रियलमा आबद्ध हुनु ‘सपना पूरा भएको क्षण’

समाचार सारांश
- इङ्ल्याण्डका खेलाडी ट्रेन्ट अलेक्ज्यान्डर-आर्नोल्ड रियल मड्रिडमा आबद्ध, उनले यसलाई सपना पूरा भएको क्षण भने।
- रियलले उनलाई क्लब विश्वकपमा सहभागी गराउन लिभरपुललाई ट्रान्सफर फी तिरेको र ६ वर्षको सम्झौता गरेको छ।
- अलेक्ज्यान्डर-आर्नोल्डले लिभरपुलका लागि ३५४ खेल खेले, उनले लिभरपुलसँग च्याम्पियन्स लिग लगायतका उपाधि जिते।
मड्रिड । इङ्ल्याण्डका राइट-ब्याक ट्रेन्ट अलेक्ज्यान्डर-आर्नोल्डले रियल मड्रिडमा आबद्ध भएका छन् । बिहीबार भएको प्रस्तुतिकरण कार्यक्रममा उनले यसलाई ‘सपना पूरा भएको क्षण’ र ‘विशाल जिम्मेवारी’ भएको बताएका छन्।
२६ वर्षीय अलेक्ज्यान्डर(आर्नोल्डको लिभरपुलसँगको सम्झौता यही जुन ३० मा समाप्त हुँदै थियो, त्यसपछि उनी स्वतन्त्र रूपमा क्लब परिवर्तन गर्न सक्थे। तर, १५ पटकको युरोपियन च्याम्पियन रियलले उनलाई क्लब विश्वकपमा सहभागी गराउन समयमै अनुबन्ध गर्न लिभरपुललाई ट्रान्सफर फी तिरेको हो।
रियल मड्रिडको क्लब विश्वकपको पहिलो खेल जुन १८ मा मियामीमा साउदी क्लब अल-हिलालविरुद्ध हुनेछ। अलेक्ज्यान्डर-आर्नोल्डले ला लिगा क्लबसँग ६ वर्षे सम्झौता गरेका छन्, जसमा १ अर्ब युरोको ‘बाई-आउट क्लज’ समावेश छ।
लिभरपुलका लागि सन् २०१६ मा डेब्यु गरेका उनले क्लबको लागि ३५४ खेल खेलेका थिए, जसमा २३ गोल गरेका छन् भने ८६ असिस्ट दिएका छन्। उनी लिभरपुलसँग ६ वर्षको उमेरदेखि आबद्ध थिए।
उनको यो बिदाइ लिभरपुललाई नयाँ प्रशिक्षक आर्ने स्लटको नेतृत्वमा २०२४–२५ प्रिमियर लिग जिताउन मद्दत गरेपछि आएको हो। उनले पूर्व प्रशिक्षक योर्गन क्लोपको नेतृत्वमा २०१९–२० मा पनि लिग जितेका थिए।
लिभरपुलसँग उनले जितेका अन्य उपाधिहरूमा २०१८–१९ को च्याम्पियन्स लिग, २०२२ को एफए कप, र दुई वटा लिग कपहरू समावेश छन्।