७० वर्षे उमेरहदको बहस र विद्याको ‘सक्रियता’ले एमालेमा तरङ्ग

समाचार सारांश
- नेकपा एमालेमा ७० वर्षे उमेरहदको बहस चर्किदै गएको छ, जसले नेता र कार्यकर्तालाई विभाजित गरेको छ।
- पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियता र केपी शर्मा ओलीको अभिव्यक्तिले उमेरहद र नेतृत्व परिवर्तनको मुद्दालाई थप पेचिलो बनाएको छ।
- अनेरास्ववियुको कार्यक्रममा ओलीले उमेरहद फेल भएको बताएपछि ईश्वर पोखरेल र युवराज ज्ञवालीले पुरानै व्यवस्थालाई निरन्तरता दिनुपर्ने धारणा राखेका छन्।
काठमाडौं । दोस्रो विधान महाधिवेशन र ११ औँ राष्ट्रिय महाधिवेशन मिति नजिकिएसँगै नेकपा एमालेमा ७० वर्षे ‘उमेरहद’ बहस पेचिलो बन्दै गएको छ ।
यो बहस चर्कदै जाँदा एमाले नेता कार्यकर्ताहरूमा ७० वर्षे उमेरहद कायम गर्नुपर्ने र नपर्ने सवालजवाफमा केन्द्रित हुन थालेका छन् । यहीबिचमा पूर्व राष्ट्रपति विद्या भण्डारीको बढ्दो राजनीतिक भेटघाट र सक्रियताले पनि पार्टीभित्र उमेरहद र नेतृत्व परिवर्तनको मुद्दाले थप तरङ्ग ल्याइदिएको छ ।
अध्यक्ष केपी शर्मा ओलीले ७० वर्षे उमेरहदले ‘फेल’ खाएको भनेर यही जेठ २५ गते सार्वजनिक अभिव्यक्ति दिएपछि एमाले नेतृत्व तहमा उमेरहद र नेतृत्व परिवर्तनको विषयले प्रमुखता पाउँदै गएको हो ।
२०७८ असोजमा सम्पन्न पहिलो एमाले विधान महाधिवेशनले पार्टी विधानको धारा ८९ मा सबै तहको कार्यकारी कमिटीको पदाधिकारी/सदस्यमा निर्वाचित/मनोनीत हुन ७० वर्ष उमेर पूरा नभएको हुनुपर्ने व्यवस्था गरेको थियो ।
त्यसवेला एमालेले आफ्नो विधानमा ७० वर्ष पूरा नहुँदै निर्वाचित वा मनोनीत भएको व्यक्तिले अर्को महाधिवेशन/अधिवेशन नभएसम्म आफू निर्वाचित वा मनोनीत पदमा रही जिम्मेवारी बहन गर्न बाधा नपुग्ने प्रावधान पनि समेटेको थियो ।
तर, विधानको यो व्यवस्था सचिवालय हुँदै २०८० जेठमा बसेको केन्द्रीय कमिटी बैठकले हाललाई भन्ने शब्द राखेर निलम्बन गरेको थियो । एकीकृत समाजवादीका नेता मुकुन्द न्यौपानेलाई पार्टीमा भित्र्याउन निलम्बन गरिएको भनिएको यो व्यवस्था आगामी भदौ महिनामा हुने दोस्रो विधान महाधिवेशनले छिनोफानो नगर्दै नेताहरूले ७० वर्षे उमेरहदको विषय सतहमा ल्याएका हुन् ।
एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको २४ औँ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा अध्यक्ष ओलीले ७० वर्षे उमेरहद फेल खाएको र आवश्यकताका आधारमा नेतृत्व चयन हुने बताएपछि ईश्वर पोखरेल, युवराज ज्ञवाली लगायतका केही नेताहरू औपचारिक फोरममै ७० वर्षे उमेरहद र २ पटक कार्यकालको व्यवस्था कायमै रहेकाले आगामी दिनमा पनि सोही व्यवस्थालाई निरन्तरता दिनुपर्ने मत सार्वजनिक गर्न पुगेका हुन् ।
यही बेला पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको सक्रिय राजनीतिमा आउने आकांक्षासहितको गतिविधिमा संलग्न हुनु र अध्यक्ष ओलीमा तेस्रो कार्यकाल पनि आफैले नेतृत्व गर्ने चाहाना प्रकट गर्नुले एमालेभित्र उमेरहदलाई पक्ष विपक्षमा तर्क-विर्तक गर्न सघाउ पुर्याएका छन् । ओली र भण्डारीको अभिव्यक्ति र गतिविधिलाई नियालेका एमालेजनले दुवै परिघटनालाई संयोगमात्र भनेर बुझ्न सकेका छैनन् । उमेरहद र नेतृत्वको सवालमा ओली र भण्डारीका विपरीत अभिव्यक्तिले पनि विषय थप पेचिलो बन्दै गएको धेरैको बुझाई छ । नेताहरूका तिनै अभिव्यक्तिलाई लिएर तल्ला तहका कार्यकर्ताहरू उमेरहद र नेतृत्व परिवर्तनका सवालमा विभाजित हुन पुगेका छन् । यो प्रतिस्पर्धामा कार्यकर्ताहरू ओली र भण्डारीको पक्षमा मत प्रकट गर्ने प्रतिस्पर्धामा उत्रेका छन् ।
- कहाँबाट निस्कियो उमेरहदको प्रसङ्ग ?
२५ जेठमा कीर्तिपुरमा अनेरास्ववियुको २४ औँ महाधिवेशन उद्घाटन कार्यक्रम थियो । कार्यक्रमका प्रमुख अतिथि थिए एमाले अध्यक्ष केपी शर्मा ओली । उद्घाटन सत्रका वक्ता विश्वकान्त मैनालीले अनेरास्ववियुमा ३२ वर्षे उमेरहद लगाएपछि उमेर हदको प्रसङ्ग कोट्याएका थिए । त्यसपछि प्रमुख अतिथि रहेका अध्यक्ष ओलीले उमेरहदको प्रसङ्गलाई लिएर कसैको नाम उच्चारण नगरीकनै पुर्वराष्ट्रपति विद्या भण्डारीप्रति लाक्षणिक अभिव्यक्ति दिए । अनेरास्ववियुको महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधनका क्रममा ओलीले भनेका थिए, ‘अहिले हल्ला चलेको छ– तलतल यो ग्रुप भनेका छन्, त्यो ग्रुप भनेका छन् । यसको कुनै आवश्यकता छैन । यहाँ अर्को खेल हुन खोजेको छ । फलानो आउने रे, यस्तो–उस्तो भनिएको छ ।’
अझ अघि बढ्दै ओलीले थपे, ‘को अध्यक्ष, को उपाध्यक्ष भनेर पार्टीमा कुनै छलफल भएको छैन । महाधिवेशनको पनि घोषणा भएको छैन । बाहिरबाहिर हल्ला चलाएर पार्टीलाई कमजोर पार्न खोज्ने र पार्टी कार्यकर्ताको मनस्थिति बिथोल्न खोज्नेलाई निस्तेज पार्नुस् ।’
अध्यक्ष ओलीले आफू ७० वर्ष कटे पनि अध्यक्ष रहिरहेको भन्दै उमेरहद फेल खाइसकेकाले तत्कालीन आवश्यकताले नेतृत्व छानिने बताएका थिए । चिनियाँ राष्ट्रपति सी जिनपिङ र साइप्रसको कम्युनिस्ट पार्टीदेखि विगतमा एमालेभित्रै नेतृत्वको सवालका गरिएका प्रयोगका उदाहरण समेत दिएका ओलीले उमेरहदका विषयमा थप भनेका थिए, ‘७० वर्ष उमेरहदको विषय एमालेमा फेल खाइसक्यो । अहिले म ७४ मा चल्दै छु, ७० मा रिटायर्ड हुने भन्ने कुरा फेल खाएन त ?चार वर्ष उमेर घटाउन भएन क्यारे’, ओलीको भनाइ थियो । त्यसक्रममा उनले माधव, झलनाथ, सीपी र मनमोहन अधिकारी हट्दाको प्रसङ्ग समेत निकालेका थिए ।
- कसलाई कसको काउन्टर ?
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी १० दिने चीन भ्रमणबाट फर्केलगत्तै पूर्वी नेपालको भ्रमणमा गइन् । अध्यक्ष ओलीले ७० वर्षे उमेरहदले फेल खाएको बताइरहेका बेला भण्डारी भने झापा र मोरङका एमाले नेता कार्यकर्तासँगको भेटघाटमा व्यस्त थिइन् । अध्यक्ष ओलीको अभिव्यक्ति, विद्याको सक्रियता र एमाले राजनीतिमा चासो राख्ने सञ्चारकर्मीले उनै पूर्वराष्ट्रपति भण्डारीलाई उनको सक्रियता र आगामी एमाले नेतृत्वका सवालमा विराटनगर विमानस्थलमा प्रश्न तेस्र्याए ।
सञ्चारकर्मीको प्रश्नमा विद्याले आफू एमालेबाटै यहाँसम्म आएको र राजनीति गर्दा एमाले नै हुनसक्ने लगायतका जवाफ दिइन्, ‘म पनि समाजकै मानिस हुँ । मैले पनि भेटघाट र जनसम्बन्ध बनाउनुपर्छ । यसैले जनतासँग भेटघाट गरेर जनधारणा बुझ्नु मेरो पनि कर्तव्य हो ।’ उनले यतिमात्र भनिन्, राष्ट्रिय आकाङ्क्षालाई साकार बनाउन हामी सबै लाग्नुपर्ने र त्यो हाम्रो परम कर्तव्य पनि भएकाले देश र नयाँ पुस्ताका लागि बाँचुन्जेल संघर्ष गर्नुपर्ने बताइन् । उनी त्यतिमा मात्र रोकिइनन्, ‘यसैले देशभित्र घुमफिर गरिरहन मैले कसैको अनुमति लिइरहनुपर्दैन’, भण्डारीले प्रस्ट पारिन् ।
भण्डारीले विराटनगर विमानस्थलमा यस्तो बोल्नुअघि एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पत्रकार राजेन्द्र बानियाँसँगको टेलिभिजन अन्तरवार्तामा आफू ७० वर्षे उमेरको सीमाको पक्षमा मात्र नभई लगातार दुई कार्यकालभन्दा बढी कार्यकारी पदमा बस्न नहुने पक्षमा रहेको बताएर अध्यक्ष ओलीको चाहानामाथि काउन्टर दिएका थिए ।
‘एमालेको गत महाधिवेशनले नेतृत्वका बारेमा दुइटा कुरा गरेको छ, जसमा उमेरको सीमा तय गरेको छ ७० वर्ष । अर्को, कार्यकारी पदमा लगातार दुई पटक भन्दा बेसी नहुने, डिस्कन्टियू हुनुपर्छ भन्ने प्रावधान राखेको छ,’ पोखरेलको भनाई छ ।
पोखरेलको जस्तै जवाफ अर्का उपाध्यक्ष युवराज ज्ञवालीको पनि छ । ‘महाधिवेशनले गरेको कार्यकारी पदमा ७० वर्षको उमेरहद र एउटा व्यक्ति दुई कार्यकालभन्दा बढी दोहोरिन नपाउने व्यवस्था अहिले पनि कायमै छ,’ उपाध्यक्ष ज्ञवाली भन्छन्, ‘यो उमेरहद राख्ने कि नराख्ने अबको विधान महाधिवेशनले मात्र निर्णय गर्न सक्छ ।’
यस्तै सवालजवाफलाई लिएर ओली भण्डारीले एकअर्कालाई काउन्टर दिएको अर्थमा समेत विश्लेषण भइरहेका छन् । एमालेका एक सचिवालय सदस्य भन्छन्, ‘अहिले ओली र भण्डारी आआफ्नै तरिकाले पार्टीभित्र शक्ति परीक्षण गरिरहेका छन् ।’ ती नेताको बुझाइमा ओली र भण्डारी दुवै जना आगामी पार्टीको महाधिवेशनमार्फत आफै नेतृत्व सम्हाल्न चाहन्छन् तर सर्वसम्मत बनेर ।
‘तर एकले अर्कोको बाटो छेक्छन् कि भन्ने डर पनि दुवैलाई छ । ओली र भण्डारीका अभिव्यक्ति र गतिविधिले त्यही संकेत गर्छ’, ती नेता भन्छन्, ‘यो बुझेका एमाले कार्यकर्ता कोही ओलीको पक्षमा त कोही भण्डारीको पक्षमा वकालत गरिरहेका छन् । तर ओली र भण्डारी जो भए पनि आगामी महाधिवेशनमा सहमतिमै नेतृत्वमा पुग्छन् यसमा दुविधा नराखे हुन्छ ।’
एमाले केन्द्रीय सदस्य विष्णु रिजाल कुनै सन्दर्भविनै पार्टीमा उमेरहद र कार्यकालको बहस उचाल्नु कुनैपनि कोणबाट उपयुक्त नभएको बताउँछन् ।
‘अध्यक्ष केपी शर्मा ओलीले आफ्नोभन्दा बढी सिट भएको पार्टीलाई समेत मिलाएर कठिन अवस्थामा देशको नेतृत्व गरिरहनुभएको छ । यस्तो बेलामा एकताबद्ध भएर थप हौसला र ऊर्जा सिर्जना गरेर पार्टी निर्माणमा लाग्नुपर्नेमा कुनै सन्दर्भबिना नै उमेर हद र कार्यकालको बहस उठाउन खोज्नु कुनै पनि कोणबाट उपयुक्त छैन’, रिजालको भनाइ छ । एमालेमा न अहिले महाधिवेशन लागेको न त नेतृत्व परिवर्तनको कुनै गुञ्जायस भएको रिजालको दाबी छ ।
‘एमालेमा न अहिले महाधिवेशन छ न त नेतृत्व परिवर्तनको कुनै गुञ्जायस नै छ । यस्तो बेलामा सार्वजनिक खपतका लागि गरिने सस्ता चर्चाले नेतृत्व र पार्टीलाई कदापि बलियो बनाउँदैन’, उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल राष्ट्र बैङ्कले गर्यो बैङ्किङ क्षेत्र सुधार सुझाव कार्यदल गठन
-
प्रतिनिधिसभा बैठकको समय सर्यो
-
अदालतमा प्रसाईँको अनुनय : त्यो गाडी फिर्ता दिलाइपाऊँ
-
कूटनीतिक ‘इङ्गेजमेन्ट’ बढाएका छौँ, परिणाम राम्रै निस्किन्छ : परराष्ट्रमन्त्री
-
गृह र सामान्य प्रशासन सचिवद्वारा दरबन्दी बेगर कर्मचारी राखेको स्वीकार
-
कृषि, पर्यटन र पुरातत्वको उपत्यका ‘चित्लाङ’