आर्थिक वृद्धिदर राष्ट्रिय औसतभन्दा कम, गरिबी घटाउन सफल

समाचार सारांश
- कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण सार्वजनिक गर्यो, जसमा आर्थिक वृद्धिदर राष्ट्रिय औसतभन्दा कम रहने अनुमान छ।
- प्रदेशको आय र व्यय घटेको छ तर गरिबी न्यूनीकरण, वित्तीय पहुँच विस्तार र कृषि उत्पादनमा प्रगति भएको छ।
- आन्तरिक राजस्व कमजोर रहँदा संघीय सरकारको अनुदानमा निर्भरता बढेको छ भने पूर्वाधार निर्माणले निरन्तरता पाएको छ।
विराटनगर । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८१–८२ को आर्थिक सर्वेक्षण रिपोर्ट सार्वजनिक गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले शुक्रबार प्रदेशसभामा प्रस्तुत गरेको सर्वेक्षण रिपोर्टमा चालु आर्थिक वर्षमा प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसतभन्दा कम रहने अनुमान गरिएको छ ।
प्रदेशको आय र व्यय दुवै गत वर्षको तुलनामा घटेको छ । यद्यपि, गरिबी न्यूनीकरण, वित्तीय पहुँच विस्तार र कृषि उत्पादन जस्ता केही सामाजिक तथा आर्थिक सूचकमा भने प्रदेशले सकारात्मक प्रगति हासिल गरेको छ ।
सर्वेक्षणले चालू आर्थिक वर्षमा कोशी प्रदेशको आर्थिक वृद्धिदर ३.३४ प्रतिशत रहने अनुमान गरेको छ, जुन नेपालको समग्र राष्ट्रिय आर्थिक वृद्धिदर (४.६१ प्रतिशत) भन्दा कम हो । प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान सबैभन्दा धेरै ३४.०५ प्रतिशत रहने अनुमान छ । त्यसैगरी, सेवा क्षेत्रको योगदान ४९.९ प्रतिशत र उद्योग क्षेत्रको योगदान १६.०५ प्रतिशत रहने देखिएको छ ।
वित्तीय दृष्टिकोणबाट प्रदेशका लागि यो वर्ष चुनौतीपूर्ण देखिएको छ । आर्थिक वर्ष २०७९–८० को तुलनामा २०८०–८१ मा प्रदेशको कुल आय १०.३ प्रतिशतले र कुल खर्च ८.९ प्रतिशतले घटेको छ ।
प्रदेशको आम्दानीको संरचना हेर्दा संघीय सरकारबाट प्राप्त हुने अनुदानमाथिको अत्यधिक निर्भरता कायमै छ । कुल आयमा संघीय सरकारबाट प्राप्त अनुदान, राजस्व बाँडफाँट र अन्य प्राप्तिले ठुलो हिस्सा ओगटेको छ । जबकि प्रदेशको आन्तरिक राजस्व परिचालन भने कमजोर देखिएको छ । आन्तरिक राजस्व परिचालनमा अपेक्षित सुधार आउन नसकेको र संघीय सरकारबाट प्राप्त हुने स्रोतमा अधिक निर्भर रहनुपरेको यथार्थलाई सर्वेक्षण प्रतिवेदनमा स्वीकार गरिएको छ ।
आर्थिक चुनौतीका बिच केही क्षेत्रमा प्रदेशले उल्लेखनीय सुधार गरेको छ । कोशी प्रदेशको गरिबी दर १७.२ प्रतिशत रहेको छ, जुन राष्ट्रिय औसत (२०.२७ प्रतिशत) भन्दा कम हो । बैंक तथा वित्तीय संस्थाका शाखाहरूको विस्तारसँगै बैंकिङ सेवामा जनताको पहुँच बढेको छ । आर्थिक वर्ष २०७६–७७ मा १६ लाख रहेको मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २०८१–८२ को चैतसम्ममा ३८ लाख नाघेको छ ।
गत वर्षको तुलनामा यस वर्ष धानलगायतका प्रमुख कृषि बालीको उत्पादन बढ्ने अनुमान गरिएको छ, जसले खाद्य सुरक्षामा सकारात्मक योगदान दिनेछ । प्रदेश सरकारको लगानीमा सडक, पुल र अन्य पूर्वाधार निर्माणले निरन्तरता पाएको छ । सर्वेक्षण अवधिमा ९३ वटा मोटरेबल पुल र २२४ झोलुङ्गे पुल निर्माण सम्पन्न भएका छन् ।
सर्वेक्षणले प्रदेश सरकारका सामु केही गम्भीर चुनौतीहरू पनि औँल्याएको छ । प्रदेशको आफ्नै आम्दानीको स्रोत कमजोर हुँदा वित्तीय स्वायत्तता हासिल गर्न कठिन रहेको, कुल बजेटको ठुलो हिस्साका लागि संघमा निर्भर रहनुपर्दा योजना कार्यान्वयनमा अनिश्चितता बढेको, विनियोजित पुँजीगत बजेटको ८०.१ प्रतिशत मात्र खर्च हुनुले विकास निर्माणका कामले अपेक्षित गति लिन नसकेको देखिन्छ ।
समग्रमा, कोशी प्रदेशको आर्थिक सर्वेक्षणले सामाजिक विकासका सूचकहरूमा भने प्रगति देखाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला यो हप्ता तपाईँको ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
लोक सेवा आयोगले आज हिरक महोत्सव मनाउँदै
-
‘इरान लामो र तीव्र युद्धका लागि तयार छ’
-
इजरायलले गर्यो इरानी रक्षा मन्त्रालयमाथि आक्रमण
-
इरान इजरायल तनाव: सिरिया र जोर्डनको हवाई क्षेत्र बन्द
-
शाहरान तेल प्लान्टमा लागेको आगो नियन्त्रणमा लिने प्रयास जारी