नागढुंगाबाट बसका सहचालक १२ किलो चाँदीका गहनासहित पक्राउ
मङ्गलबार, १३ जेठ २०८२, १२ : १५

समाचार सारांश
- नागढुंगा चेकप्वाइन्टमा प्रहरीले चाँदीका गहनासहित एक जनालाई पक्राउ गरेको छ।
- वीरगन्जबाट आएको बसका सहचालक अनिश कुमार सिंहलाई १२ किलोभन्दा बढी चाँदीका गहना सहित पक्राउ गरियो।
- पक्राउ परेका सिंह बाराको कलैया उपमहानगरपालिकाका हुन् र गहनाको बिल फेला परेको छैन।
काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगा चेकप्वाइन्टबाट प्रहरीले चाँदीका गहनासहित एक जनालाई पक्राउ गरेको छ ।
वीरगन्जबाट आएको बा.प्र.–०१–००३ ख ३७०१ नम्बरको बसका सहचालक अनिश कुमार सिंहलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले मंगलबार जानकारी दिए ।
३२ वर्षीय अनिश कुमार सिंहले बसमा लुकाएको १२ किलो १७६ ग्राम चाँदीका गहना प्रहरीले बरामद गरेको छ । बाराको कलैया उपमहानगरपालिका–४ घर भएका सिंहमाथि प्रहरी वृत्त थानकोटले अनुसन्धान गरिरहेको छ ।
गहनाको बिल, बिजक फेला नपरेको एसपी बोहराले जानकारी दिए ।