सत्तामा बसेकाहरूका कारण जनता असन्तुष्ट छन् : विप्लव

बुटवल । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले सत्तामा बस्नेहरूका गतिविधिले जनतामा असन्तुष्टि बढेको बताएका छन् । उनले अहिले राम्रो काम नगरेका कारण गणतन्त्रप्रति कोही सन्तुष्ट हुन नसकेको र विकल्प खोजिरहेका बताए।
जनपत्रकार सङ्गठन र जनगर्जन मिडिया प्रालिले आज बुटवलमा गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले अपेक्षाअनुसार काम नहुँदा युवादेखि सबैमा असन्तुष्टि बढेको बताए ।
उनले गणतन्त्रप्रति असन्तुष्टि बढ्दै जाँदा राजसंस्था पक्षधरहरू सडक आन्दोलनमा आएको समेत बताए । उनीहरू सडकमा आउँदा आम सर्वसाधारण नागरिकमा अहिलेको गणतन्त्रको विकल्प त्यही हो कि भन्ने भ्रम परेको समेत विप्लवले बताए । तर गणतन्त्रको विकल्प राजसंस्था हुन नसक्ने प्रस्ट पार्दै उनले अहिलेको असन्तुष्टिको समाधान नेपाली विशेषताको समाजवाद हुने बताए ।
उनले नेपालमा कस्तो खालको समाजवाद आवश्यक छ भन्नेमा खुल्ला बहस गरी सामन्तवादको समूल नष्ट गर्नुपर्नेमा समेत जोड दिए । उनले पोखरा विमानस्थलदेखि हालै गृहमन्त्री प्रकरणको समेत उल्लेख गर्दै तीन ठुला दलका शीर्ष नेताहरू चोचोमोचो मिलाएर मौन बसेको आरोप लगाए । उक्त अवसरमा कृष्ण सेन पत्रकारिता पुरस्कारबाट छलिलाल विश्वकर्मा र यानेन्द्र जिसीलाई पुरस्कृत गरिएको थियो।