बिहीबार, ०५ असार २०८२
ताजा लोकप्रिय

काठमाडौँ नजिकको साहसिक गन्तव्य ‘वनजङ्गल एडभेञ्चर’

बुधबार, ०४ असार २०८२, ०२ : ३०
बुधबार, ०४ असार २०८२

समाचार सारांश

  • काठमाडौं उपत्यका नजिकै तारकेश्वरमा 'वनजङ्गल एडभेञ्चर' साहसिक पर्यटकीय गन्तव्यको रूपमा स्थापित भएको छ, जहाँ जिपलाइन, रकक्लाइमिङ, र बञ्जी जम्प जस्ता गतिविधिहरू छन्।
  • आठ महिनादेखि सञ्चालनमा रहेको यस एडभेञ्चरले आन्तरिक तथा बाह्य पर्यटकलाई प्रकृतिसँगै साहसिक अनुभव प्रदान गर्दै आएको छ, र यसमा रोलर कोस्टर जस्ता नयाँ सुविधाहरू पनि छन्।
  • एडभेञ्चरले काठमाडौंका पर्यटकलाई लक्षित गरी विभिन्न साहसिक खेल र सुविधाहरू प्रदान गर्दछ, जसमा जिपलाइन, रोलर कोस्टर, र अन्य गतिविधिहरू समावेश छन्, र यहाँ शुक्रबार र शनिबार आन्तरिक पर्यटकहरूको भीड लाग्ने गर्दछ।

काठमाडौँ।  काठमाडौँ उपत्यका नजिकै पर्ने तारकेश्वर नगरपालिका–३ स्थित योग गन्तव्यको साहसिक पर्यटकीय गन्तव्यका रूपमा स्थापित भएको छ । यहाँ ‘वनजङ्गल एडभेञ्चर’ स्थापना भएसँगै साहसिक पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको हो ।

पर्यटनमा पछिल्लो साहसिक पर्यटनमा रुचि राख्नेको आगमन बढ्दै गएको छ । यहाँ जिपलाइन, रकक्लाइमिङ र बञ्जीजम्प गर्न उपत्यका बाहिरका विभिन्न ठाउँबाट आन्तरिक पर्यटक पुग्न थालेका हुन् । योसँगै काठमाडौँमा बसोबास गरिरहेकाले साहसिक पर्यटनका लागि टाढा टाढा जानुपर्ने बाध्यता अन्त्य भएको छ ।

काठमाडौँकै रिङरोडभित्र बसोबास गर्नेका लागि साहसिक गन्तव्य काठमाडौँ रिङरोड बाइपासबाट १० किलोमिटरभित्र ककनी राजमार्गमा पर्ने पाँचमानेस्थित ‘वनजङ्गल एडभेञ्चर’ बनेको छ । यहाँ पुगेपछि प्रकृतिको आनन्द र हरियाली वातावरणमा स्वच्छ हावा पनि लिन सक्नेछन् ।

आठ महिनादेखि काठमाडौँभित्र रहेका र साहसिक पर्यटनमा रुचि राख्ने आन्तरिक तथा बाह्य पर्यटकलाई प्रकृतिसँगै नजिक राखेर सेवा दिँदै आइएको वनजङ्गल एडभेञ्चरका सञ्चालक एलिसा ढकालले बताइन् । उनले काठमाडौँमा बसोबास गरिरहेकालाई प्रकृति र साहसिक पर्यटनप्रति रुचि बढाउन एडभेञ्चर सञ्चालन गरिएको धारणा राखिन्।

हिजोआज साहसिक पर्यटनको ‘प्याकेज’ बनाएर आउनेको सङ्ख्या बढिरहेको भन्दै उनले एडभेञ्चरले काठमाडौँभित्रका पर्यटकलाई लक्षित गरेर यो व्यवसाय सञ्चालन गरिरहेको बताइन् ।      

काठमाडौँका मानिस यहाँ आउँदा समयको बचत र जङ्गलभित्र सबै एडभेञ्चरको फरक महसुस गर्न पाउने भएकाले सेवाग्राहीको सङ्ख्या बढ्दै गइरहेको ढकालले बताइन् । उनका अनुसार ३० रोपनीमा फैलिएको वनजङ्गलमा सेवाग्राहीले जिपलाइन, रोलर कोस्टर, क्लाइमिङ वाल, अब्स्टयाक्ल कोर्ष, हाइरोप कोर्ष, किड्स एडभेञ्चर्स कोर्ष जिपलाइन ट्रिपटप एडभेञ्चर र जाइन्ट स्वीङको अनुभव लिन पाउनेछन् ।

साहसिक पर्यटनका लागि नेपालमा पहिलो पटक रोलर कोस्टरको अनुभव लिन पाउने सञ्चालक ढकालले जानकारी दिइन् । फलाममा चक्का राखी बाँधेर छोड्ने गरिन्छ । पर्यटकले एक मिनेटसम्म फलामको डण्डामा घुमेर मनोरञ्जन लिन सक्नेछन् ।

पर्यटकले टेन्ट र मौलिक नेपाली घरमा बसेर फरक अनुभूति गर्न सक्छन् । एडभेञ्चरमा ११ टेन्ट र एक मौलिक घर रहेको छ । मौलिकताको जगेर्ना गर्दै वनजङ्गल एडभेञ्चरले मौलिक घरमा ढिकी, जाँतो, हलो तथा कृषकले प्रयोग गर्ने सामग्री देख्न पाइन्छ । शुक्रबार र शनिबार आन्तरिक पर्यटकको भिडभाड हुने गर्दछ । भारतीय अक्सो कन्सल्टेन्सीले एक वर्षको अवधिमा पूर्वाधार निर्माण गरेको र सबै पूर्वाधार पूर्ण रूपमा इञ्जिनिरियङ गरेर बनाइएको सञ्चालक ढकालले बताइन् ।

“वनजङ्गल एडभेञ्चरको विशेषता भनेको साहसिक पर्यटन हो । यहाँ भएका अधिकांश खेल खेलाउन पर्यटन विभागबाट अनुमति लिएका छौँ”, उनले भनिन्, “साहसिक खेलमा सहभागी प्रत्येक खेलाडीको बिमा गरिएको छ ।” जङ्गलको बिचमा कूल रु छ करोड लागतमा आफ्नै जग्गामा पर्यटकीय पूर्वाधार निर्माण गरिएको ढकालले जानकारी दिइन्। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप