बजेट फुलाएर नयाँ योजना, १ अर्ब आम्दानी नहुने शीर्षकमा सवा ३ अर्ब अनुमान
सारांश
- पोखरा महानगरपालिकाले चालु आर्थिक वर्षमा १ अर्ब ५५ करोडको लक्ष्य लिएकोमा ११ महिनामा जम्मा ९६ करोड मात्रै आम्दानी गरेको छ।
- आगामी वर्षको बजेटमा आन्तरिक राजस्व वृद्धिको कृत्रिम प्रक्षेपण गरिएको छ, जसले बजेटको आकार बढाएको छ र कार्यान्वयनमा समस्या आउन सक्ने देखिएको छ।
- उपमेयर मन्जुदेवी गुरुङले आगामी वर्षका लागि ८ अर्ब ३५ करोडको बजेट प्रस्तुत गरेकी छिन्, जसमा आन्तरिक राजस्व ३ अर्ब २३ करोड पुर्याउने लक्ष्य राखिएको छ।
पोखरा । चालू आर्थिक वर्षमा पोखरा महानगरपालिकाले १ अर्ब ५५ करोड आन्तरिक आम्दानी गर्ने लक्ष्य लिएको थियो । गत असारमा उपमेयर मन्जुदेवी गुरुङले खर्च व्यहोर्ने शीर्षकमध्ये १ अर्ब ५५ करोड आन्तरिक आम्दानी गर्ने लक्ष्य प्रस्तुत गरेकी थिइन् ।
जेठ मसान्त अर्थात ११ महिनाको अवधिमा नगरपालिकाले जम्मा ९६ करोड आन्तरिक आम्दानी शीर्षकबाट कमाएको छ । आर्थिक वर्ष सकिन केही हप्ता मात्र बाँकी रहँदा यो आम्दानी बढीमा १ अर्ब १८ करोड पुग्ने संशोधित अनुमान गरिएको छ । संशोधित अनुमान सफल भएपनि लक्ष्य भेटाउन ३७ करोड रुपैयाँ पुग्दैन ।
साँघुरिँदो स्रोत, आर्थिक मन्दी, करदातामा उत्साह नहुनु लगायत कारणले महानगरले निरन्तर आन्तरिक आम्दानी गुमाइरहेको छ । खासगरी नदीजन्य सामग्रीबाट ठुलो राजस्व गुमाएको छ । अन्य स्रोत पनि पर्याप्त परिचालन गर्न सकेको देखिँदैन । यस्तो अवस्थामा महानगरपालिकाले आगामी वर्षको बजेट प्रस्तुत गरेको छ । सामान्य लक्ष्य समेत हासिल गर्न नसकेको पोखराले आगामी वर्ष चालू वर्षको अनुमान भन्दा दोब्बर रकम आन्तरिक राजस्वबाट उठाउने लक्ष्य लिएको छ ।
उपमेयरबाट प्रस्तुत ८ अर्ब ३५ करोड १५ लाख रुपैयाँको बजेट नयाँ योजना थप्ने नाममा कृत्रिम रूपमा फुलाइएको छ । राजस्व परामर्श समितिले आगामी वर्षको लागि १ अर्ब ६० करोड मात्रै आन्तरिक आम्दानी हुने लक्ष्य बजेटमा राख्न सुझाएको थियो ।
तर आइतबार बसेको कार्यपालिका बैठकले योजनाको चाप बढेको भन्दै फुलाएर ३ अर्ब २३ करोड पुर्याएको हो । प्रारम्भिक तयारीमा पौने ७ अर्ब हाराहारीको बजेट प्रस्ताव तयार गरिएको थियो । तर अन्तिम समयमा ह्वात्तै बढाएर आकार आकासिएको हो ।
बजेटको आकार बढाउने मुख्य माध्यम आन्तरिक प्रक्षेपण नै हो । नयाँ योजना थप्नकै लागि आन्तरिक आम्दानीको प्रक्षेपण कृत्रिम रूपमा बढाइएको नगरपालिकाकै एक उच्च कर्मचारीले बताए ।
‘बजेटको आकार बढीमा ७ अर्ब हुन्छ भन्ने हाम्रो अनुमान थियो । सोही अनुसार तयारी भइरहेको थियो । तर अन्तिम समय (बिहान कार्यपालिका बैठक)मा आकार एकाएक साढे ८ अर्ब पुर्याइयो,’ उनले भने, ‘१ अर्ब आन्तरिक आम्दानी पुर्याउन त हम्मेहम्मे छ । सवा ३ अर्ब कसरी उठ्छ र यो बजेट कार्यान्वयन हुन्छ ? वास्तवमा भन्ने हो भने बजेटको आकार कृत्रिम रूपमा फुलाइएको छ ।’ उनका अनुसार जनप्रतिनिधिको नयाँ कार्यक्रम थप गर्नका लागि नै अस्वाभाविक राजस्व प्रक्षेपण गरिएको हो । ‘अहिलेको बजेटबाट नयाँ कार्यक्रम थप्ने अवस्था छैन । १ अर्ब १६ करोडजति बहुवर्षे योजनाकै दायित्व बाँकी छ,’ उनले भने, ‘कि एउटा पनि कार्यक्रम थप्न भएन । नयाँ थप्ने हो भने बजेटको आकार बढाउनुपर्थ्यो । हामीले बजेट नथपौँ भनेर सुझाव दियौँ, नेतृत्वबाट ध्यान दिइएन ।’
बजेट वक्तव्य समेत यति हतारमा बनाइएको छ कि आगामी वर्ष कति चालू र कति पूँजीगत खर्च हुन्छ भन्ने पनि उल्लेख छैन । राजस्वको यथार्थभन्दा अत्यधिक बढी आँकलन गरेर बजेट फुलाउनु अर्थतन्त्रमा जोखिमपूर्ण हो ।
जुन बजेट कार्यान्वयनको चरणमा गम्भीर समस्या देखिन सक्छ । पोखराले आगामी आर्थिक वर्ष २०८२।०८३ का लागि झन्डै साढे ८ अर्बको बजेट प्रस्तुत गरेको छ । उपमेयर मन्जुदेवी गुरुङले आगामी वर्ष कार्यान्वयन गर्ने गरी ८ अर्ब ३५ करोडको बजेट प्रस्तुत गरेकी हुन् । पूरा बजेटमध्ये सङ्घ सरकारको सशर्त अनुदानबाट ३ अर्ब १३ करोड अर्थात ३६.१३ प्रतिशत र अन्य स्रोतबाट ५ अर्ब २२ करोड अर्थात् ६३.८७ प्रतिशत छ ।
नगरपालिकाले ९५ करोड खर्च गर्ने गरी प्रस्ताव गरिएको छ । यसबाहेक सामाजिक विकासमा ३८ करोड, आर्थिक विकासमा १८ करोड, वडा कार्यालयमा १ अर्ब, पूर्वाधार तर्फ २ अर्ब ३३ करोड, सहरी विकास, पर्यटन, वन तथा वातावरणमा ३८ करोड बजेट प्रस्ताव गरिएको गुरुङले बताइन् । पूरा बजेटलाई आन्तरिक राजस्वबाट ३ अर्ब २३ करोड पूर्ति गर्ने लक्ष्य छ ।
प्रदेश राजस्व बाँडफाँटबाट ४ करोड २८ लाख, सङ्घको राजस्व बाँडफाँटबाट ३३ करोड ८लाख, सङ्घको समानीकरण अनुदान ५२ करोड ८७ लाख, प्रदेश समानीकरण अनुदान ८ करोड १५ लाख प्राप्त हुने अनुमान छ ।
बजेट वक्तव्यमा रकम नमिलेपछि उपमेयरले पढ्दापढ्दै एकछिन रोकिएर कर्मचारीले सच्याएका थिए । बजेट वक्तव्यमा रकम नमिलेपछि उपमेयरले पढ्दापढ्दै एकछिन रोकिएर कर्मचारीले सच्याएका थिए । मेयर धनराज आचार्यले सोमबारदेखि चीन भ्रमण तय गरेका छन् । उनको चीन भ्रमणको हतारोले नीति कार्यक्रम सँगसँगै बजेट प्रस्तुत गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
-
भन्सार छलीका सामान बरामद
-
रास्पवा भक्तपुरमा बस्नेत निर्वाचित
-
१२ बजे १२ समाचार: काठमाडौँमा रेलमार्गको डीपीआरका लागि प्रस्ताव आह्वानदेखि आर्थिक विधेयकमा २० पेजको झमेलासम्म
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण