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा सक्रिय गराउन चलखेल गरेको आशंका ओलीको छ ।
एमालेको पूर्वउपाध्यक्षसमेत रहेकी भण्डारीलाई एमालेमा फर्काउन पार्टीभित्रै केही नेताहरूले गल लगाउन खोलिएकोतर्फ आशंका व्यक्त गर्दै ओलीले त्यो काममा नलाग्न नेताहरूलाई पटक पटक चेतावनी दिइसकेका छन् । उनले ओलीविनाको एमालेको कल्पनासमेत नगर्न वैशाख ९ गते नेकपा स्थापना दिवसको दिन चेतावनी दिएका थिए ।
विद्यालाई सक्रिय राजनीतिमा ल्याउन सरकारका अर्थमन्त्रीसमेत रहेका उपाध्यक्ष विष्णु पौडेल लागेको राजनीतिक वृत्तमा चर्चा छ । पौडेललाई एमालेभित्र १० भाइ समूह मानिएका नेताहरूको समेत साथ रहेको हुन सक्ने विश्लेषण भइरहेको छ ।
मदन–आश्रित स्मृतिका दिन ओलीले ती आशंकालाई थप बल पुग्ने गरी अहिले पनि पार्टी अध्यक्षमाथि व्यक्तिगत रूपमा केन्द्रित गरेर हमला भइरहेको आरोप लगाए । आफूलाई महाभारतका युद्धका प्रमुख पात्र युधिष्ठिरसँग तुलना गर्दै उनी नेता ढालेमा पार्टी समाप्त पार्न सकिन्छ भन्ने विरोधीहरूले बुझेकाले सर्तक देखिन्छन् ।
‘उहिले महाभारतको युद्धमा युधिष्ठिरलाई पक्राउ गरेर बन्दी बनाउन खोज्थे किनभने राजा समातियो, राजा बन्दी भयो भने युद्ध समाप्त हुन्छ । नेता ढल्यो भने धानिन गाह्रो हुन्छ, त्यही कुरा उनीहरूले बुझेका छन् । नेता समाप्त पारियो भने पार्टीलाई समाप्त पार्न सजिलो हुन्छ भन्ने कुरा बुझेका छन् । त्यसमा हामी सतर्क छौँ,’ ओलीले भनेका थिए ।
विद्यालाई सक्रिय राजनीतिमा ल्याउन सरकारका अर्थमन्त्रीसमेत रहेका उपाध्यक्ष विष्णु पौडेल लागेको राजनीतिक वृत्तमा चर्चा छ । पौडेललाई एमालेभित्र १० भाइ समूह मानिएका नेताहरूको समेत साथ रहेको हुन सक्ने विश्लेषण भइरहेको छ ।
भण्डारी अहिले देशभर नेता तथा कार्यकर्ताहरूको मनोविज्ञान बुझ्ने प्रयास गरिरहेकी छिन् । गएको फागुनमा सम्पन्न भएको एमाले मोरङमा ओली समूहलाई परास्त गर्दै भण्डारी समूहका अजम्बर राई विजयी भएका थिए । अन्यत्र पनि भण्डारी समूहको प्रभाव बढ्दै गएको छ ।
एमालेका शक्तिशाली संगठन अनेरास्ववियु, युवा संगठनलगायत संगठनमा समेत गुटगत प्रभाव पर्न सक्ने ठानिएको छ । माओवादीले पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनलाई पार्टीको उपाध्यक्ष बनाइदिएपछि भण्डारीलाई एमाले राजनीतिमा फर्किन थप हौसाएको रूपमा पनि विश्लेषण भइरहेको छ । यद्यपि भण्डारीलाई अगाडि सारेर वामपन्थी एकतालाई बलियो बनाउने सम्भावना नदेखिएको नेता टंक कार्की बताउँछन् ।
‘विद्याजीलाई अगाडि सार्दा आन्तरिक पार्टी एकतालाई मजबुद बनाउन सकिन्छ कि भन्ने एक तप्कालाई लागेको हुन सक्छ । तर त्यो सम्भावना म देख्दिनँ । उहाँलाई अगाडि सारेर वामपन्थीबिच एकता हुन्छ भन्ने पनि मलाई लागेको छैन,’ उनले भने ।
एमालेकै अर्का नेता शेरबहादुर तामाङले भण्डारी एमाले राजनीतिमा फर्किने दुईवटा विकल्प रहेको बताए । पहिलो विकल्पमा पार्टीले आवश्यकता महसुस गरी सर्वसम्मत निर्णय गरेर नेतृत्वमा ल्याउने । अर्को, ११ औं महाधिवेशनमा विजयी भएर पार्टीको नेतृत्व गर्ने विकल्प । तर देशको सम्मानित पदमा पुगेको व्यक्तित्व भएकाले पहिलो विकल्प मात्र उपयुक्त हुने स्पष्ट पारे ।
‘उहाँ देशको सर्वोच्च पद राष्ट्रपति भइसकेको व्यक्ति हुनुहुन्छ । कुनै पार्टीको मात्र नभई देशकै साझा व्यक्ति भएकाले पार्टीले सर्वसम्मत निर्णय गरेको खण्डमा आउँदा राम्रो हुन्छ । अर्को बाटो छ, ११ औं महाधिवेशनबाट बहुमत सिद्ध गरेर नेतृत्व लिने । यो बाटो उहाँको लागि हितकर हुन्छजस्तो मलाई लाग्दैन,’ उनले भने, ‘एक त पार्टी राजनीतिमा फर्किसकेपछि पार्टीगत र गुटगत ट्याग लाग्छ । त्यसमाथि पनि सर्वसम्मत निर्णय नभई कुनै गुट वा समूह वा बहुमत समर्थनका आधारमा नेतृत्वमा आउँदा विवाद हुन सक्छ । यी दुईमध्ये एक बाटो रोजेर आउन सक्नुहुन्छ । तर राजनीति निर्मम हुने हुँदा उहाँ आउनुहुन्छजस्तो मलाई लाग्दैन ।’
एमाले र माओवादीबिच एकता हुने सम्भावना तत्काल नदेखिएको तामाङको भनाइ छ । गएको माघ २७ गते एमालेका महासचिव शंकर पोखरेलले माओवादीका उपमहासचिव वर्षमान पुनबिच भएको फोन संवाद पुनले नै सार्वजनिक गरेपछि राजनीति तरंगित भएको थियो । पुनको भनाइको खण्डन गरी पोखरेलले फेसबुकमा लेखिएको स्टाटसले दुई पार्टीबिच एकताको प्रयासका रूपमा धेरैले अर्थ्याएका छन् ।
पुनको प्रचारबाजीले बलियो राष्ट्रिय शक्ति निर्माणको आवश्यकता र औचित्यलाई खण्डित गरेको उल्लेख गरेका थिए । टाउको जोडेर गरेको विगतको एकता असफल भएकाले फेरि त्यही गल्ती नदोहोर्याउने स्पष्ट पारेका थिए । कार्यकर्ताको मन जोडेर बलियो कम्युनिस्ट आन्दोलन निर्माण गर्ने अबको बाटो भएको तर्क गरेका थिए ।
नेकपाकालको तिक्तता कायमै
नेकपा कालमा ओली, प्रचण्ड र माधवबिच तिक्ततापूर्ण सम्बन्ध झाँगिँदै उत्कर्षमा पुगेपछि पार्टी विघटन मात्र भएन, एमालेसमेत विभाजन भएको थियो । २०७८ असार २८ गते सर्वोच्च अदालतको परामादेशले प्रधानमन्त्री पदबाट ओलीलाई बर्खास्त गर्नुको साथै दोस्रो पटक विघटन गरेको संसद पुनस्र्थापना गर्यो । त्यसपछि बनेको देउवा नेतृत्वको गठबन्धन सरकारले एमालेका असन्तुष्ट पक्ष माधव–झलनाथ खनाल समूहलाई सजिलो हुनेगरी दलविभाजन अध्यादेश ल्याएर विभाजन गर्यो । माधव नेतृत्वमा पुनर्गठन गरेको नेकपा एकीकृत समाजवादीलाई भदौ ९ गते दलको मान्यता दियो ।
माओवादी तेस्रो पार्टी नै रहे पनि संसद्मा निर्णायक शक्ति बन्न सकेन । एमालेबाट चोइिटिएको एकीकृत समाजवादीले प्रत्यक्षमा १० सिट जिते पनि राष्ट्रिय दलको मान्यता पाएन । गठबन्धनको सोझो फाइदा लिएको कांग्रेस पहिलो दल बन्न सक्यो ।
२०७९ को निर्वाचनमा एकले अर्कालाई हराउन गठबन्धन नै गरेका थिए । तर कांग्रेस–माओवादी वाम लोकतान्त्रिक गठबन्धनको चुनौतीबिच एमाले दोस्रो ठुलो दल बन्यो ।
माओवादी तेस्रो पार्टी नै रहे पनि संसद्मा निर्णायक शक्ति बन्न सकेन । एमालेबाट चोइिटिएको एकीकृत समाजवादीले प्रत्यक्षमा १० सिट जिते पनि राष्ट्रिय दलको मान्यता पाएन । गठबन्धनको सोझो फाइदा लिएको कांग्रेस पहिलो दल बन्न सक्यो ।
निर्वाचनपश्चात् सरकारको नेतृत्व लिन देउवा र प्रचण्डबिच द्वन्द्व बढेको फाइदा उठाउँदै ओलीले सत्ता समीकरण फत्काउन सफल भए ।
प्रधानमन्त्री प्रचण्डलाई बनाएर सत्ताको साँचो आफ्नो हातमा लिएका थिए । तर ओलीको रणनीति तीन महिना नपुग्दै असफल भयो । २०७९ फागुनमा फेरि कांग्रेस र माओवादीबिच सत्तासमीकरण बन्यो । २०८० साल फागुन २१ गते एमाले र माओवादीबिच दोस्रोपटक पार्टी एकता गर्ने उद्देश्यका साथ ओली प्रचण्डले प्रधानमन्त्री निवास बालुवाटारमा ८ बुँदे सहमति गरेका थिए । प्रधानमन्त्रीमा प्रचण्डलाई निरन्तरता दिँदै पुनः एमाले र माओवादीबिच सत्ता समीकरण बनेको थियो ।
२०८४ को निर्वाचनमा आफूहरू बंगालको कम्युनिस्ट पार्टीको हालतमा पुग्ने स्थितिको समीक्षा गर्दै निर्वाचनपछि पार्टी एकता गर्नेगरी सहमति भएको प्रचण्डले दाबी गरेका थिए । यति मात्र नभई स्वर्ग र नर्क जता गए पनि सँगै जाने भनेर ओलीले विश्वास दिलाएपछि आफूले समीकरण गरको तर ओलीले नराम्ररी धोका दिएको प्रचण्डले गुनासो गर्दै आएका छन् ।
बालुवाटार सहमति भएको तीन महिना नबित्दै ओलीले गत वर्ष असार १७ गते राति देउवासँग ७ बुँदे सहमति गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जिल्ला प्रशासन कार्यालय रौतहटमा टाइमकार्ड टोकन सिस्टम लागू
-
सुपर–३ चरणको अन्तिम खेलमा थाइल्यान्डसँग ७८ रनले हार्यो नेपाल
-
जनसङ्ख्या बढाउन कर्मचारीलाई एक हप्ताको बिदा दिँदै छ रुस
-
लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनमा सुनुवाइ सुरु
-
ओलीले गभर्नरमा ‘डा.पौडेल हुन्न’ भनेपछि भाँडिएको थियो देउवासँग सोमबारको भेट
-
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबिच बालुवाटारमा भेटवार्ता