बिक्रीको डेढ दशकपछि किर्ते कागज खडा, पीडित नै अपहरण शैलीमा पक्राउ

समाचार सारांश
- बारा सिमराका व्यवसायी ईश्वरकुमार श्रेष्ठलाई प्रहरीले अपहरण शैलीमा पक्राउ गरेको घटना सार्वजनिक भएको छ। उनलाई जग्गा विवादमा फसाउन खोजिएको आरोप छ।
- श्रेष्ठले १६ वर्षअघि खरिद गरेको जग्गाको विषयलाई लिएर फर्जी कागज बनाई ठगीको प्रयास गरिएको थियो। प्रहरीले आर्थिक प्रलोभनमा परेर पक्राउ गरेको श्रेष्ठको आरोप छ।
- उच्च अदालत जनकपुरले श्रेष्ठलाई कुनै पनि कागजमा हस्ताक्षर गर्न नदिन र गैरकानुनी रूपमा पक्राउ नगर्न आदेश दिएको छ। घटनामा संलग्न व्यक्तिहरू फरार छन्।
बारा । सिमराका व्यवसायी ईश्वरकुमार श्रेष्ठ पसलमा ग्राहकलाई सामान बेच्दै थिए । त्यतिकैमा दुई जना अपरिचित आएर उनलाई ‘सानो काम छ, एकछिन बाहिर आउनु न’ भन्दै बोलाए । श्रेष्ठले ‘के काम हो ?’ भनी सोधे । उनीहरूले ‘जग्गासम्बन्धी काम हो’ भनी जवाफ फर्काए । श्रेष्ठ पसलमै बसेर कुरा गर्न चाहन्थे । अनुरोध पनि गरे, उनीहरूले मानेनन् । दबाब नै दिएर बाहिर निकाले ।
बाहिर निस्किएका श्रेष्ठलाई ‘धेरै गर्मी छ, गाडीभित्र बसेर कुरा गरौँ’ भन्दै बल प्रयोग गरेर उनीहरूले गाडीभित्र राखे । जबरजस्ती गाडीभित्र राखेपछि श्रेष्ठले प्रतिवाद गर्न खोजे । तर उनीहरूले आफूहरू प्रहरी भएकाले ‘धेरै बोले जे पनि हुनसक्छ’ भन्दै जिल्ला प्रहरी कार्यालय कलैया पुर्याए ।
यो गएको आइतबार साँझको घटना हो । अपहरण शैलीमा सादा पोसाकमा श्रेष्ठलाई पक्रन पुगेका उनीहरू घुमुवा प्रहरी थिए । श्रेष्ठलाई उनीहरूले बल प्रयोग गरेर पक्राउ गर्नुको कारण हो– १६ वर्षअघि श्रेष्ठले खरिद गरेको जग्गाको विषय ।
- के थियो घटना ?
२०६६ भदौ ३१ गते श्रेष्ठले ललितपुर निवासी सनत प्रधान र राजु शिवाकोटीसँग ८ कठ्ठा जग्गा बैना गरेका थिए । साविक पिप्रा सिमरा–२ को कित्ता नं ३५०५ को उक्त जग्गा श्रेष्ठले ९२ लाखमा मंसिर ११ गते आफ्नो नाममा जग्गाधनी पुर्जा कायम गरेका थिए । उक्त जग्गा पथलैया–वीरगञ्ज औद्योगिक करिडोरको सूर्य नेपालको सामुन्ने छ ।
तर व्यापारमा घाटा भएपछि व्यवहार मिलाउन भन्दै श्रेष्ठले हाल त्यो जग्गा ११ करोडमा बिक्री गर्न थालेपछि सिमराका गोपाल अधिकारीले फर्जी कागज खडा गरेर ५० प्रतिशत नाफा दाबी गर्दै प्रहरीमा जाहेरी दिएका हुन् ।
२०६६ असार १६ गतेको मिति उल्लेख भएको नयाँ लिखत भने साता दिनअघि सिमराको क्लासिक होटेलमा बसेर तयार गरिएको स्वयं साक्षी (एकराम पौडेल)ले नै बताएका छन् ।
जीतपुर सिमरा–३ का पौडेलले एक साताअघि होटेलमा बोलाएर आफूलाई कागजमा हस्ताक्षर गर्न लगाएको बताएका छन् । ‘मैले जानी जानी, हेरेर पढेर गरेको होइन, यो हाम्रो कुरा हो, तिमी चुप लागेर साइन गर भन्नुभयो, मैले गरिदिएँ, यो कुरा म प्रहरीकोमा गएर पनि भन्न सक्छु,’ साक्षीमा हस्ताक्षर गरेका पौडेलले भने, ‘म सानो गरिब घरको मान्छे, अर्काको काम गरेर खाने, ठुलाबडा मान्छेले भनेपछि ल्याउनु म पढेर मात्रै हस्ताक्षर गर्छु भन्न सकिनँ ।’
१६ वर्षअघिको मिति उल्लेख गरिएको उक्त फर्जी कागज लेखापढी व्यवसायी प्रकाश उपाध्यायले तयार गरेका हुन् । यो बनाउन गत साता गोपाल अधिकारी र कासिम मियाँ होटेलमा बसेका थिए । ८४३ लाइसेन्स नम्बर रहेका लेखापढी व्यवसायी उपाध्याय भने फरार छन् ।
श्रेष्ठले भने प्रहरीले आर्थिक प्रलोभनमा परेर सामान्य अनुसन्धानसमेत नगरी आफूलाई पक्राउ गरेको बताएका छन् । ‘नयाँ बैना बट्टाको कागजमा तीन पुस्ता पनि खुलाइएको छैन, मेरो हस्ताक्षर पनि छैन, बैना गरेको मिति पनि गलत छ, त्यतिवेला मेरो भाइको नाममा बैना भएको हो, तर नक्कली कागजमा मेरो नाम उल्लेख छ,’ श्रेष्ठले भने, ‘अहिले मैले जग्गा बिक्री गर्न लागेको थाहा पाएर आर्थिक लाभ लिन मलाई फसाउन खोजियो ।’
फर्जी कागजपत्र तयार गरेर प्रहरीमा जाहेरी दिने अधिकारी मेडिकल व्यवसायी हुन् भने मियाँ जग्गा कारोबारी हुन् ।
श्रेष्ठका भाइ किशोरका सहपाठी हुन् अधिकारी । मियाँ भने ललितपुर निवासी जग्गाधनी शिवाकोटी र प्रधानका वारेस हुन् । श्रेष्ठले जग्गा पास गर्नुअघि पटक–पटक गरेर मियाँको खातामा रकम पठाएको प्रमाण श्रेष्ठले देखाएका थिए ।
अपहरण शैलीमा पक्राउ परेका श्रेष्ठलाई संघीय सांसद किसान श्रेष्ठ, संविधानसभा सदस्य जयराम दाहालको रोहवरमा मध्यराति प्रहरीले सोमबार उपस्थित हुनेगरी छोडेको थियो ।
‘मलाई राति नछोडेको भए गोपालको दबाबमा प्रहरीले जबरजस्ती ५० प्रतिशत नाफा दिनुपर्ने भन्दै हस्ताक्षर गराउँथ्यो,’ श्रेष्ठले गुनासो गरे ।
जीतपुर सिमरा–२ का वडाध्यक्ष धनबहादुर श्रेष्ठले अधिकारीले प्रहरीमा बुझाएको बैनाको कागज फर्जी भएको बताएका छन् । ‘उहाँहरू वडा कार्यालयमा पनि निवेदन लिएर आउनुभएको थियो, तर मैले त्यो कागज फर्जी भनेर थाहा पाएपछि निवेदन नै दर्ता गरिनँ,’ वडाध्यक्ष श्रेष्ठले खुलाए ।
जिल्ला प्रहरी कार्यालयका बाराका प्रहरी उपरीक्षक सन्तोष तामाङ भने ठगीमा जाहेरी दर्ता भएकाले श्रेष्ठलाई नियन्त्रणमा लिएको बताउँछन् । अधिकारीले पेस गरेको कागजपत्र फर्जी भए÷नभएको विषयमा अनुसन्धान भइरहेको उनले बताए । ‘अब उहाँहरू मिलेर आउनुभयो मिलापत्र गर्न सकिन्छ,’ प्रहरी प्रमुख तामाङले भने ।
श्रेष्ठले भने प्रहरीको कार्यशैलीविरुद्ध उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जबाट निषेधाज्ञा ल्याएका छन् । अदालतले फौजदारी कसुरमा अनुसन्धान कारबाहीको सिलसिलाबाहेक देवानी प्रकृतिको विषयमा निवेदकको हक अधिकार हनन हुनेगरी निवेदनको टुंगो नलागुञ्जेल श्रेष्ठलाई कुनै कागजमा सही छाप नगराउन निर्देशन दिएको छ ।
‘निवेदकलाई कुनै कागजमा सही छाप नगर्नू/नगराउनू, गैरकानुनी रूपमा पक्राउ नगर्नु, गर्न नलगाउनु, नथुन्नु/थुन्न नलगाउनु भनी उच्च अदालत नियमावली
२०७३ को नियम ४२ (१) बमोजिम विपक्षीको नाउँमा अन्तरिम आदेश जारी गरिएको छ,’ उच्च अदालतले जिल्ला प्रहरी कार्यालय कलैयालाई निर्देशनमा भनिएको छ ।
यता प्रहरीलाई प्रभावमा पारेर फर्जी कागज खडा गरेर ठगी गर्न खोज्ने गोपाल अधिकारी फरार भएका छन् ।
टेलिफोन प्रयासमा अधिकारीले लालपुर्जामा २ जनाको फोटो टाँस्न नमिल्ने भएकोले श्रेष्ठको नाममा जग्गा पास भएको बताएका छन् । ‘त्यतिवेला जग्गा बिक्री भएपछि नाफा बराबर गर्ने सहमतिमा काम गरेको हो,’ अधिकारीले भने, ‘कागज होटेलमा बसेर तयार गरेको सत्य हो, पहिला बैनाको कागज गर्दा ३ पुस्ता खुलाउनु पर्दैनथ्यो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् प्राधिकरण नाफामा भए पनि कठिन परिस्थितिमा छ : कार्यकारी निर्देशक शाक्य
-
आजको राज्य लथालिङ्ग हुनुको सबैभन्दा बढी जिम्मेवार माओवादी हो : विप्लव
-
रास्वपा र राप्रपाको ढ्यापढ्याप, पाण्डेले राखे धारणा
-
२०८१ पुसदेखि चैतसम्म ४ लाख ५७ हजार १ सय ६८ थान राहदानी जारी
-
अनिशाले तोडिन् केशरीको १८ वर्ष पुरानो कीर्तिमान
-
सरकारले विद्युत् प्राधिकरणको बक्यौता उठाउन ढिला गर्न हुँदैनः शेखर कोइराला