शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
खेलकुद

एपीएफ–थ्री स्टार विवाद दुई वर्षपछि अपिल कमिटीले सुल्झायो

शुक्रबार, ०६ असार २०८२, २० : ००
शुक्रबार, ०६ असार २०८२

सारांश

  • सहिद स्मारक ए डिभिजन लिगमा थ्री स्टार क्लबका खेलाडीको भिसा विवादपछि एपीएफले उजुरी दिएको थियो। एन्फाको अनुशासन समितिले थ्री स्टारलाई जरिवाना गर्यो।
  • एन्फाको अपिल समितिले थ्री स्टारको नतिजा परिवर्तन गर्दै जावलाखेललाई विजयी घोषणा गर्‍यो, जसका कारण थ्री स्टार रेलिगेसनमा पर्यो।
  • थ्री स्टारले एन्फाको निर्णयविरुद्ध कानुनी लडाइँ लड्ने बताएको छ, भने एपीएफले यू-१६ लिगमा सहभागी हुन पाउनुपर्ने माग गरेको छ।

काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिग प्रतियोगिता नभएको तीन वर्ष पूरा हुन लाग्यो । लामो समयसम्म प्रतियोगिताको तयारी नगरेको अखिल नेपाल फुटबल संघ (एन्फा) यो अवधिमा ए डिभिजन क्लबको एउटा विवादमा रुमल्लियो ।

२०७९ को ए डिभिजन लिगमा विभागीय टोली एपीएफ र थ्री स्टार क्लब पुछारमा पुग्नबाट जोगिन चाहन्थे । लिगको अन्तिमतिर थ्री स्टारले भिसाको म्याद सकिएका खेलाडीलाई मैदानमा उतारेको थियो । सोही दिनको खेलमा थ्री स्टारले जावलाखेललाई १–० ले हरायो ।

थ्री स्टारले जित निकालेपछि एपीएफ रेलिगेसनमा पुग्यो । त्यसपछि एपीएफले थ्री स्टारविरुद्ध भिसा नभएका खेलाडी खेलाएको भन्दै एन्फामा उजुरी दियो । भिसा म्याद सकिएका थ्री स्टारका दुई खेलाडी थिए– पिटर सेगुन र अजायी मार्टिन्स ।

उजुरी परेपछि थ्री स्टारका तत्कालीन अध्यक्ष अरुणमान जोशीले एन्फाकै कारण उक्त समस्या आएको बताए । एन्फाले लिगको मिति १० दिन सार्दा उक्त समस्या आएको उनको भनाइ थियो । उनले प्रतियोगितामा थ्री स्टारमात्र नभएर सबै क्लबका खेलाडीको भिसा तीन महिनाको मात्र भएको बताए । तर, थ्री स्टारको खेल अन्तिम अवस्थामा परेको हुँदा आफूहरूलाई यो समस्या आइलागेको बताए ।

‘हामीले खेलाडीको भिसा तीन महिनाको लगाएका थियौँ । एन्फाले प्रतियोगिता नै १० दिन ढिलो गर्दा हाम्रो खेलाडीको भिसाको म्याद सकिएको थियो । हामी भिसा नवीकरणका लागि गइसकेका थियौँ,’ थ्री स्टारका पूर्वअध्यक्ष अरुणमान जोशीले भने ।

२०८० जेठ २८ गते भएको त्यो खेलको भोलिपल्ट नै एपीएफले दिएको उजुरीको आधारमा एन्फाको अनुशासन समितिले थ्री स्टारलाई २०८० पुसमा कारबाही गरेको थियो ।

अनुशासन समितिले विदेशी खेलाडीद्वय पिटर र मार्टिन्सलाई जनही ५० हजार तथा थ्री स्टार क्लबलाई ३ लाख रुपैयाँ जरिबाना गरेको थियो । यो कारबाहीलाई दुबै टोलीले अस्वीकार गरेका थिए ।

एपीएफको उजुरी उपर अपिल समितिले निर्णय गर्दै उक्त खेलको नतिजा जावलाखेलको पक्षमा पारेको हो । प्रतियोगितामा थ्री स्टारले २६ खेल खेल्दै ३२ अंक जोडेर आफूलाई आठौँ स्थानमा उभ्याएको थियो ।

२६ खेल खेलेको एपीएफ ३० अंकसहित तालिकाको पुछारबाट दोस्रो स्थानमा थियो । अपिल समितिको निर्णय अनुसार थ्री स्टारको २६ खेलमा २९ अंक हुने भएको छ । एपीएफ अब १२ औँ स्थानमा उक्लन सफल भयो । यता थ्री स्टार भने १३ औँ स्थानमा झर्दै रेलिगेसनमा पुग्यो ।

एन्फाको अपिल समितिमा यो विषय विचाराधीन रहँदा एपीएफलाई यू–१६ लिगमा सहभागी नगराउने निर्णय लिइएको थियो । यो विषयमा पनि एपीएफले विचाराधीन विषयलाई ख्याल गर्नुपर्ने बताएको थियो ।

एन्फाको निर्णयले एपीएफ खुसी

एन्फाको अपिल समितिले गरेको निर्णय आफूहरूका लागि स्वागतयोग्य भएको एपीएफका कोषाध्यक्ष विजय केसीले बताए । उनले लामो समयदेखि न्यायका लागि आफूहरू लडिरहेको र अहिले अन्तिम समयमा निर्णय आउँदा खुसी भएको टिप्पणी गरे ।

‘दुई वर्षसम्म न्यायका लागि एन्फाको ढोका धाइरहेका थियौँ । अहिले सत्यको पक्षमा न्याय आएको छ । एन्फालाई धन्यवाद,’ केसीले रातोपाटीसँगको कुराकानीमा भने ।

एपीएफले एन्फाद्वारा आयोजना हुने यू–१६ लिगको लागि पनि आफ्नो टिमले खेल्न पाउनुपर्ने भन्दै एन्फामा बिहीबार नै पत्र पठाएको छ । एपीएफका कोषाध्यक्ष केसीको नेतृत्वमा गएको टोलीले एन्फालाई पत्र पठाएको हो ।

थ्री स्टार अझै कानुनी लडाइँ लड्ने

यतिवेला रेलिगेसनमा भएको थ्री स्टार क्लब कानुनी लडाइँ लड्ने योजनामा छ । थ्री स्टारका महासचिव धम्रेन्द्रराज शाक्यले अब कसरी अघि बढ्ने भन्नेबारे छलफलमा रहेको बताए ।

एन्फाले नै बनाएको समितिले पहिलो निर्णय आफ्नो पक्षमा दिएको तर त्यसपछि पुनः एपीएफको पक्षमा निर्णय आउनु अचम्मको कुरा भएको शाक्यको भनाइ छ । उनले यो विषयमा कानुनी पाटोबाटै अघि बढ्ने प्रस्ट पारे ।

‘एन्फाको अपिल कमिटीको निर्णय आएपछि हामी निरन्तर छलफलमा छौँ । कुन पाटोबाट अघि बढ्ने भन्ने अहिले नै निर्णय भएको छैन, तर हामी कानुनी लडाइँ लड्ने कुरामा भने ढुक्क छौँ । एन्फाले दिन नसकेको निर्णय नेपालको कानुनले दिने कुरामा दुई मत छैन,’ शाक्यले रातोपाटीसँग भने ।

एन्फा विधानको धारा ७७ को १ मा एन्फा या क्लबसँग जोडिएका सबै कुरा एन्फाभित्रै समाधान गर्ने उल्लेख छ । धारा ७७ को ३ मा भने नेपालको कानुनसँग बाझिने कुरामा भने अदालती प्रक्रियामा जान मिल्ने उल्लेख छ । थ्री स्टार क्लबलाई भने एन्फाको धारा ७७ को ३ अनुसार अघि बढ्ने मौका छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप