मङ्गलबार, २७ जेठ २०८२
ताजा लोकप्रिय
वार्षिकोत्सव विशेष

‘जेन–जी पुस्तामा ह्युमन टच कम, एक्लोपन बढी छ’

मङ्गलबार, २७ जेठ २०८२

मनोविद् प्रेरणा दाहालले मानसिक स्वास्थ्य क्षेत्रमा आठ वर्षभन्दा बढीको पेसागत अनुभव हासिल गरेकी छन् । क्लिनिकल साइकोलोजीमा स्नातकोत्तर दाहाल अन्नपूर्ण न्युरोलोजिकल इन्स्टिच्युट एन्ड एलाइड साइन्समा कार्यरत छन् ।

विभिन्न पुनर्स्थापना केन्द्रहरूमा आबद्ध रहेकी दाहाल ‘सेन्टर फर अमेरिकन मेडिकल स्पेसलिस्ट्स’ (सीएएमएस)मा पनि कार्यरत छन् । उनै मनोविद् दाहालसँग जेन–जी पुस्ताको मानसिक स्वास्थ्य वा मानसिकताबारे रातोपाटीकर्मी सिर्जना बरालले कुराकानी गरेकी छन् । 

  • जेन–जी युवा पुस्ता कस्तो खालको मानसिक स्वास्थ्यसम्बन्धी समस्याबाट गुज्रिरहेका छन् ? 

मेरो आफ्नो अनुभव अनुसार नेपालमा जेन–जी अर्थात् सन् १९९७ देखि २०१२ को बिचमा जन्मेको पुस्तामा सबैभन्दा धेरै एक्लोपनको समस्या देखिन्छ । कतिपयमा मन बदलिरहने समस्या रहेको देखिन्छ । यो पुस्ताले इच्छा–आकाङ्क्षा एकदमै ठुलो राख्छन् र त्यसलाई चाँडै हासिल गरौँ भन्ने चाहना समेत गर्छन् । 

अघिल्लो पुस्तासँग डिल गर्न नसक्ने वा उहाँहरूसँग आफ्ना भावना राम्रोसँग व्यक्त गर्न नसक्ने समस्या यो पुस्तासँग छ । यो पुस्ताले ठान्छ कि बाबुआमा अथवा परिवारले मलाई बुझ्नै सक्दैनन् । यो पुस्ताले अनलाइनमार्फत धेरै साथी त बनाउँछन् तर नजिकको साथी बनाउन कमैले सक्छन् । किनभने मेरो भावनालाई मेरैविरुद्ध प्रयोग गरिन्छ कि भन्ने खालका सोच अहिलेको जेनेरेसनमा देखिन्छ । 

बच्चा बेलामा भएका नकारात्मक ट्रमा (अभिघात)हरूलाई कसरी व्यवस्थापन गर्ने भन्ने पाटोमा धेरै काम नभएको देखिन्छ । यो समस्या अरू जेनेरेसनमा पनि थियो, खासगरी यो जेन–जी पुस्तामा ‘कोपिङ मेकानिजम्’ अर्थात् आफ्नो समस्यालाई कसरी व्यवस्थापन गर्ने भन्ने पाटोमा अलि कम काम भएको मैले देखिरहेकी छु । 

  • किन यस्तो भइरहेको छ त ? 

पहिलेको समाज र अहिलेको समाज फरक छ । सन् १९९५ भन्दा अगाडिको पुस्ता जसलाई हामी ‘मिलेनियल’ भन्छौँ, जेन–जी (सन् २०१२ सम्मका) र त्यसपछिको पुस्ता— यी तीनवटै पुस्तालाई तुलना गर्दा हामी धेरै भिन्नता पाउँछौँ । अहिलेको समस्या भनेकै यी विभिन्न पुस्ताको सोचाइमा भएको भिन्नता हो । 

जेन–जीभन्दा अघिको पुस्ता इन्टरनेटको युगमा जन्मिएको थिएन । उहाँहरूको बाबुआमासँगको सम्बन्ध, आफ्नो बच्चाहरूसँगको सम्बन्ध सुमधुर थियो । आफ्ना समस्यालाई कसरी सामना गर्ने भन्नेबारे फरक बुझाइ थियो । जेन–जी पुस्तालाई यो विषय थाहा नभएको होइन, के गर्ने भन्ने जानकारी छ तर त्यसलाई लागु गर्नेमा कमी देख्छु म । अहिलेको पुस्ताले समस्याको समाधान इन्टरनेटमा खोज्छन्, अहिले ‘ह्युमन टच’ अर्थात् मानिसबिच आत्मीय भेटघाटमा कमी आएको छ । 

prerana dahal (1)

आफ्ना बच्चाले शैक्षिक रूपमा राम्रो गरुन्, पुरानै तरिकाको टेन टु फाइभ काम गरुन् अथवा परिवारको व्यवसाय छ भने त्यसलाई निरन्तरता दिउन् भन्ने चाहना अघिल्लो जेनेरेसनले राख्नुहुन्छ । अहिलेको जेनेरेसनले भने आफ्नै केही गरौँ भन्ने खालको सोच राख्छ । अहिलेको पुस्ताले शिक्षा पनि ‘सर्टिफिकेट बेस्ड’ लिन चाहन्छ । जस्तो : कुनै कुरा जान्ने मन छ भने सर्टिफाइड गरेर म अगाडि जान्छु भन्नुहुन्छ । धेरै वर्ष र विषय किन पढिराख्ने भन्ने खालको उहाँहरूको कन्सेप्ट छ । 

यो जेनेरेसनमा जसलाई पनि हतार छ— फास्ट मुभिङ, फास्ट अचिभिङ । उहाँहरूमा ४० को उमेरभन्दा अगाडि नै सेटल हुनुपर्छ भन्ने खालको सोच छ । यस पुस्ताले यहाँ बसेर अमेरिका, क्यानडा वा चीनमा के भइरहेको छ भन्ने थाहा पाउँछन् । कुन देशका मानिसको कस्तो जीवनशैली छ भन्ने थाहा पाउँछन् । आज यो विश्व नै सानो गाउँजस्तै बनेको छ । 

यो पुस्तामा नेपालको परिस्थिति हेरेर म यहीसँग ‘एडजस्ट’ गरेर बस्छु भन्ने सोच छैन । त्यसैले धेरै युवा विदेश गइरहेका छन् । यही कुरामा उहाँहरूको आफ्ना बाबुआमासँग टकराब परेको म देख्छु । उहाँहरूलाई आफ्नो बाबुआमाले बुझ्नु नै हुन्न भन्ने लाग्छ, जसबाट एक्लोपनको अनुभूति हुन्छ । मकहाँ आउनुहुने यो पुस्ताका ९० प्रतिशतमा यो समस्या पाएकी छु । अहिलेको पुस्ता र यसअघिको पुस्ताबिच कम्युनिकेसन र सोचाइमै ठुलो ‘ग्याप’ देखिन्छ । 

अहिलेको पुस्ताले समस्याको समाधान इन्टरनेटमा खोज्छन्, अहिले ‘ह्युमन टच’ अर्थात् मानिसबिच आत्मीय भेटघाटमा कमी आएको छ ।

आफूले हुर्काएका र पढाएका छोराछोरीले आफूहरूलाई बुझुन् भन्ने चाहना अभिभावकको हुन्छ नै ! 

यसको एउटै उपाय हो, ‘कम्युनिकेसन’ । दुईबिच कम्युनिकेसनमै ग्याप देख्छु म । अभिभावकहरू आफ्नो अवधारणा लाद्न खोज्नुहुन्छ । एउटा उमेर पुगेपछि मान्छेमा ‘इगो कन्क्रिटाइज’ हुन्छ । त्यसले गर्दा उहाँलाई परिवर्तन स्वीकार्य हुँदैन । यहीँनेर नयाँ पुस्ताको गुनासो रहन्छ, ‘उहाँहरू बुझ्नु नै हुन्न’ । त्यही भएर ‘कम्युनिकेट’ गर्न जरुरी छ । बाबुआमा यो संसारमा सधैँ बाँच्नुहुन्न भन्ने बुझ्न जरुरी छ । हामीले हाम्रो धरातल के हो भन्ने पनि थाहा पाउनुपर्छ ।

‘स्प्रिचुअलिटी’लाई अमेरिकन साइकोलोजिकल एसोसिएसनले मान्यता दिँदैन तर म एकदमै मान्यता दिन्छु । किनभने हामी एउटा आध्यात्मिक समाजमा हुर्किएका हौँ । प्रकृतिसँगको सम्पर्क र सम्बन्ध राम्रो भयो भने हामी फस्टाउँछौँ । गोराहरूले बच्चालाई किन माटोसँग खेलाइरहेका हुन्छन् ? किन ह्युमन टच, ग्रिनरी टच दिन खोजिरहेका हुन्छन् ? तर त्यो हाम्रो पहिलेदेखिकै अभ्यास हो । 

म काम गर्ने अस्पतालमा इन्टर्नसिपमा धेरै जर्मन डाक्टर आउनुहुन्छ । हाम्रो आँखामा उहाँहरूको जीवन वा समाज पूर्ण हो भन्ने छ, तर त्यहाँका मान्छेहरू पनि दुःखी रहेछन् भन्ने पाटो मैले त्यहाँबाट थाहा पाएँ । किनभने नेपालमा इन्टर्नसिपमा आएपछि उहाँहरूले मलाई भन्नुभएको छ— आनी भेटाइदेउ न; लामा भेटाइदेउ न; दी टिबेटियन बुक अफ दी डेड देखाइदेउ; अंग्रेजीमा अनुवाद गरिएको गीता मलाई देखाइदेउ । 

prerana dahal (2)

यहाँ आउने धेरै ‘भेगन’ हुनुहुन्छ, माछामासु केही खानुहुन्न । जर्मनी बियर कल्चर भएको देश हो तर उहाँहरू बियर खाइरहनुभएको छैन । बरु बाबुआमालाई भन्नुहुन्छ— रक्सी पिउने बानी राम्रो होइन है, कृपया यो बन्द गर्नुहोला । उहाँहरू कपडा पनि ब्रान्डेड होइन साधारण लगाउने, खालीखुट्टा हिँड्ने गर्नुहुन्छ । हामी प्रकृतिसँग नजिक हुन आएका हौँ भन्नुहुन्छ । 

यता हामी हाम्रा बाबुआमालाई पछाडि छाडेर ‘माइग्रेट’ गरिरहेका छौँ । उहाँहरू भन्नुहुन्छ— मैले हप्तामा एकचोटि मेरा बाबुआमालाई भेट्छु, यो मेरो बाबुआमाप्रतिको दायित्व हो । 

त्यसैले हामी कस्तो संस्कृतितिर गइरहेका छौँ भनेर सोच्ने बेला आएको छ, जब कि त्यो संस्कृतिमा हुर्किएको मान्छे हामीतिर आइरहनुभएको छ । त्यसैले यो पुस्ताले ‘आई ओपनिङ’ गर्नुपर्‍यो । 

जो प्रकृतिसँग नजिक छ, ‘ह्युमन टच’सँग नजिक छ, त्यो मान्छे नै सफल हुन्छ । मैले सोसल मिडिया र एआईजस्ता नयाँ प्रविधिलाई निरुत्साहित गर्नुपर्छ भनेको होइन, त्यसलाई अधिकतम प्रयोग गर्ने हो तर हामीभित्र जुन ‘एन्टिटी’ छ, त्यसलाई भने बाँकी राख्नुपर्‍यो । 

  • बाबुआमासँग कुराकानी गर्ने र विवाह, व्रतबन्ध लगायत विभिन्न सामाजिक क्रियाकलापमा घुलमिल हुने गर्नुपर्छ जसले एक्लोपन, डिप्रेसन वा एन्जाइटी हुन दिँदैन भन्ने यहाँको कुरा हो ? 

हो, यो पुस्ताले ‘ह्युमन टच’मा विश्वास गर्न सकिरहेको छैन । मैले केही कुरा सेयर गरेँ भने त्यसले मेरोविरुद्ध काम गर्छ कि ! अथवा मेरो बाबुआमाले पनि मलाई बुझ्नुहुन्न कि ! साथीभाइले पनि बुझ्दैन कि ! अथवा मेरो इमोसन्स डिफरेन्ट छ भन्ने सोच यस पुस्तामा हाबी छ । हुन त सबैको भावना फरक हुन्छ नै, हामीले एकले अर्कालाई विश्वास नै गरेनौँ भने त कसरी अगाडि बढ्ने ? 

  • भनेपछि बाबुआमाले छोराछोरीलाई र छोराछोरीले पनि बाबुआमा बुझिदिनुपर्‍यो ! 

यसमा अर्को कुरा पनि जोडौँ । बाबुआमाले पनि आफ्नो ‘जेनेरेसनल ट्रमा’ लिएर आउनुभएको छ । भोटो र साडी लाउने पुस्ताबाट अहिले बिकिनी सट्र्सको जेनेरेसनसम्म पुग्दाको संक्रमणकाल कसैलाई पनि सहज छैन । नेपालमा कुनै बेला सतीप्रथा थियो तर अहिलेको जेनेरेसनका लागि त्यो आश्चर्यजनक कुरा छ । भनेपछि त्यहाँबाट यहाँसम्मको ट्रान्जिसनमा हरेक पुस्ताले एक हदसम्मको सम्झौता र एक तहको दुःख गरेरै आएको छ । 

सन् १९९५ भन्दा अगाडिको पुस्ता जसलाई हामी ‘मिलेनियल’ भन्छौँ, जेन–जी (सन् २०१२ सम्मका) र त्यसपछिको पुस्ता— यी तीनवटै पुस्तालाई तुलना गर्दा हामी धेरै भिन्नता पाउँछौँ । अहिलेको समस्या भनेकै यी विभिन्न पुस्ताको सोचाइमा भएको भिन्नता हो ।

त्यसैले अहिलेको पुस्ताले बाबुआमातिर पनि सहानुभूति राख्नुपर्छ । उहाँहरूले पनि धेरै सङ्घर्ष गर्नुभएको छ भनेर हामीले बुझ्नुपर्‍यो । सहानुभूति भन्ने कुरा एकदमै महत्त्वपूर्ण छ । अघिल्लो पुस्ता हो, उनीहरूको ‘इगो कन्क्रिटाइज’ भइसकेको छ, उहाँहरूलाई परिवर्तन गर्न गाह्रो छ, बरु हामी नयाँ पुस्ता काँचो छौँ, हामीसँग पो समय छ है भन्ने हिसाबबाट अलि सहानुभूति राख्न नयाँ पुस्ताले सक्नुपर्छ । 

अघिल्लो पुस्ताले पनि नयाँ पुस्ताले खोजेको परिवर्तनलाई बुझ्न जरुरी छ । उनीहरूलाई बुझ्न सक्ने हो भने हाम्रो कम्युनिकेसन राम्रो हुन्छ भन्ने उहाँहरूले बुझिदिनुभयो भने धेरै समस्या न्यूनीकरण हुन सक्छ । 

  • दुई पुस्ताबिच दूरी कम गर्न छोराछोरीले आमाबुवाका के–कस्ता कुरा बुझ्ने र आमाबुवाले छोराछोरीका के के कुरा बुझिदिने ? 

हामी नयाँ पुस्ताले बाबुआमाको संस्कार बुझिदिनुपर्छ । उहाँहरू कुन परिवारबाट आउनुभएको हो ? उहाँहरूको समाज कस्तो थियो र छ ? उहाँहरूले आफ्नो समस्यालाई कसरी सामना गर्नुभएको थियो र छ ? यी कुरामा ध्यान दिनुपर्छ ।

आजभोलि ममीले कति फेसबुक चलाउनुहुन्छ भनी हामीले जर्ज गर्छौं होला । उहाँहरूको टाइम नै टिकटक र युट्युबमा जान सक्छ । उहाँहरूको यो पहिलो एक्सपोजर हो । नयाँ खेलौना पाउँदा कस्तो हुन्छ एउटा बच्चालाई ? त्यस्तै गरेर उहाँहरूको ‘एडाप्टिबिलिटी’ (अनुकूलन क्षमता), उहाँहरूले आफ्नो तनावलाई कसरी व्यवस्थापन गर्नुभएको छ ? एक्लोपनलाई कसरी सामना गर्नुभएको छ ? उहाँहरूको जीवनशैली के छ ? उहाँहरूको सम्बन्ध कस्तो छ ? उहाँहरूले के कुरालाई सामान्यीकरण गर्नुभएको छ ? अहिलेको पुस्ताले यी पाटा हेर्न जरुरी छ । पर्यवेक्षक हुन जरुरी छ । यसो भयो भने अघिल्लो पुस्ताले के कति कुरा लिएर आउनुभएको छ भन्ने  बुझ्न सकिन्छ । 

हामीले ट्रमा (अभिघात) को कुरा गर्छौं, जुन पुस्ताबाट आइरहेको हुन्छ । यो नबुझेरै हामीले हाम्रो ट्रमा पनि अर्को पुस्तालाई हस्तान्तरण गरिरहेका हुन्छौँ । माथिको पिँढीले पनि त्यसलाई कसरी व्यवस्थापन गर्ने भनेर बुझेन, त्यसपछि अर्को पिँढीमा आइदियो र हामीले पनि त्यो नयाँ पुस्तालाई हस्तान्तरण गरिरहेका छौँ । 

एउटा मानिसमा सकारात्मक र नकारात्मक पक्ष दुवै हुन्छ । हामीले नकारात्मक पक्षलाई स्वीकार गर्न जरुरी हुन्छ । हामी यस्तो पर्फेक्सन खोज्ने जेनेरेसनमा छौँ कि हामी नराम्रो देख्नै सक्दैनौँ । मलाई मेरो बुवा मनपर्दैन तर मलाई त्यसको कारण थाहै छैन । किनभने हामीले यसबारे राम्रोसँग सोच्दैनौँ । हामी इम्पल्सिभ (आवेगपूर्ण) छौँ, मन परिवर्तन भइरहन्छ भन्छौँ तर यो किन भइरहेको छ ? त्यसको पछाडि गहिरो कारण हुन्छ । यसको उत्तर अध्यात्मवादसँग छ । यो पुस्ताले अलिकति आफूलाई खोज्न जरुरी छ । 

हाम्रा बाबुआमाको पनि समस्या के छ भने उहाँहरू मेरो बच्चा भन्नुहुन्छ । मैले जन्माएको हो, मेरै हो भन्ने ‘सेन्स अफ् बिलङ्गिङ्नेस’ छ ।

आमाबुवाले परिवर्तन भइरहेको जीवनशैली बुझ्न जरुरी छ । उहाँहरूले ट्रमालाई कसरी लिनुभयो र अबको जेनेरेसनले कसरी हेर्छ भन्ने तरिका छुट्टै छ । आमाबुवाबिच झैझगडा हुन्छ भने हामी दुई पक्षले संवाद गरेर त्यो कुरा समाधान गर्नुपर्छ है भनेर बुझ्नुपर्छ । 

अर्को कुलतको समस्या । बुवाले सधैँ एक पेग खाएर सुत्नुहुन्छ भने हामी त्यसलाई ‘बिन्ज प्याटर्न’ भन्छौँ । कहिलेकाहीँ खानु र सधैँ खानु फरक पर्छ । यो कुराले पनि दुःख दिइरहेको छ । लागुऔषध र गाँजाको समस्यालाई समाजले नर्मलाइज गरिरहेको हुन्छ, त्यसलाई कम गर्न जरुरी छ । 

त्यसैगरी हामी पुरानो संस्कार अनुसार छोराछोरीलाई कराउने, चिच्याउने वा हकार्ने गर्छौं । अब छोराछोरीलाई भन्ने तरिका पनि परिवर्तन गर्नुपर्छ । अहिलेको लाउने तरिका, खाने तरिका फरक छ । अहिलेको जेनेरेसनलाई जे सजिलो लाग्छ त्यो अनुसार लगाएर हिँडिरहेको छ तर अघिल्लो पुस्तालाई त्यो कुरा अपाच्य छ । 

अहिलेको अवस्थामा माथिकालाई पनि गाह्रो छ, तलकालाई पनि गाह्रो छ तर हामीले एकअर्कालाई बुझ्ने प्रयास गर्न सक्छौँ । मेरो समाजमा सबैले जिन्स लाउँथे, त्यसकारण सबैले जिन्स लाउनुपर्छ भन्ने सोचमा म छु भने म पछिको जेनेरेसनले सट्र्स लगाइरहँदा हेर्दाखेरि मलाई ‘डिस्कम्फर्ट’ हुन्छ, यो कुरा पनि नयाँ पुस्ताले बुझ्दििनुपर्‍यो । अघिल्लो पुस्तालाई सहज लाग्दैन भने कुन अवस्थामा लगाउने भनेर पनि बुझिदिनुपर्‍यो । उहाँहरूसँगै हिँड्दा नलाइदिने हो कि ! व्यवस्थापन गर्ने कुरा त हो । सहअस्तित्व भन्ने कुरा छ, सँगै बस्दाखेरि एकअर्काको कुरालाई बुझिदियो भने धेरै कुरा मिलेर जान्छ । अर्थात् तिमी आधा आउ, म आधा आउँछ; आधा–आधा आइसकेपछि एउटा पूरा हुन्छ भन्ने हो । यसमा दुवैको प्रयास अनिवार्य हुन्छ ।

  • भनेपछि एक पुस्ताले अर्को पुस्ता गलत भन्ने सोच त्याग्नुपर्‍यो !

के गलत हो भन्ने मान्छेको दृष्टिकोण हो । तपाईंलाई जे गलत लाग्छ, त्यो मलाई सही लाग्न सक्छ । त्यसैले हाम्रो दृष्टिकोण खुला राख्नुपर्छ, हाम्रो हेराइ फराकिलो बनाउन जरुरी छ । जब हेराइ फराकिलो बनाइन्छ, त्यसपछि समस्या सानो हुँदै जान्छ । 

हाम्रा बाबुआमाको पनि समस्या के छ भने उहाँहरू मेरो बच्चा भन्नुहुन्छ । मैले जन्माएको हो, मेरै हो भन्ने ‘सेन्स अफ् बिलङ्गिङ्नेस’ छ । फूललाई तपाईंले मलजल गर्नु र माया गरेर छुनु राम्रो हो तर त्यसलाई समातेर जकड्नुभयो भने त त्यो बिग्रिन्छ । 

मानसिक स्वास्थ्य ठिक छैन भने व्यक्तिमा केही सङ्केत देखिन्छन् । उसको खानपानमा परिवर्तन हुन थाल्छ ।

उहाँहरू बुझ्नुपर्छ कि यो नयाँ जीवन हो । त्यो नयाँ व्यक्तिलाई मैले कसरी हुर्काउने ? उसले जान चाहेको बाटोमा मैले कसरी लाने भनेर सोच्नुपर्‍यो । मेरो बाटो ऊ किन हिँडोस् भनेर पनि सोच्नुपर्‍यो । 

बच्चाले नि बुझ्नुपर्‍यो कि बुवाआमा आफ्नो जेनेरेसनबाट आउनुभएको हो ।  उहाँहरूभन्दा माथिको जेनेरेसन झन् कस्तो थियो होला ! उहाँहरू यत्तिकै यस्तो हुनुभएको हैन । उहाँहरूको बुझाइ, हेराइ र दृष्टिकोण समाजले बनाइदिएको हो । त्यसले गर्दा सही वा गलत केही पनि छैन । हाम्रो दृष्टिकोण मात्रै फराकिलो बनायौँ भने धेरै कुरा सहज हुन्छ । 

  • बाबुआमा पनि छोराछोरीसँग त्यति खुलेर नबोलिदिने र छोराछोरीले झन् फर्केर नहेर्ने अवस्था भयो भने संवादको माहोल कसरी बनाउने ? 

सामान्यतया सबै जनाले आ–आफ्नो तरिकाले कम्युनिकेसन गरेर अगाडि बढी नै रहनुभएको हुन्छ । यस्ता केस आउँदा हामीले दुवै पक्षलाई सुरुमा एक्लाएक्लै राखेर कुरा गर्छौं । उहाँहरूको हिस्ट्री बुझ्ने प्रयास गर्छौं । त्यसपछि उहाँहरूलाई सँगै राखेर एउटा वातावरण सिर्जना गर्छौं, जुन वातावरण उहाँहरूले घरमा गएर रिफ्लेक्ट गर्न सक्नुहुन्छ । यहाँ क्लाइन्टलाई मात्र नभएर अभिभावकलाई पनि एक तहमा तयार गरिन्छ । यो तयारीको आधार बलियो भयो भने कम्युनिकेसन राम्रो बिल्ड अप हुन सक्छ । 

  • मनोविद्कहाँ जान नसक्ने धेरै परिवार होलान् । अझ मानसिक स्वास्थ्यलाई आज पनि लाजको विषयका रूपमा लिइन्छ । आफ्नो परिवारमा वा आफ्नै मानसिक स्वास्थ्यमा समस्या छ भन्ने धेरैलाई थाहा नभएको हुन सक्छ । कसैको मानसिक स्वास्थ्यमा समस्या छ भनेर कसरी थाहा पाउने ? यसमा कस्ता–कस्ता लक्षणहरू हुन्छन् ? 

मानसिक स्वास्थ्य ठिक छैन भने व्यक्तिमा केही सङ्केत देखिन्छन् । उसको खानपानमा परिवर्तन हुन थाल्छ । त्यसपछि निद्रा नलाग्ने, कोहीसँग बोल्न नचाहने वा एक्लै बस्न खोज्ने हुन्छ । यस्तै धेरै चिन्ता लिने र छिनछिनमा रोइहाल्नेजस्ता लक्षण साधारण खालको मनोरोगमा देखिन्छन् । सोचमा पनि समस्या आउन थाल्छ । ओभर थिङ्किङ, एउटै कुरा सोचिराख्ने, घोरिइराख्ने, एउटै कुरा गरिराख्ने पनि हुन सक्छ । 

शारीरिक लक्षण पनि देखिन्छन् । जस्तो : टाउको दुख्यो, शरीर दुख्यो, झमझमायो भन्नुहुन्छ । यस्तै भावनाका कुरा गर्नुहुन्छ । बाँचेर के गर्ने हो र ! म कस्तो दुःखी छु । केही कुरा राम्रै लागिरहेको छैन, मन परिरहेको छैन— यस्ता कुरा गर्नुहुन्छ । यस्ता लक्षणहरू देखाइसकेपछि समस्या छ भनेर बुझ्नुपर्‍यो । 

कोही लड्ने वा ढल्ने हुन्छ भने त्यसलाई ‘मेडिकल इमर्जेन्सी’ भनिन्छ । यस्तै, समस्याग्रस्त व्यक्तिमा आत्महत्याको सोच आउन थाल्छ । हातहरू काट्ने अथवा कुनै ‘आत्महत्याको विचार’ व्यक्त गर्ने अवस्थालाई पनि हामी ‘मेडिकल इमर्जेन्सी’ भन्छौँ । यस्ता कुरालाई उपचार गर्नुपर्छ भन्ने पाटोमा लान्छौँ । जटिल अवस्था नआउँदै व्यक्तिको सोच, भावना, व्यवहार र शारीरिक लक्षणमा परिवर्तन देखिन सक्छ । यस्तो बेला परिवारले उसको कुरा सुन्नुपर्छ । ‘एम्प्याथेटिक अन्डरस्ट्यान्डिङ’ भन्छौँ हामी, कुनै राय नबनाई उहाँहरूले के महसुस गरिरहनुभएको छ, के भन्नुभएको छ सुन्नुपर्‍यो । त्यसलाई बुझ्ने प्रयास गर्नुपर्‍यो । 

यसरी बुझ्ने प्रयास गरेपछि तिमीलाई धेरै गाह्रो भएको रहेछ । एकचोटि ट्रिटमेन्टमा जाउँ न अथवा काउन्सिलरकहाँ जाउँ, अथवा अस्पताल जाउँ भन्नुपर्छ । आफूले कस्तो व्यवहार गर्दा बिरामीलाई सजिलो हुन्छ भनेर मनाएर ल्याउन सकियो भने ‘सेफ ल्यान्डिङ’ हुन्छ । औषधि र थेरापी गरिसकेपछि त्यस्ता बिरामीमा चाँडै सकारात्मक परिवर्तन पनि आउँछ ।

  • कुनै युवालाई मानसिक स्वास्थ्यको समस्या भइरहेको छ, तपाईंले भनेका जस्तै लक्षण देखिरहेका छन्, तर अहिलेको पुस्तामा भित्रभित्रै कुण्ठा पारेर राख्ने समस्या छ, जसले गर्दा नराम्रो भवितव्य हुन सक्छ । उहाँहरूले चाहिँ के गर्नुपर्छ ? 

कसैलाई भित्रबाट धेरै गाह्रो भएको छ भने पहिला ‘ब्याक टु रुट्स’ जानुपर्छ । कसैलाई गाह्रो भइरहेको छ भने हामीले टेस्ट गर्नुपर्ने हुन्छ । धेरै गाह्रो छैन, मैले सामना गरिरहेको छु भन्ने छ भने केही तरिकाहरू छन्, जसलाई हामीले घरमै प्रयोग गर्न सक्छौँ । सबैभन्दा पहिले आफ्नो परिवार वा नजिकको साथीलाई मलाई यस्तो भइरहेको छ भनेर जानकारी दिन सकिन्छ । 

हाम्रो दैनिकी व्यस्त छ । हाम्रो अहिलेको स्ट्रेसको लेभल नै फरक छ । कोपिङ मेकानिजम् अर्थात् व्यवस्थापनमा हामीले धेरै काम गरिरहेका छैनौँ ।

शारीरिक व्यायाम गर्नुपर्छ । हाम्रो शरीरमा धेरै हर्मोन र रसायन हुन्छन् । गम्भीर बिरामी नभएको तर स्ट्रेस भएको मान्छेले व्यायाम, जिम वा जुम्बा जे गरे पनि हुन्छ; यसले हामीभित्रका रसायनलाई सामान्य अवस्थामा राख्न मद्दत गर्छ । 

अर्को हुन्छ, ब्रिदिङ एक्सरसाइज । यसले शरीरको नर्भस सिस्टमको ‘एक्टिभेसन’लाई कम गर्दिन्छ । तपाईंको सोचको फ्लोलाई पनि कम गर्छ । त्यस्तै, जीवनशैलीमा परिवर्तन गर्न सकिन्छ । स्लिप हाइजिन राम्रो राख्नुपर्छ । निद्रा एकदम महत्त्वपूर्ण छ । जो मान्छेको निद्रा बिग्रिरहेको हुन्छ, त्यो मान्छे सल्लाह लिन जानुपर्छ । किनभने निद्रा बिग्रिएपछि शरीर पनि बिग्रिरहेको हुन्छ । त्योबाहेक पनि ‘अनलाइन कन्सल्टेसन’ लिन सकिन्छ ।

हामीसम्म कुनै केस आइपुग्दा धेरैजसो जटिल भइसकेको हुन्छ । किनभने मलाई मैले मेरो तनाव व्यवस्थापन गर्न सकिरहेको छु भनेर लागिरहेको हुन्छ । त्यसैले माथि उल्लेख गरिएका लक्षण देखिएको छ, तर मेरोबारे कसैले थाहा नपाओस् भन्ने लाग्छ भने अनलाइन सहायता भए पनि लिनुपर्‍यो । अहिले धेरै थेरापिस्ट, साइकोलजिस्ट, काउन्सिलरले अनलाइन कन्सल्टेसन दिइरहनुभएको छ । सहयोग लिने व्यवहार अलि बढ्नुपर्‍यो; सहयोग माग्नुपर्‍यो । 

हाम्रो दैनिकी व्यस्त छ । हाम्रो अहिलेको स्ट्रेसको लेभल नै फरक छ । कोपिङ मेकानिजम् अर्थात् व्यवस्थापनमा हामीले धेरै काम गरिरहेका छैनौँ । यसले गर्दा जसलाई पनि गाह्रो हुन सक्छ, यस्तो अवस्थामा सहयोग माग्ने हो । 

सुनिदिनेले पनि समस्याको गाम्भीर्य बुझ्नुपर्‍यो, त्यहाँनिर मेडिकल इमर्जेन्सी छ कि छैन भनेर । यदि मेडिकल इमर्जेन्सी छ, अलिकति उसलाई सामना गर्न गाह्रो भएको छ भने विज्ञसँग भेटाउनुपर्‍यो । 

एकदमै साधारण तहमा ‘माइल्ड केस’ छन् भने कतिपय अवस्थामा औषधिविनै थेरापीले मात्रै समस्या समाधान गरिन्छ । कुनै मध्यम खालको केसमा थेरापी र कन्ट्रोल काउन्सिलिङबाट उपचार भइरहेको छ । ‘सिभियर केस’हरूमा औषधिको साथै थेरापी चाहिने हुन्छ । 

मनोरोगको औषधि त जिन्दगीभर खानुपर्छ भन्ने छ तर यो केस अनुसार फरक हुन्छ । कुनैमा थोरै समय अर्थात् आठ–नौ महिनाको साइकल हुन्छ, कसैमा दुई वर्ष होला । जटिल खालको मनोरोग छ भने लामो समय औषधि लिनुपर्ने हुन्छ । अब थेरापी मान्छे अनुसार फरक–फरक हुन्छ । 

जटिल खालको मनोरोगमा आत्महत्याको जोखिम हुन सक्छ । नभएको कुरा देख्ने, नभएको कुरा सुन्ने— डिल्युजन, हेलुसिनेसनजस्ता भ्रमात्मक समस्या उत्पन्न हुन सक्छन् । जटिल खालको समस्यालाई लामो समयसम्म दबाउँदा नक्कली छारेको समस्या पनि कतिमा देखापर्छ । जस्तो : गाउँहरूतिर वा गाउँघरका स्कुलतिर एकजना सर्पजस्तै नाचिरहेको छ भने अर्को पनि नाच्न सक्छ । अथवा मन्दिर जाँदा एकजनालाई त्यस्तो भयो भने अरूलाई पनि सर्न सक्छ । यो भनेको मेडिकल इमर्जेन्सी हो । 

कहिलेकाहीँ सामान्य खालका डिप्रेसन पनि साइकोसिस अथवा जटिल खालको मनोरोगतिर परिणत हुन जान्छ । त्यसैले मानसिक स्वास्थ्यको विषयमा हामी एकदमै संवेदनशील हुनुपर्छ । 

साइकोमेट्रिक टेस्टबाट रोग कुन तहको हो भनेर भन्छौँ; त्यसो भन्दैमा इमोसनको त्यो थ्रेसहोल्ड कसरी पत्ता लगाउने ? मलाई काट्दा कति दुख्छ र तपाईंलाई काट्दा कति दुख्छ भन्ने फरक कसरी छुट्ट्याउने ! यो छुन नसक्ने कुरा भएको हुनाले अलि जटिल पनि छ । यसलाई अलिकति व्यक्तिगत रूपमा, अलि केयरको रूपमा हेर्‍यो भने फरक हुन सक्छ । त्यही कारण घर–परिवारदेखि साथीभाइ पनि संवेदनशील हुन जरुरी छ । बिरामीलाई माया गर्नुपर्‍यो, स्नेह दिनुपर्‍यो । सहानुभूति देखायौँ भने बिरामीलाई मद्दत पुग्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया