बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

नेपाली निर्माता विक्रमको ‘कामा’ युके नेशनल अवार्डमा मनोनीत

सोमबार, १२ जेठ २०८२, २० : २२
सोमबार, १२ जेठ २०८२

काठमाडौँ । नेपाली अभिनेता,निर्माता विक्रम डि.जोशीले निर्माण गरेको अङ्ग्रेजी फिल्म ‘कामा’ बेलायतको ११ औँ नेशनल फिल्म अवार्ड–२०२५ मा मनोनीत भएको छ ।

लामो समयदेखि बेलायतमा बस्दै आएका निर्माता जोशीको नयाँ फिल्म ‘कामा’ वेस्ट इन्डिपेन्डेन्ट फिल्म क्याटागोरीमा मनोनीत भएको हो । 

गत मार्च दोस्रो साता बेलायतका विभिन्न सहरका हलमा प्रदर्शन भई दर्शकको मन जितेको अङ्ग्रेजी भाषाको क्राइम सस्पेन्स फिल्म ‘कामा’ सँगै सो विधाको प्रतिस्पर्धामा ‘ट्रेडिङ वाटर’,‘डिमाइस’,‘बिफोर निक्काहा’,‘ल्याला’,‘ब्ल्याक क्याव’,‘फोर मर्दस्’,‘अ ब्रदर्स बोन्ड’,‘डोन्ट टर्न आउट दि लाइटस्’,‘कुक्सटर–द डार्केष्ट डेज’ र ‘रेपुटेशन’ नामका ब्रिटिश फिल्महरू छन् ।

कडा प्रतिस्पर्धा हुने सो अवार्डको विजेता २ जुलाईमा लन्डनको पोर्चेष्टर हलमा भव्य समारोहकाबिच घोषणा गरिनेछ । अवार्ड आयोजक नेशनल फिल्म एकेडेमी,बेलायतले १९ मेमा २०२५ को नेशनल फिल्म अवार्डको नोमिनेशन सार्वजनिक गर्दै सर्वसाधारणका लागि १९ जुन अर्थात एक महिनासम्म पब्लिक भोटिङ खुल्ला गरिएको आफ्नो वेवसाइटमा उल्लेख गरेको छ ।

विभिन्न विधामा मनोनीत फिल्म तथा कलाकार मध्येबाट सर्वसाधारणको मतको आधारमा विजेता घोषणा गरिने जनाइएको छ । जसका लागि निर्माता जोशीले ‘कामा’ लाई मत दिई जिताउनु हुन विश्वभर छरिएर रहेका सम्पूर्ण नेपालीमा आव्हान गरेका छन् । ‘बेलायतको नेशनल अवार्डमा मनोनीत हुनु हामी सबैका लागि गर्वको कुरा हो,’ उनी भन्छन्,‘त्यसकारण सबैले ‘कामा’ लाई भोट गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु ।’

सन् २०१५ मा स्थापीत नेशनल फिल्म एकेडेमीले आयोजना गर्ने नेशनल फिल्म अवार्ड ब्रिटिशको उत्कृष्ट वार्षिक समारोह मध्येमा पर्दछ । सो अवार्डमा वेष्ट ब्रिटिश फिल्म,वेस्ट एक्टर, एक्ट्रेस,वेस्ट डिरेक्टर,बेस्ट स्क्रिप्ट,बेस्ट इन्डिपेन्डेन्ट फिल्म,बेस्ट न्यु कमरलगायतका विधामा अवार्ड प्रदान गरिन्छ भने ब्रिटिश सिनेमा योगदान पुर्‍याएका स्रष्टालाई लाइफ टाइम अचिभ्मेन्ट अवार्डले सम्मान गरिन्छ ।

भीमसेन लामाले निर्देशन गरेका ‘कामा’ को कथा स्व.बिशारद बस्नेतले लेखेका हुन् भने पटकथा र संवाद लक्ष्मण सुवेदी,विक्रम डि.जोशी र हिराल जोशीले तयार पारेका हुन् । 

यसअघि केही अन्तर्राष्ट्रिय फेष्टिभलहरुमा अवार्डहरू जितिसकेको फिल्ममा नेपाली अभिनेता टंक धमला,समीर गुरुङ,भारतीय अभिनेत्री पूजा गुप्ता,ब्रिटिश अभिनेता म्याथ्यु वेवफोर्ड,जेमिमा टोम्स,मिया बेनेटलगायतका कलाकार मुख्य भूमिकामा छन् ।

विक्रम जोशी कार्यकारी निर्माता रहेको फिल्मको निर्मातामा हिराल जोशी छिन् । इश्वर श्रेष्ठ र एमजी अमीन सह निर्माता रहेको ‘कामा’ को सम्पूर्ण छायाङ्कन बेलायतमा गरिएको हो ।

यसअघि ‘ह्याप्पी डेज’,‘पासवर्ड’,‘हेलो जिन्दगी’,‘राधा’ लगायतका फिल्म निर्माण तथा अभिनय गरेका जोशी ‘कामा’ को अन्तर्राष्ट्रिय प्रदर्शन र नयाँ नेपाली फिल्म ‘विक्रम’ निर्माणको तयारीमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप