शुक्रबार, ०९ जेठ २०८२
ताजा लोकप्रिय
इङ्ल्यान्ड–जिम्बाबे टेस्ट

जो रुटले पछि पारे ज्याक्स कालिसदेखि सचिन तेन्दुल्करसम्मलाई

शुक्रबार, ०९ जेठ २०८२, १२ : १९
शुक्रबार, ०९ जेठ २०८२

काठमाडौँ । इङ्ल्यान्ड र जिम्बाबेबिचको टेस्ट क्रिकेट हाल नटिङ्घममा जारी छ । पहिलो दिनको खेल सकिँदासम्म इङ्ल्यान्डले आफ्नो पहिलो पालीमा तीन विकेट गुमाएर चार सय ९८ रन बनाएको छ । 

इङ्ल्यान्ड भ्रमणका क्रममा जिम्बाबेको टोलीले आयोजक राष्ट्रसँग एकमात्र टेस्ट खेल्नेछ । इङ्ल्यान्ड र जिम्बाबेबिच २२ वर्षपछि टेस्ट क्रिकेट खेलिएको हो । 

टस हारी पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोली इङ्ल्यान्डका लागि तीन ब्याट्सम्यानले शतकीय पाली खेलिसकेका छन् । ज्याक क्रावलीले एक सय २४, बेन डकेटले एक सय ४० र ओली पोपले अविजित एक सय ६९ रन बनाए । 

इङ्ल्यान्डका अनुभवी ब्याट्सम्यान जो रुट भने ३४ रन बनाउँदै आउट भएका थिए । यो खेलमा जो रुटले एउटा कीर्तिमान पनि बनाए । उनी टेस्ट क्रिकेटको इतिहासमा सबैभन्दा कम खेल खेल्दै १३ हजार रन पूरा गर्ने ब्याट्सम्यान बनेका छन् । 

रुटले एक सय ५३ खेल खेल्दै १३ हजार रन पूरा गरेका हुन् । उनले दक्षिण अफ्रिकाका ज्याक्स कालिस, भारतका राहुल द्रविड, अस्ट्रेलियाका रिकी पोन्टिङ र भारतका सचिन तेन्दुल्करलगायतका प्रभावशाली क्रिकेटरलाई पछि पारेका हुन् । 

आफ्नो समयका प्रभावशाली ब्याट्सम्यान ज्याक्स कालिसले एक सय ५९ खेलमा १३ हजार टेस्ट रन पूरा गरेका थिए । राहुल द्रविडले एक सय ६० खेलमा, रिकी पोन्टिङले एक सय ६२ खेलमा र सचिन तेन्दुल्करले एक सय ६३ खेलमा १३ हजार टेस्ट रन पूरा गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप