युइएफए नेसन्स लिगः स्पेन र पोर्चुगल भिड्दै, यस्तो छ हेड टु हेड अवस्था

समाचार सारांश
- युइएफए नेसन्स लिगको फाइनलमा स्पेन र पोर्चुगल भिड्दै, खेल सोमबार बिहान १२:४५ बजे हुनेछ।
- हेड-टु-हेड रेकर्डमा स्पेन अगाडि, ४० खेलमा स्पेनको १८ जित छ भने पोर्चुगलले ६ जितेको छ।
- पोर्चुगलले लिगको पहिलो संस्करण जितेको थियो भने स्पेन साबिक विजेता हो, दुवै दोस्रो पटक उपाधि जित्न चाहन्छन्।
काठमाडौं। जर्मनीमा जारी युइएफए नेसन्स लिगको फाइनलले यति बेला सबैको ध्यान खिचेको छ।
फुटबल जगतका दुई हस्ती समूह स्पेन र पोर्चुगलबिच नेपाली समयानुसार सोमबार बिहान १२ः४५ सुरु हुने खेल अहिले खेलप्रेमीहरुमा चर्चाको विषय बनेको हो । सोमबार खेलिने खेलमा नतिजा जे भए पनि यो एक ऐतिहासिक खेल हुनेछ । ऐतिहासिक यस अर्थमा कि फुटबल जगतका स्टार खेलाडी रोनाल्डो र उदयमान १७ वर्षीय स्पेनी सनसनी लामिन यामाल एक–आपसमा भिड्दै छन् ।
एक–एक पटक उपाधि हात पारिसकेका दुवै टोली दोस्रो पटक विजेता बन्ने दाउसहित मैदानमा उत्रिन् लागेका दुवै टोलीको हालसम्मको हेड टु हेड अवस्थाको बारेमा रातोपाटीले विशेष सामग्री लिएर उपस्थित भएको छ।
हेड–टु–हेड
हेड–टु–हेड रेकर्डमा स्पेनले पोर्चुगलमाथि भारी अग्रता लिएको छ । हालसम्म खेलिएका ४० खेलमध्ये १८ जितका स्पेन अग्र स्थानमा छ। पोर्चुगलले ६ जितेको छ भने १६ खेलहरू बराबरीमा टुङ्गिएका छन्।
सन् २०१० मा पोर्चुगलको लिस्बनमा खेलिएको मैत्रीपूर्ण खेलमा पोर्चुगलले हालसम्म स्पेनलाई पराजित गरेको छैन । त्यस्ता स्पेनसँग बराबरी र हार बेहोर्दै आएको पोर्चुगलको लागि यो फाइनल सुनौलो मौका हुने छ स्पेनसँगको हेड टु हेट तालिकामा सुधार गर्ने ।
यी दुई टिमले अन्तिम पटक २०२२ मा नेसन्स लिगमा भिडेका थिए, जस स्पेनले १–० ले जितेको थियो।
स्पेनले घर बाहिरका आफ्ना पछिल्ला १० नेसन्स लिग खेलहरूमा अपराजित रहँदै उपाधि भिडन्तमा प्रवेश गरेको हो भने पोर्चुगलले प्रतियोगितामा आफ्ना पछिल्ला नौ खेलहरूमध्ये एउटा मात्र हारेको छ।
फाइनल यात्रा
जर्मनीको एलियान्ज एरिना ५ तारिखमा सम्पन्न खेलमा घरेलु टोली जर्मनीलाई २–१ ले पराजित गर्दै पोर्चुगल फाइनलमा पुगेको छ ।
त्यस्तै, एमएचपी एरिनमा गत शुक्रबार नेपाली समयअनुसार बिहान १२ः४५ मा सम्पन्न रोमाञ्चक खेलमा फ्रान्सलाई ५ः४ ले पराजित गर्दै स्पेन फाइनल प्रवेश गरेको छ ।
लिग उपाधिको अवस्था
स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगलले लिगको पहिलो संस्करण नै आफ्नो नाम पारिसकेको छ। सन् २०१९ मा सम्पन्न पहिलो संस्करणको उपाधि जितेको टोली दोस्रो पटक उपाधि जित्ने होडमा मैदानमा उत्रँदै छ ।
त्यस्तै, साबिकको विजेता स्पेन पनि लगातार दोस्रो पटक उपाधि जितेर कीर्तिमान आफ्नो बनाउने दाउमा मैदान उत्रँदै छ । स्पेनले सन् नेदरल्याण्डमा सम्पन्न २०२३ को संस्करणमा क्रोएसियालाई पेनाल्टीमा ५–४ ले हराउँदै उपाधि जितेको थियो।
यस सिजनसँगै स्पेन तेस्रो पटक लिगको फाइनलमा पुगेको हो । यसअघि पहिलो पटक सन् २०२१ को फाइनल पुगेको थियो । फाइनलमा फ्रान्ससँग २–१ ले पराजित हुँदा पहिलो पटक उपाधि जित्नबाट वञ्चित भएको थियो ।
यता पोर्चुगल भने हालसम्म एक पटक मात्र लिगको फाइनलमा पुग्न सफल भएको छ। सुरुवाती संस्करणमै फाइनल पुग्दै उपाधि जितेको पोर्चुगल त्यसयता यस सिजन दोस्रो पटक फाइनल प्रवेश गरेको हो।