इजरायल-इरान युद्ध : अहिलेसम्म के-के भयो ?

समाचार सारांश
- इजरायल र इरानबीचको तनाव बढ्दै, दुवै पक्षले एकअर्काको सैन्य तथा आर्थिक पूर्वाधारमा आक्रमण गरेका छन्।
- इजरायलले इरानमाथि हवाई हमला गर्दा इरानका उच्च सैन्य अधिकारी र वैज्ञानिकको मृत्यु भएको छ, जसको इरानले जवाफ दिँदै क्षेप्यास्त्र प्रहार गरेको छ।
- दुवै देशले एक अर्कालाई कडा चेतावनी दिएका छन्, जसले मध्यपूर्वमा लामो समयसम्म द्वन्द्वको खतरा बढाएको छ।
इजरायल र इरान आपसमा क्षेप्यास्त्र प्रहार गरेर युद्धको पारो बढाइरहेका छन् । एक अर्काका आर्थिक तथा सुरक्षा पूर्वाधारहरूमा मात्रै नभएर धेरै जनसङ्ख्या बस्ने गरेका इलाकाहरूमा समेत प्रहार गरिरहेका छन् ।
अहिलेको तनावको सुरुवात इजरायलले गरेको हो । गत शुक्रबार बिहान करिब २ सय वटा लडाकु जहाजहरू मार्फत इजरायलले इरानमा हमला सुरु गरेको थियो । त्यी लडाकु जहाजहरूले इरानको आणविक, सैन्य तथा अन्य आर्थिक पूर्वाधारलाई निशाना बनाएका थिए । इरानको सबैभन्दा ठुलो आणविक केन्द्र नान्ताज पनि इजरायलको पहिलो दिनको हमलामा क्षतिग्रस्त भएको थियो ।
इजरायली आक्रमणको समय खास परिस्थितिसँग सम्बन्धित छ । इजरायलको गठबन्धन मित्र सहयोगी अमेरिका र इरान बिच आणविक कार्यक्रमलाई लिएर सम्झौता वार्ता चलिरहेको थियो । आफ्नो मुलुकमा सञ्चालन भइरहेको आणविक कार्यक्रमलाई इरानले हतियार निर्माणको उद्देश्यमा नभएर नागरिक उद्देश्यका लागि मात्रै सञ्चालन गरेको बताउने गरेको छ ।
इजरायलले गरेको आक्रमणको पहिलो चरणमा इरानमा उच्च स्तरका व्यक्तिहरूको हत्या भएको छ । जसमा कम्तीमा चार जना इरानको 'इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स- आईआरजीसी' का मुख्य कमान्डरहरू रहेका छन् । साथै केही परमाणु वैज्ञानिकहरू पनि मारिएका छन् । इजरायलले यो हमला इरानको आणविक बम बनाउने क्षमता ध्वस्त पार्ने उद्देश्यसाथ सुरु गरिएको दाबी गरेको छ । साथै उसले इरानको महत्त्वपूर्ण सुरक्षा बल 'आईआरजीसी'लाई सैन्य रूपमा जवाफ दिनका लागि समेत गरिएको बताएको छ ।
शुक्रबारको इजरायली हमलामा परेर केही उच्च स्तरका सैन्य नेताहरू मारिएका छन् । जसमा निम्नानुसार पर्दछन् :
- इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स(आईआरजीसी)का प्रमुख होसेन सलामी
- इरानको सशस्त्र बलका प्रमुख मोहम्मद बाघेरी
- खातम-अल-अन्बियाको केन्द्रीय हेडक्वार्टरका कमान्डर घोलमली रसिद
- इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स(आईआरजीसी)को वायु सेनाका कमान्डर अमिर अलि हाजिजादेह
इरानका सर्वोच्च नेता आयोतल्लाह अलि खमेनीले बाघेरीको मृत्यु पश्चात्को रिक्त स्थानमा अब्दोल रहिम मौसवीलाई सशस्त्र सैन्य बलको प्रमुख नियुक्त गरेका छन् । आईआरजीसीको प्रमुखको रूपमा सलामीको ठाउँमा अहमद वहिदिलाई नियुक्त गरेका छन् भने मजिद मौसवीले आईआरजीसीको वायु सेनाको प्रमुखको रूपमा हाजिजदेहको ठाउँ लिँदैछन् ।
इरानको सरकारी सञ्चार माध्यम 'नोउर न्युज'का अनुसार खमेनीका वरिष्ठ सल्लाहकार अलि शाम्खानी पनि 'गम्भीर घाइते' भएका छन् । शाम्खानी अमेरिकासँगको कूटनीतिक वार्ता र छलफलहरूको नेतृत्व गरिरहेका व्यक्ति हुन ।
साथै छ जना प्रभावशाली इरानी आणविक वैज्ञानिकहरू पनि मारिएका छन् ।
- के हो 'आईआरजीसी'?
इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स(आईआरजीसी) इरानको सैन्य क्षेत्रको हिस्सा हो । यसको स्थापना सन १९७९ को इरानी क्रान्ति लगत्तै भएको हो । यसले इरानको नियमित सेनासँगै मिलेर काम गर्छ । मूलतः अयोतल्लाह अलि खमेनीको आदेश शिरोपर गर्ने यसले इरानको प्रतिरक्षा, वैदेशिक अभियानहरू तथा क्षेत्रीय प्रभाव वृद्धिमा केन्द्रीय भूमिका खेल्छ ।
करिब १ लाख ९० हजार हाराहारी सक्रिय सेना तथा ६ लाख हाराहारी 'रिजर्भ' जनशक्ति भएको आईआरजीसीले इरानको 'ब्यालेष्टिक मिसाइल' तथा आणविक कार्यक्रमहरू हेर्ने काम पनि गर्छ । साथै मध्यपूर्वका विभिन्न मुलुकमा रहेका इरानका 'प्रोक्सी समूह'हरूबारे पनि यसैले हेर्ने गर्छ ।
सन २०१९ मा अमेरिकाले यसलाई वैदेशिक 'आतङ्कवादी' संगठनको रूपमा राखेको छ । यसरी अन्य मुलुकको सरकारकै हिस्साको रूपमा रहेको संगठनलाई अमेरिकाले 'आतङ्कवादी'को सूचिमा राखेको आईआरजीसी नै पहिलो हो।
सैन्य भूमिकाको अलावा आईआरजीसी इरानको राजनीतिक तथा आर्थिक संरचनामा पनि गहिरोसँग जोडिएको छ ।
- कुन कुन ठाउँमा गर्यो इजरायले हमला ?
इजरायलले शुक्रबार निम्नानुसारका ठाउँमा हमला गरेको निश्चित भैसकेको छ:
इरानको राजधानी तेहरान तथा त्यहाँ वरपरका सैन्य क्षेत्रहरू ।
नातान्ज सहर, जहाँ रहेको युरेनियम प्रशोधन केन्द्रमा विस्फोट भएको छ ।
ताब्रिज सहर, जहाँ रहेका दुई वटा सैन्य आधार तथा आणविक अनुसन्धान केन्द्रमा विस्फोटको खबर आएको छ ।
दक्षिण तेहरानको सहर इस्फाहान ।
पश्चिम तेहरानको कर्मान्शाह सहर, जहाँ भूमिगत रूपमा ब्यालेष्टिक क्षेप्यास्त्र भन्डार गरिएको ठाउँमा पनि हमला भएको भएको छ ।
इजरायलको प्रारम्भिक आक्रमणमा करिब ८० जना मारिएको इरानले बताएको छ । साथै ३ सय २० जना घाइते भएको भनिएको छ । शनिबार सम्ममा घाइतेको संख्या ४ सय ८० जना पुगेको भनिएको छ भने मारिएकाहरुमा २० जना वालवालिका रहेको भनिएको छ।
- नातान्जको आणविक केन्द्र क्षतिग्रस्त भएको छ
इजरायलले निशाना बनाएको प्रमुख स्थान नातान्जको आणविक केन्द्र इस्फाहान प्रान्तमा पर्छ । त्यहाँ इरानको सबैभन्दा ठुलो आणविक प्रशोधन केन्द्र छ ।
उक्त केन्द्रको जमिन माथि रहेको भागमा करिब ६० प्रतिशत युरेनियम प्रशोधनको काम हुने गर्थ्यो । त्यो खण्ड इजरायली आक्रमणमा ध्वस्त भएको छ । यसमा भएको क्षतिबारे अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए)ले जानकारी गराएको छ ।
सब स्टेसन, मुख्य विद्युत् गृह, आपत्कालीन विद्युत् पूर्ति प्रणाली, 'ब्याक अप जेनेरेटरहरु' लगायत महत्त्वपूर्ण विद्युतीय पूर्वाधार ध्वस्त भएका छन् । तर जमिनमुनि रहेको आणविक केन्द्रको प्रमुख हिस्सामा भने क्षति भएको छैन । यद्यपि विद्युत् आपूर्तिमा भएको समस्याले युरेनियम प्रशोधनमा प्रयोग हुने 'सेन्ट्रिफ्युज' ध्वस्त भएका हुन सक्छन् ।
आणविक केन्द्र बाहिरको क्षेत्रमा विकिरणको स्तर सामान्य नै पाइएको छ । तथापि आणविक केन्द्र भित्र भने रासायनिक तथा रेडियोधर्मी विकिरणको फैलावट बढेको छ । यस्तो फैलावट नियन्त्रण गर्न सकिने स्तरमै रहेको छ ।
आईएईएका प्रमुख राफेल ग्रोसीले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा बताए अनुसार इरानी अधिकारीहरूले जम्मा दुई वटा आणविक प्रशोधन केन्द्रमा मात्रै हमला भएको जानकारी गराएका छन् । जसमा फोर्दो इन्धन प्रशोधन केन्द्र तथा इस्फाहान पर्दछन् ।
- इजरायले इरानको तेल र ग्याँसमा पनि हमला गरेको छ
गत शनिबार दक्षिण पार्स क्षेत्रमा रहेको ग्याँस उत्पादन केन्द्रमा इजरायले आक्रमण गर्यो, जसको कारण उत्पादन केन्द्रमा आगो लाग्न थाल्यो । लगत्तै इरानले उक्त केन्द्र आंशिक रूपमा बन्द गर्यो ।
अहिले आगो निभाइसकिएको छ । करिब १ चौथाइ भागमा लागेको आगोले करिब १ करोड २० लाख घनमिटर ग्याँस उत्पादन रोक्यो । बुशेहेर नजिकै रहेको दक्षिणी पार्स इरानको ग्याँस उत्पादनको महत्त्वपूर्ण मानिन्छ । त्यहाँ इरान र कतारको सहकार्य चलेको छ । यसलाई नर्थ फिल्ड भनेर पनि चिनिन्छ ।
इरानले पनि दक्षिण पार्स भन्दा करिब ६५ किलोमिटर उत्तर पश्चिममा रहेको फजर जामको ग्याँस प्लान्टमा पनि इजरायली आक्रमण गरेको पुष्टि गरिसकेको छ ।
- जवाफको रूपमा इरानको क्षेप्यास्त्र प्रहार
सरकारी टेलिभिजनमा बोल्दै उनले इजरायललाई 'आफूले आक्रमण गरे पछि अब इरानलाई समाप्त पारियो भन्ने नठान्न' चेतावनी दिएका छन् ।
उनले थप भनेका छन् 'उनीहरूले युद्ध सुरु गरेका छन् । हामी उनीहरूले गरेको अक्षम्य अपराधबाट उनीहरूलाई सजाय बेगर यत्तिकै उम्किन किमार्थ दिँदनौ' ।
इजरायलको हमलाको प्रतिक्रिया स्वरूप इरानले पनि इजरायलमा ड्रोन तथा ब्यालेष्टिक मिसाइलहरू प्रहार गरेको छ । यस्ता प्रहारहरू केही इजरायली भूमिमा विस्फोट भएका छन् ।
इजरायली अधिकारीहरूका अनुसार इरानको हमलामा परेर इजरायलमा १० जनाको मृत्यु भएको छ भने २ सय जना भन्दा धेरै घाइते भएका छन् । दर्जनौँ इरानी क्षेप्यास्त्रका कारण जेरुसेलम तथा तेल अविवमा रातभर आकाश चम्किलो देखिन्थ्यो । यी हमलाहरूमा परेर दर्जनौँ व्यक्तिहरू हराइरहेको समेत जनाइएको छ ।
- कस्तो छ इरानसँगको हतियारको अवस्था ?
इरानले पछिल्लो तीन दशकमा विभिन्न प्रकारका ब्यालेष्टिक तथा क्रुज क्षेप्यास्त्रहरू विकास गरेको छ । इरानका प्रमुख क्षेप्यास्त्र तथा तिनीहरूको मार क्षमता निम्न तस्बिरमा हेर्न सकिन्छ ।
इजरायले आफ्नो भूमि तर्फ प्रहार भएका धेरै क्षेप्यास्त्रहरू असफल बनायो । तर सबै क्षेप्यास्त्र भने रोक्न सकेन । त्यसले इजरायलका विभिन्न भूभागमा क्षति तथा हताहत गरायो ।
इजरायल बाह्य हवाई हमलाबाट आफ्नो भूभाग जोगाउने काममा 'आइरन डोम' निर्भर छ । यसमा भएको राडारले आफू तर्फ आइरहेका क्षेप्यास्त्र लगायत हतियारहरू पत्ता लगाउँछ । साथै तिनीहरूको गति र दिशा समेत पत्ता लगाउँछ ।
अन्य प्रणालीहरू पनि प्रयोग भएका छन्, जसले मध्यम तथा लामो दूरीका क्षेप्यास्त्रको चाल तथा दिशा पत्ता लगाउँछ । 'डेभिड्स स्लिङ'ले ४० किमीदेखि ३ सय किमी सम्मका क्षेप्यास्त्र ठम्याउन सक्छ । 'एरो सिस्टम'ले २४ सय किलोमिटर वरपर सम्मका क्षेप्यास्त्र ठम्याउन सक्छ ।
आफ्ना शीर्ष तहका सैन्य कमान्डर तथा वैज्ञानिकहरूको हत्या गरेको बदलामा इरानका सर्वोच्च नेता खमेनीले इजरायललाई कठोर सजायको भागिदार हुन तयार रहन चेतावनी दिइसकेका छन् ।
दशकौँ देखि इरान र इजरायल आफ्ना 'प्रोक्सी'हरूको माध्यमबाट लडिरहेका थिए । पहिलो पटक यी दुई मुलुक यो स्तरको प्रत्यक्ष आपसी प्रहारमा उत्रिएका हुन । यसले मध्यपूर्वमा दीर्घकालीन द्वन्द्वको खतरा अझै बढाइदिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद्मा रास्वपाको ‘दोहोरो चरित्र’ : सत्तापक्ष बोल्दा नाराबाजी, माओवादी बोल्दा चुपचाप
-
बजेट ल्याएको भोलिपल्ट कर्णालीका अर्थमन्त्रीले भने - कार्यकर्ताहरू कति रिसाउने हो थाहा छैन
-
धवल शमशेर राणालाई ३ लाख धरौटीमा छाड्न आदेश
-
काठमाडौँमा पाँचौँ आदिवासी जनजाती चलचित्र महोत्सव हुने
-
‘खै त मायाले कुरा बुझेको’ मा सुधीर र बिनाको रोमान्स
-
प्रतिनिधिसभा बैठक मंगलबारसम्मका लागि स्थगित