प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई उपेक्षा, कुन प्रदेशको बजेट कस्तो ?

काठमाडौँ । स्वास्थ्य क्षेत्रमा सातै प्रदेशका सरकारले चालु वर्षको तुलनामा बजेटको आकार घटाएका छन् ।
प्रदेश सरकारहरूले आर्थिक वर्ष २०८२/८३ का लागि आइतबार सार्वजनिक गरिएको बजेटमा मधेस सरकारबाहेक अन्य प्रदेश सरकारले स्वास्थ्यमा बजेट घटाएका हुन् । स्वास्थ्य क्षेत्रमा विनियोजित बजेटलाई केलाउँदा स्वास्थ्य मन्त्रालय रहेका प्रदेशहरूले समेत महत्त्व दिएको पाइएन ।
- कोशी प्रदेश
कोशी प्रदेशले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३५ अर्ब ८७ करोड ९९ लाखको बजेट विनियोजन गरेको छ । जसमा स्वास्थ्य क्षेत्रका लागि ३ अर्ब ५१ करोड ७१ लाख विनियोजन गरिएको छ । चालु आर्थिक वर्षका लागि कोशी प्रदेशले स्वास्थ्य क्षेत्रका लागि ३ अर्ब ५८ करोड सार्वजनिक गरेको थियो ।
यस प्रदेशले स्वास्थ्य सेवाको विस्तारका लागि शैलजा आचार्य हृदय रोग केन्द्रलाई विशेषज्ञ सेवासहितको अस्पतालमा रूपान्तरण गर्ने, प्रदेशका अस्पतालमा सेवा विस्तारका गर्न उपकरण र जनशक्तिका लागि ६ करोड २५ लाख विनियोजन गरिएको उल्लेख छ ।
‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी’ अभियान, महिला स्वास्थ्य स्वयंसेविकाको भूमिकालाई अभिप्रेरित गर्न, मनोसामाजिक समस्यासम्बन्धी सबै अस्पतालमा विशेषज्ञ सेवा विस्तार गर्न बजेट सार्वजनिक गरिएको छ ।
यस्तै, महिलामा हुने पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, आङ खस्ने समस्या, फिस्टुला तथा निःसन्तानपन आदिको एकीकृत स्क्रिनिङ सेवा विस्तार गरिने भएको छ ।
- मधेस प्रदेश
मधेस सरकारले स्वास्थ्य क्षेत्रमा अन्य सरकारको तुलनामा बजेटको दायरा बढाएको छ । चालु आर्थिक वर्षमा यस क्षेत्रका लागि ५ अर्ब २१ करोड बजेट विनियोजन गरेको थियो । मधेस प्रदेशले आगामी आर्थिक वर्षका लागि बढाएर ६ अर्ब ४५ करोड ६१ लाख पुर्याएको छ । यहाँको सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि ४६ अर्ब ५८ करोड ३३ लाख ५१ हजार को बजेट सार्वजनिक गरेको छ ।
स्वास्थ्य सेवा
नसर्ने रोगहरूको बारेमा सचेतना, प्रादेशिक अस्पतालहरूलाई प्रविधिमैत्री बनाउन उपकरणहरू खरिदका लागि बजेट विनियोजन गरिएको उल्लेख छ ।
सर्लाहीको धनकौलमा ५० शय्याको आमा तथा बाल अस्पताल र गंगापुरमा आयुर्वेद योग पञ्चकर्म अस्पताल तथा अनुसन्धान केन्द्र स्थापना तथा सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरिएको छ ।
सिरहा जिल्ला गोलबजार नगरपालिकास्थित ट्रमा सेन्टर अस्पताल, महेन्द्र गेनाई प्रादेशिक प्रसूति गृह तथा महोत्तरी जिल्लाको सोनमास्थित मानसिक अस्पतालको निर्माण तथा सञ्चालनको लागि आवश्यक बजेट विनियोजन गरिएको छ ।
- बागमती प्रदेश
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि जम्मा ६७ अर्बको बजेट ल्याएको छ । जसमा स्वास्थ्य क्षेत्रका लागि ३ अर्ब ९६ करोड ८८ लाख बजेट विनियोजन गरेको हो । जुन बजेट चालु आर्थिक वर्षको भन्दा कम हो । यस प्रदेशले चालु आर्थिक वर्षका लागि ४ अर्ब ८ करोड विनियोजन गरेको थियो ।
कार्यक्रमहरू
–आगामी आर्थिक वर्षका लागि स्थानीय तहसँगको साझेदारीमा तोकिएका प्रादेशिक अस्पतालहरूमा ट्रमा सेन्टरको विकास गरिने उल्लेख गरिएको छ । यस्तै विपन्न, असहाय, बेवारिसे, विपद्का घाइतेलगायत लक्षित वर्गलाई र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको बीमालाई निरन्तरता दिँदै ११ करोड विनियोजन गरिएको छ ।
–प्रदेश अस्पतालहरूमा जनशक्ति र औजार उपकरणको व्यवस्थापन गरी सुधार गर्न र दुर्गम क्षेत्रमा विशेषज्ञ चिकित्सक प्रोत्साहन योजना कार्यान्वयन गरिने उल्लेख गरिएको छ ।
–बागमती प्रदेशको स्वास्थ्य क्षेत्रमा मेरो स्वास्थ्य योग, ध्यान र प्राणायामको माध्यमबाट स्वास्थ्य सेवा विस्तार, एक विद्यालय एक नर्स कार्यक्रमलाई समेत निरन्तरता दिनका लागि ४२ करोड बजेट विनियोजन गरिएको छ ।
–हेटौँडा अस्पताल सहित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको लागि ३५ करोड विनियोजन गरिएको छ ।
–प्रदेश औषधि उत्पादन केन्द्र र ड्रग एन्ड टक्सिकोलोजी केन्द्र स्थापना गर्न, प्रादेशिक अस्पतालहरूमा विशेषज्ञ तथा विशिष्टीकृत आँखा र रोबोटिक्स शल्यक्रियाको लागि समेत १० करोड विनियोजन गरिएको छ । हेटौँडा र भक्तपुर अस्पतालमा क्याथल्याब सहितको मुटु तथा रक्तनली रोगको उपचार, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान सहित १२ वटा प्रादेशिक अस्पतालहरूमा मिर्गौला रोगको डायलासिस गर्ने व्यवस्था मिलाइने भएको छ ।
–सीमान्तकृत, लोपोन्मुख, साथमा आश्रित, ‘ख’ वर्गको अपाङ्गता भएका व्यक्ति र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको बीमालाई निरन्तरता लिई ११ करोड बागमती प्रदेश सरकारले विनियोजन गरेको छ ।
- गण्डकी प्रदेश
गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार बजेट विनियोजन गरेको छ । जसमा यस प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा आगामी आर्थिक वर्षका लागि ३ अर्ब ३२ करोड ७० लाख ४० हजार विनियोजन गरेको छ । जुन रकम चालु आर्थिक वर्षभन्दा कम हो । चालु आर्थिक वर्षमा गण्डकीमा ५ अर्ब ४७ करोड ७४ लाख रुपैयाँ विनियोजन गरिएको थियो ।
कार्यक्रमहरू
–स्वास्थ्य क्षेत्रमा बालबालिकामा हुने बाथ, मुटुरोग पहिचान र सम्पटिक हार्ट डिजिज स्क्रिनिङ कार्यक्रमका लागि प्रदेशका सबै अस्पतालहरूका लागि ५५ लाख विनियोजन गरिएको छ ।
–नवशिशुको जन्मजात रोगको पहिचान गर्न स्क्रिनिङ कार्यका लागि २६ लाख विनियोजन गरिएको छ ।
–नसर्ने रोगको पहिचान र मानसिक स्वास्थ्य सचेतना कार्यक्रम सञ्चालनका लागि १ करोड ५२ लाख विनियोजन गरिएको छ ।
–क्षयरोग, कुष्ठरोग, एचआईभी एड्सजस्ता सरुवा रोग, खोपबाट बचाउन सकिने रोग र औलो, कालाजार, डेंगुलगायत स्वास्थ्य, यस्तै ५ अस्पतालमा इमरजेन्सी ट्रमा केयर युनिटको स्थापना लागि ७६ लाख विनियोजन गरिएको छ ।
–प्रदेशमातहत रहेका अस्पतालहरूलाई थप गुणस्तरीय र विशिष्टीकृत बनाउन न्यूनतम सेवा मापदण्ड कार्यान्वयनका लागि ४ करोड ३५ लाख, आयुर्वेद चिकित्सालय तथा अस्पतालहरूको लागि ३८ लाख र गण्डकी आयुर्वेद अस्पतालमा अन्तरङ्ग सेवा सञ्चालनार्थ भवन निर्माणका लागि आवश्यक बजेटको व्यवस्था गरेको छु। प्रदेशका अस्पतालहरूमा एम्बुलेन्स खरिदका लागि ४ करोड विनियोजन गरिएको छ ।
–त्यस्तै, आधारभूत स्वास्थ्यमा सुधार, रगत तथा रक्तजन्य पदार्थको निःशुल्क उपलब्धता, जोखिममा परेका गर्भवती र सुत्केरी महिलाको हवाई उद्धार, १० वर्ष मुनीका बालबालिका र ६० वर्षभन्दा माथिका व्यक्तिलाई निःशुल्क बहिरङ्ग तथा प्रयोगशाला सेवालगायत कार्यक्रमलाई निरन्तरता दिएको छ ।
- लुम्बिनी प्रदेश
लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि बजेट ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । स्वास्थ्य क्षेत्रमा आगामी आर्थिक वर्षका लागि अघिल्लो वर्षको तुलनामा कम बजेट सार्वजनिक गरेको हो । लुम्बिनी प्रदेशले स्वास्थ्य क्षेत्रमा ४ अर्ब ९५ करोड छुट्ट्याएको छ ।
यस प्रदेशमा चालु आर्थिक वर्षका लागि स्वास्थ्य क्षेत्रमा ५ अर्ब ७४ करोड ८२ लाख विनियोजन गरिएको थियो ।
कार्यक्रमहरू
–आधारभूत र आकस्मिक स्वास्थ्य सेवा, अत्यावश्यक औषधि, उपकरण र जनशक्ति आपूर्ति, निःशुल्क वितरण गरिने औषधिका लागि ३ करोड र उपकरणका लागि १२ करोड बजेट विनियोजन गरिएको छ ।
–जसमा प्रदेश गौरवको आयोजनाको रूपमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल निर्माणको लागि १ अर्ब विनियोजन गरिएको छ ।
–‘सुरक्षित मातृत्व अभियान’का लागि १० करोड विनियोजन गरिएको छ भने ‘मानसिक स्वास्थ्यमा सुधारका कार्यक्रमका लागि २ करोड आइतबार सार्वजनिक बजेटमा उल्लेख गरिएको छ ।
–पोषण विशेष कार्यक्रम सञ्चालनका लागि ८ करोड बजेट छुट्ट्याइएको छ । यस्तै, प्रादेशिक आयुर्वेद चिकित्सालय, बिजौरीमा विशेषज्ञ सेवा र लुम्बिनी आयुर्वेद चिकित्सालय, बुटवललाई विशेषज्ञ चिकित्सालयको रूपमा स्तरोन्नति गर्न ३ करोड विनियोजन गरिएको छ ।
–यस्तै, मुटुको भल्ब प्रत्यारोपण, मिर्गौला प्रत्यारोपण र क्यान्सर रोगको उपचारमा प्रति व्यक्ति दुई लाख रुपैयाँको सहुलियतलाई निरन्तरता दिएका छ । यसको लागि १० करोड विनियोजन गरिएको छ । राप्ती प्रादेशिक अस्पतालको क्षमता विकास गरी दुई सय शय्यामा स्तरोन्नति गर्न ५ करोड विनियोजन गरिएको हो ।
- कर्णाली प्रदेश
कर्णाली प्रदेश सरकारले आइतबार सार्वजनिक गरेको बजेटमा स्वास्थ्य क्षेत्र खासै प्राथमिकता परेको छैन । यस प्रदेश सरकारले ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजारको बजेट विनियोजन गरेको छ ।
प्रदेश सरकारले स्वयंसेविकाको प्रोत्साहन भत्ता वृद्धि १२ हजार पुर्याएको छ । यस्तै, सुर्खेत प्रादेशिक अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान १० करोड ५० लाख वित्तीय व्यवस्थातर्फ ६१ करोड ५० लाख, र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ अर्ब ५९ करोड ९८ लाख ४१ हजार छुट्ट्याएको छ ।
यस प्रदेशले चालु आर्थिक वर्षका लागि भने कर्णाली सामाजिक विकास मन्त्रालयका लागि ५ अर्ब ७२ करोड रकम विनियोजन गरिएको थियो ।
- सुदूरपश्चिम प्रदेश
आगामी आर्थिक वर्षका लागि ३३ अर्ब ४७ करोड ७० लाख बजेट सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्षका लागि सुदूरपश्चिम सरकारले स्वास्थ्य क्षेत्रमा भौतिक तथा स्वास्थ्य उपकरण र सेवा शीर्षकका नाममा बजेट विनियोजन गरिएको छ । चालु आर्थिक वर्षका लागि सुदूरपश्चिम सरकारले ६ अर्ब ४७ करोड शिक्षा, स्वास्थ्य, युवा तथा खेलकुद, सामाजिक विकास, भाषा संस्कृतिका विनियोजन गरेको थियो ।
कार्यक्रम
–विशेषज्ञ चिकित्सा सेवाको पहुँच बढाउन, टेलिहेल्थ कार्यक्रम, ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रमलाई थप सुदृढीकरण गर्न उपकरणहरूको व्यवस्था गरी प्रजनन स्वास्थ्यसम्बन्धी रोगहरू र रुग्णताको पहिचान लागि आवश्यक बजेटको व्यवस्था गरिएको उल्लेख छ ।
–मानसिक स्वास्थ्य सेवालाई प्रदेशका सम्पूर्ण अस्पतालहरूमा विस्तार गर्न चालु आर्थिक वर्षमा महाकाली र टीकापुर अस्पतालमा मानसिक स्वास्थ्य इकाई स्थापना र सेवा निरन्तरताका लागि आवश्यक बजेटको व्यवस्था गरिएको छ ।
–स्वास्थ्य क्षेत्रमा देखापर्ने आपत्कालीन अवस्था, महामारी तथा कीटजन्य रोगहरूको प्रकोप नियन्त्रण र व्यवस्थापनका लागि कार्यक्रम कार्यान्वयन गर्न बजेट छुट्ट्याइएको छ ।
–प्रदेशभित्र रहेका बालबालिका, किशोर किशोरी, गर्भवती र सुत्केरी महिलाहरूको पोषण अवस्था सुधारका लागि विद्यालय र समुदायमा आधारित स्वास्थ्य तथा पोषण प्रवर्द्धन कार्यक्रम, दुर्गम क्षेत्रका नागरिकहरूको स्वास्थ्य परीक्षण र शिविरका लागि आवश्यक बजेटको विनियोजन गरिएको छ ।
–कैलाली र कञ्चनपुरमा सिकलसेल एनिमिया, थालासेमिया, हेमोफिलियाजस्ता रोगहरूको पहिचान, निदान र उपचारको व्यवस्था गरिएको उल्लेख छ ।
–स्थानीय तहबाट सञ्चालित दार्चुलाको गोकुलेश्वर, कञ्चनपुरको बेलौरी, कैलालीको लम्कीचुहा र बाजुराको कोल्टी अस्पतालहरूलाई प्रदेश तहको अस्पतालको रूपमा स्तरोन्नति गरिने उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चैते धानको उत्पादन बढ्दा, मूल्यमा गिरावट
-
स्कटल्याण्डविरुद्ध नेपालको जित
-
सरकारले संविधान संशोधनमा ढिलाइ गर्नुहुँदैन: प्रवक्ता डा. महत
-
प्रधानमन्त्री र एमआइटीका अनुसन्धानकर्ता मिङ्मार शेर्पाबिच भेटवार्ता
-
प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, के भयो कुराकानी ?
-
१० बजे १० समाचार : रवीन्द्र पनि छुटे, धरानमा तनाव