एडीबीका अध्यक्ष कान्डाको नेपाल भ्रमणमा के–के भयो ?
काठमाडौँ । एसियाली विकास बैंक (एडीबी) र नेपालबिचको सहकार्य ६०औँ वर्षमा प्रवेश गरेको छ । सोही अवसरमा एडीबीका अध्यक्ष मासातो कान्डा नेपाल भ्रमणमा आएका छन् ।
सोमबार नेपाल आइपुगेका कान्डाले मंगलबार प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहसँग भेटवार्ता गरेका छन् । एडीबीका अनुसार यस भेटवार्तामा नेपालको आर्थिक रूपान्तरण, रोजगारी सिर्जना र लगानी अभिवृद्धिका लागि द्विपक्षीय सहयोगलाई थप सुदृढ बनाउने विषयमा गहन छलफल भएको छ ।
भेटका क्रममा अध्यक्ष कान्डाले नेपाल हाल एक महत्त्वपूर्ण मोडमा रहेको र यहाँ गतिशील एवं उत्थानशील अर्थतन्त्र निर्माण गर्ने ठुलो अवसर प्राप्त भएको बताएको एडीबीले जनाएको छ ।
नेपालको सबैभन्दा ठुलो बहुपक्षीय विकास साझेदारका रूपमा एडीबीले आफ्नो सहयोगलाई अझ बढाउँदै सन् २०२९ सम्ममा २.४ अर्ब अमेरिकी डलर पु¥याउने लक्ष्य राखेको जानकारी गराउँदै अध्यक्ष कान्डाले आफूहरूको मुख्य ध्यान नागरिकका लागि परिणाममुखी काम गर्ने, बढी रोजगारी सिर्जना गर्ने रहेको प्रस्ट पारेका छन् ।
अध्यक्ष कान्डाको यस भ्रमणका क्रममा एडीबीले आफ्नो वार्षिक प्रतिबद्धता अन्तर्गत कुल १६ करोड ५० लाख अमेरिकी डलरका दुई वटा महत्त्वपूर्ण ऋण सम्झौतामा हस्ताक्षर समेत गरेको छ । यस अन्तर्गत ११ करोड ५० लाख डलरको खानेपानी परियोजनामार्फत नेपालका ८ लाख ५० हजारभन्दा बढी नागरिकलाई भरपर्दो एवं सुरक्षित खानेपानी तथा सरसफाइ सेवा उपलब्ध गराइनेछ भने अर्को ५ करोड डलरको नीतिगत ऋण सहयोगमार्फत नेपालको सीमापार सामान ओसारपसार प्रणालीलाई आधुनिकीकरण र डिजिटलाइजेसन गरी व्यवसायीहरूको लागत घटाउन र कार्यक्षमता बढाउन मद्दत पु¥याएको एडीबीले जनाएको छ ।
भ्रमणकै क्रममा अध्यक्ष कान्डाले एडीबीको लगानीमा सञ्चालित विभिन्न आयोजनाको स्थलगत निरीक्षण गरेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नर्वेकी राजदूत ड्याग्नी मजोससँग मिलेर काठमाडौँको विद्युत् आपूर्ति सुदृढ बनाउन निर्माण गरिएका दुई वटा सबस्टेसनहरूको भर्चुअल माध्यमबाट उदघाटन समेत उनले गरे ।
यसैगरी शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँगै उनले सन् २०१५ को भूकम्पपछि पुनर्निर्माण गरिएको र हाल आधुनिक विज्ञान तथा प्रविधि सुविधाले सम्पन्न एक विद्यालयको भ्रमण गरे, जहाँ शिक्षक र विद्यार्थीहरूलाई बजार अनुकूल सिप सिकाउन आर्टिफिसियल इन्टेलिजेन्स सिकाइ सम्बन्धी पाइलट प्रोजेक्टहरू समेत सुरु गरिएको छ ।
अर्थमन्त्री स्वर्णिम वाग्लेसँग भएको छुट्टै भेटवार्तामा नेपालको आर्थिक सुधारका कार्यसूची, व्यावसायिक वातावरण, लगानी परिचालन र सरकारका प्राथमिकताहरूमा केन्द्रित रहेर छलफल भएको एडीबीले जनाएको छ ।
अध्यक्ष कान्डाले नेपालका प्रमुख निजी क्षेत्रका नेतृत्वकर्ताहरूसँग पनि भेट गरी लगानीका अवसर, चुनौती र रोजगारी सिर्जनाका विषयमा विचार आदानप्रदान गरेको बताइएको छ । एडीबीले नेपालका लागि तयार पारेको साझेदारी रणनीति (२०२५–२०२९) अन्तर्गत वार्षिक ऋण प्रवाहलाई यो वर्ष ६६ करोड डलरसम्म पु¥याउने र आगामी वर्षहरूमा रोजगारी सिर्जना, दिगो पूर्वाधार, महिला तथा विपन्न वर्गको सशक्तीकरण र डिजिटल रूपान्तरणलाई प्राथमिकता दिँदै हरित तथा स्थानीय मुद्रा बन्ड जस्ता नवीन वित्तीय उपकरणहरू परिचालन गर्ने योजना बनाएको एडीबीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार विधेयक विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृत
-
बेल्जियम चम्किएको दिन, तीनवटै आयोजक राउन्ड १६ बाट आउट
-
लालबन्दीका होटलमा गृहमन्त्री महतोको आकस्मिक अनुगमन
-
नेपालमा कीटजन्य विशेषज्ञको चरम अभाव, महामारी नियन्त्रणमा चुनौती
-
आँधीले १२औँ तलाबाट मान्छे उडाएपछि...
-
लुम्बिनीमा निर्माण सामग्री गुणस्तर परीक्षण प्रयोगशाला सञ्चालन गर्न सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण