बिहीबार, २२ जेठ २०८२
ताजा लोकप्रिय

बागमती प्रदेशसभा : प्रतिफल योग्य आयोजना निर्माणमा जोड

मङ्गलबार, २० जेठ २०८२, १९ : ४१
मङ्गलबार, २० जेठ २०८२

मकवानपुर । बागमती प्रदेशसभामा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम माथिको छलफल जारी रहेको छ । सोमबारबाट सुरु भएको नीति कार्यक्रम माथिको छलफल मङ्गलवारको बैठकमा पनि जारी रहेको हो ।

बैठकमा प्रदेशसभाका सांसदहरूले सरकारको नीति कार्यक्रमको पक्ष, विपक्ष र सुधारका विषयहरू आफ्ना धारणा राखिरहेका छन् । बैठकमा हालसम्म ३६ जना सांसदहरूले सरकारको नीति कार्यक्रम माथि आफ्ना धारणा राखेका छन् । मङ्गलवारको बैठकमा सत्तारुढ दल र प्रतिपक्षबाट १६ जना सांसदहरूले आफ्नो धारणा राखेका थिए ।

उनीहरुले सरकारको नीति कार्यक्रमलाई बजेटमा जोड्ने गरी अघि बढाउन जरुरी रहेको औँल्याए । प्रतिफल योग्य आयोजना निर्माणमा सरकारको नीति कार्यक्रमलाई बजेट मार्फत अघि बढाउन उनीहरूको सुझाव रहेको छ । विगतमा निर्माण भएका आयोजनाहरूको व्यवस्थापन तथा सञ्चालनमा सरकारले ध्यान दिनुपर्ने उनीहरूको भनाई छ ।

बैठकमा बोल्दै एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले भौतिक संरचना विकासमा कलेजहरूमा अध्ययनरत विद्यार्थीहरूलाई इन्टर्न गर्ने व्यवस्था मिलाउनु पर्ने बताए । उनले आयोजनाहरूको उपयोगिता अध्ययन गरी प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने बताए । 

प्रदेश सरकारले निर्माण गरेका भ्यूटावरहरुको उचित व्यवस्थापन गर्नुपर्ने उनको भनाई छ । सरकारले नीति कार्यक्रम मार्फत प्रस्तुत गरेको शिव सर्किट आयोजनाको उपयोगिता, प्रभावकारिता बारे अध्ययन गर्न जरुरी रहेको उनले बताए । विद्यार्थीहरूलाई रोजगारी र उद्यमशीलतामा जोड्न पदै कमाउँदै कार्यक्रमलाई प्रभावकारी ढङ्गबाट अघि बढाउन जरुरी रहेको उनले बताए ।

एकीकृत समाजवादी पार्टीका सांसद लक्ष्मण लम्सालले बजेट कार्यक्रमलाई उत्पादन र रोजगारीमा केन्द्रीत गर्नुपर्ने बताए । उनले सरकारले राजनीतिक दल भन्दा माथि उठेर प्रदेशको विकासमा जोड दिन जरुरी रहेको बताए ।

बजेट छर्ने प्रवृत्तिलाई अन्त्य गर्नुपर्ने अवस्था रहेको र त्यसतर्फ सरकारले ध्यान दिएर निर्वाचन क्षेत्र लक्षित कार्यक्रम तयार गर्नुपर्ने उनको भनाई छ । सरकारले विपद् प्रभावित नागरिकलाई लक्षित गरेर कार्यक्रमहरू तयार गर्नुपर्नेमा उनले जोड दिए ।

नेकपा माओवादी केन्द्रकी सांसद अमृता नेपालले कृषकहरूको समस्याको विषयमा सरकार गम्भीर हुनुपर्ने बताइन् । सरकारले कृषकहरूको रासायनिक मल नपाउने अवस्था अन्त्य गर्ने गरी व्यवस्थापन गर्नुपर्ने उनले बताइन् । हिमाल संरक्षण तथा आरोहणको विषयमा सरकारको नीति कार्यक्रमले समेट्न नसकेको उनको भनाई छ ।

बैठकमा कांग्रेस सांसद रमेशकुमार महतले प्रदेश लगानी कोष निर्माण गरेर विकास आयोजनाहरू सञ्चालनमा प्रयोग गर्न सकिने बताए । निजी क्षेत्रलाई सार्वजनिक निजी सहकार्य मार्फत अघि बढाउन सक्ने उनले बताए ।

प्रदेशका मन्त्रालयहरूले सेवा र आय क्षेत्र निर्धारण गरेर अघि बढ्नु पर्ने उनको भनाई छ । सरकारले लगानीको क्षेत्र पहिचान गरेर राजस्व सङ्कलनको आधार तयार गर्नुपर्ने उनले बताए ।

सरकारले युवा प्रोत्साहन नीति स्पष्ट कार्यविधि तयार गरेर कार्यक्रमहरू तयार गर्नुपर्ने उनले बताए । प्रदेशमा उत्पादित वस्तुको व्यवस्थापन र नयाँ उत्पादनको अवसरहरू निर्धारण गर्नुपर्ने उनको भनाई छ ।

नेमकिपा संसदीय दलका नेता सुरेन्द्रराज गोर्साईले सरकारले नागरिकहरूलाई ढाँट्ने काम गरेको बताए । सरकारले गर्न नसक्ने कामहरू नीति कार्यक्रममा ल्याएर नागरिकहरूलाई ढाँट्ने काम गरिरहेको बताए ।

प्रदेश सरकारले बजेट विनियोजनको प्रणाली परिवर्तन गर्नुपर्ने बताए । भ्रष्टाचार नहुने ठाउँमा बढी बजेट पठाउनुपर्ने उनले बताए । सरकारले कार्यकर्ता, बिचौलियालाई बाँड बजेट वितरण गर्न नहुने उनको भनाई छ ।

बैठकमा कांग्रेस सांसद तीर्थ लामाले सरकारले विपद् व्यवस्थापनमा बजेटलाई प्राथमिकीकरण गर्नुपर्ने बताए । नागरिकको हितका लागि सरकारले एकल अधिकारको क्षेत्रमा बजेट कार्यक्रमलाई केन्द्रित गर्नुपर्ने उनले बताए ।

बैठकमा राप्रपा सांसद लक्ष्मी घिमिरे, नेमकिपाकी सांसद सृजना सायजु, गिता काफ्ले, मााअ‍ेवादी केन्द्रकी सांसद सुस्पा भुजेल, देवेन्द्र श्रेष्ठ, एमालेका सांसद दिनेशचन्द्र देवकोटा, केशवराज पोखरेल लगायतले धारणा राखेका थिए ।

नीति तथा कार्यक्रम माथिको छलफल बुधबार पनि जारी रहने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?