शुक्रबार, २३ जेठ २०८२
ताजा लोकप्रिय
रास्वपा नेतामाथि कारबाही

रास्वपाले नेता तिम्सिना र मैनालीलाई किन गर्‍यो कारबाही ?

विभिन्न निहुँ खोजिरहेका थिए, त्यसपछि मलाई कारबाही गरे – तिम्सिना
बिहीबार, २२ जेठ २०८२, १७ : ४९
बिहीबार, २२ जेठ २०८२

समाचार सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कोशी प्रदेशका सभापति राजेश तिम्सिना र प्रवक्ता कमलबाबु मैनालीलाई पार्टीबाट निष्कासन गर्न सिफारिस गर्यो।
  • तिम्सीनालाई पार्टीले स्पष्टीकरण सोधेको थियो किनभने उनी 'स्वतन्त्र राष्ट्रवादी विचार समूह' मार्फत देशलाई हिन्दु राष्ट्र बनाउनुपर्ने र राजसंस्था पुनःस्थापना गर्नुपर्ने पक्षमा थिए।
  • तिम्सीनाले मुकुल ढकाललाई पार्टीमा फर्काउनुपर्ने र फरक विचार राखेको कारण उनलाई कारबाही गरिएको बताए।

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठकले कोशी प्रदेशका संस्थापक सभापति राजेश तिम्सिना र संस्थापक प्रवक्ता कमलबाबु मैनालीलाई पार्टी सदस्यताबाटै निष्काशनका लागि केन्द्रीय समितिलाई सिफारिस गर्ने निर्णय गर्‍यो । 

जेठ १९ गते बसेको सचिवालयको बैठकले यो निर्णय गर्नुका पछि धेरै कारण छन् । तिम्सिना रास्वपाका तत्कालीन पार्टी महामन्त्री मुकुल ढकाललाई पुनः पार्टीमा फिर्ता ल्याउनुपर्छ भन्ने पक्षका हुन् । 

त्यसपछि प्रदेश सभापतिबाट निलम्बनमा परेका उनले गत वैशाख १७ गते राष्ट्रिय झण्डा देब्रेतिर र रास्वपाको चुनाव चिह्न घण्टी दाहिनेतिर राखेर एक अपिल जारी गरे । 

Rasopa (1)

‘स्वतन्त्र राष्ट्रवादी विचार समूह’को नाममा जारी ९ बुँदे अपिलको पहिलो बुँदामा देशलाई सनातन हिन्दु राष्ट्र बनाउनुपर्ने र विश्व हिन्दु सम्राटको रूपमा नेपालमा राजसंस्थाको पुनःस्थापना गर्नुपर्ने आशय उल्लेख छ । 

‘सबै मतपन्थ र सम्प्रदायप्रति समान दृष्टिकोणसहित सनातन धर्म सापेक्ष राष्ट्र नेपाल । नेपालको धर्म, संस्कृति र परम्पराको संरक्षण तथा राष्ट्रिय धार्मिक एवं सांस्कृतिक कार्यमा नेतृत्व प्रदान गर्न, साथै विश्वभर सनातन मूल्यहरूको प्रवर्द्धन गर्न, नेपाली हिन्दु सम्राट्लाई विश्व हिन्दु सम्राट्को रूपमा स्थापना,’ अपिलमा भनिएको छ । 

त्यसपछि रास्वपाले उनलाई जेठको पहिलो साता स्पष्टीकरण सोधेको थियो । गुट निर्माणमा लागेको भन्दै पार्टीले स्पष्टीकरण सोधेका वेला तिम्सिनाका पिताको स्वास्थ्य अवस्था गम्भीर थियो । अन्ततः स्पष्टीकरण आएको दुई दिनपछि उनका बुबाको ७१ वर्षको उमेरमा निधन भयो । तिम्सिनाले स्पष्टीकरण लेख्ने समय पनि पाएनन् । त्यसपछि रास्वपाले उनलाई कारबाहीका लागि केन्द्रीय समितिलाई सिफारिस गरेको थियो । 

Rasopa (2)

आफूलाई कारबाही गर्ने विभिन्न निहुँ खोजिरहेका वेला यो एउटा थप बहाना मिलेको तिम्सिनाले बताए । ‘हामीले फरक मत राख्यौँ । फरक मत राखेपछि स्पष्टीकरण काटिएको थियो । जसरी पनि कारबाही गर्ने उहाँहरूको मक्सद थियो । कारबाही गर्नुभयो,’ तिम्सिनाले भने, ‘मुकुल ढकाललाई पुनः पार्टीमा फिर्ता बोलाउनुपर्छ भनेर भनेको थिएँ । मलाई पार्टीको कोशी प्रदेश सभापतिबाटै निलम्बन गरे । म टीके थिइनँ । खुरुक्क हटाउन सकेनन् । विभिन्न निहुँ खोजिरहेका थिए । त्यसपछि मलाई कारबाही गरे ।’

उनले आफूले गत वैशाख १७ गते स्वतन्त्र राष्ट्रवादी विचार समूहको नाममा गरेको आह्वान पनि अर्को कारण भएको बताए । ‘त्यसलाई उनीहरूले ग्रुपइज्म भने र स्पष्टीकरण सोधे । त्यसको जवाफ दिन मैले सकिनँ । किनभने त्यसवेला मेरो पिताजीको मुत्यु भएको थियो र म कोरामा बसेको थिएँ । स्पष्टीकरण पनि मैले कोरामा बस्दा हेरेको हुँ,’ तिम्सिनाले भने । 

उनले आफूले विश्व हिन्दु सम्राट्को कुरा गरेको र त्यसको नेतृत्व नेपालका राजाले गर्छन् भन्ने दृष्टिकोण राखेको बताए । ‘९३ करोड हिन्दु छन् । हाम्रो राजसंस्थालाई संसारका हिन्दुले विश्व सम्राट् मानिरहेको थियो । त्यसकारण देशको वनरसिप लिने अहिले कोही भएन ।

त्यसै विषयमा केन्द्रत भएर बहस गर्न खोजेका थियौँ । तर, पार्टीले अहिले यस्तो निर्णय लियो । यसमा मलाई कुनै गुनासो छैन,’ उनले भने, ‘अब पनि रास्वपा सुधारमा लाग्ने हो । उनीहरू नै कति दिन पार्टीमा रहन्छन् टुंगो छैन । हेर्दै जाउँ के हुन्छ ।’

आफू र नेता मैनालीसहित धेरै नेता कार्यकर्ता आफ्नो समूहमा रहेका उनको दाबी छ । नेता मैनाली २०७९ सालको निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र–३ बाट संघीय संसद्को उम्मेद्वार बनेका थिए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप