बुधबार, २१ जेठ २०८२
ताजा लोकप्रिय

आलमको रिहाइ र भिजिट भिसा काण्ड : दलहरू सुध्रिने छाँटकाँट देखिँदैन

सोमबार, १९ जेठ २०८२, १६ : २८
सोमबार, १९ जेठ २०८२

अहिले नेपालमा देखापरिरहेका राजनीतिक गतिविधि आम निराशाको वरिपरि नै घुमिरहेको पाइन्छ । मान्छेहरू व्यापक रूपले असन्तुष्ट छन् । त्यस्ता असन्तुष्टि सहर–बजारमा मात्र होइन विदेशमा रोजगारी गर्न गएकाहरूमा, नेपालकै सार्वजनिक यातायातहरूमा, चिया पसलहरूमा र गाउँबस्तीका चोकहरूमा छरपस्ट भएको केही अघिदेखि हो । उनीहरू वर्तमान परिस्थितिबाट वाक्कदिक्क, हतास र असन्तुष्ट छन् । उनीहरू परिवर्तन खोज्दै छन् । गणतन्त्र प्राप्तिको यो छोटो अवधिमै यस्तो किन भयो ? आज यो प्रश्नको उत्तर नखोजी लोकतन्त्रवादीलाई धरै छैन । अझ वामपन्थीका लागि यो प्रश्नको उत्तर जीवन–मरणको सवाल हो ।
यसका सन्दर्भमा केही वामपन्थी र केही लोकतन्त्रवादीहरू सरल बाटो खोज्छन् र भन्छन्, ‘सारा असन्तुष्टि प्रतिगमनकारी षड्यन्त्रको उपज हो ।’ उनीहरूको यो भनाइमा अलिकति सत्यता होला, तर पूरै होइन । कसैले सम्पूर्ण अपजस राजावादीलाई दिन्छ भने त्यस्तो सोचलाई वाहियात भन्न सक्नुपर्छ । अनि मात्र हामी समस्याको समाधान गर्ने छलफल प्रारम्भ गर्न सक्छौँ ।

यो साँचो हो कि २०४७ सालमा सक्रिय राजतन्त्र अन्त्य भएपछि सबै क्षेत्रमा उल्लेख गर्न लायक पर्याप्त काम भएका छन् । यो कुरा तथ्याङ्कले नै बोलेका छन् । तथापि प्राप्त यी उपलब्धिले पनि मान्छेहरू सन्तुष्ट हुन सकेनन् । किनकि मान्छेका आवश्यकतामा निरन्तर हुने परिवर्तनले यस्तो हुन्छ । तत्कालीन समाजले तत्कालीन आवश्यकता पूरा गर्ने हो, अनि मात्र मान्छेहरू सन्तुष्ट हुन्छन् । हिजोको आवश्यकता आज पूरा भएर हुँदैन, आजको आवश्यकता आज पूरा हुनुपर्छ । अन्यथा मान्छेहरू असन्तुष्ट हुन्छन् र विद्रोह गर्छन् । यतिखेर हामी त्यस्तै एउटा विद्रोहको सँघारमा छौँ ।

यो मान्न सकिन्छ, केही–केही सन्दर्भमा प्रतिगामीले गलत भाष्य निर्माण गरे होला, धेरैजसो सन्दर्भमा भने जनताका असन्तुष्टि जायज छन् । ती जायज असन्तुष्टिमा राजनीतिक दलहरूले प्रस्टीकरण दिनैपर्छ । दलहरू प्रस्टीकरण दिनुको सट्टा सबै कुरा प्रतिगामीहरूको टाउकोमा थोपरेर उम्कने कोसिस गर्दै छन् । निसन्देह भन्न सकिन्छ, यो गलत तरिका हो ।

राजनीतिक दलहरूले जवाफ दिनुपर्छ भनिरहँदा यो पंक्तिकारको आशय अलि बढी वामपन्थी पार्टीहरूमा केन्द्रित छ । अर्थात् वर्तमान गन्जागोल परिस्थिति आउनुमा क्रियाशील पुँजीवादी पार्टीभन्दा वामपन्थी पार्टीहरू बढी जवाफदेही हुनुपर्छ भन्ने हो । किनकि जवाफदेहिताले नै आममान्छेको नेतृत्व गर्ने नैतिक साहस प्राप्त हुन्छ ।

सबभन्दा पहिला त २०६२/६३ मा हामीले ल्याएको गणतन्त्रका सम्बन्धमा सही सूचना जनतामा सम्प्रेषण नै गरेनौँ । त्यतिखेर हामीले स्थापना गरेको आर्थिक र राजनीतिक व्यवस्था पुँजीवादी हो, यसको चरित्र दलाल प्रकृतिको छ र हुन्छ, जसले आम मान्छेका आधारभूत आवश्यकतालाई पूरा गर्दैन भन्न सक्नुपर्दथ्यो । यस्तो भन्न कम्युनिस्टले ठुलो कन्जुस्याइँ गरे । अझ उनीहरू त जनताका बिचमा गएर यही व्यवस्थाभित्र काम गरेर ‘हामी तपाईंलाई सुुखी बनाउँछौँ र मुलुकलाई समृद्ध बनाउँछौँ’ भनेर निरन्तर सफेद झुट बोलिरहे । वास्तवमा उनीहरूको यो झुट सत्तासुख भोग गर्ने याचना मात्र थियो । वर्तमान दलाल नोकरशाही पुँजीवादी व्यवस्थाले औँलामा गन्न मिल्ने मान्छेलाई सुख र समृद्धि त देला तर आममान्छेलाई सुख र समृद्धि दिनै सक्दैनथ्यो । यो व्यवस्थाको चरित्र नै मान्छेको आवश्यकता र समानतामा आधारित विकास हुँदै होइन । यसका सन्दर्भमा व्यवस्थाको चरित्र फेर्न प्रारम्भदेखि नै कम्युनिस्टहरू लाग्नुपथ्र्यो, तर उनीहरू निरन्तर यही व्यवस्थामा समाहित हुँदै गए । त्यसैले त यो व्यवस्थाले अनिवार्य निम्त्याउने आम असन्तुष्टिको नेतृत्व गर्ने हैसियतमा आज कम्युनिस्टहरू रहेनन् । कतिपय वाम एजेन्डाहरू रवि, बालेन र हर्कहरूले खोस्दा कम्युनिस्टहरू हेरेको हेरै भएको कुरा यथार्थ हो ।

हामीले स्थापना गरेको आर्थिक र राजनीतिक व्यवस्था पुँजीवादी हो, यसको चरित्र दलाल प्रकृतिको छ र हुन्छ, जसले आम मान्छेका आधारभूत आवश्यकतालाई पूरा गर्दैन भन्न सक्नुपर्दथ्यो ।

मान्छेहरूले कम्युनिस्टप्रति ठुलो भरोसा गरेकै थिए । शङ्काको सुविधा नपाएका होइनन् तर जति जनताले भरोसा गरे त्यही अनुपातमा उनीहरू थप झुट बोलिरहे, सत्तासुख भोगिरहे । पुँजीवादीसँग जुध्नुपर्ने कम्युनिस्टहरू सत्तासुखका लागि आफैँभित्र लडिरहे । पुँजीको दलाल चरित्रलाई निषेध गरेर उद्यमशील पुँजीका पक्षमा उभिनुपर्ने कम्युनिस्टहरू दलाल पुँजीवादको इमानदार औजार बन्न तँछाड–मछाड र आपसी प्रतिस्पर्धामा तल्लिन रहे । यो प्रवृत्ति आजसम्म यथावत् छ । दलाल पुँजीवादले थोपरेका समस्या र उत्पन्न भएका असन्तुष्टिको नेतृत्व कम्युनिस्टले गर्नपर्ने होइन ? बैङ्क, सहकारी र लघुवित्तले घरबारविहीन बनाएका आम जनताको आवाज कम्युनिस्टले उठाउनुपथ्र्यो । यो मुद्दा दुर्गा प्रसाईंजस्ता सामाजिक ‘लफङ्गा’ले उठाएपछि प्रतिगमनकारीको लोकतन्त्रविरोधी प्रदर्शनमा भिड बढ्नु के अस्वाभाविक भयो र !

मान्छेहरूको निराशा बढ्ने क्रम आज पनि निरन्तर जारी छ । सत्तामा बस्नेहरूको बेइमानी अझै घटेको छैन । आलमको रिहाइ र भिजिट भिसा काण्डबाट के प्रमाणित हुन्छ भने दलहरू आज पनि सुध्रिने छाटँकाँटमा छैनन् । विगतमा वामपन्थी पार्टीहरूमध्ये सबैभन्दा भरोसायोग्य र लोकप्रिय मानिएको एमाले भन्ने पार्टी आज दुई पार्टी प्रणालीको वकालत गरिरहेको छ । त्यसबाहेक उसले पुँजीवादसँग जुध्ने बलियो वामपन्थी पार्टी होइन, कमल थापा र लिङ्देनसहितको बलियो राष्ट्रिय पार्टी निर्माणको कल्पना गर्दै छ । त्यति मात्र होइन नेपालका दलहरूमध्ये सबैभन्दा पहिले आन्तरिक लोकतन्त्रको अभ्यास गर्ने एमाले आज आन्तरिक लोकतन्त्रलाई निषेध गर्ने ठाउँमा पुगेको छ । पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई निषेध गरेर सिङ्गो राजकीय निकायमा लोकतन्त्र खोज्ने उल्टो बाटोमा हिँडेर कहाँ पुगिन्छ ? यही पथमा अन्य वाम पार्टीहरू पनि दौडिरहेका छन् ।

आन्तरिक लोकतन्त्र समाप्त पारिएको राजनीतिक दलहरूमा दलको पञ्चायतीकरण र नेताहरूको राजतन्त्रीकरणको प्रक्रिया निरन्तर सबल बन्दै छ । यसबाट निम्तिएको दल प्रमुखको जयजयकार र पञ्चायतीकालमा राजाको जयजयकारमा अब भिन्नता रहेन । ‘आई लभ यु फलानो’ नभनीकन दलभित्र क्रियाशील हुनै नपाइने परिस्थिति निर्माण भयो । आज पनि कम्युनिस्ट पार्टीहरूभित्र आलोचनात्मक चेत राख्नेहरूको कत्लेआम जारी छ । एउटा नेता अति वृद्ध भई र्‍याल–सिँगान काढेर पनि सत्ता छाड्न अस्वीकार गर्छ, तर ऊ आफैँ युवा विद्यार्थीलाई क्रियाशील हुने उमेर निर्लज्ज ढङ्गले निर्धारण गर्दै छ । यसरी युवाहरूको नयाँ भर्ना प्रक्रिया अवरुद्ध बनेपछि कत्लेआमबाट जेनतेन जोगिएका ६०/६५ वर्षका कार्यकर्ता आफूलाई युवा नेता भन्न बाध्य छन् । आज साँच्चिकै राजनीतिक प्रक्रियामा सामेल हुन चाहने नवयुवा दलहरूको दायराबाट बाहिर पारिएका छन् । त्यस कारण तिनीहरू राजनीतिमा क्रियाशील हुन रवि, दुर्गा, बालेन र लिङ्देनको पछि लाग्न दिन प्रतिदिन बाध्य हुँदै छन् । दलहरूको सिन्डिकेट अन्त्य गरेर वृद्ध नेताले स्वेच्छिक अवकाश लिने हो भने आज पनि प्रतिगमनकारीको पञ्जाभित्र थुनिएका हजारौँ युवालाई उद्धार गर्न सकिन्छ । तत्पश्चात् सिङ्गो समाजको लोकतान्त्रिक प्रक्रिया स्वतः प्रारम्भ हुन्छ । यस्तो परिस्थिति निर्माण गर्न नसकेसम्म नसामा झ्याप भएर सडकमा कुकुरको सिरानी हालेर सुत्ने शाह वंशका उत्तराधिकारीले पुनः राजमुकुट पहिरिने दुस्साहस गर्न छाड्नेछैनन् ।

वर्तमान व्यवस्था कम्युनिस्टहरूको अभीष्ट होइन, यो व्यवस्थालाई टेकेर अथवा प्रयोग गरेर समाजवादमा पुग्ने लक्ष्य हो र हुनुपर्छ । यसतर्फ कम्युनिस्टले ठ्याम्मै काम गरेका छैनन् । बरु यो व्यवस्थाको प्रतिरक्षामा मान्छेहरूले यथास्थितिवादी ठान्ने हदसम्म उनीहरू उभिएका छन् । यही व्यवस्थाबाट मान्छेलाई सुख र मुलुकलाई समृद्ध बनाउने झुटको वितरण गर्दै छन् । आजको दिन व्यवस्था र यसले निर्माण गरेको अवस्था परिवर्तन गर्ने हुटहुटी कम्युनिस्टमा समाप्त भएको पाइन्छ । त्यस कारण त आज नेपालका कम्युनिस्टहरू दिन प्रतिदिन अलोकप्रिय हुँदै छन् । यो खाली ठाउँमा प्रतिगमनकारीहरू सलबलाउनु स्वाभाविकै हो ।
समाधान के हो त ? समाधान पनि प्रस्टै छ, नेपालका कम्युनिस्टले आफ्ना दार्शनिक र सैद्धान्तिक मान्यतामा फेरि फर्किनुपर्छ । आजको विश्व पुँजीवाद र त्यसको हस्तक्षेपबाट प्रभावित हाम्रा राजकीय नीति, हाम्रो अर्थतन्त्रको चरित्र, हाम्रो संवैधानिक व्यवस्था र कानुन फेरबदल गर्न तयार हुनुपर्छ । त्यस्तो तयारी वा प्रयत्नले स्वतः घर्षण र सङ्घर्ष निम्त्याउँछ । साँच्चिकै यो सङ्घर्षको तयारी गर्ने हो भने तदनुकुलकै सङ्गठन आवश्यक पर्छ । आजका सङ्गठनहरू सङ्घर्षका लागि बनाइएका होइनन्, ती त चुनावी सङ्गठन मात्र हुन् । चुनावलाई ध्यानमा राखेर बनाइएका सङ्गठनले सङ्घर्षको दबाब थेग्न सक्दैन । सङ्घर्ष सिर्जना गर्ने सङ्गठन विचारधारात्मक बहस र आन्तरिक प्रतिस्पर्धाले मात्र निर्माण हुन्छ ।

आलमको रिहाइ र भिजिट भिसा काण्डबाट के प्रमाणित हुन्छ भने दलहरू आज पनि सुध्रिने छाटँकाँटमा छैनन् । विगतमा वामपन्थी पार्टीहरूमध्ये सबैभन्दा भरोसायोग्य र लोकप्रिय मानिएको एमाले भन्ने पार्टी आज दुई पार्टी प्रणालीको वकालत गरिरहेको छ ।

त्यसबाहेक आफ्ना दार्शनिक मान्यता र सिद्धान्तमा फर्किएको कम्युनिस्ट पार्टीको निर्माण आजको प्रमुख आवश्यकता हो । विश्व पुँजीवाद र त्यसका नेपाली प्रतिनिधिसँग सबै मोर्चामा सङ्घर्ष गर्ने लक्ष्य बोकेको कम्युनिस्ट पार्टी निर्माण गर्ने उद्देश्यमा सबै वाम घटक पुगे भने पार्टी एकता पनि स्वतः हुन्छ । आजको विभाजन प्रमुख नेताहरूको भगवान् हुने चाहना र सत्ता लम्पटताले निम्त्याएको हो ।

आजका सबै राजनीतिक दलका प्रमुख नेताहरूले स्वेच्छिक अवकाशको बाटो अवलम्बन गर्ने साहस नगरीकन यी सारा कामको सुरुआत हुनै सक्दैन । यो प्रस्तावमा कुनै दुराग्रह छैन । परिस्थितिले यो माग गरिसक्यो । प्रमुख नेतालाई इतिहासमा अमर हुने यो सुनौलो र अन्तिम अवसर पनि हो । अन्यथा इतिहास कुँडाकुर्कटलाई पन्छाउँदै अघि बढ्छ ।

यति भनिसकेपछि एउटा कुरा थपौँ, प्रतिगमनको सलबलाहट हाम्रा आफ्नै नालायकीको जगमा उभिएको मात्र हो, हामी नालायक भयौँ भने लायक अनिवार्य जन्मन्छन् । फेरि पनि समाज पछाडि फर्कंदैन । शाहवंशीय आवाराले मुख नमिठ्याए हुन्छ ।

(अर्याल नेकपा एकीकृत समाजवादीका प्रचार विभाग उपप्रमुख हुन् ।)
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दामोदर अर्याल
दामोदर अर्याल
लेखकबाट थप