बिहीबार, २९ जेठ २०८२
ताजा लोकप्रिय

अनेरास्ववियुमा २०३ पदका लागि ५२१ जनाको उम्मेदवारी

बुधबार, २८ जेठ २०८२, १६ : ०८
बुधबार, २८ जेठ २०८२

समाचार सारांश

  • अनेरास्ववियुको २४ औँ महाधिवेशनमा ५२१ जनाको उम्मेदवारी परेको छ। अध्यक्षका लागि डा.सुजन कडरिया र प्रकाश पौडेलले प्रतिस्पर्धा गर्दै छन्।
  • महाधिवेशनमा ९ पदाधिकारी, ४० सचिवालय सदस्य, १०२ केन्द्रीय कमिटी सदस्य र ५२ केन्द्रीय आयोगका लागि निर्वाचन हुँदैछ।
  • खुला उपाध्यक्षमा ५ र महिला उपाध्यक्षमा ४ जनाको उम्मेदवारी परेको छ भने महासचिव पदका लागि ३ जना प्रतिस्पर्धामा छन्।

काठमाडौँ । नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको जारी २४ औँ महाधिवेशनमा उम्मेदवारहरूको प्रारम्भिक सूची सार्वजनिक भएको छ । निर्वाचन कमिटीले २०३ पदका लागि ५२१ जना उम्मेदवारहरूको प्रारम्भिक सूची सार्वजनिक गरेको हो । 

अध्यक्षका लागि डा.सुजन कडरिया र प्रकाश पौडेलले उम्मेदवारी दिएका छन् । दुवै उम्मेदवारले प्यानलसहित निर्वाचन प्रक्रियामा अघि बढेका छन् । डाक्टर कडरियाको तर्फबाट अर्का अध्यक्षकै दाबेदार दीपक धामीले महासचिवमा उम्मेदवारी दिएका छन् भने आरके रोमसले पौडेलको प्यानलबाट महासचिवमा भिड्न लागेका छन् । 

महाधिवेशनबाट ९ जना पदाधिकारी, ४० जना सचिवालय सदस्य, १०२ जना केन्द्रीय कमिटी सदस्य, ५२ जना केन्द्रीय आयोगका लागि ५२१ जनाले उम्मेदवारी दिएका हुन् । अहिले निर्वाचनको अन्तिम तयारी भइरहेको छ । निर्वाचनको आवश्यक प्रक्रिया पुरा भएपछि मतदान प्रक्रिया अघि बढ्नेछ र आज नै नतिजा आउनेछ । 

अनेरास्ववियुको खुल्ला उपाध्यक्षमा भरत धामी, धमेन्द्र केसी, विकास श्रेष्ठ, राजकुमार ढकाल र रोहित बमको उम्मेदवारी परेको छ भने महिला उपाध्यक्षमा अञ्जना शिवाकोटी, आरती भट्टराई, सुनिता धिताल र भवानी बजगाईँको उम्मेदवारी परेको छ । 

त्यस्तै महासचिवमा समेत ३ जनाको उम्मेदवारी परेको छ । महासचिवमा दीपक धामी, आरके रोमस र सुनिल कँडेलको उम्मेदवारी परेको हो । धामी डाक्टर कडरिया प्यानलबाट उम्मेदवार बनेका हुन् । दुई अध्यक्षका दाबेदार कडरिया र धामी एउटै प्यानलबाट अध्यक्ष र महासचिवका उम्मेदवार बनेका हुन् । 

उपमहासचिव पदमा कमल जोशी, अमर शाही, र प्रेमिका शाहीको उम्मेदवारी परेको छ भने सचिवमा धेरैले उम्मेदवारी दिएका छन् । मदन भण्डारी, राजेश ओली, रक्षा बम, मनोज राई, गोपाल नेपाल, धर्मराज तिमिल्सेना, अनुप लामिछाने, स्मृति बराल, रेखा न्यौपाने, नीरज पौडेल लगायतले उम्मेदवारी दिएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप