शुक्रबार, २३ जेठ २०८२
ताजा लोकप्रिय

पोखरामा प्याराग्लाइडिङको सम्भावना, चुनौती र भविष्य

सोमबार, १२ जेठ २०८२, १० : ०५
सोमबार, १२ जेठ २०८२

समाचार सारांश

  • सन् १९७० मा फ्रान्समा सुरु भएको प्याराग्लाइडिङ नेपालमा सन् १९९० मा भित्रिएको हो र पोखरा यसको मुख्य केन्द्र बनेको छ।
  • पोखरामा प्याराग्लाइडिङको व्यवसायिक सुरुवात २००० सालतिर बीरु बमजन र एडम हिलले गरे भने हाल यहाँ ६१ वटा कम्पनी दर्ता छन्।
  • विमानस्थल निर्माणपछि ओझेलमा परेको प्याराग्लाइडिङलाई पुनः सञ्चालनमा ल्याउन व्यवसायी र पाइलटहरूको प्रयास जारी छ, जसले पर्यटनमा टेवा पुर्‍याउने विश्वास छ।

आधुनिक प्याराग्लाइडिङको सुरुवात फ्रान्समा सन् १९७० को अन्त्यतिर भएको थियो । त्यहाँका पर्वतारोहणकर्ता र प्यारासुट गर्नेहरूले एयर प्यारासुट प्रयोग गरी पहाडबाट सुरक्षित रूपमा उड्न थालेपछि सन् १९७८ मा आल्प्स पर्वतको मियुसी क्षेत्रमा आधुनिक प्याराग्लाइडिङको पहिलो सफल उडान भएको थियो । यही दिनलाई प्याराग्लाइडिङ खेलको जन्म भएको दिनका रूपमा मानिन्छ ।

फ्रान्सबाट यो खेल अन्य देशहरूमा विस्तार हुँदै गयो । नेपालमा पनि छोटो समयमै अर्थात् सन् १९९० मा विदेशी पाइलटहरूले उडान भरेपछि यो खेल प्रवेश गरेको हो । व्यावसायिक रूपमा यसको सुरुवात सन् २००० सालतिर पोखरामा बीरु बमजन र एडम हिलले गरे । पोखरा नेपालकै प्याराग्लाइडिङको लागि राजधानी हो । त्यसो त पर्यटनकै राजधानी घोषणा भएको सहरमा प्याराग्लाइडिङ नजोडिने कुरै भएन ।

नेपालमा प्याराग्लाइडिङ विशेषगरी पोखरा केन्द्रित छ । अन्नपूर्ण हिमशृङ्खला, माछापुच्छ्रे हिमाल र फेवातालको दृश्यले पोखरालाई प्याराग्लाइडिङका लागि अनुकूल र उत्कृष्ट गन्तव्य बनाएको छ । यहाँँको प्याराग्लाइडिङमा अग्रजहरूको निकै महत्त्वपूर्ण योगदान छ । हाल नेपाल हवाई खेलकुद संस्थाबाट ३९९ जनालाई व्यावसायिक प्याराग्लाइडिङ उडान अनुमतिपत्र वितरण गरिएको छ । नेपालकै इतिहासमा प्याराग्लाइडिङ पोखराबाट सुरु भएको हो । त्यसैले प्याराग्लाइडिङ भन्ने बित्तिकै यसका पारखीहरूले पोखरा र त्यसमा पनि सराङकोट सम्झन्छन् ।

यहाँको अन्नपूर्ण हिमशृङ्खला, माछापुच्छ्रे हिमाल र फेवा तालको मनमोहक दृश्यसहितको स्थिर मौसम तथा पूर्वाधारले साहसिक पर्यटकलाई पोखरामा आकर्षित गरेको छ । हाल पोखरामा ६१ वटा प्याराग्लाइडिङ कम्पनी दर्ता भएका छन् । हुन त देशका अन्य क्षेत्रमा पनि प्याराग्लाइडिङ विस्तार भइरहेको छ, तर पोखराको महत्त्व फरक छ ।

पछिल्लो समय विमानस्थल निर्माण र सञ्चालनसँगै पोखराको प्याराग्लाइडिङ ओझेलमा पर्‍यो । सराङकोटबाट प्याराग्लाइडिङ मान्द्रेढुंगामा सारेपछि एक हिसाबले गुमनाम नै भयो भन्दा पनि हुन्छ ।

भौगोलिक बनावट र यहाँको वायु चापको स्थिरताले विश्वमै पोखरा प्याराग्लाइडिङका लागि प्रख्यात बनेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न ठाउँमा स्कुल र एकेडेमी खोलेर प्रशिक्षण पनि दिँदै आएको छ । प्याराग्लाइडिङको पूरा नियमन नागरिक उड्डयन प्राधिकरणले नै गर्दै आएको छ । जसमा उडान अनुमतिपत्र नवीकरण तथा पाइलट लाइसेन्स जारी र नवीकरण समेत पर्छन् । प्याराग्लाइडिङमा नेपालले उत्कृष्ट प्रतियोगिताहरूमा उत्कृष्ट रिजल्टहरू निकालेको पनि छ ।

सन् २०१८ मा इन्डोनेसियाको जकार्तामा भएको १८ औँ एशियाली खेलकुदमा नेपालले प्याराग्लाइडिङमा रजत पदक जितेको थियो । यो नेपालको एशियाली खेलकुदमा २० वर्षपछि प्राप्त दोस्रो रजत पदक हो । यसअघि १९९८ मा सविता राजभण्डारीले तेक्वान्दोमा रजत पदक जितेकी थिइन् । प्याराग्लाइडिङ प्रतियोगिताको नेतृत्व प्रमुख प्रशिक्षक योगेश भट्टराईले गर्नुभएको थियो । नाले पोखरामै प्याराग्लाइडिङ च्याम्पियसीप पनि गर्दै आएको छ । नवौँ राष्ट्रिय खेलकुदमा समेत प्याराग्लाइडिङ समावेश भएको छ । तसर्थ प्याराग्लाइडिङ नेपालको गौरवपूर्ण साहसिक खेल हो । यसले साहसिक खेलमार्फत पर्यटन विस्तारमा ठुलो सम्भावना बोकेको छ । एक हिसाबले भन्ने हो भने केही वर्ष अघिसम्म प्याराग्लाइडिङ गर्नकै लागि विश्वका पर्यटक पोखरा आइपुग्थे ।

पछिल्लो समय विमानस्थल निर्माण र सञ्चालनसँगै पोखराको प्याराग्लाइडिङ ओझेलमा पर्‍यो । सराङकोटबाट प्याराग्लाइडिङ मान्द्रेढुंगामा सारेपछि एक हिसाबले गुमनाम नै भयो भन्दा पनि हुन्छ । तर हवाई खेलकुद संस्था (ना)को अगुवाइमा व्यवसायी र पाइलटहरूको निरन्तर प्रयासले अहिले फेरि तोरीपानीबाट टेकअफ र खपौंदी क्षेत्रमा ल्याण्डिङ गर्न मिल्ने भएको छ । यो प्याराग्लाइडिङ पारखीलाई त खुसीको कुरा हुँदै हो, समग्र पोखराको सुस्ताउँदो पर्यटनलाई पनि सञ्जीवनी बुटी हो भन्ने हाम्रो विश्वास छ ।

अहिले पनि नियमनको नाममा प्याराग्लाइडिङ पाइलटहरूलाई निरुत्साहित गर्ने र समग्र व्यवसायलाई नै धराशायी बनाउने प्रयत्न भइरहेको छ । यसमा सरकार, व्यवसायी, पाइलट, सञ्चारमाध्यम र पर्यटकहरूको सहकार्य अनिवार्य छ । पोखरालाई विश्वमा चिनाउने एउटा महत्त्वपूर्ण प्रोडक्ट हो प्याराग्लाइडिङ । यसमा जति मनोरञ्जन छ, त्यति नै जोखिम पनि छ । तसर्थ सुरक्षा पहिलो शर्त हो । प्रत्येक उडानमा पाइलटले संयमता अपनाउनुपर्छ । कहिलेकाहीँ दुर्घटना भएर अप्रिय समाचारहरू पनि सुन्नुपरेको छ । दुर्घटनाको प्रमुख कारणचाहिँ लापरबाही हो । मौसमको अनुमान नगरी पैसा मात्रै कमाउने हतारोले यस्ता दुर्घटना भइरहेका छन् । कहिलेकाहीँ पाइलटको मानसिक अवस्थामा पनि यो निर्भर हुन्छ । सम्बन्धित निकायले अनुगमन र चेकजाँचलाई प्रभावकारी बनाउनुपर्छ । अझै बढी त पाइलट जिम्मेवार हुनुपर्छ ।

प्याराग्लाइडिङ नेपालको साहसिक पर्यटनको महत्त्वपूर्ण हिस्सा हो । उपयुक्त नीति, पूर्वाधार र तालिम प्रणालीमा सुधार गरियो भने नेपालले यस खेलमा अन्तर्राष्ट्रिय स्तरमा नेतृत्व लिन सक्छ ।

यो व्यवसायमा चुनौतीका पहाड छन्, तर चुनौती छ भन्दैमा भागेर समस्या समाधान त हुँदैन । हामी समस्याको समाधान गर्दै सुन्दर भविष्यको खोजीमा छौँ । विस्थापित भएका प्याराग्लाइडिङ कम्पनीलाई पुनः सञ्चालनमा ल्याउने, पलायन भएका पाइलटहरूलाई पोखरामै फर्काएर उडानमा व्यस्त बनाउने हाम्रो उद्देश्य हो । यदि सरकार संवेदनशील भएर पोखराको पर्यटकीय भविष्य चाहन्छ भने प्याराग्लाइडिङलाई पछाडि छोडेर सफलता मिल्दैन । हामी विकासका विरोधी पनि होइनौँ । विमानस्थल निर्माण हुनुपर्छ र नियमित चल्नुपर्छ भन्नेमा प्रतिबद्ध छौँ, तर विमानस्थल चल्दैमा प्याराग्लाइडिङ विस्थापित गर्नुपर्छ भन्ने छैन । अध्ययन गरेर उपयुक्त ठाउँबाट उडान अनुमति दिनुपर्छ भन्ने हाम्रो साझा आवाज हो । अन्यथा एक अर्बभन्दा बढी यस क्षेत्रमा भएको लगानी डुब्ने निश्चित छ ।

व्यवसायी पनि चल्न सक्ने, आन्तरिक रोजगारी (आकर्षक कमाइ सहित) सिर्जना हुने, पर्यटकको इच्छा र रहर पनि पूरा हुने गरी सरकारले नयाँ नीति तय गर्नुपर्छ । जति व्यवसायीहरू जिम्मेवार हुनुपर्छ, त्यति सरकार पनि प्रतिबद्ध रहनुपर्छ । विमानस्थल सञ्चालनसँगै प्याराग्लाइडिङको नियमित उडानमा नयाँ कार्ययोजना बनाउन सके पोखराको पर्यटनले सार्थकता पाउने विश्वास छ । ढिलै भएपनि मान्द्रेढुंगाबाट तोरीपानीमा टेकअफ सुरु भएको छ । यो प्याराग्लाइडिङ क्षेत्रको लागि एउटा आशाको किरण हो । हामी अझै सराङकोटबाटै उडान हुन सकोस् भन्ने सरकार र नियामक निकायसँग माग गर्दछौँ । यदि सराङकोट सर्न सक्यो भने फेरि एक पटक पोखरामा प्याराग्लाइडिङ गुल्जार हुनेछ । सबै पाइलट फर्किएर ढुक्कका साथ उडान भर्नेछन्, व्यवसायीले मन खोलेर लगानी गर्नेछन् । विश्वका प्याराग्लाइडिङ पाइलटलाई खुला आह्वान गर्न सक्नेछौँ । जसले नेपालको अर्थतन्त्रमा उल्लेख्य टेवा पुग्नेछ ।

पोखरा प्याराग्लाइडिङका लागि संसारकै सुरक्षित स्पट हो । हिमाल र ताललाई साथमा राखेर उत्कृष्ट दृश्यावलोकनसँगै प्याराग्लाइडिङ गर्न पाउने गरी नयाँ कार्ययोजना बन्नेछ भन्ने आशा लिएका छौँ । प्याराग्लाइडिङको वर्तमान अवस्था नाजुक छ तर सम्भावना प्रचुर छ । अहिलेको चुनौतीहरू खेप्दै भावी पुस्ताका लागि राजमार्ग निर्माणमा सबै क्षेत्र लागिरहेको छ । जसले साहसिक खेललाई अझ व्यवस्थित, सुरक्षित र दिगो बनाउने विश्वास छ ।

अन्त्यमाः प्याराग्लाइडिङ नेपालको साहसिक पर्यटनको महत्त्वपूर्ण हिस्सा हो । उपयुक्त नीति, पूर्वाधार र तालिम प्रणालीमा सुधार गरियो भने नेपालले यस खेलमा अन्तर्राष्ट्रिय स्तरमा नेतृत्व लिन सक्छ । सबै पक्षसँगको सहकार्य, पारदर्शिता र दीर्घकालीन सोचमार्फत प्याराग्लाइडिङलाई अझ सुरक्षित, व्यवस्थित र भविष्यमुखी बनाउन सक्ने विश्वास छ ।

(लेखक केसी हवाई खेलकुद संस्था (ना)का अध्यक्ष हुन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अनिल केसी
अनिल केसी
लेखकबाट थप