केदारनाथको भिरले लिइसक्यो कैयौँ नेपालीको ज्यान
सारांश
- बझाङकी १९ वर्षीया अनिशा बुढाको भारतको केदारनाथमा घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भयो।
- आर्थिक अवस्था कमजोर भएका कारण अनिशा आमासँगै मजदुरीका लागि केदारनाथ गएकी थिइन्, जहाँ घाँस काट्ने क्रममा दुर्घटना भयो।
- केदारनाथमा घाँस काट्ने क्रममा यसअघि पनि धेरै नेपालीले ज्यान गुमाएका छन्, जसको मुख्य कारण आर्थिक अभाव र जोखिमपूर्ण काम हो।
धनगढी । गत साता बझाङको छविस पाथीभेरा गाउँपालिका–६, लेकगाउँकी १९ वर्षीय अनिशा बुढा भारतको उत्तराखण्डस्थित केदारनाथमा घाँस काट्ने क्रममा भिरबाट खसिन् ।
आमा खिरुसँगै घाँस काटिरहेकी अनिशा एक्कासी भिरबाट चिप्लिएर खसिन् । उनी आमाभन्दा अलि माथि थिइन् । आमाले एक पलका लागि उनलाई समात्न भ्याए पनि हात चिप्लियो । अनिशा फेरि खसिन् ।
भिरबाट तल बज्रिएपछि अनिशा स्थिर भइन् । खिरु हतारहतार भिरकै बाटो छोरी भएको ठाउँमा पुगिन् । अनिशा घोप्टो परेर पल्टेकी थिइन् । खिरुले उनलाई उठाउन खोजिन् तर टाउको फुटेको थियो । आमाले काखमा राख्दा थोरै हलचल गरेकी अनिशाले त्यहीँ प्राण त्यागिन् ।
अनिशा पहिलो पटक केदारनाथमा घाँस काट्ने कामका लागि गएकी थिइन् । आर्थिक अवस्था कमजोर भएका कारण खिरु छोरीलाई लिएर मजदुरीका लागि गएकी हुन् ।
केदारनाथमा दर्शनार्थीलाई बोक्ने खच्चर तथा घोडालाई खुवाउन घाँस काट्ने कामका लागि कैयौँ नेपाली जाने गर्दछन् । त्यसबापत उनीहरूले ठेकदारसँग ज्याला लिन्छन् । राम्रो कमाइ हुने प्रलोभनमा कैयौँ नेपाली त्यसरी घाँस काट्ने कामका लागि जाने गरेका छन् ।
श्रीमान् बिरामी भएकाले घर खर्च जुटाउन खिरुले कहिले यार्सा सङ्कलन गर्ने, कहिले केदारनाथको भिरमा पुगेर घाँस काट्नुपर्ने बाध्यता छ ।
पारिवारिक स्रोतका अनुसार घटनाको दिन अनिशा आमा भएको ठाउँभन्दा माथि भिरमा गएकी थिइन् । आमाले ‘माथि अप्ठ्यारो छ, लडिन्छ’ भन्दाभन्दै पनि चाँडै भारी पुर्याउन भनेर अनिशा जोखिम मोलेरै अलि घाँस भएको भिरमा चढेकी थिइन् ।
तीन/चार मुठा घाँस काटेपछि अनिशा लडेकी थिइन् । फूलजस्तै छोरीलाई त्यो भिरमा गुमाउँदा आमा खिरु बेसुर बनेकी छन् ।
श्रीमान् बिरामी भएकाले घर खर्च जुटाउन खिरुले कहिले यार्सा सङ्कलन गर्ने, कहिले केदारनाथको भिरमा पुगेर घाँस काट्नुपर्ने बाध्यता छ । चार छोराछोरी र श्रीमानका लागि घर खर्च जुटाउन खिरु एक्लैको कमाइ पर्याप्त हुँदैनथ्यो । त्यही भएर हुर्केकी छोरीलाई पनि सँगै लिएर जाँदा दुईचार पैसा बढी कमाउन सकिन्छ भन्ने उनको अपेक्षा थियो । अघिल्लो वर्ष आमासँगै अनिशाकी बहिनी केदारनाथ गएकी थिइन् । यो पटक भने अनिशा आमाको पछि लागिन् ।
अनिशाले गत वर्ष कक्षा १२ पास गरेकी थिइन् । स्नातक तह पढ्ने तयारीमा रहेकै अवस्थामा आर्थिक अवस्था कमजोर हुँदा उनी ज्याला मजदुरीका लागि परदेश जानु पर्यो । यही क्रममा उनको ज्यान गुम्यो ।
पाँच वर्ष यता केदारनाथमा ज्यान गुमाउने यी प्रतिनिधि पात्र हुन् । यसरी कैयौँले ज्यान गुमाइसकेका छन् ।
घाँस काट्न केदारनाथ पुगेर ज्याने गुमाउनेमा अनिशा एक्ली होइनन् । हालै दुर्गाथली गाउँपालिका– ५, छान्नेखोलाका ४१ वर्षीय लखन जप्रेलले केदारनाथकै भिरमा घाँस काट्ने क्रममा लडेर ज्यान गुमाए ।
२ वर्ष अघि अनिशाकै गाउँकी १८ वर्षीय हर्कला बुढाले पनि घाँस काट्ने क्रममा त्यही भिरबाट लडेर ज्यान गुमाइन् । घरको आर्थिक अवस्थाले सानै उमेरमा जिम्मेवारीले थिचेपछि उनी त्यहाँ पुगेकी थिइन् ।
हर्कला लडेको पाँच दिन अघिमात्र दुर्गाथली गाउँपालिका–५, चुम्लाकी ४० वर्षीय रुसाना जप्रेलले घाँस काट्ने क्रममा ज्यान गुमाइन् । त्यो घटनाको तीन वर्ष अघि रुसानाकी दिदी लेकगाउँकी ४४ वर्षीय राजुदेवी बुढाले पनि त्यही भिरबाट लडेर ज्यान गुमाएकी थिइन् ।
पाँच वर्ष यता केदारनाथमा ज्यान गुमाउने यी प्रतिनिधि पात्र हुन् । यसरी कैयौँले ज्यान गुमाइसकेका छन् ।
कतिपय घाँस काट्ने क्रममा भिरबाट लडेर घाइते भएका छन् । छविस पाथीभेरा गाउँपालिका–६ लेकगाउँ, दनखालीकी ३६ वर्षीय धनादेवी बुढा पाँच वर्ष अघि सोही भिरबाट लडेर घाइते भइन् । उनको टाउको, हात र खुट्टामा गम्भीर चोट लाग्यो । परिवारले लाखौँ रुपैयाँ खर्च गरेर उनको ज्यान जोगाए । यद्यपि, आर्थिक अवस्था कमजोर हुँदा काम गर्न नसक्ने भएर बस्नुपर्दा अझ ठुलो पीडा थपिएको बुढा बताउँछिन् । ‘त्यहाँ त लड्यो कि बाँच्ने चान्स नै हुँदैन,’ उनले भनिन्, ‘म भने भाग्यले बाँचे ।’
केदारनाथको भिरमा लगेर ज्यान गुमाएकी राजुदेवी बुढाकी जेठी छोरी मनिशाका अनुसार बझाङका कयौँ महिला यसरी सिजनमा केदारनाथको भिरमा पुगेर घाँस काट्ने गर्दछन् । छोराछोरीलाई पढाइ खर्च जुटाउन, परिवारमा चाडपर्व मनाउने खर्चको जोहो गर्न र आर्थिक अवस्थामा केही सुधारको अपेक्षासहित उनीहरू जोखिम मोलेर यसरी काम गर्न बाध्य छन् ।
जनताको नजिकको सरकारको रूपमा रहेका पालिकाले पनि जनताका यस्ता समस्या समाधान गर्नेतिर कुनै योजना नबनाएको मनिषा बताउँछिन् ।
मनिषाका अनुसार प्रायः सबैजसो पुरुष मदिरा सेवन गरेर परिवारप्रति अनुत्तरदायी हुन्छन् । घर खर्च टार्न महिलाले बाध्य भएर कमाउन जानुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।
‘अर्काको देखासिकी, फलानोले त केदारनाथबाट दस लाख ल्यायो, पाँच लाख ल्यायो भनेको सुनेर घरको खेतीपाती, छोडेर कमाउन त्यहाँ जान थाले,’ उनले भनिन् ।
गाउँमा पहिलाजस्तो खेतीपाती गर्ने चलन नभएको मनिषाले बताइन् । ‘मकै, कोदो, जौ फल्ने बारी बाँझै हुन्छ, किनकि त्यस्ता अन्न खान छाडिसके,’ उनले भनिन्, ‘खेतीपाती गर्न मल चाहिन्छ । पशुपालन पनि घट्यो, गोबर मल पाइँदैन । रासायनिक मलको पनि अभाव हुन्छ । मलविना बाली राम्रो हुँदैन । अनि बाध्य भएर कमाउनका लागि परदेश जानु पर्छ ।’
जनताको नजिकको सरकारको रूपमा रहेका पालिकाले पनि जनताका यस्ता समस्या समाधान गर्नेतिर कुनै योजना नबनाएको मनिषा बताउँछिन् ।
दुर्गाथलीकी तुलसी जप्रेल स्थानीय तहले आफ्ना पालिकाभित्रका नागरिकको अवस्था, उनीहरूले भोग्नु परेको समस्या बुझेर योजना बनाउनुपर्ने बताइन् । ‘स्थानीय सरकारले सडक बनायो होला, तर जनताको जीवन के भइरहेको छ, समाज कता जाँदैछ, छोरीबेटी कसरी मरिरहेका छन्, किन गाउँका मान्छे रित्तिँदै छन् भन्नेतिर पालिकाले ध्यान दिएको छैन,’ उनले भनिन् ।
पालिकामा कुन पार्टीको प्रमुख छ, त्यही पार्टीका कार्यकर्ता र मतदातालाई मात्र महत्त्व दिने परिपाटी रहेको जिकिर गर्दै उनले जनताको अवस्था परिवर्तन गर्नतिर कसैले पनि चासो नराखेको बताइन् ।
जबसम्म जनताको अवस्था परिवर्तन हुँदैन, दुई चार पैसाका लागि केदारनाथको भिरमा गएर घाँस काट्नुपर्ने जोखिमपूर्ण कामबाट स्थानीय महिलाले मुक्ति नपाउने जप्रेलको भनाइ छ । अन्यथा जीविकोपार्जनकै सपना बोकेर गएकाहरू केदारनाथको भिरमा गएर बज्रिनुपर्ने नियतिले निरन्तरता पाइरहने उनले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण