शनिबार, १७ जेठ २०८२
ताजा लोकप्रिय

गृहमन्त्री लेखकलाई प्रधानमन्त्री, अर्थमन्त्री र देउवाको आडभरोसा !

सोमबार, १२ जेठ २०८२, २१ : ५०
सोमबार, १२ जेठ २०८२

समाचार सारांश

  • गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा राजीनामा दिनुपर्ने विपक्षी दलहरूको माग छ।
  • कांग्रेस पदाधिकारी बैठकले सभापति देउवाको निर्देशन अनुसार, लेखकलाई राजीनामा नदिन र संसद्मा आफ्ना कुरा स्पष्ट राख्न निर्देशन दिएको छ।
  • प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलले पनि लेखकलाई साथ दिएका छन्, छानबिन नभएको र अफवाह फैलाइएको भन्दै नडराउन सुझाव दिएका छन्।

काठमाडौँ । भिजिट भिसा प्रकरणमा संलग्न भएको आरोप खेपिरहेका गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग विपक्षी दलहरूले गरिरहेका छन् । 

तर, गृहमन्त्री लेखकमाथि लागिरहेको आरोपबारे छलफल गर्न सोमबार बिहान बुढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा सभापति देउवाले आरोप लाग्दैमा राजीनामा नदिन र संसद्मा आफ्ना कुरा स्पष्ट राख्न गृहमन्त्री लेखकलाई निर्देशन दिएका छन् ।

 बैठकमा गृहमन्त्री लेखकले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मारेको छापा र त्यसपछि आफूमाथि लगाइएको आरोपबाट प्रष्टीकरण दिएका थिए । त्यसपछि देउवाले बैठकमा अनुसन्धान गर्ने निकायले छानबिनको दायरामा नल्याएको र कुनै प्रमाण नभेटिएकाले राजीनामा दिन आवश्यक नभएको भन्दै आफ्ना कुरा संसद्मा र सार्वजनिक मञ्चमा स्पष्ट रूपमा राख्न निर्देशन दिएका थिएको सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले जानकारी दिइन् । 

बैठकमा देउवाको भनाइ उद्धृत गर्दै उनले भनिन्, ‘प्रमाण अहिलेसम्म केही देखिएको छैन । छानबिन गर्ने निकायले पनि छानबिनको दायरामा ल्याएको छैन । अनावश्यक आरोप लगाएर अफवाह फैलाउँदैमा राजीनामा दिन पर्दैन । डटेर सामना गर्नुपर्छ । संसद् र सार्वजनिक मञ्चमा आफ्ना कुरा स्पष्ट रूपमा राख्नू ।’

देउवा मात्रै होइन गृहमन्त्री लेखकलाई प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले आड भरोसा दिएका छन् । भिजिट भिसा प्रकरणमाा चर्को विरोध भएपछि नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कालाई लिएर लेखक आइतबार एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली र एमाले उपाध्यक्ष उपप्रधानमन्त्री पौडेललाई भेट्न पुगेका थिए । त्यसपछि बालुवाटारमै शीर्ष बैठक पनि बसेको थियो । 

कांग्रेस पदाधिकारी बैठकमा उपसभापति खड्का र गृहमन्त्री लेखकले गरेको ब्रिफिङ अनुसार प्रधानमन्त्री ओलीले लेखकलाई आरोप लाग्दैमा नडराउन भनेका थिए । ‘आरोप लाग्दैमा डराउन पर्दैन । छानबिन गर्ने निकायले छानबिनको दायरामा ल्याएको छैन । बाहिर कराउने कराइरहन्छन्,’ बैठकमा ओलीसँगको भेटबारे उपसभापति खड्का र गृहमन्त्री लेखकले भनेका थिए । 

त्यस्तै अर्थमन्त्री पौडेलले बाहिर हल्ला चल्दैमा र अफवाह फैलाउँदैमा नडराएर निर्भिक भएर काम गर्न भनेका थिए । ‘छानबिन नै भएको छैन, दायरामा नै पर्नु भएको छैन । एउटा कर्मचारी छानबिनमा पर्दैमा किन डराउनु भएको छ । डराउन पर्दैन आफ्नो काम गर्नुस्,’ पौडेलको भनाइ उद्धृत गर्दै सोमबारको बैठकमा ब्रिफिङ गरिएको थियो । 

प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेल नै गृहमन्त्री लेखकप्रति सकारात्मक देखिएपछि कांग्रेस नेताहरूले दृढ भएर अहिलेसम्म जे भएको हो त्यो कुरा मंगलबार बस्ने सदनमा राख्ने तयारी गर्न गृहमन्त्री लेखकलाई बैठकमा भनेको एक नेताले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप