शनिबार, १७ जेठ २०८२
ताजा लोकप्रिय
बजेट

बजेटले देखायो मन्त्रीहरूको अवस्था : को कति देखिए प्रभावशाली ?

शुक्रबार, १६ जेठ २०८२, १३ : ५७
शुक्रबार, १६ जेठ २०८२

समाचार सारांश

  • आगामी आर्थिक वर्षका लागि सरकारले १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत गरेको छ।
  • विभिन्न मन्त्रालयको बजेटमा वृद्धि र कमी देखिएको छ, युवा तथा खेलकुद मन्त्रालयको बजेट सबैभन्दा बढी बढेको छ।
  • श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको बजेट सबैभन्दा धेरै घटेको छ, भने मन्त्रीहरूको क्षमता बजेट कार्यान्वयनमा निर्भर रहने देखिन्छ।

काठमाडौँ । बिहीबार सरकारले आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले संघीय संसदको दुवै सदनमा प्रस्तुत गरेको उक्त बजेट प्रतिनिधि सभामा टेबलसमेत भइसकेको छ । 

संसदले पारित गर्न बाँकी रहे पनि सामान्यतया बजेटमा अब कुनै फेरबदल हुँदैन । त्यसैले बजेट वक्तव्यमा उल्लेखित विषय अनुसार नै मन्त्रालयका कार्यक्रम आउने देखिन्छन् । 

अर्थ मन्त्रालयले बजेटमा परेका कार्यक्रम सम्बन्धित मन्त्रालयमा पठाउनेछ । यस आधारमा मन्त्रालयहरूले वार्षिक कार्यक्रम सार्वजनिक गरी बजेट कार्यान्वयन गर्छन् । 

मन्त्रालयमा नेतृत्व गर्ने मन्त्रीहरूको क्षमता भनेको बजेट तथा नीति एवं कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्नु हो, तर बजेटको बेलामा आफ्नो मन्त्रालयलाई धेरै बजेट पार्न सक्नु पनि मन्त्रीको क्षमता मापन गर्ने एउटा तरिका हो । यो हिसाबले हेर्दा केही मन्त्री शक्तिशाली देखिन्छन् भने केही कमजोर देखिएका छन् । 

संघीय सरकारका २२ वटा मन्त्रालयमध्ये यसपटक कुनै मन्त्रालयको बजेट ७३ प्रतिशतसम्म बढ्दा कुनै मन्त्रालयको ४७ प्रतिशतसम्म घटेको देखिन्छ । 

यसपटक १० वटा मन्त्रालयको बजेट दोहोरो अङ्कले बढेको छ । एकल अङ्कले बजेट बढे पनि २ वटा मन्त्रालयले कुल बजेटमा पाएको हिस्सा बढेको देखिन्छ । एकल अङ्कमै बजेट बढेका ७ मन्त्रालयको यसपटक बजेटको हिस्सा घटेको छ । बाँकी ३ मन्त्रालयको भने बजेट नै घटेको छ । यसले बजेटमा ती मन्त्रालयको हिस्सा समेत स्वतः घटेको देखिन्छ । 

  • कुन मन्त्रालयको अवस्था कस्तो ? 

१. युवा तथा खेलकुद मन्त्रालय

यो वर्ष युवा तथा खेलकुद मन्त्रालयको बजेट धेरै बढेको छ । उक्त मन्त्रालयको बजेट ३ अर्ब ५० करोड ४८ लाख रुपैयाँबाट बढेर ६ अर्ब ७ करोड ७४ लाख रुपैयाँ पुगेको हो । यो झण्डै ७३ प्रतिशतको वृद्धि हो । कुल बजेटको आधारमा हेर्दा अघिल्लो वर्ष ०.१८ प्रतिशत हिस्सा रहेको मन्त्रालयको बजेट यसपटक ०.३१ प्रतिशत पुगेको छ । 

अहिले यस मन्त्रालयको जिम्मेवारी तेजुलाल चौधरीले सम्हालिरहेका छन् । उनी कांग्रेसबाट सरकारमा प्रतिनिधित्व गर्छन् ।

२. महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय

यो मन्त्रालयको बजेट यसपटक २९.६० प्रतिशतले बढेको छ । यस अनुसार चालु आर्थिक वर्ष १ अर्ब ६० करोड ४५ रुपैयाँ रहेको यो मन्त्रालयको बजेट यसपटक २ अर्ब ८ करोड ९ लाख रुपैयाँ पुगेको हो । यो कुल बजेटको ०.११ प्रतिशत हो । अघिल्लो वर्ष यस्तो हिस्सा ०.०९ प्रतिशत थियो । 

अहिले यस मन्त्रालयको जिम्मेवारी नवलकिशोर साह सुडीले सम्हालेका छन् । उनी अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबाट सरकारमा प्रतिनिधित्व गर्छन् ।

३. संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

यो वर्ष संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बजेट २९.६२ प्रतिशतले बढेको छ । उक्त मन्त्रालयको बजेट ९ अर्ब १७ करोड १४ लाख रुपैयाँबाट बढेर ११ अर्ब ८८ करोड ७७ लाख रुपैयाँ पुगेको हो । कुल बजेटको आधारमा हेर्दा अघिल्लो वर्ष ०.४९ प्रतिशत हिस्सा रहेको मन्त्रालयको बजेट यसपटक ०.६१ प्रतिशत पुगेको छ । 

अहिले यस मन्त्रालयको जिम्मेवारीमा राजकुमार गुप्ता छन् । उनी एमालेबाट सरकारमा प्रतिनिधित्व गर्छन् ।

४. शहरी विकास मन्त्रालय

विकासे मन्त्रालयको रूपमा चिनिने शहरी विकास मन्त्रालयको बजेट यो वर्ष २७.७५ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षका लागि ९२ अर्ब ६३ करोड ५४ लाख वार्षिक बजेट रहेको उक्त मन्त्रालयलाई आगामी आर्थिक वर्षका लागि १ खर्ब १८ अर्ब ३४ करोड ४४ लाख रुपैयाँ विनियोजन गरिएको छ । यो कुल बजेटको ६.०२ प्रतिशत बराबर हो । अघिल्लो वर्ष यो हिस्सा ४.९८ प्रतिशत थियो । 

अहिले यस मन्त्रालयको जिम्मेवारीमा प्रकाशमान सिंह छन् । उपप्रधानमन्त्री समेत रहेका उनी कांग्रेसबाट सरकारमा पार्टीको नेतृत्वसहित प्रतिनिधित्व गर्छन् ।

५. खानेपानी मन्त्रालय

खानेपानी विकास मन्त्रालयको बजेट यो वर्ष २७.२५ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष २६ अर्ब ६३ करोड ४७ लाख रहेको उक्त मन्त्रालयको बजेट अहिले ३३ अर्ब ८९ करोड ४९ लाख रुपैयाँ पुगेको हो । यो कुल बजेटको १.७३ प्रतिशत बराबर हो । अघिल्लो वर्ष यो हिस्सा १.४३ प्रतिशत रहेको थियो । 

अहिले यस मन्त्रालयको जिम्मेवारीमा प्रदीप यादव छन् । उनी अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबाट सरकारमा प्रतिनिधित्व गर्छन् ।

६. वन तथा वातावरण मन्त्रालय

यो मन्त्रालयको बजेट यसपटक १८.४८ प्रतिशतले बढेको छ । यस अनुसार अघिल्लो वर्ष १५ अर्ब ७० करोड ९१ रुपैयाँ रहेको यो मन्त्रालयको बजेट यसपटक १८ अर्ब ६१ करोड २८ लाख रुपैयाँ पुगेको हो । यो कुल बजेटको ०.९५ प्रतिशत हो । अघिल्लो वर्ष यस्तो हिस्सा ०.८४ प्रतिशत थियो । 

अहिले यस मन्त्रालयको जिम्मेवारी ऐनबहादुर शाहीले सम्हालिरहेका छन् । उनी कांग्रेसबाट सरकारमा प्रतिनिधित्व गर्छन् ।

७. प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको बजेट यो वर्ष १६.१२ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष ५ अर्ब ५९ करोड १७ लाख रहेको उक्त मन्त्रालयको बजेट अहिले ६ अर्ब ४९ करोड ३२ लाख रुपैयाँ पुगेको हो । यो कुल बजेटको ०.३३ प्रतिशत बराबर हो । अघिल्लो वर्ष यो हिस्सा ०.३० प्रतिशत थियो । अहिले यो मन्त्रालयको जिम्मा स्वयं प्रधानमन्त्री केपी शर्मा ओलीले लिएका छन् ।  

८. परराष्ट्र मन्त्रालय

परराष्ट्र मन्त्रालयको बजेट यसपटक १५.८५ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष ६ अर्ब ७७ करोड ४२ रुपैयाँ बजेट रहेको यो मन्त्रालयमा आगामी आर्थिक वर्षका लागि ७ अर्ब ८४ करोड ८१ लाख रुपैयाँ विनियोजन गरिएको छ । यो कुल बजेटको ०.४० प्रतिशत हो । अघिल्लो वर्ष यस्तो हिस्सा ०.३६ प्रतिशत थियो ।

अहिले यस मन्त्रालयको जिम्मेवारी डा. आरजु राणा देउवाले सम्हालिरहेकी छन् । कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नीसमेत रहेकी उनी कांग्रेसबाट सरकारमा प्रतिनिधित्व गर्छिन् ।

९. संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको बजेट यसपटक ११.४९ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षका लागि ११ अर्ब ९१ करोड १५ रुपैयाँ बजेट रहेको यो मन्त्रालयमा आगामी आर्थिक वर्षका लागि १३ अर्ब २७ करोड ९८ लाख रुपैयाँ विनियोजन भएको छ । यो कुल बजेटको ०.६८ प्रतिशत हो । अघिल्लो वर्ष यस्तो हिस्सा ०.६४ प्रतिशत थियो । 

अहिले यस मन्त्रालयको जिम्मेवारी बद्रीप्रसाद पाण्डेले सम्हालिरहेका छन् । उनी कांग्रेसबाट सरकारमा प्रतिनिधित्व गर्छन् ।

१०. स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बजेट यसपटक ११.१० प्रतिशतले बढेको छ । यस अनुसार अघिल्लो वर्ष ८६ अर्ब २३ करोड ८९ रुपैयाँ रहेको यो मन्त्रालयको बजेट यसपटक ९५ अर्ब ८० करोड ७४ लाख रुपैयाँ पुगेको हो । यो कुल बजेटको ४.८८ प्रतिशत हो । अघिल्लो वर्ष यस्तो हिस्सा ४.६४ प्रतिशत थियो ।

अहिले यस मन्त्रालयको जिम्मेवारी प्रदीप पौडेल सम्हालिरहेका छन् । उनी कांग्रेसबाट सरकारमा प्रतिनिधित्व गर्छन् ।

११. भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको बजेट यसपटक ९.७७ प्रतिशतले बढेको छ । यस अनुसार अघिल्लो वर्ष ६ अर्ब ८२ करोड ६२ रुपैयाँ रहेको यो मन्त्रालयको बजेट ७ अर्ब ४९ करोड ३६ लाख रुपैयाँ पुगेको हो । यो कुल बजेटको ०.३८ प्रतिशत हो । अघिल्लो वर्ष यस्तो हिस्सा ०.३७ प्रतिशत थियो ।

अहिले यस मन्त्रालयको जिम्मेवारी बलराम अधिकारीले सम्हालिरहेका छन् । उनी एमालेबाट सरकारमा प्रतिनिधित्व गर्छन् ।

१२. उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको बजेट यसपटक ९.२२ प्रतिशतले बढेको छ । यस अनुसार अघिल्लो वर्ष ९ अर्ब २८ करोड २२ रुपैयाँ रहेको यो मन्त्रालयको बजेट यसपटक १० अर्ब ३१ करोड ८१ लाख रुपैयाँ पुगेको हो । यो कुल बजेटको ०.५२ प्रतिशत हो । अघिल्लो वर्ष यस्तो हिस्सा ०.५० प्रतिशत थियो ।

अहिले यस मन्त्रालयको जिम्मेवारी दामोदर भण्डारीले सम्हालिरहेका छन् । उनी एमालेबाट सरकारमा प्रतिनिधित्व गर्छन् ।

१३. सञ्चार तथा सूचना प्रविधि मन्त्रालय

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको बजेट यसपटक ४.९९ प्रतिशतले बढेको छ । यस अनुसार अघिल्लो वर्ष ७ अर्ब ३५ करोड २९ रुपैयाँ रहेको यो मन्त्रालयको बजेट यसपटक ७ अर्ब ७१ करोड ९९ लाख रुपैयाँ पुगेको हो । यो कुल बजेटको ०.३९३ प्रतिशत हो । अघिल्लो वर्ष यस्तो हिस्सा ०.३९५ प्रतिशत थियो । यसपटक बजेट बढे पनि हिस्सा भने सामान्य रूपमा घटेको देखिन्छ ।

अहिले यस मन्त्रालयको जिम्मेवारी पृथ्वी सुब्बा गुरुङले सम्हालिरहेका छन् । सरकारका प्रवक्तासमेत रहेका उनी एमालेबाट सरकारमा प्रतिनिधित्व गर्छन् ।

१४. गृह मन्त्रालय

सबैभन्दा धेरै कर्मचारी हुने मन्त्रालयको रूपमा रहेको गृह मन्त्रालयको बजेट यसपटक ४.७० प्रतिशतले बढेको छ । चालु आर्थिक वर्ष १ खर्ब ९९ अर्ब २४ करोड ३४ रुपैयाँ बजेट रहेको यो मन्त्रालयमा आगामी आर्थिक वर्षका लागि २ खर्ब ८ अर्ब ६२ करोड ४४ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । यो कुल बजेटको १०.६२ प्रतिशत हो । अघिल्लो वर्ष यस्तो हिस्सा १०.७१ प्रतिशत थियो । यसपटक बजेट बढे पनि हिस्सा भने घटेको देखिन्छ । 

अहिले यस मन्त्रालयको जिम्मेवारी रमेश लेखकले सम्हालिरहेका छन् । उनी कांग्रेसबाट सरकारमा प्रतिनिधित्व गर्छन् ।

१५. शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय

सबैभन्दा धेरै बजेट रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षको बजेट ३.६८ प्रतिशतले बढेको छ । २ खर्ब ३ अर्ब ६६ करोड २० रुपैयाँ वार्षिक बजेट रहेको यो मन्त्रालयलाई आगामी आर्थिक वर्षका लागि २ खर्ब ११ अर्ब १६ करोड ६९ लाख रुपैयाँ विनियोजन भएको छ । यो कुल बजेटको १०.७५ प्रतिशत हो । अघिल्लो वर्ष यस्तो हिस्सा १०.९४ प्रतिशत थियो । यो मन्त्रालयको बजेट हिस्सा पनि यो वर्ष घटेको देखिन्छ । 

अहिले यस मन्त्रालयको जिम्मेवारी रघुजी पन्तले सम्हालिरहेका छन् । उनी एमालेबाट सरकारमा प्रतिनिधित्व गर्छन् ।

१६. रक्षा मन्त्रालय

रक्षा मन्त्रालयको बजेट यसपटक ३.५७ प्रतिशतले बढेको छ । यस अनुसार चालु आर्थिक वर्ष ५९ अर्ब ८७ करोड १४ रुपैयाँ बजेट पाएको यो मन्त्रालयले आगामी आर्थिक वर्षका लागि ६२ अर्ब १ करोड २१ लाख रुपैयाँ पाएको छ । यो रकम कुल बजेटको ३.१५ प्रतिशत हो । अघिल्लो वर्ष यस्तो हिस्सा ३.२२ प्रतिशत थियो । यो मन्त्रालयको बजेट हिस्सा पनि यो वर्ष घटेको देखिन्छ । 

अहिले यस मन्त्रालयको जिम्मेवारी मानवीर राईले सम्हालिरहेका छन् । उनी एमालेबाट सरकारमा प्रतिनिधित्व गर्छन् ।

१७. अर्थ मन्त्रालय

अर्थ मन्त्रालयको बजेट यसपटक १.६४ प्रतिशतले बढेको छ । यस अनुसार चालु आर्थिक वर्ष ४८ अर्ब ६१ करोड ५५ रुपैयाँ बजेट रहेको यो मन्त्रालयलाई आगामी आर्थिक वर्षका लागि ४९ अर्ब ४१ करोड ४१ लाख रुपैयाँ उपलब्ध गराइएको छ । यो कुल बजेटको २.५२ प्रतिशत हो । अघिल्लो वर्ष यस्तो हिस्सा २.६१ प्रतिशत थियो । यो संघ अन्तर्गतको बजेट विनियोजन हो । अघिल्लो वर्ष प्रदेश तथा स्थानीय तहमा जाने रकमसमेत जोडेर २ खर्ब २२ अर्ब रुपैयाँ देखाइएकोमा यो वर्ष यसलाई छुट्टै राखिएकाले संघीय खर्चलाई मात्रै समावेश गरेर तुलना गरिएको हो । 

अहिले यस मन्त्रालयको जिम्मेवारी विष्णु पौडेलले सम्हालिरहेका छन् । उपप्रधानमन्त्री समेत रहेका उनी एमालेबाट सरकारमा प्रतिनिधित्व गर्छन् ।

१८. भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय

सबैभन्दा ठुलो विकासे मन्त्रालयको रूपमा रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट यसपटक ०.९७ प्रतिशतले बढेको छ । यस अनुसार चालु आर्थिक वर्ष १ खर्ब ५० अर्ब ५३ करोड २१ रुपैयाँ बजेट रहेको यो मन्त्रालयलाई यसपटक १ खर्ब ५१ अर्ब ९९ करोड ५३ लाख रुपैयाँ विनियोजन गरिएको छ । यो कुल बजेटको ७.७४ प्रतिशत रकम हो । अघिल्लो वर्ष यस्तो हिस्सा ८.०९ प्रतिशत थियो । यो मन्त्रालयको बजेट हिस्सा पनि यो वर्ष घटेको देखिन्छ । 

अहिले यस मन्त्रालयको जिम्मेवारी देवेन्द्र दाहालले सम्हालिरहेका छन् । उनी एमालेबाट सरकारमा प्रतिनिधित्व गर्छन् । 

१९. कृषि तथा पशुपंक्षी विकास मन्त्रालय

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको बजेट यसपटक ०.३३ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षका लागि ५७ अर्ब २९ करोड ५ रुपैयाँ बजेट पाएको यो मन्त्रालयले आगामी आर्थिक वर्षका लागि ५७ अर्ब ४७ करोड ९४ लाख रुपैयाँ बजेट पाएको छ । यो कुल बजेटको २.९३ प्रतिशत हो । अघिल्लो वर्ष यस्तो हिस्सा ३.०८ प्रतिशत थियो । 

अहिले यस मन्त्रालयको जिम्मेवारी रामनाथ अधिकारीले सम्हालिरहेका छन् । उनी कांग्रेसबाट सरकारमा प्रतिनिधित्व गर्छन् ।

२०. ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको बजेट यसपटक १.७७ प्रतिशतले घटेको छ । यस अनुसार चालु आर्थिक वर्ष ८७ अर्ब ५५ करोड ९९ रुपैयाँ बजेट रहेको मन्त्रालयले आगामी आर्थिक वर्षका लागि ८६ अर्ब ८८ लाख रुपैयाँ पाएको छ । यो कुल बजेटको ४.३८ प्रतिशत हो । अघिल्लो वर्ष यस्तो हिस्सा ४.७१ प्रतिशत थियो । 

अहिले यस मन्त्रालयको जिम्मेवारी दीपक खड्काले सम्हालिरहेका छन् । उनी कांग्रेसबाट सरकारमा प्रतिनिधित्व गर्छन् ।

२१. कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय

सबैभन्दा कम बजेट रहेको कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयको बजेट यसपटक १.७८ प्रतिशतले घटेको छ । यस अनुसार अघिल्लो वर्ष ५४ करोड ५३ रुपैयाँ रहेको यो मन्त्रालयको बजेट यसपटक ५३ करोड ५६ लाखमा झरेको हो । यो कुल बजेटको ०.०२७ प्रतिशत हो । अघिल्लो वर्ष यस्तो हिस्सा ०.०२९ प्रतिशत थियो । 

अहिले यस मन्त्रालयको जिम्मेवारी अजय कुमार चौरासियाले सम्हालिरहेका छन् । उनी कांग्रेसबाट सरकारमा प्रतिनिधित्व गर्छन् ।

२२. श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय

यसपटक श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको बजेट सबैभन्दा धेरै ४७.०९ प्रतिशतले घटेको छ । यस अनुसार अघिल्लो वर्ष ८ अर्ब ९ करोड ९७ रुपैयाँ रहेको यो मन्त्रालयको बजेट यसपटक ४ अर्ब २८ करोड ४८ लाखमा झरेको हो । यो कुल बजेटको ०.२२ प्रतिशत हो । अघिल्लो वर्ष यस्तो हिस्सा ०.४४ प्रतिशत थियो ।

अहिले यस मन्त्रालयको जिम्मेवारी शरदसिंह भण्डारीले सम्हालिरहेका छन् । उनी लोकतान्त्रिक समाजवादी पार्टीबाट सरकारमा प्रतिनिधित्व गर्छन् ।

1

2

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शंकर अर्याल
शंकर अर्याल

अर्याल रातोपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप