‘जन्तीलुङ्ग र मरामकोट’ लाई ‘होमस्टे’ गन्तव्य बनाइँदै

समाचार सारांश
- पाल्पाको तिनाउ गाउँपालिकामा रहेको जन्तीलुङ्ग र मरामकोट पर्यटकीय स्थलको रूपमा विकास हुँदैछ, जहाँ होमस्टे सञ्चालन गरी पर्यटकलाई आकर्षित गरिँदैछ।
- स्थानीय होमस्टेमा पाहुनालाई स्वागत, खाना र बस्ने व्यवस्थाका लागि प्याकेजहरू छन्, र प्रदेश सरकार तथा गाउँपालिकाको सहयोगमा तालिम सञ्चालन भइरहेको छ।
- होमस्टे व्यवसायबाट स्थानीय आम्दानी बढाउन, कृषि र पशुपालनमा जोड दिइँदैछ, जसले गर्दा विदेश पलायन कम गर्न सहयोग पुग्ने विश्वास लिइएको छ।
पाल्पा। यहाँको तिनाउ गाउँपालिका–६ जन्तीलुङ्ग र वडा नं ५ मा रहेको मरामकोट पर्यटकीय दृष्टिले आकर्षणका केन्द्र हुन् । यी ठाउँहरू प्राकृतिक दृष्टिकोणले रमणीय रहेकाले पर्यटकहरू यस क्षेत्रमा टहलिन रुचाउँछन् । यहाँबाट पाल्पाको तानसेन, रुपन्देहीको बुटवल, नवलपरासीको बर्दघाटलगायतका स्थानको दृश्यावलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटकहरू आउने गर्दछन् । यहाँ बर्सेनि पर्यटकको चहलपहल बढ्दै गएपछि व्यवस्थित घरबास (होमस्टे) सञ्चालन गर्न थालिएको छ ।
हाल पनि स्थानीयले होमस्टे कार्यक्रम सञ्चालन गरी पाहुनालाई स्वागत गर्दै आएका छन् । जन्तीलुङ्ग सामुदायिक होमस्टेमा प्रतिव्यक्ति रु एक हजार दुई सय मा स्वागत, साँझको खाजा, लोकल कुखुराको मासुसहितको खाना र बिहानको खाजाको प्याकेज रहेको छ ।
प्राकृतिक रूपमा सुन्दर जन्तीलुङ्ग र मरामकोटबाट हिमालदेखि तराईसम्मका दृश्यहरू अवलोकन गर्न सकिन्छ । यहाँ भएका होमस्टेलाई थप व्यवस्थित गरी दुवै क्षेत्रलाई होमस्टेको गन्तव्य बनाउने गरी तिनाउ गाउँपालिका र लुम्बिनी प्रदेश सरकारले तयारी गरेका छन् ।
यहाँ प्रदेश सरकार र गाउँपालिकाको आर्थिक सहयोगमा सशक्तीकरण विकास नेपाल पाल्पाको आयोजनामा मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रमअन्तर्गत दुवै वडाका होमस्टे सञ्चालक तथा भविष्यमा पाहुना राख्ने घरधनीहरूलाई एक हप्ते होमस्टे सञ्चालन, व्यवस्थापन तथा कुक तालिमसमेत दिन थालिएको छ । गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले जन्तीलुङ्ग र मरामकोटलाई पर्यटकीय गतिविधिमार्फत आम्दानीको स्रोत बनाउने गरी योजना अगाडि सारिएको बताए ।
“हाल बुटवल र भैरहवालगायत क्षेत्रमा गर्मीले बस्न सकिने अवस्था छैन, तर यहाँको जन्तीलुङ्ग र मरामकोटमा चिसो मौसम छ । यस कारण यहाँ पाहुना बोलाएर मनग्ये आम्दानी गर्न सकिन्छ । सोहीअनुसार योजना बनाएर काम थालेका छौँ”, उनले भने, “हामीले पाहुनालाई व्यवस्थित रूपमा राख्न, स्थानीय परिकार खुवाएर खुसी बनाउन, यहाँको प्राकृतिक वातावरणमा रमाउने अवस्था निर्माण गर्न होमस्टे प्रवर्द्धन कार्यक्रम सञ्चालनमा ल्याएका हौँ ।”
पछिल्लो समय होमस्टे व्यवसाय फस्टाउँदै गएको छ । पाहुनाले पैसाभन्दा पनि स्थानीय मौलिक खानपान, कला संस्कृति रोज्ने गरेका छन् । यहाँ आउने पर्यटकको रोजाइलाई ध्यानमा राखेर होमस्टे व्यवस्थित गर्न थालिएको गाउँपालिका उपाध्यक्ष लालबहादुर थापाले बताए । उनले भने, “जन्तीलुङ्ग र मरामकोटको वातावरण निकै राम्रो छ, अब स्थानीयवासीले पाहुनाको मन जित्ने गरी काम गर्न सके आम्दानीको राम्रो स्रोत बन्नेमा हामी आशावादी छौँ ।”
हाल जन्तीलुङ्गमा आउने बाटोघाटो राम्रो रहेकाले झुम्सा, चर्चरे र डुम्रेबाट आधा घण्टामै आउन सकिने भएकाले गाउँको आम्दानी र प्रचार–प्रसार गर्न होमस्टे व्यवसाय उत्तम रहेको उपाध्यक्ष थापाको भनाइ छ ।
होमस्टे नेपालका केन्द्रीय उपाध्यक्ष धनिश्वर बस्याल होमस्टे व्यवसायबाट नै गाउँलाई आर्थिक रूपमा बलियो बनाउन सकिने बताउनुहुन्छ । यसबाट गाउँको कृषि उत्पादन, पशुपालन, अन्य किसिमका रोजगारीसमेत बढ्ने र त्यसले पैसा कमाउन विदेश धाउनुपर्ने अवस्थामा समेत कमी आउने उनको विश्वास छ ।
तिनाउ गाउँपालिकाले होमस्टेमा आउने पाहुनाको लागि जन्तीलुङ्गमा सातवटा र मरामकोटमा दुई वटा नयाँ घर निर्माण गरिरहेको छ । दुवै वडावासीलाई मौरी पालन, बङ्गुर पालन तालिम सञ्चालन गरिसकिएको र अब केही दिनमा तरकारी खेती, बाख्रापालन, खाना पकाउने, अतिथि सत्कार, पाहुना सुत्ने कोठा सजावटसम्बन्धी तालिम र अवलोकन भ्रमण जस्ता कार्यक्रमहरू सञ्चालन गरिने सशक्तीकरण विकास नेपाल पाल्पाकी अध्यक्ष एन्जिना खनालले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविन्द्र र धवल शमशेरको विषयमा के भन्यो अदालतले ?
-
यस्तो छ अनेरास्ववियुको अन्तिम मत परिणाम, को-को भए निर्वाचित ?
-
म्याक्स ओ डाउडको ऐतिहासिक पारीले नेदरल्याण्ड्सलाई कीर्तिमानी जित
-
तीनकुने घटना: प्रसाईँको क्यान्सर उपचारको व्यवस्था मिलाउन अदालतको आदेश
-
तीनकुने घटना: बीस हजार धरौटीमा छुटे पुष्कर खतिवडा, अन्य काे–काे छुटे ?
-
तीनकुने घटना: ३२ जनालाई धरौटीमा रिहा गर्न आदेश (सूची सहित)