राजर्षिजनक विश्वविद्यालयको प्रथम दीक्षान्त समारोह जेठ २७ मा हुने

जनकपुरधाम । राजर्षिजनक विश्वविद्यालयको प्रथम दीक्षान्त समारोह जेठ २७ गते हुने भएको छ ।जनकपुरधामस्थित महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रमा मङ्गलवार हुने दीक्षान्त समारोहमा प्रधानमन्त्री एवम् विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले स्नातक तथा स्नातकोत्तर तह उत्तीर्ण विद्यार्थीहरूलाई दीक्षित गर्ने कार्यक्रम तय भएको हो ।
यो विश्वविद्यालयको पहिलो तथा ऐतिहासिक दीक्षान्त समारोहलाई भव्य तथा व्यवस्थित बनाउन रजिष्ट्रार सत्यनारायण साहको संयोजकत्वमा डीनहरू, परीक्षा नियन्त्रण, सह–नियन्त्रणहरू तथा कर्मचारीहरू सम्मिलित १५ सदस्यीय मूल समिति गठन गरिएको छ । साथै, प्राध्यापक, कर्मचारी तथा विद्यार्थी सम्मिलित १६ वटा उपसमिति बनाइएका छन् ।
केन्द्रीय परीक्षा सञ्चालन तथा अभिलेख केन्द्रका अनुसार स्नातक तथा स्नातकोत्तर तह उत्तीर्ण तीन ब्याचका १ सय १५ विद्यार्थी दीक्षित हुन लागेका हुन् । २०८२ साल जेठ ५ गतेसम्म विभिन्न शैक्षिक कार्यक्रममा उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिइसकेका विद्यार्थीहरूले दीक्षित हुन फारम भर्न पाउने पनि केन्द्रले जनाएको छ । दीक्षित हुने विद्यार्थीले दुई जनासम्म अभिभावकलाई पनि समारोहमा सहभागी गराउन सक्ने व्यवस्था मिलाइएको छ ।
समारोहमा विश्वविद्यालय स्तरमा उत्कृष्ट हुने चार, विभिन्न सङ्काय तथा शैक्षिक कार्यक्रममा उत्कृष्ट हुने १०–१० विद्यार्थीलाई पदकसमेत प्रदान गरिने सह परीक्षा नियन्त्रक दिलिपकुमार यादवले जानकारी दिए ।
विश्वविद्यालयका उपकुलपति प्रा. डा. अमरप्रसाद यादवले यो विश्वविद्यालयको पहिलो र ऐतिहासिक दीक्षान्त समारोह रहेकाले यसलाई स्मरणीय बनाउने गरी तयारी भइरहेको जानकारी दिए ।
‘यो समारोहले विश्वविद्यालयको गरिमा र भविष्यको मार्गचित्र प्रस्तुत गर्नेछ’, उनले भने, ‘यसलाई सफल बनाउन सम्पूर्ण विश्वविद्यालय परिवार एकजुट भएर लागिरहेका छौँ ।’
त्यस्तै, रजिष्ट्रार सत्यनारायण साहले भने, ‘राजर्षिजनक विश्वविद्यालयको दीक्षान्त समारोह पहिलोपटक जनकपुरधाममा हुन गइरहेको छ, जुन मधेस प्रदेशवासीका लागि गौरवको विषय हो ।’
दीक्षान्त समारोहअघि प्रधानमन्त्री एवम् कुलपति ओलीको अध्यक्षतामा विश्वविद्यालय सभा (सिनेट) को बैठक बस्ने कार्यक्रमसमेत रहेको छ । सङ्घीय सरकार मातहतको यो विश्वविद्यालयमा हाल चार सङ्कायका १३ वटा शैक्षिक कार्यक्रम सञ्चालन छन् ।
जसमा एमफिल, एमबीए, बीबीए, बीडीबीएम, बीई–सिभिल, बीआईटी, बीसीए, बीएस्सी–सीएसआईटी, बीपीएच, बीएस्सी–एमएलटी, बीएस्सी–एजी, बीए–एलएलबी र बीजेएमसी छन् ।
यो विश्वविद्यालय मातहत पाँच वटा आङ्गिक क्याम्पस छन् भने हालै देशका ६८ वटा कलेजले सम्बन्धन लिएका छन् । धार्मिक एवम् सांस्कृतिक नगरी जनकपुरधाममा अवस्थित यस विश्वविद्यालयको स्थापना २०७४ कार्त्तिक १२ गते भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभाव, आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा
-
आज विश्व खाद्य स्वच्छता दिवस मनाइँदै
-
कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल
-
हेर्नुहाेस् राष्ट्र बैङ्कले आजकाे लागि जारी गरेकाे विदेशी मुद्राको विनिमय दर
-
आज ज्येष्ठ शुक्ल एकादशी: घरका मठमा तुलसीको दल राखिँदै
-
ड्रागन फ्रुटबाट वार्षिक दश लाख आम्दानी गर्दै ७७ वर्षीय बालकृष्ण