इजरायल, इरान र मध्यपूर्वमा रहेका नेपालीहरूलाई सुरक्षित रहन एनआरएनएको आग्रह
सारांश
- एनआरएनए आइसिसीले इजरायल, इराक र खाडी मुलुकमा रहेका नेपालीहरूलाई सतर्क रहन आग्रह गरेको छ।
- अध्यक्ष श्रेष्ठ र महासचिव लामाद्वारा जारी विज्ञप्तिमा इजरायल र इरानबीचको द्वन्द्वबारे चिन्ता व्यक्त गरिएको छ।
- एनआरएनए आइसिसीले नेपाली दूतावास र एनसीसीहरूसँग समन्वय गरी २४ सै घण्टा परिस्थितिको अनुगमन गर्ने जनाएको छ।
काठमाडौँ । महेश श्रेष्ठ नेतृत्वको गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आइसिसी) ले इजरायल, इराक तथा खाडी मुलुकहरूमा रहेका नेपालीहरूलाई सतर्क र सुरक्षित रहन अपिल गरेको छ ।
अध्यक्ष श्रेष्ठ तथा महासचिव बी आर लामाद्वारा सोमबार जारी विज्ञप्तिमा इजरायल र इरानबिच द्वन्द्व चर्कँदै जाँदा इरानले कतारस्थित अमेरिकी सैन्य बेसतर्फ (स्थानीय समय अनुसार सोमबार राती) मिसाइल प्रहार गरेको खबर आएको उल्लेख गरेका छन् ।
"कतार, युएई, बहराइन, कुवेत, साउदी अरबलगायत खाडी मुलुकहरूमा रहेका लाखौँ नेपालीहरूको सुरक्षाका बारेमा हामी चिन्तित छौँ। सम्बन्धित देशका सरकारहरू, स्थानीय सुरक्षाकर्मी तथा नेपाली दूतावासका निर्देशनहरू पालना गर्न ती मुलुकहरूमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनीहरूलाई हामी हार्दिक अपिल गर्दछौँ," विज्ञप्तिमा भनिएको छ।
"भारत सरकारको समेत सहयोग लिएर इजरायल तथा इरानमा रहेका नेपालीहरूलाई सकुशल उद्धार गर्न नेपाल सरकार परराष्ट्र मन्त्रालयले गरिरहेको पहलको हामी प्रशंसा गर्दछौँ। ती मुलुकहरूमा रहेका संघका सबै राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरूलाई सक्रियतापूर्वक स्थानीय नेपाली समुदायलाई सही सूचना तथा जानकारी सहित सक्दो सहयोग गर्न अनुरोध गर्दछौँ। एनआरएनए आइसिसीले पनि २४ सै घण्टा बदलिँदो परिस्थितिको अनुगमन गरिरहेको र नेपाल सरकार, सम्बन्धित दूतावासहरू तथा एनसीसीहरुसँग निरन्तर सम्पर्कमा रही हर सम्भव सेवा पुराउन तत्पर रहेको जानकारी गराउँदछौ," विज्ञप्तिमा भनिएको छ।
यसैबिच इजरायल तथा इरानबिच युद्ध विराम भएको भन्ने समाचारहरू आएका छन्, तर यस सम्बन्धी थप विवरण आउन बाँकी छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिको दबाब, तस्बिरहरू
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण