नेपाली विश्वविद्यालयका उपकुलपतिहरूलाई दक्षिण कोरियामा सम्मान

दक्षिण कोरिया । गैरआवासी नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाले यहाँको भ्रमणमा आएका नेपालका चार विश्वविद्यालयका उपकुलपतिहरूलाई आइतबार सम्मान गर्दै विशेष अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न गरेको छ।
कोरियाको राजधानी सउलमा सम्पन्न उक्त कार्यक्रममा नेपाल–कोरिया शैक्षिक सम्बन्धको सुदृढीकरणका लागि विविध विचार आदानप्रदान गरिएको थियो।
कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. हेमराज पन्त, नेपाल खुला विश्वविद्यालयका उपकुलपति प्रा. डा. शीलु मानन्धर बज्राचार्य, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रुव कुमार गौतम र पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. विजय कुमार थापलियालाई सम्मान गरिएको हो।
उक्त सम्मान कार्यक्रमसँगै आयोजित अन्तरक्रियामा सहभागी उपकुलपतिहरूले कोरियाको शैक्षिक प्रणाली, प्रविधि तथा नीतिहरूबाट नेपालले सिक्न सक्ने पक्षहरूबारे महत्वपूर्ण विचार राखे। उनीहरूले नेपालको शैक्षिक गुणस्तरलाई समयानुकूल बनाउने, अन्तर्राष्ट्रिय साझेदारी विस्तार गर्ने तथा अनुसन्धानमैत्री वातावरण सिर्जना गर्नुपर्ने आवश्यकता औंल्याए।
कार्यक्रममा उपस्थित कोरियामा रहेका नेपाली विद्यार्थी, प्राध्यापक, अनुसन्धानकर्ता तथा समुदायका सदस्यहरूले नेपाली विश्वविद्यालयहरूको वर्तमान अवस्था, नीतिगत ढाँचा र भविष्यका सम्भावनाबारे प्रत्यक्ष जानकारी लिने अवसर पाएको एनआरएनए दक्षिण कोरियाका महासचिव अजय सोडारीले जानकारी दिए ।
एनआरएनए दक्षिण कोरियाका अध्यक्ष विपिन कुमार गुरुङले उपकुलपतिहरूको भ्रमणबाट नेपाल–कोरिया शैक्षिक सम्बन्धमा नयाँ अवसरहरू खुल्ने विश्वास व्यक्त गरे । उनले आगामी दिनमा नेपाली विश्वविद्यालय र कोरियाली शैक्षिक संस्थाबीच सहकार्यमा एनआरएनएले सहयोगी भूमिका खेल्ने प्रतिबद्धता जनाए ।