बिहीबार, २९ जेठ २०८२
ताजा लोकप्रिय
फलोअप

सहसचिवको दरबन्दीमा पाँच उपसचिवको ‘मस्ती’

बुधबार, २८ जेठ २०८२, १३ : ५९
बुधबार, २८ जेठ २०८२

समाचार सारांश

  • गृहमन्त्रालयले सहसचिवको दरबन्दी भएका ५ जिल्लामा उपसचिवहरूलाई प्रमुख जिल्ला अधिकारी (सीडीओ) बनाएर पठाएको खुलासा भएको छ।
  • मन्त्रीको निर्णयअनुसार बैतडी, डडेलधुरा, सल्यान, जुम्ला र डोटीमा उपसचिवहरू सीडीओको रूपमा कार्यरत छन्, जबकि मन्त्रालयमै १० सहसचिव जगेडामा छन्।
  • प्रमुख जिल्ला अधिकारीको पदस्थापन र सरुवा सम्बन्धी कार्यविधि, २०८० अनुसार, सहसचिवको दरबन्दीमा उपसचिवलाई खटाउन नमिल्ने व्यवस्था छ।

काठमाडौँ । गृहमन्त्रालयले सहसचिवको दरबन्दी भएका ५ जिल्लामा गैरकानुनी रुपमा उपसचिवहरूलाई  प्रमुख जिल्ला अधिकारी (सीडीओ) बनाएर पठाएको छ । मन्त्रालयमै १० जना सहसचिव जगेडा भएपनि मन्त्रालयले उनीहरूलाई फिर्ता नबोलाएको हो  ।

गृहमन्त्री रमेश लेखकको निर्णयानुसार सहसचिवको दरबन्दी भएका बैतडी, डडेलधुरा, सल्यान, जुम्ला र डोटीमा उपसचिवहरु प्रमुख जिल्ला अधिकारीको रूपमा कार्यरत रहेका हुन् । बैतडीमा दीर्घराज उपाध्याय, डडेलधुरामा चोमेन्द्र न्यौपाने, सल्यानमा सावित्रा पुन, जुम्लामा रामबहादुर शाही र डोटीमा मोहनराज जोशी उपसचिव भएर पनि सहसचिव दरबन्दी भएका जिल्लामा प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत रहेको मन्त्रालय स्रोतको भनाय छ ।

 गत वैशाख १४ गतेसम्म सहसचिव दरबन्दी भएका थप दुई जिल्लामा पनि प्रमुख जिल्ला अधिकारी उपसचिव नै थिए । तर  मन्त्रालयले मन्त्रिस्तरीय निर्णयबाट वैशाख १४ गते प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गर्दा सहसचिवको दरबन्दी भएका दैलेख र रामेछापमा काम गरिरहेका उपसचिवहरूलाई भने तानेको थियो । 

रामेछापबाट राजुप्रसाद पौडेल र दैलेखबाट नवराज जैशीलाई तान्दै रामेछापमा सहसचिव श्यामकृष्ण थापा र दैलेखमा सहसचिव बद्रीनाथ गैह्रेलाई पठाइएको थियो । 

प्रमुख जिल्ला अधिकारीको पदस्थापन वा सरुवा गर्ने वा कामकाज खटाउनेसम्बन्धी (दोस्रो संशोधन) कार्यविधि, २०८० ले पदस्थापन वा सरुवा गर्ने वा काजमा खटाउने प्रयोजनका लागि जिल्लाको वर्गीकरण र आधारसम्बन्धी व्यवस्था गरेको छ । 

उक्त कार्यविधिको दफा ६ मा राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) को प्रमुख जिल्ला अधिकारीको पदमा पदस्थापन वा सरुवा गरिने वा काजमा खटाउने प्रयोजनका लागि ६१ जिल्लालाई वर्गीकरण गरेको छ भने बाँकी १६ जिल्लामा उपसचिवको दरबन्दी छ ।

ताप्लेजुङ, तेह्रथुम, सोलुखुम्बु, रसुवा, पूर्वी रुकुम, मनाङ, मुस्ताङ, डोल्पा, मुगु, हुम्ला, कालिकोट, म्याग्दी, रुकुम पश्चिम, बाजुरा, बझाङ र दार्चुलामा उपसचिवलाई प्रमुख जिल्ला अधिकारीका रूपमा खटाइन्छ । तथापि कानुनविपरीत अझै पनि ५ उपसचिवले सहसचिवको दरबन्दीमा मस्ती गरिरहेका हुन् । 

मन्त्रालयमा सहसचिव नभएर उपसचिवले प्रमुख जिल्ला अधिकारी बन्ने मौका भने पाएका होइनन् । मन्त्रालयमा १० सहसचिव अतिरिक्त समूह (जगेडा)मा छन् । मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाका अनुसार सहसचिवहरू प्रेमप्रसाद भट्टराई, केदारनाथ शर्मा, बुद्ध गुरुङ, सुनिता नेपाल, भरतमणि सुवेदी, नेत्रप्रसाद सुवेदी, रामुराज कडरिया, तीर्थराज भट्टराई, बासुदेव दाहाल र लालबाबु कवारी जगेडामा बसिरहेका हुन् । 

भट्टराई गत पुस २७ गतेदेखि मन्त्रालयमा जगेडामा छन् । दाहाललाई गत चैत ८ गते सिराहामा महायज्ञका क्रममा दलित परिवारलाई उठिबास लगाएको घटनामा संवेदनशील नभएको भन्दै तानिएको थियो । जेठ १८ गते प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गर्दा स्याङ्जाबाट नेपाल र धनुषाबाट कडरिया तानिएका थिए । 

तीर्थराज भट्टराईलाई जेठ ६ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको प्रमुख अध्यागमन अधिकृतबाट मन्त्रालयमा तानिएको हो । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जेठ ७ गते अध्यागमन कार्यालयमा छापा मारी नियन्त्रणमा समेत लिएको थियो । उनकै प्रकरणमा कारण जेठ १३ गतेदेखि आजसम्म प्रतिनिधिसभा बैठक प्रतिपक्षी दलहरूले अवरोध गर्दै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप