शनिबार, १७ जेठ २०८२
ताजा लोकप्रिय

पूर्वराजा शाहलाई माधव नेपालको चुनौती : मुलुक सञ्चालन गर्ने भए जनताको मन जितेर आउनुस्

बिहीबार, १५ जेठ २०८२, १३ : ०४
बिहीबार, १५ जेठ २०८२

समाचार सारांश

  • माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई लक्षित गर्दै जनताको मन जित्न आग्रह गरे।
  • उनले गणतन्त्रको विकल्प राजतन्त्र नभएको र वंशको शासन नचाहिएको बताए।
  • नेपालले मुलुक चलाउन चाहनेलाई चुनाव लडेर प्रतिस्पर्धा गर्न चुनौती दिए।

काठमाडौँ ।  नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै मुलुक सञ्चलन गर्ने चाहना भए जनताको मन जित्न आग्रह गरेका छन् । गणतन्त्र दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् । 

उनले गणतन्त्रको विकल्प भनेको समुन्नत गणतन्त्र रहेको भन्दै गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने जिकिर गरे । अहिले राजतन्त्रको बारेमा कुरा उठिरहेको भन्दै वंशको शासन आफूहरूलाई नचाहिएको बताए ।  उनले मुलुक चलाउने भए चुनावको मैदानमा आएर प्रतिस्पर्धाबाट प्रधानमन्त्री बन्न चुनौती दिए । मुलुकलाई प्रतिगामी दिशामा लगेर इतिहासको पाङ्ग्रालाई पछाडि धकेलेर सम्भव नरहेको समेत उनले बताए । 

अध्यक्ष नेपालले भने- ‘गणतन्त्रको विकल्प भनेको समुन्नत गणतन्त्र नै हो । गणतन्त्रको विकल्प राजतन्त्र होइन । राजतन्त्रको बारेमा कुरा उठिरहेको छ । बाबु भएन भने छोरा, छोरा भएन भने नाति, नातिले कुन दिन पनाति जन्माउँछ, जन्मिँदै गरेको पनातिलाई जिम्मा दिऊँ भन्ने कुरा आउला । त्यसकारण यस्तो वंशको शासन हामीलाई चाहिएको छैन । मुलुक सञ्चालन गर्ने यदि कसैलाई चिन्ता लागेको हो भने प्रधानमन्त्री भएर आए हुन्छ । चुनावको मैदानमा उत्रिए हुन्छ । जनताको मन र विश्वास जिते हुन्छ । हामी प्रतिस्पर्धाको मैदानमा चुनौती दिन्छौँ । प्रतिस्पर्धाबाट जनताको मन र विश्वास जितेर अगाडि बढ्ने आँट गर्नुपर्‍यो । मुलुकलाई प्रतिगामी दिशामा लगेर इतिहासको पाङ्ग्रालाई पछाडि धकेलेर सम्भव छैन । सम्भव हुन दिँदैनौँ । हिजो पनि गणतन्त्रको निम्ति हाम्रो पार्टीले नै अग्रगामी भूमिका खेलेको थियो । अरूमा त्यस्तो आँट देखिएको थिएन ।’

अध्यक्ष नेपालले आम जनताको चाहना बमोजिम नै यो परिवर्तन आएको दाबी गरे । परिवर्तनलाई संस्थागत र सुदृढ बनाउँदै लैजानुपर्ने आवश्यकता रहेको बताए । -न्युज एजेन्सी नेपाल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप