शनिबार, १७ जेठ २०८२
ताजा लोकप्रिय

ओली र देउवा नक्कली गणतन्त्रवादी हुन् : प्रभु साह

बिहीबार, १५ जेठ २०८२, १४ : १८
बिहीबार, १५ जेठ २०८२

काठमाडौँ । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सडकमा तमासा देखाइरहेको टिप्पणी गरेका छन् । अहिलेको संकट समाधानका लागि प्रधानमन्त्री ओलीले राजीनामा दिएर अन्तरिम सरकार गठन गर्नुपर्ने उनको भनाइ छ । 

गणतन्त्र दिवसको सन्दर्भ आज (बिहीबार) आम जनता पार्टी (आजपा) काठमाडौँ उपत्यका विशेष कमिटीको आयोजनामा आयोजित ‘वर्तमान व्यवस्था दलतन्त्र कि गणतन्त्र ?’ विषयक विशेष अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओलीलाई राजीनामा गर्न सुझाव दिए । अहिलेको संकटको समाधान गर्नका लागि अन्तरिम सरकार गठनको आवश्यकता रहेको उनले बताए । 

‘अहिलेको व्यवस्थाले कोही पनि सन्तुष्ट छैनन् । पूर्वराजादेखि अहिलेका दलका राजाहरूले सडकमा नाटक गरिरहेका छन्,’ आजपा अध्यक्ष साहले भने, ‘म प्रधानमन्त्रीलाई भन्न चाहन्छु, सडकमा तमासा गरेर केही हुँदैन । तपाई राजीनामा दिनुस्, देशलाई निकास दिनुस् । अन्तरिम सरकार गठन गरेर अगाडी बढौँ ।’ 

गणतन्त्र नेपालमा हात्तीको देखाउने दाँत जस्तै भएको टिप्पणी गर्दै उनले राजतन्त्रमा पनि पञ्चायतको नाममा जनतालाई झुक्याउने काम भएको स्मरण गरे । गणतन्त्रमा पनि नेताहरुले लुटको समराज्य खडा गरेको बताउँदै उनले अहिलेका नेताहरू भगौडा दलाल वर्गको प्रतिनिधित्व गरिरहेको बताए । 

उनले प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नक्कली गणतन्त्रवादी भएको दाबी गरे । पार्टी एण्ड कम्पनीको शासन व्यवस्था भएकाले नेपाली जनता असन्तुष्ट रहेको बताउँदै उनले नक्कली गणतन्त्रवादी ओली र देउवाले गणतन्त्रकै बद्‍नाम गरेको बताए । 

‘जोगीको भेषमा सीताको अपहरण भयो । त्यस्तै गणतन्त्रको नाममा नक्कली गणतन्त्रवादी ओली, देउवा एण्ड कम्पनीको शासन छ । गणतन्त्रको खोल ओढेर लुटको साम्राराज्य खडा गरिएको छ । आम निर्वाचनमा कांग्रेसले एमालेको सरकार बनाउँछौँ र एमालेले कांग्रेसको सरकार बनाउँछौं भनेर मतदातासँग मत मागेको होइन । तर यहाँ अप्राकृतिक, अवैधानिक गठबन्धनले लुटको समराज्य खडा गरिएको छ,’ आजपा अध्यक्ष साहले भने । 

अहिलेको सरकार र गठबन्धनले नेपालमा लुटेर विदेशमा नेपालको पूँजी लैजाने वर्गको संरक्षक भएको बताउँदै उनले सरकारले पनि त्यही वर्गको पक्षपोषणमा जुटेको बताए । जनताको सर्वोच्चतालाई लोकतन्त्र भन्ने गरिएको भए पनि नेपालमा दलको सर्वोच्चता रहेकाले यसलाई लोकतन्त्र मान्न नसकिने साहले बताए । नेपालमा लोकतन्त्र नभई दल र छोटे राजाहरूको लुटतन्त्र र सिन्डिकेट रहेको बताउँदै उनले यसलाई लोकतन्त्र मान्न नसकिने बताए । 

सोही कार्यक्रममा प्रा.डा.गोपिलाल मैनालीले कांग्रेस र एमालेका नेताहरूको तनमन बाइबलमा रहेकाले गणतन्त्र बदनाम भएको बताए । उनले कांग्रेस र एमालेका नेतालाई यथाशीघ्र कुर्सी खाली गर्न चेतावनी दिँदै कुर्सी खाली नगरे आउँदो २०८४ को निर्वाचनमा कांग्रेस र एमाले मुक्त नेपाल बन्ने ठोकुवा गरे । 

गणतन्त्रमा शक्तिको स्रोत जनता भएकाले निरंकुश राजतन्त्र कुनै पनि हालतमा नफर्किने समेत उनले बताए । साथै संसदमा प्रयोग हुने ह्विप सिस्टम खारेज हुनुपर्ने र सांसदलाई जनताको आवाज निर्भीक रूपमा राख्न दिनुपर्ने उनले बताए । अहिले लोकतन्त्र नभई मुलुकमा दलतन्त्र र नेतातन्त्र हावी भएको उनले बताए । 

डा. सुरेन्द्र भण्डारीले नेताहरूको मनोमानी, भ्रष्टाचार, अनियमितताका कारण मुलुक सङ्क्रमणकालीन अवस्थामा पुगेको टिप्पणी गरे । सोही कारण अहिले गणतन्त्रमै गम्भीर प्रश्न उठिरहेको समेत उनले बताए । दलीय दलतन्त्रका कारण अहिले जनता निराश भएको बताउँदै उनले जनतामा असन्तुष्टि बढ्दै गइरहेको बताए । 

दलहरूले जनताको आवश्यकता, चाहना पुरा गर्न नसकेका कारण जनतामा निराशा बढ्दै गइरहेको बताउँदै उनले ठुला दलका कारण लोकतन्त्रको रक्षा हुन नसकेको बताए । एमाले र कांग्रेस जस्ता ठुला दलकै कारण गणतन्त्रमा प्रश्न उठिरहेको बताउँदै उनले पूर्वपञ्चहरुबाट लोकतन्त्रको रक्षा हुन नसक्ने बताए । 

डा.सुन्दर मणि दीक्षितले अहिलेको संसदीय व्यवस्था नेपाली जनताका लागि अभिसाप भएको बताउँदै अर्को व्यवस्थामा जानुपर्ने बताए । संसदीय व्यवस्थामा भ्रष्टाचार, अनियमितता, मनोमानी बढ्दै गइरहेको बताउँदै उनले यही व्यवस्था रहीरहे भोलीको दिनमा नेपाल खारेज हुने टुक्रिनसक्ने चेतावनी समेत उनले दिए । 

आजपा काठमाडौँ उपत्यका विशेष कमिटीका अध्यक्ष देवी पण्डित रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा आजपाका नेताहरू चन्द्र भूषण साह, नारायण पाण्डे, रुपसागर उपाध्याय, बबिता साह, रबिन्द्र सिंह, रञ्जु साह, किशोरी साह लगायतको विशेष सहभागिता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप