शुक्रबार, २३ जेठ २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

परम्परा धान्न पञ्चेबाजा बजाउँछन् पाल्पाका महिला

बिहीबार, २२ जेठ २०८२, ०२ : ५३
बिहीबार, २२ जेठ २०८२

समाचार सारांश

  • रिब्दीकोट गाउँपालिकाका महिलाहरूले पञ्चेबाजा बजाउने तालिम लिएर विवाह, व्रतबन्धलगायतका कार्यक्रममा आफ्नो सीप देखाउन थालेका छन्।
  • आदिवासी जनजाति समूहकी महिलाहरूले पञ्चेबाजाको संरक्षण, परम्पराको जगेर्ना र आयआर्जनका लागि गाउँपालिका र वडाको सहयोगमा तालिम लिएका हुन्।
  • युवा र पुरुष विदेशिएका कारण बाजा बजाउने जनशक्ति नहुँदा महिलाहरूले व्यावसायिक रूपमा बाजा बजाउन थालेका छन्, जसलाई वडा र गाउँपालिकाले सहयोग गरेको छ।

पाल्पा।  यहाँको रिब्दीकोट गाउँपालिका–३ का महिलाले पञ्चेबाजा बजाउने तालिम लिएर  विवाह, व्रतबन्धलगायत धार्मिक उत्सव र सभा समारोहमा आफ्नो सीप देखाउन थालेका छन् ।

आदिवासी जनजाति समूहकी संयोजक अरुणा छहारीले पञ्चेबाजाको संरक्षण, परम्पराको जगेर्नासँगै आयआर्जनमा पनि सहयोग पुग्ने भएकाले गाउँपालिका र वडाको सहयोगबाट आफूहरूले बाजा बजाउन सिकेको बताइन्। 

पञ्चेबाजा भनिए पनि यो समूहमा नौ जनाको टोली आवश्यक पर्छ । दुई जनाले सनाई, दुई जनाले कर्नाल, दुई जनाले दमाहा बजाउँछन् । समूहमा एकएक जनाले ढोलकी, ट्याम्को र झ्याली बजाउँछन् । 

यो समूहमा ४० देखि ५५ वर्षसम्मका १६ महिला आबद्ध छन् । गाउँमा बाजा बजाउने युवा नहुँदा छिमेकी गाउँबाट बोलाउनुपर्ने थियो, छिमेकी गाउँबाट बाजा बजाउने जनशक्ति नआए संस्कार कार्य नै प्रभावित हुने अवस्था आएपछि महिलाहरूले बाजा बजाउने सीप सिकेर व्यवसाय थालेका छौँ, उनले भनिन्। 

पञ्चेबाजा संरक्षणका लागि महिलाहरू अघि सरेपछि त्यसमा पुरुषहरूले पनि साथ दिएको हुन् । बाजा बजाउनेदेखि त्यसका तालका विषयमा पुरुषले सहयोग गरेको संयोजक छहारीले बताइन् । 

संस्कृति संरक्षण र आत्मनिर्भरताका लागि  गाउँपालिका र वडा कार्यालयले महिलाहरूका लागि तालिम दिएर बाजा किनिदिएपछि  समूहमा आबद्ध महिला बाजा बजाउन थालेका हुन् । युवा र पुरुषहरू विदेशिएका कारण जनशक्ति नहुँदा विवाह, व्रतबन्धजस्ता शुभ कार्यमा बाजा बजाउने परम्परा र संस्कृति लोप हुन थालेपछि यहाँका महिलाले व्यावसायिक रूपमा बाजा बजाउने पेसा अपनाएका वडाध्यक्ष नारायणबहादुर केसीले बताए।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिप्रसाद खनालका अनुसार गत वर्ष गाउँपालिकाबाट वडामा विनियोजन गरेको रु ५० हजार बजेटबाट बाजा खरिद गरिएकामा यस वर्ष रु ५० हजार बजेटमार्फत महिलालाई बाजा बजाउन सिकाइएको हो । सीप र सामग्री पाएपछि महिलाले व्यावसायिक रूपमा बाजा बजाउन थालेका हुन् । 

पञ्चेबाजा संरक्षण, परम्परा जगेर्नासँगै आयआर्जनमा पनि सहयोग पुग्ने समूहकी अस्मिता रुचालले बताइन् । ‘अहिले म ढोलकी सिक्दै छु, पहिला मादलसम्म बजाउन जानेको थिइनँ, सिक्दै जाँदा सबै बजाउन सकिने रहेछ । हामी  महिलाले बाजा बजाउन लागेका छौँ, यसले समाजमा ठुलो प्रभाव पार्नेछ”, उनले भनिनु । समूहका १६ जनाले पञ्चेबाजा बजाउन तालिम लिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप