काठमाडौँ । सन् १९९७ देखि २०१२ को बिचमा जन्मिएका अर्थात् अहिले १३ वर्षदेखि २८ वर्ष उमेर समूहमा रहेको ‘जेन–जी’ पुस्ताले स्थानीय तहबाट राम्रो काम हुन नसकेको धारणा राखेको छ ।
रातोपाटीले गरेको मत सर्वेक्षणमा सहभागी जेन–जी पुस्ताका एक हजार १९ जनामध्ये ५४.७ प्रतिशत अर्थात् ५५८ जनाले स्थानीय तहबाट राम्रो काम हुन नसकेको बताएका हुन् ।
स्थानीय तहले राम्रो काम गरेको छ भन्ने मत राख्ने २७.३ प्रतिशत अर्थात् २७८ जना छन् भने ‘थाहा छैन’ भनेर जबाफ दिने १८ प्रतिशत अर्थात् १८३ जना छन् ।
प्रदेशगत रूपमा हेर्दा ‘स्थानीय तहले राम्रो काम गर्न सकेको छैन’ भन्नेको प्रतिशत कोशी र कर्णालीमा अध्यधिक छ । यी दुवै प्रदेशमा ६५.३ प्रतिशतले स्थानीय तहबाट राम्रो काम हुन नसकेको बताएका छन् ।
कोशीबाट सर्वेक्षणमा सहभागी १४७ जनामध्ये ९६ जना अर्थात् ६५.३ प्रतिशतले स्थानीय तहबाट राम्रो काम हुन नसकेको बताएका छन् । कोशीमा स्थानीय तहले राम्रो काम गरेको मान्ने १६.३ प्रतिशत र ‘थाहा छैन’ भन्ने १८.४ प्रतिशत छन् ।
यस्तै कर्णालीबाट सहभागी १५० जनामध्ये ९८ जना अर्थात् ६५.३ प्रतिशतले स्थानीय तहबाट राम्रो काम हुन नसकेको बताए । त्यहाँ स्थानीय तहबाट राम्रो काम गरिरहेको छ भन्ने २२ प्रतिशत अर्थात् ३३ जना छन् भने ‘थाहा छैन’ भनेर जबाफ दिने १२.७ प्रतिशत छन् ।
मधेसबाट सर्वेक्षणमा सहभागी १२५ जनामध्ये ५३.६ प्रतिशतले स्थानीय तहबाट राम्रो काम गर्न नसकेको बताएका छन् । स्थानीय तहले राम्रो काम गरेको मान्नेहरू २८.८ प्रतिशत छन् । ‘थाहा छैन’ भन्नेचाहिँ १७.६ प्रतिशत छन् ।
बागमतीबाट सहभागीमध्ये ५६.९ प्रतिशतले स्थानीय तहबाट राम्रो काम हुन नसकेको बताएका छन् । यहाँ स्थानीय तहले राम्रो काम गरेको छ भन्ने २७ प्रतिशत छन् भने ‘थाहा छैन’ भन्ने १६.१ प्रतिशत छन् ।
गण्डकीबाट सर्वेक्षणमा सहभागीमध्ये ४८ प्रतिशतले स्थानीय तहबाट राम्रो काम नभएको मत प्रकट गरेका छन् । यहाँ राम्रो काम भएको भन्ने २६ प्रतिशत छन् भने २६ प्रतिशतले नै ‘थाहा छैन’ भनेका छन् ।
यस्तै, लुम्बिनीबाट सहभागीमध्ये ४९.३ प्रतिशतले स्थानीय तहबाट राम्रो काम हुन नसकेको बताएका छन् । राम्रो काम गरिरहेको छ भन्ने ३७.३ प्रतिशत छन् भने १३.३ प्रतिशतले ‘थाहा छैन’ भन्ने जबाफ दिएका छन् ।
सुदूरपश्चिम प्रदेशबाट सर्वेक्षणमा सहभागी भएकामध्ये ४३.२ प्रतिशतले स्थानीय सरकारबाट राम्रो काम हुन नसकेको बताएका छन् । राम्रो काम भइरहेको छ भन्ने ३३.६ प्रतिशत छन् भने ‘थाहा छैन’ भन्ने २३.३ प्रतिशत छन् ।
जेन–जीको नगरमा नेपालको सबैभन्दा राम्रो कुरा प्रकृति हो । मत सर्वेक्षणमा सहभागीमध्ये ६६.१ प्रतिशतले धेरैको सबैभन्दा राम्रो कुरा प्रकृति रहेको बताएका छन् ।
यस प्रश्नमा प्रकृति, संस्कृति र सामाजिक स्थिति गरी जम्मा तीन विकल्प रोज्न दिइएको थियो ।
३१.४ प्रतिशतले देशको सबैभन्दा राम्रो कुरा संस्कृति रहेको बताएका छन् भने २.५ प्रतिशतले सामाजिक स्थिति रोजेका छन् ।
कोशी प्रदेशबाट सहभागीमध्ये ६०.५ प्रतिशतको नजरमा देशको सबैभन्दा राम्रो कुरा प्रकृति हो । यस्तै, ३८.८ प्रतिशतले संस्कृति र ०.७ प्रतिशतले सामाजिक स्थिति रहेको जनाएका छन् ।
मधेसबाट सहभागीमध्ये ५९.२ प्रतिशतले प्रकृति नै देशको सबैभन्दा राम्रो कुरा रहेको जनाएका छन् । यस्तै, संस्कृतिको पक्षमा ३९.२ प्रतिशत र सामाजिक स्थितिको पक्षमा १.६ प्रतिशतले मत जाहेर गरेका छन् ।
बागमतीबाट सहभागीमध्ये ६५.५ प्रतिशतले देशको सबैभन्दा राम्रो कुरा प्रकृति रहेको बताउँदा ३३.९ प्रतिशतले संस्कृति र ०.६ प्रतिशतले सामाजिक स्थितिलाई रोजेका छन् ।
गण्डकीबाट सहभागीमध्ये ६७.७ प्रतिशतले देशको सबैभन्दा राम्रो कुरामा प्रकृति रोजेका छन् भने २९.१ प्रतिशतले संस्कृति र ३.१ प्रतिशतले सामाजिक स्थितिका पक्षमा मत जाहेर गरेका छन् ।
लुम्बिनीबाट सहभागीमध्ये ६८.७ प्रतिशतले देशको राम्रो पक्षका रूपमा प्रकृति रहेको जनाएका छन् । यस्तै, २४ प्रतिशतले संस्कृति र ७.३ प्रतिशतले सामाजिक स्थितिलाई देशको राम्रो पक्षका रूपमा लिएका छन् ।
कर्णालीबाट सहभागीमध्ये प्रकृति नै देशको सबैभन्दा राम्रो कुरा रहेको भन्ने पक्षमा ६७.३ प्रतिशत, संस्कृतिलाई सबैभन्दा राम्रो कुरा मान्ने ३१.३ प्रतिशत र सामाजिक स्थितिलाई रोज्ने १.३ प्रतिशत छन् ।
सुदूरपश्चिमबाट सहभागीमध्ये ७३.३ प्रतिशतले प्रकृति, २४ प्रतिशतले संस्कृति र २.७ प्रतिशतले सामाजिक स्थितिको पक्षमा मत जाहेर गरेका छन् ।
(कोशीबाट अर्जुन आचार्य, मधेसबाट अली असगर देवान, बागमतीबाट गणेश दुलाल, गण्डकीबाट प्रकाश ढकाल, लुम्बिनीबाट तेजेन्द्र केसी, कर्णालीबाट पंखबहादुर शाही र सुदूरपश्चिमबाट सविता बुढाको सहयोगमा ।)
१ प्रतिक्रिया