‘अवसर’बाट चुके राइड सेयरिङ चालक, अफलाइन र बार्गेनिङको मारमा यात्रु

समाचार सारांश
- सार्वजनिक यातायात व्यवसायीले राइड सेयरिङको विरोधमा देशव्यापी यातायात बन्द गरे। यसले यात्रुहरूलाई सास्ती भयो र राइड सेयरिङको चर्को शुल्क तिर्न बाध्य बनायो।
- यातायात बन्दको समयमा राइड सेयरिङ एपहरूले भाडा बढाएको गुनासो आएपछि, पठाओले नियमित शुल्क मात्रै लिइरहेको जनायो र अफलाइन मोलमोलाई गर्ने राइडरहरूलाई प्रहरीले कारबाही गर्यो।
- उपभोक्ता अधिकारकर्मीले यातायात बन्दको विरोध गर्दै सरकारले राइड सेयरिङलाई व्यवस्थित गर्नुपर्ने र गुणस्तरीय सेवा दिनुपर्नेमा जोड दिए।
काठमाडौँ । सोमबार सार्वजनिक यातायात व्यवसायीले राइड सेयरिङ विरुद्धमा आन्दोलनमा उत्रिए । देशैभर यातायात ठप्प पारेर व्यवसायी आन्दोलनमा उत्रिए ।
बिहान एक दुई सवारी सञ्चालनमा आए पनि अफिस टाइममा सार्वजनिक यातायात सडकमा भेटिएनन् । व्यवसायीको आन्दोलनका कारण हिँडेरै यात्रा गर्दा एकातिर यात्रुहरूले निकै सास्ती भोग्नुपर्यो । अर्कातिर चर्को शुल्क तिरेर राइड सेयरिङ प्रयोग गर्न बाध्य भए ।
धेरैजसो प्रयोगमा आउने पठाओ र इनड्राइभका राइडरहरूले अनलाइनमा यात्रुहरू नलिने र मोलमोलाई गरेको थुपै्र गुनासाहरू आए । अफलाइन बसेर मोलमोलाइ गरेको गुनासो आएपछि नेपाल प्रहरीले सूचना सार्वजनिक गर्दै राइडरहरूले ‘अफलाइन बार्गेनिङ’ गरे उजुरी गर्न आग्रह गर्यो ।
राइडरहरूलाई धेरै भाडा नलिन आग्रह गर्दै, धेरै भाडा लिएको पाइए नजिकको ट्राफिक प्रहरी कार्यालय वा १०३ नम्बरमा फोन गर्न प्रहरीले आग्रह गरेको थियो ।
सार्वजनिक यातायात अवरुद्ध भएको समयमा विभिन्न राइड सेयरिङले भाडा वृद्धि गरेको समाचारहरू आइरहेको वेला राइड सेयरिङ कम्पनी ‘पठाओ नेपाल’ले पठाओ मोबाइल एपमा नियमित शुल्कबाहेक कुनै पनि वृद्धि नभएको जनाएको छ ।
कम्पनीले यात्रुहरूलाई परेको असहज परिस्थितिमा सहजीकरण गर्न पठाओले राइडरहरूलाई कम्पनीको तर्फबाट क्वेस्ट र इन्सेन्टिभ दिएर प्रोत्साहन गरेको पठाओले आफ्नो सामाजिक सञ्जालमार्फत बताइएको छ ।
साथै पठाओले सुरक्षित र सुनिश्चित राइडका आगि अफलाइन यात्रा नगर्न यात्रुहरूलाई अनुरोध गरेको छ ।
‘अफलाइन यात्रा गर्दा विभिन्न व्यक्ति ठगी, डकैती, दुव्र्यवहारमा परेको घटना यस अगाडि नेपाल प्रहरीले नै बताउँदै आएको छ,’ पठाओले लेखेको छ, ‘अफलाइन यात्रा गर्दा सोको रेकर्ड सिस्टममा नहुने, बिमा नहुने र विभिन्न प्रकारका आपराधिक घटनाको जोखिम हुने भएकाले मोबाइल एपबाट मात्रै राइड लिन पठाओले अनुरोध गरेको छ ।
साथै पठाओले केही समस्या पर्दा २४ सै घण्टा पठाइओको कल सेन्टरको नम्बर ०१–५९७००९९ मा सम्पर्क गरी पठाओ राइडसम्बन्धी उजुरी गर्न सक्ने बताएको छ ।
पठाओका प्रबन्ध निर्देशक असिमानसिंह बस्न्यातले पठाओको शुल्क नबढाएको दाबी गरेका छन् ।
‘यात्रुहरूले अनलाइनबाट पठाओ बुक गर्दा नियमित शुल्क छ । बढी शुल्क लिएको छैन,’ उनले भने, ‘नजिकको राइडरले एसेप्ट नगरेर टाढाको राइडरले एसेप्ट गर्दा पिकअप चार्ज लागेको हुनाले बढी शुल्क लागेको हुनसक्छ ।’
यता, यातायात बन्दको मौका छोपेर राइड सेयरिङ एप प्रयोगकर्ताहरूले धेरै भाडा लिएको यात्रुहरूले गुनासो गरेका छन् ।
बढी भाडा असुल्ने सयभन्दा बढी कारबाहीमा
राइड सेयरिङका नाममा अफलाइन बस्ने र चर्को शुल्क असुल गर्ने गरेको पाइएपछि उक्त जरिवाना गरिएको गिरीले बताए । उपत्यका ट्राफिक प्रहरी कार्यालयले पठाओ र इनड्राइभका १०२ जना चालकलाई कारबाही गरेको छ ।
यातायात बन्दको मौका छोपेर धेरै भाडा लिने र अफलाइनमा यात्रु ओसार्न बार्गेनिङ गर्नेहरूलाई कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीले रातोपाटीलाई बताए ।
धेरै भाडा असुलेको आरोपमा ६ जनालाई कारबाही गरिएको छ । ९६ जनालाई ‘अन्य’ शीर्षकमा कारबाही गरिएको एसपी गिरीले बताए । उनले भने, ‘अफलाइन बसेर बार्गेनिङ गर्नेलगायत गतिविधिमा संलग्नहरू ९६ जनालाई कारबाही गरिएको छ ।’
‘स्वतन्त्रतपूर्वक आवतजावत गर्न पाउने अधिकार हनन भयो’
उपभोक्ता अधिकारकर्मी माधव प्रसाद तिमिल्सिना यातायात अत्यावश्यक वस्तुभित्र पर्ने भएकाले ठप्प पारेर आन्दोलन गर्न नहुने बताउँछन् । उनीहरूका कारण आम उपभोक्ताका अधिकार हनन भएकाले कानुुनी कारबाही हुनुपर्ने उनको तर्क छ । तर सरकारले कारबाही गर्नुपर्नेमा सम्मान गरेको उनले बताए ।
‘नाजायज मागसहितको अराजगताले लाखौँ नागरिकको स्वतन्त्रतपूर्वक आवतजावत गर्न पाउने अधिकार हनन भएको छ । यिनीहरूलाई कानुनी कारबाही गरिनुपर्नेमा गृहमन्त्रालयले सभाहलमा बोलाएर उच्च सम्मान दिने कार्य भएको छ,’ उनले भने, ‘यसले गर्दा अराजक गतिविधि गर्नेको मनोबल उच्च भएको छ ।’
प्रतिस्पिर्धी बजारमा उपभोक्तालाई खुसी बनाउन गुणस्तरीय सेवा दिनु पर्नेमा सार्वजनिक यातायातले उचित सेवा नदिएको उनको भनाइ छ । उनले भने, ‘आज सार्वजनिक यातायात प्रयोग गरेर पैसा तिरेअनुसारको गुणस्तर पाइरहेका छैनौँ । योवेला सरकारलाई सार्वजनिक यातायात सुधार गर्ने उत्तम समय हो । तर सरकारले गलत विषयलाई प्रोत्साहन गरेको छ ।’
आज उदाहरणीय रूपमा सेवा दिनुपर्नेमा बार्गेनिङ गरेर अफलाइनमा जाने मोलमोलाई गरेर चर्को शुल्क असुल्ने काम गरेको उनले बताए ।
‘राइड सेयरिङ आजभन्दा १० वर्ष अघिका ट्याक्सीजस्ता भएका छन् । राइडरहरू चोक–चोकमा बस्ने मोलमोलाई गर्ने गर्छन् । उनीहरूको सेवा यात्रुमैत्री छैनन्,’ उनले भने, ‘उनीहरूविरुद्ध सार्वजनिक यातायात व्यवसायीले सेवा बन्द गरेपछि राम्रो सर्भिस दिनुपर्नेमा चुकेका छन् ।’
पहिला ट्याक्सीको दादागिरी थियो राइड सेयरिङ आएपछि अन्त्य भएको छ । तर राइड सेयरिङलाई सरकारले व्यवस्थित गरिनुपर्ने उनको भनाइ थियो । ‘राइड सेयरिङले रातको समयमा अप्ठेरो स्थितिमा सेवा दिएका छन्,’ उनले भने, ‘कानुनी रुपमा व्यवस्थित गरेर राइड सेयरिङ सञ्चालन गर्न दिनुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकदिवसीय शृङ्खलामा इङ्गल्यान्डसामु निरीह बन्यो वेस्ट इन्डिज
-
भिजिट भिसा प्रकरणबारे संसदमै जवाफ दिन्छु : गृहमन्त्री लेखक
-
राजावादी आन्दोलन रोकिएपछि राप्रपा नेताहरूका लागि सुरक्षाकर्मी पठाउँछौँ : गृहमन्त्री लेखक
-
फिल्म डेब्यु गर्दै ‘सक्किगोनि’की सुरक्षा
-
जातपात मान्ने कानुन र संविधानदेखि जातपात हटाउने कानुन र संविधानसम्म
-
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य