बुधबार, २१ जेठ २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ट्यारिफको विषयमा अमेरिका र चीनबिच फेरि बिग्रियो सम्बन्ध

सोमबार, १९ जेठ २०८२, १५ : ४५
सोमबार, १९ जेठ २०८२

समाचार सारांश

  • अमेरिकाले व्यापार सम्झौताको उल्लङ्घन गरेको भन्दै चीनले कडा कदम चाल्ने बताएको छ। दुई देशबीच आयातमा ट्यारिफ घटाउने सहमति भए पनि अमेरिकाले सम्झौतालाई कमजोर पारेको चीनको आरोप छ।
  • चीनले अमेरिकी कदमहरूले चिनियाँ कम्पनीहरूलाई कम्प्युटर चिप डिजाइन सफ्टवेयरको बिक्री रोक्ने र चिनियाँ विद्यार्थीहरूको भिसा रद्द गर्ने जस्ता कार्य गरेको बताएको छ।
  • ट्रम्प र सी जिनपिङबीचको वार्ता चाँडै हुने संकेत देखिएको छ, तर अमेरिकाले स्टिल र आल्मुनियममा लाग्ने कर बढाउने घोषणा गरेको छ, जसले चीनसँगको सम्बन्ध थप जटिल बनाउने देखिन्छ।

बेइजिङ । अमेरिकाले आफूसँग भएको व्यापार सम्झौताको गम्भीर उल्लङ्घन गरेको भन्दै आफ्नो हितको रक्षा गर्न कडा कदम चाल्ने चीनले बताएको छ । गत महिना जेनेभामा भएको वार्तामा दुई देशले एक अर्काबाट आयात गरिएका सामानहरूमा ट्यारिफ उल्लेख्य मात्रामा घटाउन सहमति जनाउँदै सम्झौता गरेका थिए । तर अमेरिकाले सो सम्झौतालाई गम्भीर रूपमा कमजोर पारेको चीनको वाणिज्य मन्त्रालयले बताएको छ । 

अमेरिकी कार्यहरूले जनवरीमा चिनियाँ नेता सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिच भएको फोन वार्तामा भएको सहमतिको पनि गम्भीर उल्लङ्घन गरेको मन्त्रालयका प्रवक्ताले भनेका छन् ।

चीनले सम्झौताको घोर उल्लङ्घन गरेको ट्रम्पले बताएपछि चीनबाट यस्ता यी टिप्पणीहरू आएका हुन् । अमेरिकी राष्ट्रपतिले यसबारे थप विवरण दिएका थिएनन् । व्यापार प्रतिनिधि जेमिसन ग्रीरले चाहिँ चीनले सम्झौता अन्तर्गत गैर–ट्यारिफ अवरोधहरू हटाउने प्रक्रिया पालना गरेको छैन । 

मे महिनामा जेनेभा बैठकमा भएको व्यापार सम्झौता अन्तर्गत, अमेरिकाले चीनबाट आयात गरिएका सामानहरूमा लाग्दै आएका ट्यारिफ १४५ प्रतिशतबाट घटाएर ३० प्रतिशतमा पुर्‍याएको थियो । चीनले पनि अमेरिकी सामानहरूमा लगाइएको ट्यारिफ १२५ प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारेको थियो । 

के भन्दैछ चीन ? 

अमेरिकाले सम्झौताको उल्लङ्घन गरेर चिनियाँ कम्पनीहरूलाई कम्प्युटर चिप डिजाइन सफ्टवेयरको बिक्री रोक्ने, चिनियाँ प्राविधिक कम्पनी हुवावेले बनाएको चिपको प्रयोग विरुद्ध चेतावनी दिने र चिनियाँ विद्यार्थीहरूको भिसा रद्द गर्ने जस्ता काम गरेको चीनको भनाइ छ । सम्झौताका अघि दुवै देश कयौँ व्यापारिक मुद्दाहरूमा दुई धारमा उभिएका थिए । तर एक्कासि जेनेभामा दुई पक्षबिच सहमति भएपछि कयौँ विश्लेषकहरू छक्क परेका थिए ।

यो सम्झौताले अमेरिका र चीनबिच आमनेसामने वार्ता गर्दा सम्झौता सम्भव छ भनेर पनि देखाएको थियो । तर, अब फेरि दुई देशले एक अर्का विरुद्ध तिखो बयानबाजी सुरु गरेका छन् । यसले विद्यमान सम्झौता नाजुक भएको देखाएको छ भने दीर्घकालीन व्यापार सम्झौतामा पुग्नु कति चुनौतीपूर्ण हुनसक्छ भनेर पनि छर्लङ्ग पारेको छ ।

पछिल्लो समय दुवै देशले एक अर्कालाई लगाइरहेको आरोपहरूले अमेरिका र चीनबिचको वार्ता राम्रो नभएको सङ्केत गरे पनि, आइतबार ह्वाइट हाउसका दुई शीर्ष अधिकारीहरूले डोनाल्ड ट्रम्प र सी जिनपिङले चाँडै वार्ता गर्न सक्ने सङ्केत गरेका थिए । 

के गर्ला अब अमेरिका ?

व्यापारको विवरण सी र ट्रम्पको वार्तापछि स्पष्ट हुने अमेरिकी अर्थमन्त्री स्कट बेसान्टले बीबीसीको भगिनी च्यानल सीबीएस न्यूजसँगको कुराकानीमा भनेका छन् । तर उनले ती वार्ता कहिले हुनेछ भनेर चाहिँ भनेनन् ।

दुई नेताहरू बिचको वार्ता यसहप्ता अपेक्षित भएको र दुवै पक्ष वार्ता गर्न इच्छुक भएको राष्ट्रिय आर्थिक परिषद्का निर्देशक केभिन ह्यासेटले एबीसी न्युजलाई भने ।

‘मुख्य कुरा यो हो कि हामीले चाहेको जस्तो नहुने कुराहरूको लागि तयार हुनुपर्छ,’ ह्यासेटले सम्भावित वार्ताहरूको बारेमा भने । तर त्यस्ता सम्झौताहरू हुनुभन्दा पहिले तल्लो तहमा यसलाई अन्तिम रूप दिइयोस् अनि त्यसपछि मात्र तिनीहरूलाई राष्ट्रपति समक्ष प्रस्तुत होस् भन्ने चीन चाहन्छ । 

गतहप्ता ट्रम्पले हाल २५ प्रतिशत रहेको स्टिल र आल्मुनियममा लाग्ने कर बुधवारदेखि ५० प्रतिशतमा पुर्‍याउने भन्दै घोषणा गरेका थिए । यस कदमले स्थानीय स्टिल उद्योग र राष्ट्रिय आपूर्तिलाई बढवा दिने अनि चीनमाथिको निर्भरता कम गर्ने शुक्रबार पेन्सिलभेनियाको पिट्सबर्गमा एक र्यालीलाई सम्बोधन गर्दै ट्रम्पले भनेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप